आइतबार, साउन १० २०७८
काठमाडौं ०५:२९
वासिङटन डिसी 19:44

अमेरिकी पत्रकार तथा एन्थ्रोपोलोजिष्ट डा. बार्बराको खोजमूलक पुस्तक योगमायाँ एण्ड दुर्गादेवी:रेबेल वुमेन अफ नेपाल”को बिमोचन

इनेप्लिज २०७७ कार्तिक २८ गते २३:४१ मा प्रकाशित

अमेरिकी पत्रकार तथा एन्थ्रोपोलोजिष्ट डा. बार्बरा निम्री अजिजद्वारा लिखित खोजमूलक पुस्तक “योगमायाँ एण्ड दुर्गादेवी:रेबेल वुमेन अफ नेपाल” को शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री गिरिराजमणी पोखरेलले बिमोचन गरे । कोभिडको कारण पुस्तकको बिमोचन भर्चुअल माध्यमबाट गरिएको थियो । जसमा नेपाल,अमेरिका,बेलायत,क्यानाडाबाट उपस्थित थिए ।

मन्त्री गिरिराजमणी पोखरेलले बिमोचन पछि बोल्दै यो महत्वपूर्ण पुस्तक पढेर पाठकले लाभ लिनेमा आफु बिश्वस्त भएको बताए । र सोहि अवसरमा योगमाया बिश्वबिद्यालयको पनि राष्ट्रसभामा अन्तिम छलफल बाकि रहेको अवगत गराए ।

बिमोचन पछि पुस्तककी लेखिका डा. बार्बराले योगमायाँ सम्बन्धी आफ्नो यो पुस्तक बिमोचनमा बिश्वभरिबाट थुप्रै नेपाली भर्चुअल्ली भेला भएकोमा जन्मदिन दिवस मनाए जस्तै भएको बताईन्।

योगमायाको कारणले आफू तथा नेपाली लेखिकाहरु पारिजात र निलम कार्की’निहारिका’ एकैठाउँ जोडिएकामा गर्व महसुस भएको उनको भनाई थियो। “आफू गैर नेपाली लेखिकाले लेखेको पुस्तक बिमोचनमा यत्तिको जुन सम्मान दिनु भएको छ ।

यो वास्तबमा नेपाली महिलाप्रति गरेको सम्मानको रुपमा मैले बुझेको छु”,उनले भनिन्,”योगमायालाई नेपाली समाजमा चिनाउन र पुस्तक लेख्न सैयौँ नेपाली ब्यक्तित्वले मलाई सहयोग गर्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।”

८० बर्ष अघि योगमायाले आफूलाई जलसमाधीमा बिलिन गरेको भएपनि उनको बारेको अनुसन्धान नसकिएको बताउँदै लेखिका बार्बराले योगमायाँसँगै अब अर्की सामाजिक आन्दोलनकर्ता दुर्गादेवीको बारेमा खोजबिन गर्न आवश्यक रहेको उल्लेख गरिन्। दुर्गादेवी कार्की घिमिरे भोजपुरको फालिकोटमा जन्मिएकी र ४७ बर्ष अघि देहान्त भएकी सामाजिक आन्दोलनकर्ता थिईन् भन्दै नेपाली खासगरि युवा तथा महिला खोजकर्ताले उनको बारेमा खोजबिन गर्न अनुरोध गरिन्।

योगमायाँको बारेमा बिद्यावारिधी गरेका लेखक डा. दिपेश न्यौपानेले लेखिका डा. बार्बरा नै योगमायाँको बारेमा गहिरिएर खोज अनुसन्धान गरि उनलाई नेपाल र बिश्वमा चिनाउने पहिलो खोजकर्ता भएको बताए।

योगमाया उपन्यास लेखेर मदन पुरस्कार प्राप्त गरेकी लेखिका निलम कार्की ‘निहारीका’, बर्बरा निम्री अजिज सन् १९८० मा पहिलो पटक मनकामना पुग्दा त्यहा कुटीमा रहेका भक्तहरुबाट भजन सुने पछि योगमाया र दुर्गा देबीबारे अध्ययन अनुसन्धान सुरु गरि आज भन्दा ४० बर्ष अघि ,अध्ययनको बाटो खोलेको चर्चा गर्दै आफूले पनि उपन्यास लेख्न क्रममा बेला बार्बराको भेला पारेको सामग्रीलाई पनि श्रोतको रुपमा प्रयोग गरेको बताईन ।

पुस्तकको बारेमा समालोचना गर्दै समालोचक निनु चापागाईले लेखिकाले पुस्तकमा नेपालमा राजनीतिक परिवर्तन भएपनि जातिय गतिशिलता नआएको, जातिय पहिचान तथा महिलाहरुको उत्थानमा सरकार र समाजले खासै काम गर्न नसकेको उल्लेख गरेको आफूले पाएको बताए।

बिमोचन कार्यक्रममा अधिकांश वक्ताहरुले योगमायाँले जुन समतामूलक तथा रुढीबादमुक्त समाजको लागि बिद्रोह गरेकी थिइन् । त्यो पट्टि अहिलेका योगमायाँ सम्बन्धी काम गर्ने प्रतिष्ठान, फाउण्डेसन तथा स्थानीय समुदायले अझै धेरै काम गर्नुपर्ने कुरामा जोड दिएका थिए।

बिमोचन कार्यक्रममा ,महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपाल, षडानन्द नगरपालिका भोजपुरका मेयर वीरबल राई, खाँदबारी नगरपालिका संखुवा-सभाका मेयर मुरारी खतिवडा, जिल्ला समन्वय समिती संखुवा-सभाका प्रमुख सुमन शाक्य लगायतले मनतब्य राखेका थिए ।

योगमायाँ अभियन्ता भविन्द्र अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने आयोजक संस्था योगमायाँ फाउण्डेसनका अध्यक्ष राम चन्द्र न्यौपानेले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया