शनिबार, साउन १६ २०७८
काठमाडौं ०८:१३
वासिङटन डिसी 22:28

“लेम डक” ट्रम्पले के के काम गर्लान जनवरी २० सम्म?

गुणराज लुइटेल, भर्जिनिया २०७७ कार्तिक २६ गते २२:४८ मा प्रकाशित

 

अमेरिकी संविधानका अनुसार नव निर्वाचित राष्ट्रपतिले आगामी जनवरी २० सम्म शपथ लिन सक्दैनन् । प्रेसिडेन्ट-ईलेक्टको रुपमा उनले संक्रमणकालीन गतिविधि भने गरिरहन्छन ।

पहिलो टर्ममा नै चुनाव हार्ने राष्ट्रपतिलाई यहाँको संसदीय अभ्यासमा “लेम डक” अर्थात “लंगडो अवस्थाको हांस” भन्ने चलन पनि छ । परम्परा अनुसार यस अवधिमा राष्ट्रपतिले ठूलाठूला राष्ट्रिय महत्वका विषयमा भने निर्णय नगर्ने चलन रहेको छ । तर कोही झ्वांकी राष्ट्रपतिहरुले केही कडा कदम पनि चालेको पाइन्छ किनकि संवैधानिक अधिकारमा भने उनीहरु शक्ति सम्पन्न नै हुन्छन ।

“लेम डक” भन्ने शव्द पहिलो पटक बेलायतमा २५० वर्ष पहिला तिर टाटउल्टिएका व्यापारीलाई जनाउन प्रयोग गरिन्थ्यो । यस्ता ब्यापारीलाई बचाउन सरकारले ऋण दिने, ट्याक्स कम गर्ने नियम बनाउथे । तर १९ औं शताब्दीमा आएर अमेरिकी राजनीतिज्ञहरूको सन्दर्भमा पनि यो शब्द प्रयोग हुन थालेको पाइन्छ ।

सत्तासीन पार्टीको कंग्रेस र सिनेट दुवैमा अल्पमत भयो भने पनि त्यस अवस्थाको राष्ट्रपति लेम डककै हालतमा पुग्ने गर्दछ । उसले अघि सारेका विलहरु संसदमा असफल हुन्छन र प्रतिपक्षीले ल्याएका नीतिहरुलाई कार्यान्वयन गर्नु पर्ने हुन्छ ।

कंग्रेसमा बहुमत नभए पनि सिनेटमा पकड कायम हुन सक्ने सम्भावना भएकोले रिपव्लिकन पार्टीका लेम डक राष्ट्रपति ट्रम्प भने त्यति धेरै कमजोर होलान भनेर कमैले विश्वास गरेका छन । फेरि अर्को तिर के पनि छ भने ट्रम्पले अमेरिकी संसदीय परम्परालाई पहिले चलेकै तरीकाले चलाउदैनन, उनको विगत चार वर्षको कार्यकालले पनि त्यो देखाइसकेको छ ।

केही अमेरिकी पत्रिकाहरुले त राष्ट्रपति ट्रम्पलाई एउटा खुट्टामा पट्टी बॉधिएको हिड्नै नसक्ने हाँसको कार्टुन बनाएर पनि ब्यंग्य गरेको पाइयो ।

प्रारम्भिक दिनहरूमा, नोभेम्बरमा चुनाव भएर पनि गन्ती गर्न समय लाग्दथ्यो । घोडा र बग्गीहरू नै यातायातको प्राथमिक साधन हुन्थे र मतपत्रहरु स्टेटका केन्द्रसम्म ल्याउन र परिणामलाई वाशिंगटन डिसीसम्म लिएर आउन धेरै लामो समय लाग्थ्यो। कहिले कहिं त नयॉ राष्ट्रपतिको पद हस्तान्तरण गर्न मार्चसम्म पनि लाग्दथ्यो । त्यलैले यस अवधिमा पुरानो राष्ट्रपतिले दैनिक सरकार संचालनका कामकाज मात्रै गर्थे ।

यद्यपि संचार, हुलाक र यातायात, इन्टरनेटको विकास हुंदै जॉदा संक्रमणकालीन समयलाई घटाएर जनवरी २० लाई तय गरिएको रहेछ । कानूनी मुद्दा मामिला नहुने हो भने र नयॉ टीमलाई सिक्ने बुझ्ने समय नचाहिने हो भने त जनवरी २० पनि लामो समय भयो भन्ने तर्क पनि यहॉको राजनीतिक वृत्तमा आउने गरेको छ ।

“लेम डक” एउटा सॉकेतिक कुरा मात्रै हो तर व्यवहारमा, राष्ट्रपतिको अधिकार र स्थितिमा यस अवधिमा कुनै परिवर्तन हुँदैन । उनी कमाण्डर-इन-चीफ र संयुक्त राज्य अमेरिकाका मुख्य कार्यकारी रहिरहन्छन ।

के गर्लान त ट्रम्पले “लेम डक” अवधिमा:

ट्रम्पले अझै पनि अध्यादेश मार्फत इमिग्रेसन, स्वास्थ्य, सैनिक, विदेश नीति र विदेश ब्यापार सम्बन्धी कानून ल्याउने सम्भावना छ । उनले संघीय अदालतहरुमा बॉकी रहेका पदहरुमा नियुक्ति गर्ने छन । साथै आन्तरिक प्रशासनमा पनि आफ्ना पक्षका मानिसहरु घुसाउने छन् । इलेक्सन फ्रड सम्बन्धी मुद्दाहरु पनि चलाई रहनेछन । २०२४ को निर्वाचनमा पुन: चुनाव लड्ने विचार पनि बनाउंदै गरेकाले सकेसम्म तल्लो स्तरका कार्यकर्ताहरुसंगको सम्बन्ध र सम्पर्कलाई बढाइरहने छन ।

जर्ज एच डब्ल्यू बुशले लेम डककै अवस्थामा सोमालियामा अनिकाल राहत र राजनीतिक स्थिरीकरण प्रयासमा सहयोग पुर्‍याउन अमेरिकी सेना खटाए भने युद्धविराम सम्झौताको नो फ्लाई-जोनको उल्लंघन गरेपछि इराकमा हवाई आक्रमण गरे।

बराक ओबामाले पनि संयुक्त राष्ट्र संघीय जलवायु कोषका लागि ५ सय मिलियनको अनुदानमा हस्ताक्षर गरे, धेरै रसियन एजेन्टहरु जसले प्रत्यक्ष रुपमा अमेरिकाको चुनावलाई प्रभाव पारे, तिनीहरुलाई देश निकाला गरे ।

धेरै जसो राष्ट्रपतिहरूले यस अवधिमा बन्दीहरुलाई क्षमा प्रदान गर्न पनि गर्दछन्। अमेरिकी राष्ट्रपतिले चाहेको खण्डमा जसलाई पनि पूर्ण माफी दिन सक्दछन ।

आफ्नो अफिसको अन्तिम दिनहरूमा ओबामाले सैनिक सूचना चोरीको आरोपमा कारवाही भोगिरहेकी चेल्सी म्यानिंग र २०० भन्दा बढी व्यक्तिको सजायलाई माफी गरेका थिए ।

जर्ज बुशले इरान कन्ट्राक्ट सम्बन्धमा संलग्न कर्मचारीहरुलाई माफी दिए भने बिल क्लिन्टनले उनको कार्यालयमा अन्तिम दिन १ सय चालिस भन्दा बढी व्यक्तिहरुलाई क्षमा दिए, जसमा उनका एक भाइ र एक चन्दा माफिया पनि थिए।

ट्रम्पले भने जॉदा जॉदै आउने सरकारलाई अप्ठ्यारो पार्न जस्तो सुकै निर्णय गर्न पनि पछि नपर्ने अनुमान राजनीतिक विश्लेषकहरुको छ । विशेषत: उनले सबै प्रकारका खर्च बिलहरुमा स्वीकृत गरेर सरकारी ढिकुटी कमजोर बनाउन सक्ने अनुमान छ । यस्तै उनले संघीय अदालतमा भनेको मान्ने कन्जरभेटिव न्यायधिसहरुलाई घुसाएर कार्यपालिका र न्यायपालिका वीचको शक्ति सन्तुलनमा पनि दूरगामी असर पार्ने काम गर्न सक्छन ।

जवकि राष्ट्रपति ओवामाले १२६ जना संघीय न्यायधिसहरुको पद रिक्त रहंदा रहंदै पनि लेम डक अवधिमा कुनै पनि हस्तक्षेप नगरेर ट्रम्प सरकारलाई छोडिदिएका थिए ।

अमेरिकी नागरिकहरु के चाहिरहेका छन भने अरु जे जस्तो गरे पनि ट्रम्पले रेसियल- साम्प्रदायिक सद्भाव भड्काउने किसिमका चै काम नगरिदिए हुन्थ्यो ।

प्रतिक्रिया