स्वामित्व विवाद :एक विद्यालयमाथि दुई पालिकाको दाबी

सञ्जय मित्र, रौतहट २०७७ कार्तिक २४ गते १२:३० मा प्रकाशित

सञ्जय मित्र, रौतहट,

रौतहटको एउटा पुरानो विद्यालयमाथि दुई पालिकाको दाबी रहेको छ । स्थानीय तह गठन भएदेखि नै दुई पालिकाले आफ्नो विद्यालय रहेको भनी गरिरहेको दाबीको विवाद अझै सुल्झिएको छैन।

मध्यरौतहटको श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया नामको विद्यालयमाथि गरुडा नगरपालिका र गढीमाई नगरपालिकाले दाबी गर्दै आएका हुन्।विद्यालयको स्वामित्वको विषयलाई लिएर दुवै नगरपालिकाको आफ्नै तथ्य र तर्क रहेका छन्।

गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले विद्यालय पूर्णतया गढीमाई नगरपालिकामा रहेको बताउँछन्।विद्यालय सञ्चालन रहेको भवन तथा विद्यालयको जग्गाजमिनसमेत गढीमाई नगरपालिकाको सीमाभित्र रहेको तर्क मेयर यादवको छ ।पहिले प्लान नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वरियारपुर गाविसमा कार्यरत रहेको र त्यस संस्थाले मलाही र वीरनगरामा पक्की भवन,विभिन्न शैक्षिक सामग्री तथा शिक्षकहरुको व्यवस्था गरेको सम्झँदै मेयर यादवले तत्कालीन वरियारपुर गाविस समायोजन भएर गढीमाई नगरपालिकामा आएको स्पष्ट पार्छन्।गरुडा नगरपालिकाले पनि विद्यालयलाई दाबी गरे पनि तत्कालीन मलाही गाविसमा प्लान नेपाल लागू नरहेको मेयर यादव स्मरण गर्दछन्।

आफ्नै परिवारका काका रामप्रसाद यादवले विद्यालयलाई सात बिगाहा जमिन दान दिएको र अर्को एक विद्यालयलाई नौ बिगाहा दान दिएको तथ्य प्रस्तुत गर्दै मेयर यादवले अन्य गाउँको विद्यालय भएको भए किन दान गर्नु पर्थ्यो भनी प्रश्न पनि गर्छन्।नगरपालिका गठन हुँदा केही प्राविधिक गडबडीले शिक्षक कर्मचारीको तलब गरुडा नगरपालिकामा गएपछि विद्यालयको स्वामित्वको विषयलाई विवाद उठेको मेयर यादवको भनाइ छ।एकै नाउँका दुई गाउँ सँगसँगै रहेको र दुवै गाउँ दुई पालिकामा परेकाले विवाद भइरहेको मेयर यादवको तर्क छ।

पहिले मलाही गाविस छुट्टै थियो र वरियारपुर गाविसअन्तर्गत मलाहीटोल छुट्टै थियो।विद्यालयको बोर्डमा श्री सरस्वती माध्यमिक विद्यालय मलाहीटोल चिलमिलिया लेखिएको छ।मलाहीटोल र मलाही भन्नु एउटै हो भन्ने तर्क तत्कालीन मलाही गाविसका बासिन्दाको तर्क रहेको छ भने मलाहीटोल भन्नु तत्कालीन वरियारपुर गाविसका बासिन्दाको तर्क रहेको छ।

तत्कालीन मलाही गाविस अहिले गरुडा नगरपालिकाको वडा नम्बर ३ भएको छ भने पहिलेको वरियारपुर गाविस अहिले गढीमाई नगरपालिकाको वडा नम्बर ९ भएको छ । विद्यालय भवन गरुडा नगरपालिकाको सीमाक्षेत्रभन्दा पुग नपुग एक किलोमिटर भित्र गढीमाई नगरपालिकाको सीमामा रहेको मेयर यादवको दाबी छ ।
विद्यालयको पुराना कागजपत्रमा मलाही वडा नम्बर ५ लेखिएको पाइएको विद्यालयका प्रधानाध्यापक रामसागर साहको भनाइ छ । पहिले सबै प्रशासनिक काम मलाही गाविस वडा नम्बर ५ भनेर नै हुने गरेको आफूले पाएको प्रअ साहको भनाइ छ जबकि विद्यालय रहेको भवन त्यत्तिबेलै वरियारपुर गाविसमा पर्दथ्यो।वरियारपुर नलेखेर किन मलाही लेखियो ? आफूलाई केही थाहा नभएको प्रअ साहको भनाइ छ।

विद्यालयको स्थापना २००७ सालमा भएको हो । यो विद्यालय कुन स्थानीय तहको हो भन्ने विवाद यता आएर केही वर्षदेखि हुन थालेको स्थानीयको भनाइ छ । मलाही र वरियारपुर दुवै गाविसका अभिभावकको साझा विद्यालयको रुपमा रहँदै आएको र दुवै गाविसका बालबालिका यस विद्यालयमा पढ्ने गरेको इतिहास आजसम्म रहिआएको छ ।

विद्यालयको नाममा मलाहीटोलपछि चिलमिलिया रहेको छ।अहिले चिलमिलिया गाउँ पनि गढीमाई नगरपालिकामै अवस्थित छ।

गरुडा नगरपालिकाको शिक्षा शाखा संयोजक मौजेलाल राय यादव नक्सांकनको हिसाबले मलाही स्कुल गढीमाई नगरपालिकाको सीमा क्षेत्रमा रहेको स्पष्ट पार्दै विद्यालयको रेखदेख तथा व्यवस्थापनमा तत्कालीन वरियारपुर र मलाही दुुवै गाविसको सहयोग हुने गरेको स्वीकार गर्दछन् । वरियारपुरका स्थानीयबासीको चाहना विद्यालय गढीमाई नगरपालिकामा हुनुपर्ने र मलाहीबासीको चाहना विद्यालय गरुडा नगरपालिकामा हुनुपर्ने भन्ने विवाद नै वर्तमानको अवस्था रहेको संयोजक यादवको भनाइ छ ।

केही वर्ष पहिले जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालयको स्वामित्वको विषयमा व्यापक सक्रियता देखाएको तर समाधान निस्कन नसकेको संयोजक यादवको दाबी छ।नगरपालिकाको गठन भएको समयदेखि नै विद्यालयको रेखदेख, संचालन,व्यवस्थापन र अन्य सम्पूर्ण काम गरुडा नगरपालिकाबाट नै भइरहेको संयोजक यादव तथा विद्यालयका प्रअ साहको भनाइ छ।वर्तमान अवस्थासम्म विद्यालयको अभिभावक गरुडा नगरपालिका नै रहेको तर माथिल्लो निकायले गरेको निर्णय आफूहरुलाई स्वीकार हुने संयोजक यादवले बताएका छन् ।

विद्यालय भवन रहेको जग्गादाता स्थानीय बीरा सहनी वरियारपुर गाविसका भएको प्रअ साहको भनाइ छ । विद्यालयमा जग्गादाता सहनीको प्रतिमा स्थापना गरिएको छ ।
विद्यालय कुन नगरपालिकामा हो भन्ने विषयले अहिलेसम्म खासै कुनै प्रशासनिक समस्या नआएको बताउँदै सबै प्रशासनिक काम गरुडा नगरपालिकाबाट हुने गरेको साहको भनाइ छ।

शिक्षा विकास तथा समन्वय इकाई रौतहटका इकाई प्रमुख रामविनय कुमार सिंह मलाही विद्यालयमाथि दुई नगरपालिकाको दाबी रहेको आफूले सुनेको तर विद्यालय कुन पालिकाको हो भन्ने निर्णय गर्ने अधिकार आफूमा नरहेको बताएका छन् । विद्यालयको स्वामित्वको विवाद निकट भविष्यमै समाधान हुने विश्वास आफूले लिएको इकाई प्रमुख सिंहको भनाइ छ।

विद्यालयको स्वामित्वको विषयमा अन्तिम निर्णयका लागि शिक्षा विभागमा फाइल पुगिसकेको र निकट भविष्यमै यस विषयमा ठोस निष्कर्ष निस्कने विश्वास लिएको गढीमाई नपाका मेयर यादवको भनाइ छ।

 

प्रतिक्रिया