लोक दोहोरी र जीवन

दीपक पन्त २०७७ कार्तिक १४ गते २२:०२ मा प्रकाशित

नेपालको साँस्कृतिक धरोहर मध्य लोक गीत /लोक भाका पनि एक मुख्य हो । हिमाल ,पहाडतराई सबै क्षेत्रमा आ-आफनै लय भाका र शब्दहरुमा लोकगीत गुञ्जिरहेको हुन्छ । तराई कासिरुवा पर्व होस् या पहाडका चण्डी पुजा वा हिमालका ल्होसार सबै चाडवाडहरुमा आ-आफनै मौलिक भाषा र भाकाहरूबाट लोक गीतहरुले त्याहाँको जनजीवनमा जीवन्त प्रदान गरि रहेको पाइन्छ । चाँहे त्यो पूर्वको लिम्बुको धान नाँच हो वा पश्चिम गुरुङ्गको घाँटु नाँच । सुदुरपश्चिमको देउडा वा हिमालको भोटे नाँच सबैमा सबैले नेपाली हुनुमा गर्व गर्दै जीवन्तता थपेका हुन्छन् ।

नेपालको मौलिक संस्कृति क्षेत्रमा पश्चिमी सभ्यताको अतिक्रमण बढ्दै गएको अबस्थामा लोक गीत /संगीतलाई जीवन्त राख्न केही सर्जक तथा व्यक्तिहरू लागि परिरहेको देखिन्छ । पचासको दशक तिर झन्डै झन्डै ऒझेल परि सकेको नेपाली लोक संगीत क्षेत्र २०६० साल पछि मौलाउदै गएको पाइन्छ । अझ यसै बिचमा लोक संगीतलाई जीवन्त राख्दै सामाजिक सेवाका कार्यहरु पनि अगाडि बढाउने अभियानहरु संचालनमा आएका पाइन्छन् । यो क्षेत्रको उठानका लागि क्रियाशील “इन्द्रेणी कार्यक्रम” र त्यसको सञ्चालक कृष्ण कँडेललाई नसम्झदा अन्याय हुन जान्छ । इन्द्रेणी कार्यक्रम मार्फत साँस्कृतिक प्रबर्द्धन,स्वच्छ मनोरन्जनका अलावा यसलेग रेको समाज सेवालाई नकार्न सकिदैन ।

यसै इन्द्रेणी कार्यक्रममा केही हप्ता अगाडि राजधानी भित्रै छायांकन गरिएको रमेश प्रसाई र कल्पना दाहाल बीचको दोहोरी “हुक्का चिलिमले ” भाकाको गीत स्वदेश तथा विदेशबाट सर्बाधिक हेरिएको र रुचाइएको थियो ।

जन्मजात दृष्टि बिहिन भएर पनि समाजमा बेग्लै पहिचान बनाएका रमेश प्रसाईको अर्को प्रतिभा देखेर आम दर्शक श्रोता मन मोहित भएका देखिन्थ्यो । सुन्दरी गायिका कल्पना ढकालको पनि शब्द संयोजन र गीत भित्र भिजेर गाउँने कलाले सबैलाई आकर्षण गरेको देखिन्थ्यो।

इन्द्रेणीकै अर्को कार्यक्रम म्याग्दीको बिममा हालसालै छायांकन गरिएको थियो । उक्त कार्यक्रममा “कहाँ गयौ भँगेरी चरी” बोलको गीतको सर्जक तथा लोक दोहोरी गायिका रिना केसी र रमेश प्रसाई बीच कडा टक्करको दोहोरी भएको देखिन्थ्यो ।

युट्युबमा दुवै गीतका भ्यूअर्स हेर्ने हो भने अपलोडरले सन्तुष्ट मान्ने अबस्था देखिन्छ । अब प्रश्न उठ्छ के कति कारणबाट यी गीतहरू स्वदेश तथा बिदेशमा भाइरल भए त् ?

