बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २१:२९
वासिङटन डिसी 10:44

ट्रम्पले चुनाव हार्नुमा के रहेछ त भित्री रहस्य?

-गुणराज लुईटेल २०७७ कार्तिक २३ गते २२:०७ मा प्रकाशित

अमेरिकालाई संसारै भरिबाट प्रजातन्त्र र स्वतन्त्रताको लागि जननी भनेर चिनिने गरिन्छ । यो सिस्टम र पद्दतिले चलेको देश पनि हो । यस्तो ठाउंमा २०१६ मा राष्ट्रपति बन्न पुग्नु भएका यहॉका एक सम्पन्न ब्यापारी डोनाल्ड ट्रम्पले ४ वर्षको कार्यकाल पूरा गर्न लाग्दा २०२० को आम निर्वाचनमा हार्न पुग्नु भएको छ । यो हारलाई एक शर्मनाक हारको रुपमा पनि लिइएको छ किनकि अमेरिकामा पहिलो कार्यकालबाटै बिदा हुनुलाई राजनीतिक रुपमा लज्जास्पद मानिन्छ । पहिलो कार्यकालमै चुनाव हार्ने ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकाको चौथो राष्ट्रपति हुनपुगेका छन भने सवै पार्टीको इतिहासलाई हेर्दा एक टर्म मात्रै पदमा रहने ११ औं राष्ट्रपति बनेका छन ट्रम्पले चुनाव हार्नुका असंख्य कारणहरु छन । केहीको यहां चर्चा गरौं-

राजनेताका गुणको दिवालियापन:

ट्रम्पमा राजनीतिक नेतामा हुनुपर्ने सुझबुझ, सम्यमता, मिझासिलोपन, विश्वासिलोपन र मिलाएर लैजाने क्षमताको दिवालियापन जनताका बीचमा छर्लंग भयो विगत ४ वर्षमा । उनी अत्यन्त रुखो र नैतिक रुपले पनि खस्किएका व्यक्तिका रुपमा देखापरे । जैले पनि उनले विपक्षीहरुलाई गालीका वर्षा गर्ने र आफूलाई भने सर्वसम्पन्न सबैभन्दा राम्रो र सक्षम मान्छेको रुपमा चित्रित गर्ने काम गरे ।

यसले गर्दा उनको अहमता र घमण्डले मानिसहरूलाई दिग्भ्रमित पार्यो र उनको एकाङ्कीपनले उनी सवै अमेरिकनको राष्ट्रपति बन्न सकेनन् । राजनेताले त ह्वाइट हाउसदेखि सिनेट, कंग्रेस र विभिन्न स्टेटका गभर्नर लगायत राज्य संचालनका हरेक तप्कालाई समेटेर लैजानु पर्ने हो ।

विभाजनकारी भूमिका:

ट्रम्पको विगतलाई हेर्ने हो भने उनी एक विभाजनकारी नेता हुन् । उनले आफ्नो पार्टीबाटै विभाजनको रेखा कोर्न सुरु गरेका थिए जतिबेला उनी राष्ट्रपतिको उम्मेदवारमा आन्तरिक रुपमा पार्टीभित्र प्रतिस्पर्धा गरिरहेका थिए । रिपब्लिकन पार्टीका अत्यन्तै वरिष्ठ नेताहरुसँग प्राइमेरी चुनाव लडेका उनले त्यसै बेलादेखि पार्टीका नेताहरूको खिल्ली उडाउने र नामै लिएर व्यक्तित्वको चीरहरण गर्ने काम सुरु गरेका थिए । २०१६ मा राष्ट्रपतिको उम्मेदवारमा छनौट भएपछि भने ट्रम्पको छाडा बोल्ने जिब्रो ३६० डिग्रीले खुल्ला भयो । ट्रम्पले राष्ट्रपतिका अर्का महिला प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई अत्यन्तै नराम्रा शब्दहरूले गाली गलौज गर्ने कामहरु गरे जुन जनतालाई सुन्न पनि नसक्ने स्तरको थियो- क्रुकेड हिलारी, लक हर अप आदि ।

