दसैं सद्भावको पर्व हो ,अझ परिष्कृत गरौँ

अरुण राज सुमार्गी २०७७ कार्तिक १६ गते १४:५९ मा प्रकाशित

नेपालको अर्थ बजारमा निकै ठूलो मान्यता राख्ने नेपालीहरूको एकमात्र ठूलो चाड दसैं हो । सदियौँदेखि दसैंको हाम्रो आर्थिक क्षेत्रमा निकै प्रभाव रहँदै आएको छ । सञ्चित धनदेखि बैंकिङ कारोबारीहरूसहित दसैंमा खर्चने कार्य गर्छन् । यस्तो प्रकारको परम्पराले गर्दा हामी अर्थतन्त्रको क्षेत्रमा सामेल व्यवसायीहरूका लागि दसैंको प्रतीक्षा नै हुने गर्छ । धार्मिक सद्भावका साथ सधैं दसैंको आफ्नो अलग सामाजिक तथा आर्थिक पहिचान बनेको छ । हुन त देखासिकीका कारण वा प्रतिस्पर्धाका कारण हामी दसैंमा फजुल खर्च खानपिन र नयाँ वस्त्र तथा साधन र स्रोत घरजग्गाजस्ता वस्तुहरूतर्फ लागेको र लाग्ने मौसमजस्तै बनाएका छौँ । कुल आम्दानीको ठूलो हिस्सा दसैंका लागि नेपालीले छुट्ट्याउने गरेको पाइन्छ ।

यो मौकालाई उद्योगी–व्यवसायीले राम्रो सिजनका रूपमा आफ्नो उत्पादन, आफ्नो स्टक तथा आफूद्धारा बेचिने सामानहरूमा राम्रो लगानी गरेका हुन्छन् । खाद्य सामग्री, सेवामुखी व्यवसाय, भौतिक पूर्वाधारका सामानहरूजस्ता सबै प्रकारका उत्पादनहरूलाई यो सिजनमा बढीभन्दा बढी खपत गराउने, बिक्री गर्ने गरेको पाइन्छ । यो बेला देशको कर तथा अन्तःशुल्क, भन्सार महसुलबाट उठ्ने अर्थका कारण देशको ढुकुटीलाई पनि राम्रै आशा रहेको हुन्छ । यस प्रकारको अर्थतन्त्र चलायमान गराउने दसैंका बारेमा देशका सामाजिक सञ्जाल तथा अभियानकर्ताहरूले यस प्रकारको पर्वलाई विभिन्न प्रकारको संज्ञा दिने गरेको पाइन्छ । दसैंको बदलिँदो परिस्थितिलाई मध्यनजर गरेर सामाजिक सञ्जालमा गरिबलाई दसैं होइन, दशा हो भन्ने गरेको पनि धेरै भयो । यस प्रकारको आ–आफ्नो मौलिकतामा आधारित वर्षको एकपल्ट कुनै न कुनै कार्निभल पर्व नयाँ वर्षजस्ता संज्ञा दिएर विश्वभरि मनाउने गरेको पाइन्छ ।

र, ती देशहरूका लागि पनि यस्ता अवसरमा अर्थ बढी चलायमान हुने गरेको पाइन्छ । सरकारले पनि यस प्रकारको कारणबाट हुने व्यापारको संरक्षण गर्न स्थापित मूल्य र मान्यतामा आधारित यस प्रकारका चाडपर्वलाई आफ्नो नीति तथा कार्यक्रमहरूमा प्रशस्त ठाउँ दिएको पाइन्छ । यिनलाई आर्थिक नीतिभित्रै समावेश गरेको पनि देखिन्छ ।

