मृत्युको अघिल्तिर मणि

गोविन्द गिरी प्रेरणा २०७७ कार्तिक ६ गते १६:५४ मा प्रकाशित

मृत्युको अघिल्तिर जीवन नै हुन्छ, जीवन भएकैले मृत्यु छ ।

तरुण पुस्ताका शक्तिशाली कवि हुन् मणि लोहनी । मृत्युको अघिल्तिर उनको नविनतम कविता कृति हो । शिर्षकले कतै यो मृत्युको कविता सङ्ग्रह हो कि भन्ने लागे पनि यो सङ्ग्रह जीवनको कविता सङ्ग्रह हो, यसमा थोरै अँश मृत्यु पनि छ । यो उनको दोश्रो कविता सङ्ग्रह हो । यसअघि उनको “मलामी साँझ”(विसं २०६१) प्रकाशित भएको थियो ।

“मलामी साँझ” र “मृत्युको अघिल्तिर” दुवै सङ्ग्रहका शिर्षकले कविको मृत्यु चिन्तनप्रतिको लगाव र निकटताको स्पष्ट आभास दिन्छन् । तर उनका कविता मृत्युले ल्याउने निराशा, तिक्तता, शून्यताले गाँजिएका भने छैनन् । यद्यपि कविता सङ्ग्रहकै आमुखमा उनको उद्घोष छ:

“लाग्छ, कविता लेखेकै कारण मारिनेछु म

प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल

सोच्नु काफी छ,

यस्तै केही सोच्दासोच्दै एकदिन मारिनेछु म

जसरी मारिन्छन् मानिसहरु”

९६ पृष्ठमा बिस्तारित ३२ कविताको बिटो हो-“मृत्युको अघिल्तिर” जसलाई ३ भागमा विभाजन गरिएको छ विषयानुसार-देशको नामा, प्रेमको लय र जीवनको उज्यालो ।

प्रेमको लयमा यौटा कविता मृत्यु सम्बन्धित छ, “मृत्युको पहिरो” । अरु दुई कविता छन् मृत्यु विषयक-मृत्युको अघिल्तिर र ईच्छा मृत्यु जुन जीवनको उज्यालो खण्डमा परेका छन् ।  जीवनको उज्यालो र मृत्यु पूरै विपरित पृष्ठभूमि र परिवेशका प्रसङ्ग हुन् । तर एक साथ एउटै लयमा आएका छन्, किनभने मणिलाई थाहा छ, जीवनको एक हिस्सा नै हो मृत्यु पनि । 

मृत्युको पहिरोमा जीवनकै उज्यालोको कथा छ । जीवन र जीवनको प्राप्ति प्रेम र प्रेममा निमग्न जोडी छन् जीवनको गीत गाइरहेका :

तिमी र म वाहेक हाम्रो प्रेमको साक्षी

अब केही बाँकी रहेन 

मणी कवितालाई सुन्दर प्रतीक र उपमाले सजाएर प्रभाविलो अभिव्यक्ति दिन्छन् । त्यो उनको खूबी हो, विशेषता हो, मणीपन हो । 

यो साँझ र गुँड फर्किरहेका चराहरु

जूनको उज्यालो र हाम्रो बैंसजस्तो वगिरहेको पानी

सरलताभित्रको गहनता यी हरफले दिन्छन् । काव्यिक शौष्ठव र सौन्दर्यको प्रचुरता यिनले प्रदर्शन गर्छन्। 

डा.अभि सुवेदीको अभिमत छ: उनी एक अति यथार्थवादी “सर्रियलिस्टिक” चित्रण गर्छन् । हो पनि, तर मणिका कवितामा प्रकृतिको गुञ्जन छ, दैहिक प्रेमको स्पर्श छ, राष्ट्र पूजनको आहूति छ, अर्चना छ, जीवनका पीडाका पाटाहरु टल्किन्छन्, आक्रोशका काव्यिक धून झन्कारको रुप लिएर देखा पर्छ । उनी यौटा वाद, विचार, परिपेक्ष र परिवेशमा सीमित छैनन् । उनको काव्यिक उडानको आयतन फराकिलो छ ।

आक्रोश पनि सहजतासाथ यसरी प्रकटिन्छ:

अँध्यारोमै हाँसिरहेको छ शासक

दौडिरहेको छ त्यो कालो घोडा, अँध्यारोमै

नगरबधूको कुनै निर्लज्ज साँझजस्तो सभासद

लेखिरहेछ हाम्रो आयु र खुलेआम थापिरहेछ छातीमा

तक्मा ।

मणिका कविता जीवन र जगतका साक्ष हुन् । जीवन र मृत्युका साक्ष हुन् । उज्यालो र अँध्याराका साक्ष हुन् । प्रेम र छुटेका प्रेमका साक्ष हुन्। 

उनी आफैं खुलेयाम घोषणा गर्छन् : ” मान्छेको जीवनमा दु:ख छ । सुख छ । सुखउन्मुख दु:खमा जुन सौन्दर्य छ, सुख मात्रमा त्यो कहाँ ? सुख सपाट हुन्छ । जिन्दगी घामपानी हो । दिनरात हो । लाग्छ, मेरो कविताकर्म यही सुखउन्मुख दु:ख हो र यो दु:खलाई म प्रेम गर्छु ।“

काव्य कर्मको निखार निरन्तरताले ल्याउँछ जस्को पूर्णविराम कतै हुन्न । निरन्तरदेखि निरन्तरसम्म जारी रहनु नै सग्लो निरन्तरता हो । मणिको काव्यकर्म निरन्तर छ र निरन्तरउन्मुख छ, र यो निरन्तरताले ल्याएको निखार पछिल्लो कृतिदेखि यो कृतिसम्म सहजै अनुभव गर्न सकिन्छ, अनुभूत गर्न सकिन्छ । “मलामी साँझ” भन्दा “मृत्युको अघिल्तर” निसन्देह त्यसको सग्लो दृष्टान्त हो । 

कोरा भावनाको उडान मात्र कविकर्म होइन, मणि यसमा सचेत छन् । त्यसैले त उनको निर्बन्ध अभिव्यक्ति यसरी छङ्छङाउँछ, गडगडाउँछ:

ए कवि

भयो नलेख

भूईंचालोलाई गाली गरेर कविता

बरु सक्छौ भने पठाइदेउ एक गाँस अन्न

र यो अवस्थाबाट उठ्न सक्ने एउटा फराकिलो विश्वास ।

साँचो अर्थमा मणि नयाँ पुस्ताका कविहरुको भीडमा “मणि” नै देखिन्छन्, प्रष्ट, झल्झलाकार, टलक र उज्यालोसहित ।

२०७७ कार्तिक ६, काठमाडौं

प्रतिक्रिया