बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीलाई लन्डनस्थित नेपाली दूतावासले गर्यो सम्मान

इनेप्लिज २०७७ कार्तिक २३ गते १६:२१ मा प्रकाशित

काठमाडौँ । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई सम्मान गरेका हुन् । लामो समयदेखि बेलायतमा रहेर कला क्षेत्रमा योगदान पुरयाएबापत राजदूत सुवेदी बाट विशेष सम्मान पाउनेमा निर्देशक द्वय कुशल श्रेष्ठ र सनम कुमार वैराग छन् । उनीहरु दुवैलाई नेपाली खुकुरी, पुष्पगुच्छा र मायाको चिनो सहित राजदूतले सम्मान गरेका थिए ।

एक दशक लामो समय बेलायतमा रहेर मिडिया कर्ममा सक्रिय निर्देशक श्रेष्ठले झन्डै तीन दर्जन नेपाली म्यूजिक भिडियो निर्देशन तथा छायांकन गरेका छन् । उनी सँग आधा दर्जन नेपाली चलचित्रमा छायांकनको अनुभव पनि छ । त्यस्तै, सम्मानित हुने अर्का निर्देशक सनम कुमार वैरागले नेपाल तथा बेलायतमा रहेर लामो समय कला क्षेत्रमा योगदान गरेका छन् । बेलायतमा आफ्नै निर्देशन र अभिनयमा नेपाली नाटकहरु प्रस्तुत गर्दै आएका उनले चलचित्र निर्माण तथा निर्देशन पनि गर्दै आएका छन् ।

उक्त महोत्सवमा बेलायतमा निर्मित नेपाली चलचित्र,नाटक र म्यूजिक भिडियोहरुको प्रस्तुति गरिएको थियो।बेलायतमा नेपाली चलचित्र,नाटक तथा नेपाली म्यूजिक भिडियोको विकास, प्रचार प्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ ।

महोत्सवमा राजदूत सुवेदीले लेखेका ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतमा निर्देशक कुशल श्रेष्ठ द्वारा निर्देशित म्यूजिक भिडियोहरु तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित ‘शून्य’ नामक लघु चलचित्र लोकार्पण गरे।महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरु लाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुत गरिएको थियो।साथै, नाटक तथा चलचित्र निर्देशक तथा कलाकार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।सो अवसरमा नायिका मिरुना मगर,अभिनेता ध्रुब दत्त लगायतका कलाकारहरु सम्मानित भएका थिए ।

 

प्रतिक्रिया