हामीले सिक्ने भनेको अरूहरूको राम्रो पक्ष हो, तर यहाँ अरूको अनुसरण त कता हो कता, हाम्रो संस्कार तथा परम्परा नै मासिने गरेको, मेला, महोत्सव, पर्वहरूलाई सुधार गरेर त्यसबाट हुने खुसी आर्थिक कारोबारको बढैती÷सद्भावलाई नै महत्व नदिएर परम्परावादी सोचको परिवर्तन भनेको सुन्न पाइन्न । तर, देशले अनुशरण गरिरहेको परम्परावादी अर्थतन्त्रचाहिँ भने आफ्नो बाटोबाट टसमससमेत गराउन चाहन्नन् । यसको पछाडि लुकेको अर्थ के हो भने आसेपासे पोस्ने तजबिजमा काम गराउने, क्रान्तिको नाममा वितरणमुखी अर्थतन्त्र चलाउने, भएको ढुकुटी सक्काउने नै स्थापित भइराख्न दिने । दसैंमा अर्थतन्त्र चलायमान हुनुका कारणहरूलाई हामीले थप अध्ययन गर्नु जरुरी छ । वर्षभरिमा यो दिन र यो पर्व कुरेर यो पर्वका लागि तयारी गरेको बजार थप विकासमा हामीले नीतिगत के व्यवस्था गर्न सक्छौं भन्नेबारेमा पहलकदमी गर्नु जरुरी छ । यस्तो पर्वको बेलालाई यो विश्वभरि फैलिइरहेको कोरोना (कोभिड–१९) को कारण पर्न गएको असरबारे हामीले यसको कारण सिर्जना भएको आर्थिक मन्दीलाई कसरी सम्बोधन गर्नुपर्छ भन्नेबारेमा थप अध्ययन जरुरी छ । कोभिड–१९ का कारण हामीले पर्वमा छाडेका र छोड्दा पनि पर्व मनाएका विषयहरूमा खास खोज, अध्ययन गर्नु जरुरी छ । बढी व्यवसाय गर्ने, त्यो पनि आफ्नो देशको उत्पादनलाई महत्व दिने जस्ता वस्तुहरूको खोज र व्यवस्थापन नै हाम्रा लागि सबल अर्थतन्त्रको मार्ग हो भन्ने शोधबाट देखिन आएको छ ।

हाम्रो अर्थतन्त्रको आयतन सानो भए पनि हामी त्यसलाई आत्मनिर्भर अर्थतन्त्र बनाउन सहजै सक्ने अवस्थामा छाँै । तर, हामीले परिवर्तनका नाममा खर्च बढाएर आम्दानी बढाउनेतर्फ आक्रामक शैली अपनाउन भने सकेका छैनौँ । संघीय सरकारको संरचना र स्थानीय तह, त्यसपछि प्रदेशको संरचनाका लागि हामीलाई पर्याप्त आम्दानी पर्याप्त अर्थको व्यवस्था गर्नुपर्ने हुन्छ । यहाँ खर्च बढिरहँदा आम्दानी बढाउनेतर्फ आक्रामक योजना पस्कन त कता हो कता, प्रस्तावका लागि सोच पनि आएको पाइँदैन । यता हाम्रो योजना आयोग र भौतिक पूर्वाधारले अर्थतन्त्रसँग जोडेर आर्थिक पक्षलाई दरो बनाउन भनेर राष्ट्रिय योजनाको प्रस्ताव पनि नयाँ दिन सकेको देखिन्न । हुन त देश चलाउने दल र नेताहरूले बूढीगण्डकीजस्ता परियोजनालाई बढी नै बनाउने उद्देश्य बोकेको देखिन्छ । अरुणको योजनालाई २५ वर्ष पछाडि धकेल्दा पनि अर्थतन्त्रमा पर्न गएको भन्दा गतिलाई नबुझ्ने राष्ट्रका रूपमा स्थापित नै गराउने राजनीतिक सोच नै पनि हाम्रो अर्थतन्त्रको सबलीकरणको बाधक हो भन्न सकिन्छ । लामो समयदेखि सुनिआएकोे र जिजु बाजेले देशको विकट ठाउँमा विद्युत् उत्पादन गरिसक्दा नारायणघाटबाट मुग्लिनसम्मको क्षेत्र भएर बगिरहेको बूढीगण्डकीलाई स्थापित गर्न नसक्नु पनि हाम्रो सोच नै हो भने पनि हुन्छ ।

