बुधबार, मंसिर १० २०७७
काठमाडौं १०:५५
वासिङटन डिसी 00:10

कथा : बदलिएको परिचय

दीपक पन्त २०७७ कार्तिक २६ गते २३:१३ मा प्रकाशित

त्यो रात डिसेम्बरको तेस्रो हप्ता थियो । प्राकृतिक बरदान हिऊँ, सिमलको भुँवा झै फुस्स फुस्सआफ्नै गतिमा बर्सि रहेको थियो । क्रिसमस आगमनको रमझमले शहर बेहुली घर झै सिंगारिएको थियो । जताततै दीपावली झै झिलीमिली बत्तीहरु बालिएका थिए ।

मध्यरात समाप्ति सँगै घडी रातको तेस्रो पहरमा दौडिरहेको थियो । युगल जोडीहरु नाइट क्लव ,बार, रेष्टुरेन्ट,सपीङ्गमल आदि रात्रीकालिन सेवाबाट बहुभेषमा आउने जाने क्रम चलि नै रहेको थियो । रात्रीकालिन जीवनमा पनि पैदल यात्रीको कुनै कमी थिएन शायद क्रिसमसको चहलपहलले होला ।

हिराकाजी अर्थात ऊ त्यही रङ्गीन शहरको मध्यभागमा रहेको फाइभ स्टार हिल्टन होटलकोआगनमा आज्ञाकारी सिपाही जस्तै भोलिको सवारीको लागि तैनाथ थियो ।

हो, आजकल आफ्नो बदलिएको परिचय सँगै हिराकाजीको दिनचर्या यिनै होटल,एयरपोर्ट ,रेलवेस्टेशन सँग रहने गर्दछ ।

मध्यरात पछि लोझाएका आँखा, बाहिर परेको हिऊँको चिसो र गाडी भित्रको हिटको ताप बीच हिराकाजी सपना देख्न थाल्छ ।

“साइला….., हिरा सर…., हिरा माट्साव……,हाकिम साब……,डोरम्यान…” उसले बनाएको सप्तरङ्गी परिचयको स्मृतिमा नै ऊ लिप्त थियो ।

अकस्मात आएको ठूलो आवाजले उसको अर्ध चेतन निन्द्रा खल्बल्याई दिन्छ । बाहिरबाट आएकोआवाज नेपथ्यबाट चियाउदै निर्क्योल गर्छ । सडक बत्तीसँगै आकाशमा उडेका तिलगङ्गा जस्ता सप्तरङ्गी किरणहरु क्रिसमस सेलिब्रेट पट्का रहेछ । आबाज त्यसैको प्रारम्भिक बिस्फोटको रहेछ ।

जुन सुकै कारणबाट उसको निन्द्रा भङ्ग भए पनि उसले पहिलो नजर होटल अगाडि उभिएकोडोरम्यान अर्थात पाले तिर लगायो ।

सिमाङ्कन खम्बा जस्तै एकाग्रडोरम्यानको अवस्थाले उसले सहजै अनुमान लगायो नो अफर ,नो जब ।

हिजो आज उसका दिनहरु ठूला शहरका तारे होटेलका आँगनमा बित्ने गर्दछ । डोरम्यानकोइसारामा सहकार्य गर्दै आन्तरिक र बाह्य पर्यटकको गति मापन गर्ने विधानै उसको नियमित ब्यवशाय हो ।

मध्यरातमा खल्बलीएको निन्द्रा अनि मतिष्कमा आएका फरक , फरक नाम ,समय र परिचयको विम्ब बीच हिराकाजी वास्तविक परिचय धुमील हुदै जान्छ ।

ऊ आफैलाइ आफू भित्र हराउँछ । समय र परिचयको चक्रब्यूहको सम्बन्ध परिभाषित गर्न गाह्रो महसुस गर्दछ ।

असिन, पसिन हुन्छ । कम्बोटमा राखेको बोत्तलको पानी पिउँछ । गाडीको झ्याल खोल्छ । हिऊँसगै मिसीएको पानी र त्यसको चिसो पन बाट केही रोमान्चित हुँदै स्मृतिमा समय सँगै बिगतमापाएका नाम र परिचय केलाउन थाल्छ ।

साँइला , ओ हो ! कति सुन्दर नाम उसको। गाँउघर,साथीभाइ सबै त्यही नामले बोलाउथे । साँइला! साँइला !!

