बुधबार, मंसिर १० २०७७
काठमाडौं १२:५९
वासिङटन डिसी 02:14

अमेरिकामा एकैदिनमा कोरोनाबाट ७८ हजार संक्रमित,८७१ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक ९ गते ११:४१ मा प्रकाशित

अमेरिकामा बिगतका तुलनामा एकैदिनमा कोरोनाबाट संक्रमित हुनेको बढ्दो अवस्था छ । गत शुक्रबार अक्टोबर २३ का दिन अमेरिकामा सबै भन्दा ज्यादा संक्रमित भएका थिए । उक्त दिन संक्रमित हुनेको संख्या ८५ हजार ८५ पुगेको थियो भने मृत्यु हुनेको संख्या ९ सय २५ पुगेको न्यूयोर्क टाइम्सले जनाएको थियो ।

गत शनिबार अक्टोबर २४ का दिन ७८ हजार ५ सय ८६ जना नयाँ कोरोना भाइरसबाट संक्रमित भएका छन भने ८ सय ७१ जनाको मृत्यु भएको न्यू योर्क टाइम्सले गरेको आफ्नो सर्वेक्षणमा उल्लेख गरेको छ । बिहान १२:३३ मिनेट मा अध्यावधिक गर्दै यो तथ्यांक निकालेको हो ।

उक्त तथ्यांक गत शनिबार अक्टोबर २४ का दिन २४ घण्टामा लिइएको हो । गत हप्ताको तुलनामा औसत दैनिक संक्रमित हुनेको संख्या ६८ हजार १ सय १० पुगेको छ भने गत दुई हप्तामा औसत रुपमा ३२ प्रतिसत ले वृद्धि भएको न्यूयोर्क टाइम्सले तथ्य प्रकाशित गरेको छ ।

अमेरिकाका ३४ राज्यहरुमा संक्रमण वृद्धि भएको छ भने शुक्रबार ४१ हजार कोभिड-१९ बाट संक्रमितहरु अस्पतालमा भर्ना भएका छन् । इलोनोइसका गभर्नरका अनुसार गत हप्ताको तुलनामा अस्पताल भर्ना हुनेको संख्या १७ प्रतिसतले वृद्धि भएको जनाएका छन् ।

यसै गरि ओहायोमा तेश्रो दिन पनि संक्रमित हुनेको संख्यामा किर्तिमान रुपमा वृद्धि भएको छ । ओक्लाहामामा पनि हरेक दिन १ हजार नयाँ कोरोना भाइरसबाट संक्रमित भएको चौथो दिन भएको छ ।

गत शनिबार न्यूजर्सीमा पनि १ हजार ,९ सय ९४ जना संक्रमित भएका छन् जुन गत मे देखि कै सबै भन्दा एकैदिनमा सर्वाधिक भएको गभर्नर फिल मर्फिले जानकारी दिएका छन् । यसै गरि गत शनिबार मात्र फ्लोरिडामा ४ हजार ४ सय ७१ जना नयाँ कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अमेरिकामा हाल सम्म २ लाख २८ हजार ९ सय ५६ को मृत्यु भएको छ भने ८७ लाख ४२ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३५ लाख ४२ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन/न्यूयोर्क टाइम्स

प्रतिक्रिया