भौतिक विकास देखिने विकास हो भने सामाजिक र सद्भावको विकास पनि अर्थतन्त्रको बलियो खम्बा हो । हाम्रो संस्कार हाम्रो देशका लागि वरदान नै हो । संस्कार र धर्मले हामीलाई पर्याप्त पर्यटक प्रदान गरेको छ । अझ यसमा संस्कारद्वारा सद्भाव, संस्कार र धर्मसंस्कृृतिको जगेर्ना गर्न आउने नीतिले हामीलाई समुन्नतिको बाटोमा लैजान साधन बन्ने कुरामा ठोकुवा गर्न सकिन्छ । गौतम बुद्ध, सीता माता, देवका देव महादेव पशुपतिनाथ, मुक्तिनाथ, बराह क्षेत्र, पाथीभरा गोसाइँकुण्ड, मानसरोवरको यात्रामा नेपाल रारा र फोक्सुन्डोका साथै यहाँका जात, धर्म र जातिहरूको पर्वमा आधारित अर्थ विकासको सोच आजको आवश्यकता हो । पर्यावरण र प्राकृतिक छहराहरूले भरिपूर्ण देशको अर्थतन्त्र जादुई तरिकाबाट विकास गर्न सकिन्छ ।

एउटा सन्तले भारतमा भएका मठमन्दिर घुमेर हाम्रो देशको शालिग्रामका बारेमा गरेको प्रचारका कारण आज मुक्तिनाथमा जुन प्रकारको भारतका तीर्थयात्री आइरहेका छन्, त्यसको संरक्षण र संवद्र्धनमा सरकारको नीतिले होइन, कुनै न कुनै अमुक व्यक्तिको प्रयासबाट केही बजेट छुट्ट्याउने परम्पराबाट बाहिर निस्कनुपर्छ । जसरी दसैंका बारेमा हामीले बोकेको मान्यतालाई मध्यनजर गर्ने हो भने हुनेखानेहरू दसैंमा परिवारसहित आन्तरिक पयर्टक भएर खर्च गरिरहँदा हाम्रो पर्यटन व्यवसायलाई सहयोग पुग्ने गरेको पाइन्छ; त्यसैगरी विश्वको मानचित्रमा सम्मानको साथ हेरिने हाम्रा पदमार्गहरू र गन्तव्यहरू पुन हिल, घान्द्रुक, धम्पुस, अन्नपूर्ण पदमार्ग, यस्ता अनगिन्ती ठाउँहरू पूर्वी पहाडमा पनि छन्, त्यहाँ दसैंको लामो छुट्टीमा आफ्नो देशका पदमार्गहरू भ्रमण गर्नेहरू पनि बढेका छन् । यो अवसरका कारण देखेको, हेरेको र महसुस गरेका ठाउँहरूको चर्चा विभिन्न तरिकाबाट बाहिर आउछ । यस प्रकारको क्षेत्र विकास, यस प्रकारको सद्भाव विकास पनि देशको अर्थतन्त्र सबलीकरण गराउन मद्दत गर्ने विषय हो । नयाँ युवा पुस्ताहरूको दसैंप्रतिको मोहमा ह्रास भएको देख्दा बढो चिन्ता लाग्नुपर्ने हो । दसैं दशा होइन, दसैं दसवटा थप सम्भावनाको ढोका हो ।

जुनसुकै देशको पहिचान पनि त्यो देशको वेशभूषा, साहित्य, संगीत, सद्भाव र धर्मसँग जोडिएको हुन्छ । यसका लागि हामीले गरेको लगानीलाई कसरी त्यसतर्फ राज्य, निजी क्षेत्र र सहयोगीहरूको बीचमा पु¥याउन सक्छौं ? यहाँ थप धर्मको नाममा वैदेशिक निकायबाट आएका धनलाई हेर्ने हो भने गुम्बाहरूको नाममा आएको धनको लेखाजोखा नै छैन । यहाँ मठमन्दिर, पाटीपौवा, धर्मशाला बनाउने पैसा भने आउन सकेको छैन, विभिन्न नीति तथा बाधाका कारण । हामीलाई विभिन्न तहका दुई देशका जनतालाई हाम्रो देशलाई गन्तव्य बनाएर आउन अनुकूल बनाउनु छ । यहाँ यस प्रकारको सोचमा अर्थनीति मौन छ । सिद्धान्तविहीन अर्थनीतिलाई कुनै दर्शनले डो¥याउन सकेको देखिन्न । दसैंको पर्व सद्भावको पर्व हो । यसलाई अझ परिष्कृत गरौँ । यसमा पनि अर्थतन्त्रको सबलीकरण लुकेको छ समुन्नत देश बनाउन ।

प्रतिक्रिया