मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०३:१३
वासिङटन डिसी 16:28

के ट्रम्पले पास गर्लान् त उनको जनमत संग्रहको अग्नी परीक्षा?

स्याम्पल मतमा बाइडेनको विजय ?

गुणराज लुइंटेल, भर्जिनिया, अमेरिका २०७७ कार्तिक १८ गते १५:३१ मा प्रकाशित

अमेरिका र संसारले अहिले चासोपूर्वक हेरिरहेको छ आज राती वा केही दिनको मतगणनामा को अमेरिकाको राष्ट्रपति हुने हो भनेर । न्यू हाम्सायर राज्यको डिक्सभिल नोच गाउं जहॉ नोभेम्बर ३ मा खुल्ला बोर्डमा गाउंले भेला भएर मत हाल्छन, त्यहॉ त बाइडेनले अत्यधिक मतले जितिपनि सकेका छन । यसलाई स्याम्पल मान्ने हो भने बाइडेनले बहुमत ल्याउने पूर्वानुमानलाई थप बल पुग्दछ ।

अमेरिकाको ५९ औं आमचुवाव:

संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनाव मङ्गलबार, नोभेम्बर, ३ मा (आज) भैरहेको छ । अमेरिकामा यो राष्ट्रपति चुनाव ५९ औं चुनाव हुनेछ भने यसले ४६ औं राष्ट्रपति छान्नेछ । मतदाताहरूले डेमोक्रेटिक पार्टीका जो बाइडेन वा रिपब्लिकनका डोनाल्ड ट्रम्पमध्ये एउटा ब्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्नेछन् भने यहॉका विभिन्न स्टेटबाट राष्ट्रपति चुन्ने इलेक्टोरल कलेजका ५३८ जना प्रतिनिधिहरू पनि पठाउने छन् जसले २०२१ जनवरीमा वास्तविक रूपमा बहुमतबाट अमेरिकाको राष्ट्रपतिको छनौट गर्नेछन् ।

अमेरिकी संविधानले हरेक जोर चार वर्षको नोभेम्बर महिनामा पहिलो सोमबारको भोलिपल्टको मङ्गलबार राष्ट्रपतिको चुनाव हुने व्यवस्था गरेको छ । यहाँ हरेक निर्वाचनमा निर्वाचन आयोगले चुनावको मिति तोक्ने झमेला छैन । हरेक जोर चार वर्षको अघिल्लो वर्षदेखि नै स्वतः चुनावी क्यालेण्डर आफसेआफ सुरु हुन्छ र समग्र राष्ट्रले त्यसैको अनुशरण गर्छ । यही कारण कोरोनाको कहरबीच पनि अमेरिकाको चुनावी प्रक्रिया रोकिएन र आज नोभेम्बर महिनाको पहिलो मङ्गलबार यहाँ मतदान हुँदैछ ।

चुनावका मुद्दाहरु:

यो निर्वाचनलाई राष्ट्रपति ट्रम्पको लागि जनमत संग्रहको रुपमा पनि मानिएको छ । ट्रम्पले वारम्बार झूठ बोलेको, मिडिया र विरोधी विचारलाई अभद्र र अशिष्ट रुपमा ब्यवहार गरेको, आफ्नै पार्टीका नेता र कार्यकर्ताहरुलाई सिध्याएर ट्रम्प एरा शुरु गरेको, साधारण आय भएकाहरुलाई स्वास्थ्य बिमाबाट बन्चित गराउन खोजेको, गरीवलाई ट्याक्स बढाएर धनीलाई कर माफी दिएको, विदेशी राष्ट्रसंगको अमेरिकी सम्बन्ध विगारेको, परिवारवादलाई हावी गराएको साथै अमेरिकी प्रजातान्त्रिक मूल्य र मान्यताहरुलाई समाप्त पार्न लागेको, रंगभेदी नीति लादेर गोरा जातिको प्रभुत्व कायम गर्न खोजेको र आप्रबासी र विशेषत: अमेरिकी काला जाति माथि दमन र अत्याचार गरेको ठाडो आरोप लागेको छ ।

यस पटकको चुनावका केन्द्रीय मुद्दाहरूमा चलिरहेको कोभिड-१९ महामारीको प्रभाव पनि सामेल छ, जसले अमेरिकामा २ लाख ३६ जनाको ज्यान लिइसकेको छ भने करीव एक करोडलाई संक्रमित तुल्याएको छ । यस्तै अश्वेत जातका जर्ज फ्लोइड र अन्य अफ्रिकी अमेरिकीहरूलाई निर्मम तवरमा मारिएका, घटनाहरु सर्वोच्च अदालतकी न्यायधीश रुथ बडर गिन्सबर्गको मृत्यु पछि एमी कोनी ब्यारेटलाई सवै विधि र संसदीय परम्परा मिच्दै मनोनयन गरेको; र केयर एक्टबाट कोरोना पीडितलाई दोस्रो पटक राहत नदिएको विषय पनि मुद्दा बनेका छन । बिडेनले कानूनी र सभ्य राजनीतिक वातावरण तयार गर्ने र आफू सवैको राष्ट्रपति बन्ने बताउंदै आएका छन् भने ट्रम्पले हेल्थकेयर एक्ट खारेजी र आप्रवासनलाई धेरै कडा गर्ने बताएका छन ।