चुनाव जितेपछि त उनले डामेर छोडेको सॉडे भन्दा पनि उग्र रुपलिए । ठूलो आन्तरिक कलह र लामो रंगभेदी सशस्त्र आन्दोलनबाट टुक्राटुक्रा भएर बोरिएको अमेरिकालाई उनले फेरि रंगभेदको चरू हालेर आफ्नो चार बर्षको कार्यकालमा अगुल्टे घोच्ने काम गरे । यसले गर्दा सिगो अमेरिका ह्वाईट सुप्रिमेसी अर्थात गोरा सर्वसत्ताबादको दलदलमा पुगिसकेको छ । यस पटकको चुनावमा उनले गोराहरुलाई मात्रै उचाल्ने र खुल्लमखुल्ला आम सभा गर्ने काम गरे । आप्रवासीलाई कडा नियम बनाउंदै देश निकाला गर्ने, नागरिक बन्नबाट बन्चित गर्ने मात्र होइन उनीहरुबाट देशलाई खतरा छ भनेर टाष्ट्रबादको खोक्रो ढोंग फुके ।नागरिक र सरकारको दूरी बढाए । यिनको पालामा धनी र गरीवको खाडल झनै बढ्यो । उनको नजरमा समर्थक सवै राष्ट्रबादी देखिए र प्रतिपक्षी सवैलाई गैर राष्ट्रबादीको बिल्ला भिराइदिए । गोरा बाहेक कुनै पनि छालालाई उनले अमेरिकन देखेनन् चाहे त्यो संसदमा जितेर पुगेको होस चाहे सर्बोच्च अदालतको न्यायधिश नै होस ।

कोरोनाले डस्यो:

कोरोना हावाबाट सरेर भोलि सिंगै अमेरिकालाई खान्छ भन्ने कुरा बिगत फेब्रुअरीमै बुझेर पनि ट्रम्पले ये कुरालाई लुकाएछन । वाटरगेट काण्डको भण्डाफोर गरेर राष्ट्रपति निक्सनलाई पदबाट ढाल्न सफल पत्रकार बव उडवार्डले फेब्रुअरीमै लिएको अन्तरवार्तामा ट्रम्पले केरोनालाई खतरनाकर धेरैको ज्यान लिन सक्ने रोग भनेर स्वीकार गरेका रहेछन । चुनावको मुखमै आएर यो कुराको खुलासा गरेर बवले ट्रम्पलाई झनै गाह्रो बनाइदिए किनकि ट्रम्प भन्दै थिए कोरोना केही पनि होइन, यसबाट खासै मानिस मर्दैनन् । पछि आएर त ट्रम्प आफैं पनि कोरोनाबाट विरामी भएर अस्पतालमा भर्ना भए भने प्रथम लेडी मिलेनिया ट्रंम्प लगायत उनका ह्वाइट हाउस टीमका धेरै उच्चपदस्थहरु पनि कोरोनाबाट संक्रमित भए ।
यति हॅुदा पनि उनले कोरोना ठूलो महामारी हो, यसबाट जोगिन मास्क लगाउनु र सामाजिक दूरी कायम गर्नु भनेर जनतालाई आह्वान गरेनन् ।

यो सवै गर्नुको मुख्य कारण के थियो भने उनी धेरैभन्दा धेरै मानिसलाई सडकमा उतार्न चाहन्थे र केही भएको छैन जस्तो गरेर चुनाव जित्न चाहन्थे । अझ डाक्टर र स्वास्थ्य विशेषज्ञलाई त झारपात जति पनि मान्यता दिएनन्। अन्तत: ट्रम्पको कमजोरीको कारण चुनाव हुंदासम्म १ करोड जति अमेरिकनहरु संक्रमित भएका थिए भने २ लाख ४० हजारले ज्यान गुमाइसकेका थिए ।

