शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १७:३८
वासिङटन डिसी 06:53

दशैं मनाउने दिनको विवाद र बनारसी पण्डाहरुको ठेकेदारी

आर के धमला २०७७ कार्तिक ६ गते २:१७ मा प्रकाशित

 


केहि दिन अगाडी संसारभरी कुन दिन दशैँ मनाउने भनेर एउटा संस्थाले सूचना निकालेको रहेछ।  त्यो सूचना हेरेपछि त्यसले दिन खोजेको संदेश को बारेमा धेरै अनुमान हरु गरे । मलाई त्यो संस्था बारे थाहा छैन र त्यसको आधिकारिकता बारे पनि थाहा छैन, त्यसमा आबद्ध प्रबुद्ध व्यक्तिहरु को सम्मान गर्दै मेरो असहमति को कुरा हरु राख्न को लागि यहाँहरु संग अनुमति माग्छु।  दशैँ चाड को धार्मिकता बारेमा, अनि किन यस्तो खालको बिबादास्पद कुरा हरु आयो भन्ने बारे बुझेको ब्याख्या गर्नु यस आलेख को उद्देश्य हो। 

दशैँ हिन्दु चाड हो?

छोटकरीमा भन्दा दशैँ  समग्र हिन्दुहरुको चाड हैन। यो नेपालीहरुको सर्वधर्म मौलिक चाड हो।नेपालमा दशैँ, सबै सनातनी हरु र मुस्लिम हरु ले पनि मनाउने गरेको पाइन्छ।  नेपालमा हिन्दु बाहेक, बौद्ध, किरात, बोन र मुस्लिम धर्म मान्ने हरुले पनि आफ्नो प्रचलन अनुसार मनाउने गरेको देखिन्छ। यदि दशैँ हिन्दुहरुको मात्र चाड भएको भए संसारमा नेपाल बाहेक धेरै ठाउमा हिन्दु छन्।  भारत, मरिसस, इन्डोनेसिया , बंगलादेश लगायत धेरै ठाउमा हिन्दु छन्।  नेपालीमूल भएकाहरु बाहेक अन्य देशका हिन्दु हरुले दशैंमा कानमा जमरा राखेर निधार मा सेतो वा रातो टिका लागएर हिडेको कसैले देखेको छ ? अनि तिहार मा दिदि बहिनिसंग टिका लगाउने र घर घर गएर देउशी खेल्ने कहिँ कतै अरु मुलुकको हिन्दु ले गरेको देख्नु भएको छ?

बौद्ध धर्ममा गहिरो ज्ञान राख्ने सामाजिक व्यक्तित्व मोहन लामा रुम्बा को अनुसार बडा दशै तामाङ जातिको “तम्ब” परम्परामा आफ्नो स्टदेव संरक्षक खेप्प सुङ्को बिदाई पुजा गर्ने दिन पनि हो , दक्षिण काली फर्पिङको यङ्लेसो गुफामा गुरु रेम्पुर्छेले सिद्धी प्राप्त गरेको दिन पनि हो उता चक्रवर्ती सम्राट अशोकले बौद्ध धर्म अंगालेर अस्त्र त्याग गरेको महत्त्वपूर्ण दिन पनि हो। नेपाली हिन्दुहरुले घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गर्छन । उक्त ग्रन्थमा सुम्भ-निसुम्भ दैत्य वध गरेको प्रसंग आउँछ भने यता बौद्ध शास्त्र चण्ड महारोसन तन्त्र अन्तर्गत योगीनी टीकामा सुम्भ-निसुम्भ दैत्य बध गरेको प्रसंग आउँछ। यता हिन्दुले चण्डी पाठ गर्छ उता बज्रयान बौद्धमा चण्ड महारोसन तन्त्र पाठ गर्ने गर्छन त्यसमा  सुम्भ-निसुम्भ दैंत्य लाई चण्ड महरोसनले बध गरेको भन्ने उल्लेख गरेको हुन्छ।