एक टर्मको राष्ट्रपति:

२०२० को राष्ट्रपति चुनावको विजेता जनवरी २०, २०२१ मा मात्रै उद्घाटन सभा मार्फत राष्ट्रपतिको कुर्सीमा बस्ने यहांको परम्परा रहेको छ । यदि निर्वाचित भएको खण्डमा जो बाइडेन आफ्नो उद्घाटनको दिनमा ७७ वर्षको उमेरमा राष्ट्रपतिको रूपमा सेवा गर्ने सबैभन्दा बुढो व्यक्ति बन्नेछन र ट्रम्पलाई एक टर्मको राष्ट्रपतिमा सीमित पार्नेछ् ।सन् १९९२ मा डेमोक्रेट पार्टीका बिल क्लिन्टनले रिपब्लिकन जर्ज एचडब्ल्यू बुशलाई हराएदेखि यता २८ बर्षमा ट्रम्प नै एक चोटी मात्रै कार्यकाल चलाउने पहिलो राष्ट्रपति बनेनेछन । कार्यबाहक राष्ट्रपतिले दोस्रो कार्यकालको लागि चुनाव जित्न नसक्नुलाई अमेरिकी राजनीतिका राष्ट्रपति जनमत संग्रहमा हारेको रुपमा लिने गरिन्छ । यस अर्थमा ट्रम्पलाई एक टर्मको राष्ट्रपति बन्न पिटिक्कै मन छैन र चुनाव जित्न धेरै नै हथकण्डा अपनाइरहेका छन ।

धेरै वटा जनमत सर्वेक्षणहरुले बाइडेन र उनकी उप-राष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसलाई धेरै अगाडि देखाएका छन । यदि बाइडेनसंगै चुनाव जितेको खण्डमा ह्यारिस उप-राष्ट्रपतिको रूपमा सेवा गर्ने पहिलो महिला उम्मेदवार बन्ने छिन । यो पहिलो राष्ट्रपति चुनाव हो जसमा दुबै प्रमुख उम्मेदवार ७४ वर्षभन्दा बढी उमेरका छन्।

इलेक्टोरल कलेजको जोडघटाउ:

संयुक्त राज्य अमेरिकामा इलेक्टोरल कलेज भन्नाले राष्ट्रपति र उपराष्ट्रपतिलाई चुन्ने एक मात्र उद्देश्यको लागि सम्विधानले ब्यबस्था ब्यवस्था गरेको जन प्रतिनिधिहरुको संख्या हो । राष्ट्रपतिको निर्वाचनमा हरेक स्टेटमा जुन पार्टीले बहुमत ल्याउंछ त्यहांबाट तोकिएको संख्यामा इलेक्टोरल कलेजका सवै भोट बहुमत ल्याउने उम्मेदवारले पाउंछ ।

प्रत्येक चार बर्षमा चुनाव संगै गठन हुन्छ इलेक्टोरल कलेज र निर्वाचन सकिएपछि राष्ट्रपतिलाई औपचारिक मतहाले पछि विघटन हुन्छ । यसलाई राष्ट्रपति निर्वाचकहरूको समूह भनेर पनि जान्ने गरिन्छ । संविधानको धारा २ ले व्यवस्था गरेको छ कि प्रत्येक राज्यले त्यहांको व्यवस्थापिकाले निर्धारण गरेको प्रक्रियाबाट इलेक्टोरलहरु जनताको मतको आधारमा पठाउनेछ ।

जस्तै पेन्सिलभेनियाबाट २० इलेक्टोरल भोट पाउन अहिले दुबै पार्टीले जोड जुलुम गरिरहेका छन। यसै गरी हरेक स्टेटबाट निश्चित संख्यामा इलेक्टरहरु पाउने ब्याबस्था गरिएको छ र संबैधानिक ब्यबस्था अनुसार अमेरिकामा सवै ५० वटै स्टेटबाट जम्मा ५३८ इलेक्टोरल कलेज मतदाता रहेका छन ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि वा पूर्ण बहुमत ल्याउन कम्तिमा पनि २७० वटा ईलेक्टोरल भोट जित्नु पर्ने हुन्छ । यस प्रक्रियाको रमाइलो र अति महत्वपूर्ण पक्ष के छ भने राष्ट्रपतिमा निर्वाचित व्यक्तिलाई पनि अयोग्य भएको ठहर भएमा ५३८ जना ईलेक्टरहरुको बहुमतले राष्ट्रपति हुनबाट बन्चित पनि गर्न सक्दछ ।

यस पटकको चुनावमा फ्लोरिडा राज्यका २९ ईलेक्टोरल कलेज मत नपाए ट्रम्पले स्वत: चुनाव हार्ने बताइएको छ भने मिसिगन, एरिजोना, पेन्सिलभेनिया, टेक्सस र नर्थ क्यारोलाइना जस्ता राज्यलाई ब्याटलग्राउन्ड राज्यको रुपमा लिएएको छ । जुन पार्टीले यी राज्यका ईलेक्टोरल मत गुटमुट्याउंछ उसैले चुनाव जित्ने निश्चित छ । इलेक्टोरल कलेजले भने यसवर्ष डिसेम्बर १४ मा औपचारिक रुपमा नयॉ राष्ट्रपतिलाई वैधानिकता दिनेछ ।

के हो प्राइमेरी र ककस?:

राष्ट्रपतिका उम्मेदवार छान्नको लागि पनि यहां रमाइलो प्रक्रिया संचालन गरिन्छ । अमेरिकाका विभिन्न राज्यहरु, डिस्ट्रिक अफ कोलम्बिया (वाशिंगटन डिसी) र सीमा भूभाग- टेरिटोरीहरुमा सम्पन्न हुने प्राइमेरी र ककसहरु संयुक्त राज्य अमेरिकाका राष्ट्रपति चुनावका लागि उम्मेद्वारहरुको मनोनयन प्रकृयाको लागि महत्वपूर्ण हिस्सा हुन।

संयुक्त राज्य अमेरिकाको संविधानले यस प्रक्रियालाई कतै पनि उल्लेख गरेको छैन । अमेरिकी राजनीतिक दलहरूले समयको क्रममा आफ्नै किसिमका चुनावी प्रक्रियाहरू विकास गरेका छन । केही राज्यहरूले केवल प्राइमेरी चुनाव गर्दछन्, केहीले केवल ककस गर्दछन, र कुनैले दुबैको संयोजनबाट उम्मेदवार छान्ने गरेका छन ।

पार्टीहरुले विभिन्न राज्यहरुमा आफ्नो पार्टीबाट उम्मेदवार छान्न गरिने यी प्राइमरीहरू र ककसहरू निकै रोमान्चक हुने गर्छन । अन्तरपार्टीबाट सामान्यतया चुनाव हुने वर्षको जनवरी वा फेब्रुअरीमा यी प्रक्रिया सुरू हुन्छन् र नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको अघि जुन महिनाको मध्यतिर समाप्त हुन्छन्न ।

राज्य र स्थानीय सरकारले प्राथमिक चुनावहरू सञ्चालन गर्दछन् जबकि ककस निजी पार्टीका कार्यक्रमहरु हुन् जुन सिंधा राजनीतिक दलहरू आफैंले सञ्चालन गर्दछन् र अन्त्यमा आआफ्नो दलबाट राष्ट्रपतिका प्रतिष्पर्धीहरुबाट एक जना उम्मेदवार अर्को दलसंग प्रतिष्पर्धाको लागि छानिन्छ । यस्तै प्रक्रियाबाट यसपाली छानिएका हुन डेमोक्रेटिक पार्टीबाट जो बाइडेन र सत्तारुढ रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प ।

लिंकन प्रोजेक्ट:

यस पटकको राष्ट्रपतीय निर्वाचनमा ट्रंम्पको अकर्मण्यताबाट आजीत भएका उनकै पार्टी रिपब्लिकन पार्टीका धैरै घघरान नेताहरुले “लिंकन प्रोजेक्ट” नामक एक गूट खडा गरेर खुल्ला रुपले ट्रम्पलाई भोट नहाल्न र बाइडेनलाई मत दिएर कमसेकम देशको प्रजातन्त्र, राजनीतिक सहिशष्णुता र संस्कारलाई जोगाउन आग्रह गरेका छन । पूर्व बुश सरकारको समयमा विदेश मन्त्री बनेका कोलिन पावेल, पूर्व राष्ट्रपतिका उम्मेदवारहरु, पूर्व गभर्नर, मन्त्री देखि लिएर बुश परिवार र जोन मेकेनका विधवा सम्मले पनि यसपटक बाइडेनलाई समर्थन गरेका छन । अमेरिकामा तेस्रो पार्टी ग्रीन पार्टी कमजोर छ । तर पनि यस्तो वैकल्पिक आवाजहरुले यहॉ भोली तेस्रो सशक्त पार्टीको उदय नहोला भन्न सकिंदैन ।