बाल्यकालको त्यो नाममा कसैको बोझ थिएन । न कुनै बन्धन ! स्वतन्त्र , आमाको काख,बाबाको साथ ,साथिभाइसँगको रात । टिन एज, जता गए पनि साइलै साँइला। स्वतन्त्र पन्छि जस्तै क्या सुन्दर, क्या मोहिनी ! साइलै साँइला !

हिरासर , उसको जीवनमा त्यो परिचय छोटो भए पनि यादगार थियो । प्रवेशीका उत्तीर्णसँगैआफ्नै स्कूलमा हिरासर हुने अवसर प्राप्त भएको थियो । हिरासर सँगै रहेको अनेकौ स्मृतिहरु आँखा भरी ल्यायो । विकट पहाडि गाँऊ ,त्यसमा पढाउने शिक्षक । ती निस्वार्थ गाँउलेहरुको बीचमा जीउँदो देउता झै पूजीएका थिए हिरा सर । ग्रामीण मंगोल गाँऊ, त्यसमा लाग्ने पूजा, जात्रा ,घाँटु,रोधी सबै आदिबासीका परम्पराहरु सितनजी संगको साइनो गास्ने अवसर पाएका थिए ।

हिरामाट्साव !

केही बर्षको मास्टरी जीवन पछि नै बद्लिएको अर्को नयाँ परिचय थियो यो । वा ! क्या गज्जबअर्को नौलो परिचय । लोकसेवामा नायव सुब्बा पास गरे पछि हिरासरको नयाँ परिचय बन्यो, हिरामाट्साब ।

नायब सुब्बाको पद संगै नयाँ परिचय लिएर उनी हिमाल पारीको जिल्ला मुस्ताङ्गमा खटिएका थिए । उनको कामको सबै प्रसंसा गर्थे । जनताका काम लाइ सधै प्रथमिकताक साथ गर्ने उनकोबानीले हिरा सर लाइ हिरा माट्साबको पगरी गुथाइ दिएका थिए ।

प्राकृतिक सुन्दरताको हिमाली बस्तिहरु, पासाङ्ग, टासी र डोल्माका निस्वार्थ हाँसोहरु ।याङकिला, तेन्जीङ्ग र दावाको घरका तुम्बा र छाङ हरू । वाह ! हिरामाट्साव, वाह हिरामाट्साव,!! समय क्रम सँगै हिरा माट्साब बाट हिरा हाकीम हुन बेर लागेन हिराकाजीलाई । २ वर्ष नायब सुब्बाको जागिर नवित्दै हिराकाजीले अर्को परिचय बनायो हिरा हाकीम । नेपाल प्रहरीको अधिकृत याने कि प्रहरी निरीक्षक ।

कर्तब्य निष्ठ प्रहरी सेवा उसको इच्छासित नोकरी थियो । समयले उसको यो परिचयलाई लामोसमय टिक्न दिएन । त्यसबेला देशमा राजनैतिक स्थिरता थिएन । केही राजनैतिक पार्टीहरुभूमिगत युद्धमा होमिएका थिए । बिस्तारै देश, गृह युद्धको भूमरीमा फस्दै गएको थियो । देशजनताको सेवागर्ने दृढ सपना बोकेको हिराकाजी नसोचेको आन्तिरीक द्वन्दको शिकार भयो ।