कोभिडको ज्यानमारा संक्रमणको कुरा लुकाएर जनतालाई ढांट्दै ट्रम्पले खुल्ला आमसभाहरु गरेर हजारौंलाई संक्रमित मात्र बनाएनन्, करीब ७०० भन्दा बढी मानिसहरु जो उनका आमसभामा उपस्थित थिए, ले ज्यानै गुमाए । यसै कारण ट्रम्पलाई अमेरिकी मिडियाले “सुपरस्प्रिटर” अर्थात कोरोना सार्ने महाहैजा को संज्ञा दिए ।आखिर कोरोनाको चुनावी मुद्दाले नै लग्यो ट्रम्पलाई ह्वाइट हाउसबाट बाहिर ।

फेक नेता कि फेक मिडिया?:

ट्रम्पलाई ओरालो लगाउने अर्को मुद्दा हो उनको घमण्डी र प्रेस विरोधी नीति । प्रजातन्त्र र स्वतन्रताको पर्यायवाची मानिने मिडियालाई ट्रम्पले घरमा काम गर्न राखेको नोकरलाई जति पनि मान्यता दिएनन । आफ्नु गुणगान नगाउने स्वतन्त्र वा विरोधी मिडियालाई उनले “फेक मिडिया” को पगरी लगाइदिए ।

फेक मिडिया भनेर उनले कति सार्वजनिक सरकारी अवसरमा त पत्रकारहरुलाई औंला देखाएरै आरोप लगाए भने कहिले त सार्वजनिक स्थानमै संचारकर्मीको हुर्मत लिने काम गरे । कोही पत्रकारलाई पत्रकार सम्मेलनबाटै निकाल्ने काम गरे भने कसैलाई चाइनिज पत्रकार भनेर जातीय भेदभाव पनि गरे । यसको परिणाम स्वरुप देशका करीव ९० प्रतिशत मिडियाहरुसंग ट्रम्पको राम्रो सम्बन्ध भएन ।

अमेरिकाको प्रजातन्त्र अनि स्वतन्त्रताको प्रखर अभ्यास गरेका र संसारमा अमेरिकी कूटनीतिलाई मार्गनिर्देश गरेका नामूद संचार गृहहरु न्यूयोर्क टाइम्स, वाशिंगटनपोष्ट, सीएनएन लगायत सवै लिवरल मिडियालाई ट्रम्पले हरेक दिन फेक मिडिया भनेर धारे हात लगाए । कति पटक त यी मिडियालाई ह्वाइट हाउसको एक्सेस काट्ने पनि काम गरे ।

मिडिया विरोधी खेलमा अमेरिकाका कुनै पनि राष्ट्रपतिहरु यसरी नांगै उत्रिएका थिएनन । मिडिया स्वभाविक रुपमा सत्ताको केही टाढा रहने गर्दछ । त्यसै कारणले मिडिया सरकार संचालनका तीन अंग भन्दा भिन्न चौथौ ॲग मानिन्छ । मिडिया माथि चोथाले मुख चलाएर ट्रम्पले अजिंगरको मुखमै हात हाले । कूटनितीक रुपले बोल्न जानेनन् वा जन्मजातै त्यो संस्कार लिएर आएनन् । अन्त्यमा आज मिडिया र स्वतन्त्रताले जित पाएको छ भने ट्रम्पलाई जनताको मतले नै गलहत्याएको छ र उल्टै उनलाई नै फेक नेता सावित गराइदिएको छ ।

गोरा अधिनायकबादी नीति:

२०१६ को राष्ट्रपति निर्वाचनदेखि नै अप्रत्यक्ष र प्रत्यक्ष रुपमा गोरा अधिनायकवादीको पक्षधरता लिंदै ट्रम्पले मुश्लिम र सवैखाले आप्रबासीहरुलाई कटाक्ष गर्दै आए । गोराको सर्वसत्ताबादलाई नै आफ्नो “अमेरिका पहिलो” को नारा बनाए । चुनावमा अहंतापूर्वक घोषणा गरेझैं सरकार सम्हालेको केही समयमै मुश्लिमहरुलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाए ।

उनको शासन शुरु भएको लगत्तै भर्जिनियाको चार्लोट्सभिलमा द युनाइट द राइट नामक ह्वाइट सुप्रिमेसी (गोरा सर्वसत्ताबादी र नियो-नाजीहरुको प्रदर्शनमा मानिसहरुमाथि कार कुदाएर रक्ताम्य घटना घटाइयो । गोरा सर्वसत्ताबादीहरुको नारा थियो- ब्लड एण्ड सोल । नेपालका माओबादीको भन्दा कम थिएन उनीहरुको सशस्त्र लडाइ ।

अमेरिकाका दुवै पार्टीका नेताहरुले यो घटनाको घोर निन्दा गरे । संचार माध्यमहरुले कडा रुपमा राष्ट्रपतिको ध्यानाकर्षण गराए तर अफसोस् गोरा सर्वसत्ताबादलाई नै मलजल गरिरहेका राष्ट्रपति ट्रम्पले चार्लोट्सभिलका गोरा सर्वसत्ताबादीहरुलाई पूरै समर्थन गरे । यसको कडा विरोध गरेर त्यतिबेलै कारवाही गरिदिएको भए आज मिचिगन र भर्जिनियाका गभर्नरलाई किडन्याप गरेर मार्ने सम्मका योजना बनाउने थिएनन् सर्वसत्ताबादी गोराहरुले ।

ट्रम्पको कार्यकालमा काला जातिलाई गोरा पुलिस अफिसरहरुबाट अनाहकमा अत्याचार गरेर मार्ने काम भयो तर ट्रम्पले निरीह काला जातिका जनताको पक्षमा बोलेनन् बरु पुलिसले ठीक गर्यो भनेर खुल्लमखुल्ला बोले । म “ल एण्ड अर्डर”को राष्ट्रपति हुं भनेर अन्य जातिलाई अझ दबाउने धम्की र चेतावनी चुनाव प्रचार भरी गरिरहे । चुनावको केही महिना अगाडि पुलिसले जर्ज फ्वोइड नामका काला जातिका नागरिकलाई दिन दहाडै सडकमा लडाएर ९ मिनेटसम्म घॉटी थिचेर मारेको घटना चै गोरा सरवसत्ताबादीका पक्षपोषक ट्रम्पलाई पचाउन नसक्ने फलामका च्यूरा बन्यो । विस्कन्सिन, मिचिगन मिनिसोटा जस्ता राज्यमा यस पटक उनको शर्मनाक हारको कारण पनि त्यही थियो ।

ब्ल्याक लाइफ म्याटर:

२०१२ मा मिसौरीको फर्गसन शहरमा काला जातिका ट्रेभोन मार्टिनलाई अनाहकमा गोराबाट गोली हानेर मारे पछि “ब्याक राइट्स म्याटर” भनेर ट्वीटर र सामाजिक संजालमा नागरिक अधिकारबादीहरुले ह्यास ट्याग गर्न शुरु गरेका थियो ।

२०१३ मा सोही अभियानलाई सामाजिक न्याय र काला जीवनको रक्षाको पक्षमा काम गर्न “ब्याक राइट्स म्याटर” सामाजिक अभियान नै शुरु भयो जसमा अमेरिकाका धेरै राज्यहरुका रहेका काला र गोरा जातिका सशक्त नागरिक अधिकारकर्मीहरु समावेश भए । डेमोक्रेटिक पार्टीले “ब्याक राइट्स म्याटर”ले उठाएका सामाजिक र नागरिक अधिकारका मुद्दाहरुलाई समर्थन गर्दै आयो ।

ट्रम्पले राष्ट्रपतिको कुर्सीमा बसेर धुंवाधार रुपमा “ब्याक राइट्स म्याटर” को बिरोध मात्र गरेनन् नागरिक अधिकारमा उत्रिएका काला र गोरा जातिका मिश्रित समुहलाई “लुटेरा”, “फटाहा”को संज्ञा दिंदै फेडरल सुरक्षा गार्ड पठाएर कारवाही गर्ने चेतावनी पनि दिए । “ब्याक राइट्स म्याटर” कै कारण ट्रम्प विस्कन्सिन, मिसिकन, मिनिसोटा, जर्जिया जस्ता ठाउंबाट पत्तासाफ भए ।

आप्रवासी र हिस्पानिकप्रति पक्षपाती:

ट्रम्पले दक्षिण अमेरिकाबाट आएका हिस्पानिक समुदायका मानिसहरूलाई “बलात्कारी र अपराधी”को संज्ञा दिएका थिए । राष्ट्रपतिको आसनमा बसेर पनि उनले आफ्नो अडानलाई झनै खरो रुपमा अघि सारे । मेक्सिको संगको सीमानामा फलामे बार लगाउने र दक्षिणको आप्रवासी प्रवाहलाई रोक्ने नाममा उनले ब्यापकरुपमा धरपकड गरे । सीमा क्षेत्रमा बच्चा सहित आएका असंख्य अभिभावकलाई आफ्ना बच्चाबाट बिच्छेद गराउंदै भरपकड गरेर कडा यातना सहित देश निकाला गरे । आमाको दूधबाट छुटाएर असंख्य अबोध बाल बालिकालाई अमेरिकाका यातना केन्द्रहरुमा अलपत्र पारे ।

ट्रम्पलाई अमेरिकाको सर्बोच्च अदालतले बाल वियोगका अपराधी सावित गर्दै ती अलपत्र पारिएका सवै बच्चालाई आफ्ना अभिभावकसंग पुनर्योग गराउन अदेश दियो । अझै पनि २०० भन्दा बढी बच्चाहरु अमेरिकी बन्दी गृहमा थुनिएका छन र उनीहरुका बाबु आमा जीवित छन कि मारिए कुनै पत्तो छैन । ट्रम्पलाई दक्षिणका आप्रवासीसॅग गरेको यो घृणित र अनमेल नीतिको गतिलो जवाफ चुनावले दियो । असंख्य स्पानिस ल्याटिन अमेरिकी समुदायले यस पटक उनलाई भोट हालेनन् ।

यस्तै गरी मुश्लिम र अन्य ठाउंबाट आएका आप्रबासीलाई पनि ट्रम्पले देखि सहेनन् । अमेरिका आप्रबासीले नै बनाएको स्वतन्त्र देश भएकोले यहां सवैले आफ्नो भविष्य उज्वल भएको र आफू यो देशमा सुरक्षित रहेको महसूस गरिरहेका हुन्छन । तर ट्रम्पले मुश्लिमहरुलाई भ्रमणको प्रतिबन्ध लाउंदै देश भित्र पनि कडा नीति अपनाए । यी सवै हरकतले गर्दा सवै आप्रबासीहरुले ट्रम्पको ४ वर्षे कार्यकालमा देश भित्रै धेरै असुरक्षित महसूस गरे । समग्रमा भन्नु पर्दा अधिकांश मुसलमान र अन्य आप्रबासीले उनलाई मत दिएनन ।

विदेश नीतिमा अमेरिकाको बदनाम:

ट्रम्पले अमेरिकाको विदेश नीतिलाई दोस्रो विश्वयुद्ध पछि पहिलो पटक कमजोर अवस्थामा पुर्याए कि त्यसको यहाँ व्याख्या गर्न सम्भव देखिँदैन । अमेरिकालाई संसारमा उनले बदनाम मात्र गराएनन् कि अमेरिकाको अवमूल्यन पनि गराएका छन् ।

धेरैभन्दा धेरै नीतिहरुमा चुकेका पनि छन् जसले गर्दा अमेरिकाका विरोधी राष्ट्रहरू, विरोधी विचारहरू र अमेरिकाको कुभलो चाहनेहरूको फलिफाप भएको छ भने संसारको रंगमन्चमा अमेरिका स्वयं एक्लै बन्दै जानुपर्ने अवस्था आयो ।
ट्रम्पले सामरिक राष्ट्रहरुको नेटवर्क नाटोबाट अमेरिकालाई बाहिर बनाए । अमेरिकाका सहयोद्धा देशहरुलाई एक्लै बनाए । विश्व वातावरणीय पेरिस सम्झौताबाट बाहिरिए । विश्वका व्यापारिक सम्झौताहरुबाट बाहिरिए ।

रसिया जस्तो अमेरिकाको विरोधी देशसँग हातेमालो गर्दै पुटिनको मोहोरा बन्दै गए । ट्रम्पले आफ्नो ब्यक्तिगत स्वार्थलाई मध्यनजर गरेर विदेश नीतिहरू अगाडि बढाए त्यसले गर्दा अमेरिकाभित्र स्वतन्त्र जनताहरुले क्षमा दिएनन्, उनको विरोधमै मत खसाए ।

तानाशाहसंगको गठजोड र शून्य उपलब्धि:

रसियाका तानाशाही राष्ट्रपति भ्लादिमिर पुटिनसँग हात र कुम जोडेका ट्रम्पले उत्तर कोरियाका तानाशाह किम जोन उन सँग पनि संगत गर्न खोजे । कोरिया पुगेरै किम जोन उनसँग हात मिलाएर फर्किए । तर अमेरिका जस्तो देशले एउटा ठोस अन्तर्राष्ट्रिय अडान र नीति बिना कुनै नेता वा तानाशाहासंग हात मिलाउँदै न । हात मिलाए पनि विषयलाई निचोडमा पुर्याउने गर्दछ ।

तर पनि ट्रम्पको किमसँग भेटघाट भने एउटा राम्रो फोटो र भिडियो खिच्ने काम बाहेक केही पनि भएन । जनताहरुमा प्रश्न थियो- जहिले पनि बिरोधीसँग रमाउने काममात्र किन गर्छन भन्ने । यी बाहेक अन्य देशका पनि कतिपय तानाशाहहरु र मध्यपूर्व क्षेत्रका समस्याहरुलाई लिएर त्यहाँका राजा रजौटा संग हातेमालो गरे । संसारमा प्रजातन्त्रको विकास गराउने, फैल्याउने र त्यसको नेतृत्व अमेरिकाले गर्ने कुरालाई भन्दा पनि ट्रम्पले आफ्नो व्यक्तिगत रुपमा व्यापार फैलाउने उद्देश्यले गरेका विश्व भ्रमणहरु खासै उपलब्धिमूलक रहेनन् ।

संयुक्तराष्ट्र संघ र विश्व स्वास्थ्य संगठनबाट अमेरिकाको बहिर्गमन त झनै आत्मघाती कदम थियो ट्रम्पको । उनको आफ्नो स्वभाव पनि हटवादी, तानाशाही र अप्रजातान्त्रिक भएको कारणले हुनसक्छ उनले जहिले पनि नमिल्दा विदेश नीति र एड्भर्सेरी विदेशी व्यक्तिहरुसँग टांसिन मन पराए ।

अपारदर्शी ब्यक्तिगत ट्याक्स:

अमेरिकामा कुनैपनि राजनेताहरुले आफूले चुनाव लड्न जानु अगाडि नै आफ्नो आयव्ययको विवरण र आफ्नो ट्याक्सका कागजपत्रहरु के छ सार्वजनिक गर्ने प्रचलन रहिआएको छ ।तर व्यापारिक पृष्ठभूमिबाट आएका ट्रम्पले भने राष्ट्रपतिको उम्मेदवार हुँदा र त्यसपछि राष्ट्रपतिमा निर्वाचित भैसकेर काम गरिरहँदा पनि आफ्नो ट्याक्सको कागजपत्र सार्वजनिक गरेनन् । उनले जहिले पनि हठ र अडान लिँदै मैले ट्याक्सको कागज किन देखाउने, मैले हजारौं ट्याक्स तिरेको छु भन्दै कुतर्क पनि गर्दै आए । तर राष्ट्रपतिका अन्य उम्मेद्वारहरूले भने उम्मेदवारी दिनु अघि नै आआफ्नो ट्याक्स सार्वजनिक गरिसकेका थिए ।

ट्रम्पले वीसौं वर्षदेखि आफूले तिरेको ट्याक्सको कागज सार्वजनिक गर्न सकेका छैनन् । दाल में कुछ काला है भने झैं उनले किन ट्याक्सको सूचना लुकाइरहेका छन भनेर जनताहरुले चासो लिइरहेका थिए ।

चुनाबको मुखैमा आएर भने न्युयोर्क टाइम्सले विगत वर्षदेखि ट्रम्पले कति ट्याक्स तिरेका रहेछन् भनेर वास्तविक सूचना उदाङ्गो बनाइदियो । रिपोर्ट अनुसार २०१६ सालमा आफू राष्ट्रपति बनेको बेला ट्रम्पले जम्म ७५० डलर मात्र ट्याक्स तिरेका रहेछन । र कयौं वर्ष देखि उनले एक पैसा पनि ट्याक्स तिरेका रहेनछन् र एउटा करोडपति व्यापारी भएर सामान्य घण्टाको काम गर्ने कामदारले भन्दा पनि कम ट्याक्स तिरेका रहेनछन् । उनले कति आर्थिक चलाखी गरेका रहेछन् । यस चुनावको मौकामा जनताले छर्लङ्गै चिन्ने मौका पाए उनी कस्ता किसिमका नेता वा ब्यापारी हुन् र अब के गर्छन् भन्ने विषयमा । त्यसै अनुसार उनीहरुले आफ्नो मत निर्माण गर्ने अवसर पाए ।

प्रजातन्त्रको लागि खतरा:

उनकै पार्टी रिपब्लिकन पार्टी भित्रकै धेरै पुराना नेताहरुले ट्रम्पलाई अमेरिकाको विकसित प्रजातन्त्रमाथिको एउटा ठूलो खतरा भनेर चुनाव हराउने अभियानमा लागे । उनीहरुले लिंकन प्रोजेक्ट स्थापना गरेर खुल्लम खुल्ला रुपमै ट्रम्पलाई मत नहाल्न अनुरोध गरे ।

ट्रम्पले पनि आफ्नो पार्टीको परम्परावादी विचारलाई विकास गर्नुको सट्टा आफ्नो व्यक्तिगत स्वार्थ र परिवारवादलाई पार्टीमा लाद्ने र पार्टीकै नेतागणहरुलाई गालीगलौज गर्ने काम गरे ।

चुनाव अगाडि नर्थ क्यारोलाइनामा भएको रिपव्लिकन पार्टीको सम्मेलनमा सो पार्टीको कोही पनि राम्रा नेताहरु देखिएनन । त्यहॉ भएका सवै जसो सभाहरुमा ट्रम्पका परिवार सदस्यहरु एरिक ट्र्म्प, डोनाल्ड ट्रम्प जुनियर, इभान्का ट्रम्प, मेलिनिया ट्रम्प आदिले बोलेका थिए ।

उनले कार्यकारी सरकार प्रमुखको रुपमा ज्यादा अधिकारको प्रयोग गर्न खोजे र अमेरिकाको कार्यपालिका व्यवस्थापिका र न्यायपालिकावीचको सन्तुलनमा खलल ल्याउने प्रयास गरे जुन कतिपय विकसित देशहरुमा मात्रै हुने गरेको देखिन्छ । उनले संसदीय अभ्यासको प्रयासलाई मान्यता नदिएर संसद र सिनेटले भनेका कुराहरु भन्दापनि आफ्नो ब्यक्तिगत आदेशमा एक्जुकेटिभ अर्डरहरु जारी गर्दै गए । चाहे दक्षिण सीमामा वाल बनाउने कुरा होस, चाहे मुस्लिमलाई प्रतिबन्ध लगाउने कुरा होस वा सर्वोच्च अदालतको न्यायाधिशको नियुक्ति गर्ने कुरा होस या ओबामा केयरलाई विस्थापित गर्ने कुरा होस् यी विषयमा उनले संसदीय अभ्यासको उल्लंघन गरे ।

विशुद्ध रुपले आफ्ना पक्षधरहरुलाई मात्रै अगाडि बढाउने प्रयास गरे । स्वतन्त्र प्रेसलाई जहिलेपनि फेक न्यूज भनेर कमजोर बनाउने प्रयास गरे भने प्रतिपक्षको भूमिकालाई रचनात्मक रुपले लिएर प्रतिपक्षीलाई सम्मानपूर्वक साथमा लिएर हिड्न सकेनन् । यसको सट्टा प्रतिपक्षीहरुलाई धारेहात लगाएर तथानाम तल्लो स्तरका गालीहरु गर्ने काम मात्रै गरे । यी सबै हर्कतहरुले गर्दा अमेरिकाको प्रजातन्त्रमा नै ट्रम्पद्वारा धेरै खतरा छ भन्ने मूल्याङ्कन यहाँका विभिन्न राजनीतिक नेताहरुले साथै सञ्चार जगत र स्वतन्त्र मतदाताहरुले पनि गरे ।

यसैको परिणाम हो यिनले यसपटक पनि चुनाव हार्नुको ।चुनावमा पराजित भएर पनि उनले निर्वाचनको परिणामलाई स्वीकार गरेका छैनन् । उनका यस्ता प्रयासले पनि प्रजातन्त्रमा खतरा आउने डर धेरैमा छ किनकि अमेरिकनले बुझेको प्रजातन्त्र भनेको बहुमतले सञ्चालन गर्ने गर्दछ, ब्यक्तिले होइन ।

विज्ञान नमान्ने:

ट्रम्प अमेरिकाको यो राष्ट्रपतीय निर्वाचनमा चिप्लिनुका पछाडि विज्ञानलाई नमान्ने उनको हठ पनि कम्ति जिम्मेवार छैन । ट्रम्पले आफूलाई ज्यादा कन्जरभेटिभ देखाउन विज्ञानलाई नमान्ने भन्दै ग्लेबल वार्मिंग र वातावरणीय परिवर्तनलाई विश्वास गरेनन् ।

कोरोनाको मेडिकल निदानलाई मानेनन् । महिलाहरुलाई आफ्नो शरीरको मालिक आफै हुन दिने तर्कमा सहमत भएनन । तेस्रो लिंगीहरुलाई सैनिक सेवाबाट निश्कासन गर्ने र समलिंगी बिबाहलाई मान्यता नदिने तर्फ कडा बने । जलवायु परिवर्तनलाई ठाडै अस्वीकार गरे र सोलार ईनर्जी, वैकल्पिक ईनर्जी र ईनर्जी इन्डिपेन्डेन्स भन्दा पनि कोल इनर्जी र फ्राकिंगकै पक्षमा लागे । यी सवै पुरातनवादी अडानले पनि उनलाई चुनावमा धेरै घाटा भयो ।

(गुणराज लुईटेल पुराना पत्रकार हुनुहुन्छ र हाल नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल- ईन्जाका अध्यक्ष हुनुहुन्छ ।- सं.)

प्रतिक्रिया