कोरोनाका सुपरस्प्रेडर:

ट्रम्पले अमेरिकामा चुनावी सभा र सम्मेलन गर्दा मास्क नलगाउनुके साथै अमेरिकालाई लकडाउन नगर्ने भनेर यहां धेरै मानिसमा कोरोना सारे भनेर उनलाई सुपरस्प्रेडर भनिएको छ । उनका आमसभाहरुमा विशेषत: गाउं र कांठतिरका कलेड डिग्री नगरेका गोरा समूहहरु मास्क समेत नलगाइ र सामाजिक दूरी पनि कायम नगरी मानिस भेला गराइएको छ एउटा सर्भेले देखाए अनुसार ट्रम्पका विभिन्न ~यालीमा भागलिनेहरु मध्ये अहिलेसम्म ७ सयको ज्यान गइसकेको छ भने कम्तिमा पनि ३० हजारले कोरोनाको विरामी खेपिरहेका छन ।

कस्ले जित्ला न त:

अमेरिकामा पनि पैसा र अस्वस्थ प्रतिस्पर्धाको राजनीति ट्रम्पले भित्र्याए पछि चुनाव र अन्य राजनीतिक भविष्यबाणी गर्न विश्लेषकलाई धेरै नै गारो भएको छ । हिजै मात्र टेक्ससमा ट्रम्प कार्यकर्ताहरुल् बाइडेनको चुनावी गाडीलाई घेरेर घोषित चुनावी सभा गर्न दिएनन। जथाभावी झुठा नाराहरु लगाएर उनी हिंडिरहेका छन । सवैभन्दा पनि सनसनीपूर्ण र सम्वेदनशील कुरा त के छ भने ट्रम्पले नोभेम्बर ३ अर्थात आजै राती सम्म काउन्ट हुने मतलाई मात्रै आधार मानेर आफूलाई निर्वाचित घोषणा गर्ने शुर बनाएका ऱ्छन । तर महामारीको कारण अर्ली भोटिंग गर्न सुविधा दिइएकोले गर्दा जम्मा २४ करोडमा करीव १० करोड मतदाताले चुनावको दिन अघिनै भोट हालिसकेका छन । ती मतलाई हुलाकबाट पठाइएको छ र तिनको गन्ती चुनावको दिनको मतगडना सकेर शुरु गर्ने बताइएको छ । यसरी अगाडि मत हाल्नेमा धेरै जसो बाइडेनकी मतदाता भएको बताइएको छ । यी हुलाकबाट हालिएका मत गनिसक्न कम्तीमा पनि शुक्रबारसम्म लाग्ने बताइएको छ । त्यसैले राष्ट्रपतिको मतदानको पूर्ण विवरण आउन केही दिन कुर्नु पर्ने देखिन्छ । तर यदि आज बेलुकाको मत गणनामा आफू गगाडि देखिएको भरमा ट्रम्पले आफूलाई निर्वाचित घोषणा गरेभने यो चुनावी प्रक्रिया धेरैठूलो कानूनी मुद्दा मामिलाबाट गुज्रिने निश्चित छ । बाइडेन ४७ बर्षको निश्कलंक राजनितिक यात्रा, मिझासिलो स्वभाव, कूटनीतिको लामो अनुभव र देश भित्र २ पल्ट उपराष्ट्रपति हुंदा काम गरेका कैयौं समर्थकको साथले विजयी भएभने आश्चर्य हुनेछैन । तर ट्रम्पको जालसांझी भारतीय राजनीति भन्दा पनि तल्लो स्तरको भएकोले यसै भन्न सक्ने ठाउं छैन ।
ट्रम्पले आज बेलुका नै आफू निर्वाचित भएको घोषणा गर्ने र हुलाकबाट हालिएका मतलाई मान्त्ययता नदिन रद्द गरी पाउं भनेर सर्वोच्च अदालत जाने संकेत दिएक् छन जुन अमेरिकी संसदीय अभ्यासको लागि बाधक हुनेछ ।

न्यू हाम्सायर राज्यको डिक्सभिल नोच गाउं जहॉ नोभेम्बर ३ मा खुल्ला बोर्डमा गाउंले भेला भएर मत हाल्छन, त्यहॉ त बाइडेनले अत्यधिक मतले जितिपनि सकेका छन ।

यसलाई स्याम्पल मान्ने हो भने बाइडेनले बहुमत ल्याउने पूर्वानुमानलाई थप बल पुग्दछ । जस्ले जिते पनि अमेरिकाको राजनीतिक संस्कारमा सुधार होस र अहिले विभाजित बनेको देश एक बनोस । शुभकामना ।

( गुणराज लुइटेल नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल- ईन्जाको अध्यक्ष हुनुहुन्छ ।- सं.)

प्रतिक्रिया