एक मध्यरात, विद्रोही पाटीका सेनाले गरेको हमलामा ऊ कार्यरत ब्यारेक कब्जामा पर्यो । ठूलोप्रयास पछि, प्रहरीको नोकरी छाड्ने शर्तमा एक नाम र परिचय अन्त्य गर्दै हिराकाजीले जीबन उन्मुक्ति पायो ।

डोरम्यान , यो परिचय सँग पनि हिराकाजीको सामिप्य करीब १ वर्ष रह्यो । प्रहरीको नोकरी बीट मारे सँगै उसको परिचय कुवेतको एक कम्पनीको डोरम्यानमा अड्कीएको थियो । खाडीको तातोसिरेटोसँगै आफ्नो पुराना परिचयको स्मृतिमा दिनचर्या विताउदै थियो ।

विशेषत : उसको हिरासर र हिरामाट्साबका जीवनका यात्रारत पलहरु साच्चै नै यादगार थिए । चाँहे त्यो मुना मिस सँगको सामिप्यता होस् वा डोल्मा शेर्पीनीको माँया । सबै याद गार नै थिए ।गुरुङदाइको घाँटु होस् या नोर्बुको ध्याङ्ग ।

अरवको बसाइलाई एक विहान आएको शुभ समाचारले छुटकार दिलायो । फोन उसको जीवनसंगीनी निर्मलाको थियो । निर्मला भन्दै थिइ , “ बूढा आजै टिकट काट , तुरुन्त आइहाल | अब हामी अर्कै संसारमा जान पाउने भयौ । सपनाको देश अमेरिका ।

हामीलाइ डिभी लटरी पर्यो ।”

मिश्रीत मनोमाव सहित पुनः भाग्यको नयाँ परिचयलाइ हिराकाजीले आत्मसाथ गरेको थियो । खाडीबाट फर्केको ३ महिना पछि हिराकाजी फेरि कर्मको नयाँ गोरेटो खोज्दै अमेरिका छिर्यो । नाम र परिचय कस्तो सम्बन्ध छ है जीवनमा ? हिराकाजी मन मनै प्रश्न गर्छ । कर्म र स्थान अनुसारनाम र परिचय बद्लिदो रहेछ । तर खै ? भावना बदल्न गाह्रो हुँदो रहेछ | ऊ आफ्नै स्मृतिमा लिनहुन्छ । उसको चेतन /अर्ध चेतन सोच सँगै कालको गति बगिरहेको हुन्छ ।

विहानको ४ बजी सकेको छ । होटलबाट यात्रीहरु नयाँ गन्तब्य तिर निस्कने सुरसारमा छन् । हिराकाजी आफ्नै नाम र परिचयको स्मृतिको चेतन अर्ध चेतनमा प्रतिक्षारत छ । होटलकोडोरम्यानको सिग्नलको प्रतिक्षामा ।

फुर्र,फुर्र डोरम्यानले सिठ्ठी फुक्दै , आगन्तुकको लागि सवारी चलाउने इशारा गर्छ । अर्धनिन्द्रामानै आएको सिठ्ठीको आवाज सँगै हिराकाजीको वर्तमान परिचय गतिशिल हुन थाल्छ । हतार हतार आफ्नो सवारी यात्री छेउ लैजादै सम्बोधन शुरु गर्छ

“ गुट मनिङ्ग सर ! हाउ आर यू डुइन ? होयर यू वान अ हेडिङ्ग ?” “एयरपोर्ट” मन्द मुस्कान सहित प्रतिउत्तर आँउछ । यात्रीको स्वीकृतिसँगै नेभिगेटर (बाटो देखाउने मेशीन) क्रियाशिल बनाउँदै नयाँ परिचय “राइडरम्यान” क्रियाशिल हुन्छ ।

सडकको प्रकृति अनुसार लेफ्ट टर्न / राइट टर्न । लेफ्ट टर्न / राइट टर्न | नयाँ दिशा नयाँ परिचय………

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया