Ram Prasad Khanal
– रामप्रसाद खनाल
आँखा छल्दै छल्दै
कुँडेमा मुख गाडेर
दूध चोरी चोरी खान माहिर
घर भित्रकै ढाडे बिरालो
बाहिर पनि सिकार गर्न निस्किन्थ्यो
मौसम हेरी हेरी
भाखा फेरी फेरी
दूध खाएर डकार्थ्यो उ
घरको झ्यालबाट,
कौसीबाट
आँगनबाट
चियाउँथ्यो बाहिर तिर पनि
कहिले काहीँ एउटा बन बिरालो
देखा पर्थ्यो उसको नजिक
ङ्यार ङ्यार ……
दुवै यसरी कराउँथे, लड्थे
नजिक पर्न डराउँथे मान्छे पनि
नडराउन पनि कसरी
जङ्गली बिरालाले दूध मात्र होइन
कैयौँ गाउँलेहरूलाई सताएको थियो
झम्टने, टोक्ने मात्र होइन
ठहरै पारेको सुनेका थिए, देखेका थिए
अबोध गाउँलेहरूले ।
यत्तिकैमा एक दिन
जम्का भेट भएका घर बिराला र बन बिराला
नारिएर हिँडेको, मिलेको देखे गाउँलेहरू
तिनीहरूको मेल अचम्मको थियो
नारिएर हिँड्थे
मिलीजुली चोर्थे कुँडेको दूध
मुसा मात्र होइन
कुखुरा र परेवा पनि गाँस हाल्थे
जे खान्थे सँगै खान्थे
सुत्न पनि सँगै जान्थे
बिराला न हुन
चोरी गर्न, सिकार गर्न जानेका
डरै डरले अरूले पनि मानेका
तर खाँदा भागबन्डा मिलेनछ क्यारे
दुवै उस्तै लोभी पापीहरू
घर पालुवा ढाडे बिरालो,
सिकारी बन बिरालो
आज फेरी एकाएक झम्टिन थालेका छन्
चिथोरा चिथोर गर्न थालेका छन्
पहिलेको लुते घर बिरालो
अहिले ढाडे बिरालो भएको छ
नहोस् पनि कसरी ?
दूध मात्र होइन आजकल
उ सबै सबै खान्छ
कतै केही भेटेन भने
अलकत्र भए पनि कोट्याउन जान्छ
गाउँलेहरू चुपचाप हेर्दैछन
बन बिराला र घर बिरालाको चर्तिकला
हेर्नु छ अब के हुने हो घर बिरालाको
देख्नु छ अब के हुने हो बन बिरालाको
तर जे सुकै भए पनि क्षति बेहोर्नै छ गाउँलेहरूले
यस्तै छ अहिले मेरो गाउँको नियति ।
– कार्तिक १६, २०७७
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया