बुधबार, मंसिर १० २०७७
काठमाडौं २०:१९
वासिङटन डिसी 09:34

मतदान गर्नका लागि हार्दिक अनुरोध !

इनेप्लिज २०७७ कार्तिक ६ गते १०:०३ मा प्रकाशित

अमेरिकामा निर्वाचन जारी छ । मतदान गर्ने अन्तिम दिन नोभेम्बर ३, २०२० भएपनि अर्ली भोट गर्न पाइने प्रावधान अनुसार मतदान भैरहेको छ । पछिल्लो समय अमेरिकामा रहेका नेपालीहरु युएस सेन्ससमा गणित हुने क्रम पनि बढ्न पुगेको चर्चा परिचर्चा हुने गरेको छ । कति नेपाली युएस सेन्ससमा गणित भए भन्ने कुराको आधिकारिक तथ्यांक केही समय पछि जनगणना गर्ने निकायले सार्वजनिक गरेपछि थाहा हुनेछ । तर पनि पछिल्लो समय युएस सेन्ससमा नेपालीहरु गणना हुनुपर्छ भनेर भएका गतिविधि र नेपालीहरुको सक्रियताले धेरै नेपाली यस पटकको सेन्ससमा सहभागि हुनु भएको छ भनेर मान्न सकिन्छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले पनि सेन्ससमा नेपालीको सहभागितालाई लिएर अभियाननै चलाएको यहाँहरुमा जानकारी छ ।

यसै सन्दर्भमा, नेपालको माया, सद्भाव, चिन्ता अनि नेपालमा भैरहेका गतिविधिप्रति जसरी हामी चिन्तन गर्छौ त्यस्तै चासो र चिन्ता अमेरिकामा भैरहेका गतिविधिप्रति पनि हामीलाई हुनु जरुरी छ । अमेरिकामा रहेको हाम्रो नेपाली समुदाय फराकिलो बन्दै गएको छ । कर्मभुमीको रुपमा अमेरिकासँग सम्बन्ध जोड्न पुगेको पुस्ता मात्र होइन अमेरिकी भुमीमै जन्मिएर यही आफूलाई स्थापित गरिरहेको पुस्ताको संख्या पनि ठूलो बन्दै गइरहेको छ ।

हामीले अमेरिकी गतिविधिवाट टाढा रहेर होइन यसमा जोडिएर नेपाली समुदायलाई अझ प्रभावकारी समुदायको रुपमा चित्रित गर्न सक्नुपर्दछ । पछिल्लो समय सिटी, काउन्टी काउन्सील मेम्वर, सिटी उपमेयर देखि स्टेट डेलिगेट्स सम्म नेपाली निर्वाचित हुनुभएको अवस्था छ । विभिन्न स्थानमा नेपाली समुदाय भित्रको हाम्रा सदस्यहरु अमेरिकी राजनितिमा जोडिन पुग्नुभएको छ यसलाई सकारात्मक पाटोको रुपमा लिनुपर्दछ । त्यो यात्रामा अगाडि बढ्नुभएका सबैलाई शुभकामना पनि दिन चाहन्छु । र अमेरिकामा भैरहेका गतिविधिबारे चासो, चिन्ता र जानकारी हासिल गरिरहँदा हाम्रो सहभागितालाई पनि सँगै अघि बढाउनुपर्दछ । अहिले अमेरिकामा निर्वाचन जारी रहँदा म मतदानका लागि योग्य सबैलाई मतदानमा सहभागि हुनका लागि हार्दिक अपिल गर्दछु ।

एनआरएनए अमेरिकाले मतदानमा सहभागिता बढाउनका लागि विभिन्न कार्यक्रमलाई अगाडि बढाएको छ । मतदान गर्ने हक प्राप्त गर्नु अधिकार हो भने मतदान गर्नु जिम्मेवारीपन, उत्तरदायित्व अनि मतदाताको निम्ति कर्तव्य पनि हो । अझ हाम्रो समुदायको यस समग्र निर्वाचन प्रक्रियासँग जोडिएका पाटाहरुमा सहभागिताले हाम्रो समुदायको निम्ति विशेष अर्थ र महत्व बोकेको छ त्यसैले म सबै मतदानका लागि योग्य आदरणीय अमेरिकाबासी नेपाली समुदायका समस्त आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरुलाई मतदानमा सहभागि हुन अनुरोध गर्दछु ।

कोभिड–१९ महामारीको यो समयमा सुरक्षित रही आफ्नो दायित्वलाई पुरा गर्न अनुरोध गर्दछु । अहिलेको यो विषम परिस्थितिलाई मध्यनजर गर्दै मतदान प्रक्रियालाई स्वास्थ्य संवेदनशिलताको हिसावले पनि धेरैं उपाय अवलम्वन गरी सुरक्षित ढंगवाट अगाडि बढाइएको पनि निवार्चन आयोगले बताउँदै आएको छ ।

अन्तमा, फेरि पनि म मतदाता सबैलाई मतदान गर्नका लागि हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद । जय एनआरएन । जय एनआरएनए ।

सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका

प्रतिक्रिया