निश्चित रुपमा लोक गीत मध्ये कै एक विधा दोहोरी गीत सबै नेपालीको मन मष्तिस्कमा बसेकोपाइछ । चाँहे त्यो काँठे भाका होस् वा अन्य । माथिका गीत बजारमा राम्रो चल्नुका पछाडि रमेश प्रसाइको बहुमुखी प्रतिभा पनि मुख्य हो । प्रखर बक्ताका रुपमा त आफूलाई स्थापित गराई सकेका प्रसाईको यो अर्को प्रतिभा इन्द्रेणीमार्फत बजारमा आएकोले पनि दर्शक श्रोताको मन जितेको पाइन्छ । कल्पना र रिना दुबै व्यवसायिक गायिकासँग खुल्लम खुल्ला लाइभ दोहोरी गाउँने जुन आँट रमेशले प्रस्तुत गरे त्यो साहसको कदर गर्नै पर्दछ । तथापि दुवै सुन्दरी गायिकाहरुका शब्द चयन /टुक्का संवादले पनि दोहोरी पारखीका लागि मिठास भरिएको पाइन्छ ।

म्याग्दीको बिममा छायांकनमा देखिएको सहभागी भिडको रंग उन्मत्त त् झन् अर्थ पूर्ण देखिन्थ्यो । बाह्र तेह्र बर्ष देखि कार्यक्रममा लाइभ सहभागी भएका सत्तरी पचहत्तर बर्षका सबै सहभागी दर्शकबृन्दको अंग अंगमा गीत चढेको प्रस्ट देख्न सकिन्थ्यो ।

सबैले आफू अनुकुलको अन्तर मनभित्र भँगेरी चरीका कथाहरु गाइ रहेको देखिन्थ्यो । झन्डै तिन महिना लामो बन्दाबन्दीले निरस भएको जन जीवनलाई लोक दोहोरी माध्यमबाट ल्याएको एक उत्साह ,उमंग र हर्षको भाब सहभागीहरुमा सहजै अनुमान गर्न सकिन्थ्यो । यसरी हेर्दा माहामारीको रुपमा देखिएको कोरोना संक्रमणको मनोबैज्ञानिक त्रासदि पनि थोरै हद सम्म परधकेलिएको आभास देखिन्थ्यो ।

अर्को तर्फ इन्द्रेणीले मनकारी दाताहरुबाट प्राप्त गरेको सहयोग रकम बास्तविक पिडित ब्याक्तिहरुको हात हातमा राहत उपलब्ध गराएर पनि धेरैको मन जितेको देखिन्छ ।

राज्यका आँखा नपुगेको क्षेत्र होस् वा प्रतिभा । दिनदुखीहरुको प्रत्यक्ष सम्पर्कमा आइ सहयोग हस्तातरण गर्ने । लुकेको प्रतिभालाई अघि बढाउँने । जुन काम इन्द्रेणीले गरेको छ। यसले केबल सांगीतिक धरोहर दोहोरी गीति क्षेत्र मात्र स्थापित नभई समग्र नेपाली जन जीवनको एक अर्कोपाटो बिकसित हुँदै गएको जो कोहिले सहजै अनुमान लगाउन सकिन्छ ।

अत: यस्ता कार्यक्रमहरुले धेरै रमेश ,कल्पना ,रिना जस्ता नव प्रतिभाका अलावा यस क्षेत्रलाई माया गर्ने र जीवन्त लागि परेका अग्रज कलाकार राजु परियार, मिलन लामा देखि पछिल्लो पटकचर्चामा रहेकी टीका सानु सम्मको संघर्षलाई बचाई राख्न कोशेढुंगा साबित भएको देखिन्छ ।

समग्रमा लोक गित /संगीत हरेक नेपालीको मन हो । मुटु हो र जीवन हो । यसलाई बचाई राख्न हामी सबैले सामुहिक प्रयत्न गर्नु पर्ने आवस्यकता देखिएको छ । अन्यथा भावी पुस्ताले कुनै पश्चिमी संग्रालयमा हाम्रा मादल र बाँसुरी लाई के हो ? भनेर सोध्ने दिन आउँन धेरै बेर लाग्ने छैन । अत: यस क्षेत्रको सम्बर्धन र संरक्षणका लागि अहोरात्र खटि रहेका कालजयी सर्जकहरु /नवप्रतिभाहरुको कदर गर्दै गीत संगीत कालजयी यात्रामा हातेमालो गर्नु नै देश र भाषा संस्कृतीको उत्थानको लागि तपाइँ हाम्रो दायित्व हुनेछ |

दीपक पन्त

मिल्वाकी , अमेरिका

प्रतिक्रिया