पहिले राणा कालमा हरेक क्षेत्रमा रहेका जिम्मुवाल र द्वारे हरु बाट टिका लाएर मात्र दशैँ को टिका सुरु हुन्थ्यो।  प्राज्ञ जगमान गुरुङ को अनुसार, पोखरा मियापाटन मा एकजना मिया पनि द्वारे थिए।  त्यस क्षेत्र को मान्छे हरुलाई उनी मुस्लिम मिया ले टिका लगाएर दशैँ सुरु गर्थे रे।  अहिले पनि पूर्व साम्सद भिखारी मन्सुर जो आफु मुस्लिम हुन्, उनले दशैँ तिहार मनाएको समाचार सुनिएको नै हो। त्यसैले के बुझौ भने, दशैँ नेपाल मा हुने ओमकार परिवार भित्रको सबै परिवार, जाति, धर्म, संस्कार को सामुहिक चाड हो।

दशैँ मा जमरा टिका किन लाइन्छ?

दशैं को बारेमा धेरै अध्ययन अनुसन्धान भएको छन्। दशैं र तिहार दुवै पर्व हरु सुरुवातमा मगर जातिबाट नै बिकसित भएको हो भन्ने धेरै को अन्दाज छ। मानब विकास भर्खर कृषि युग मा प्रवेश गरेको थियो, त्यहि भएर खाद्यान्न को महत्व उच्च थियो। त्यो बेला पहाड र लेक मा हुने अन्न हरु मकै र जौं थिए। त्यो अन्न भित्र्याए पछि घर मा सह आएको मानिन्थ्यो। वर्षा को काम पनि सकिएको र सबै कुराले अनुकुल भएको मौसम भएकोले त्यस अन्न भित्र्याएको खुसियाली मा जमरा र सेतो टिका लाउने प्रचलन भएको मानिन्छ।  धेरै पछि हिन्दु धर्म को प्रभाब बढ्दै जादा नवदुर्गा पूजा र प्राचिन टिका लाउने संस्कृति मिश्रण बाट आज हामीले मनाउने दशैँ विकास भएको मानिन्छ। त्यहि भएर यो भारत मा मनाउने दुर्गापूजा भन्दा एकदम फरक र पृथक छ।

 अमेरिकामा दशैँ किन मनाउने ?

बच्चाहुदा हामी, दशैं मा टिका लाउदा दिर्घायु हुन्छ, दुर्गा भवानीको आशिर्वादले चिताएको पुग्छ भन्ने सुन्दै हुर्केको हो।  अहिलेको पुस्तालाई त्यस कुरा ले छुदैन। मैले मेरो बच्चा हरु लाइ दशैँ मा टिका नलाउदा सबै खत्तम हुन्छ, बर्बाद हुन्छ, टिका लाउदा दुर्गा को आशिर्वाद ले केहि हुदैन भनेर बुझाउन खोजे भने त्यो निरर्थक हुन्छ।  त्यसो भए संसारमा दशैँ मा टिका नलाउने हरु धेरै छन्, ति सबै अगति पर्नु पर्ने हो त भनेर प्रतिप्रश्न गरे भने के भनेर उत्तर दिने?

अब को बच्चा हरु ले हरेक कुरा को कारण खोज्छन, मुर्त कुरा खोज्छन।  भगवान ले यस्तो गर्छन वा अर्को जन्म मा यस्तो हुन्छ भनेर अमुर्त कुरा गरेर अल्मल्याउन सक्ने अवस्था हैन। मैले मेरो बच्चा हरु लाइ भन्ने उत्तर चाही, दशैं र टिका भनेको कुनै खास कारण भन्दा पनि बढी हाम्रो संस्कृति हो।  हाम्रा पुस्ताहरुको हजारौ बर्ष को अनुभबमा बिकसित हुदै आएको संस्कृति हो यो, त्यहि भएकोले यो हाम्रो नेपाली हरु को पहिचान हो।  संस्कृति मासियो भने त्यो पूर्णत लोप हुन्छ, फेरी कहिले पनि पुनर्प्राप्ति हुदैन।  त्यहि भएर संस्कृतिक सम्बर्धन को कारणले यो दशैं मनाउनु पर्छ भन्ने नै हो।

अब बिस्तारै नेपाल बाहिर नै अर्को पुस्ता तयार हुदै छ। १ वा २ पुस्ता पछि बिस्तारै नेपाल संग को सम्पर्क छुट्छ त्यो वास्तविक हो। हामीले अहिले देखि नै नेपाल हाम्रो मुल्भुमी हो, र त्यहाँ को कुरा लाइ अधिकारिक मानेर जादा, नेपाल संग को माया, ममता र सम्मान सधै रहने हुन्छ।  क्रिस्चियन ले भ्याटिकन अनि मुस्लिम ले चाही मक्का मदिना भने जस्तो, हामी नेपाली को आउने सन्ततिले नेपाल लाइ आफ्नो पबित्र भुमि मान्ने आधार तयार नगर्ने हो भने, अहिले दशैँ ठाउँ अनुसार मनाउनु पर्छ भन्ने हरुको सन्तति पनि २ पुस्ता पछि दशैँ नमनाउने भै सक्न सक्छन, बेलैमा चेतना भया …| हरेक चाड पर्व, र संस्कृतिक कुरा लाइ नेपाल लाइ आधार बनाउन सकियो भने नेपाल प्रति को सम्मान, नेपाल प्रति को सम्बन्ध र पवित्रता पुस्तौ पुस्ता पनि रहन्छ।

अहिले को विवाद के हो ?

एक खालका मान्छे हरु छन्, जो आफुलाई धर्म को ठेकेदार मान्छन। अहिले आफुले भनेको कुरा चाही शास्त्र सम्मत भनेर फुर्ति लाउन थालेका छन्। नेपाली हरुको समग्र चाड लाइ तानेर हिन्दु को मात्र अनि अझै बाहुन को मात्र जस्तो बनाउने सोचाई राखेर जडता र धर्मान्ध फैल्याउन उद्द्यत छन्।  मैले माथि नै भनि सके, बनारस मा वा हरिद्वार मा दशैँ मनाउदैनन।  त्यहाको दुर्गा पूजा र हाम्रो दशैँ परम्परा मा धेरै फरक छ। त्यहाँ को गणना पद्धति सिकेर नेपाली मौलिक चाड को बारेमा निर्णय गर्दा, त्यो संग संस्कृतिक महत्व जोड्ने अन्य परम्परा भएको हरु लाइ कति असर पर्छ एउटा पोहोर को उदाहरण हेरौ।पोहोर साल तिहार मा यमपन्चक ४ दिन मात्र भनियो।  नेवारी परम्परामा त्यो ५ दिन नै मनाउनु पर्ने रहेछ किन को म्ह पूजा पनि यम पन्चक भित्रै पर्छ।  त्यस पछि नेवार समुदाय ले नेपाली पंचांग निर्णायक समिति को पात्रो नै बहिस्कार गरेर भोलि पल्ट भाइटिका मनाए। तिथि मात्र हैन, हाम्रो संस्कृतिक कुरा हरु पनि यसमा सन्निहित छन्।  अहिले दशैँ अघिल्लो दिन मनाउनु पर्छ भन्ने झुण्ड लाइ संस्कृतिक चेत कतिको छ मलाई थाहा छैन, तिथि मात्र हेर्न थाल्यौ भने अर्को संस्कृतिक ध्वंस सुरु गरेको भनेर बुझ्नु पर्ने हुन्छ।

कुरा रह्यो तिथि र साहित् को , हाम्रो धार्मिक सहिष्णुता माथि प्रहार गर्ने झुण्ड हरु हो, दशैँ को तिथि को बारेमा आऊ सार्वजनिक बहस गरौ, अनि सांस्कृतिक चेत नभएका जड हरु हो, भन त, आमा को गर्भ मा आए देखि नै साहित् को टिका लाएको राजपरिवार को अन्त्य किन भयो? किन भने टिका ले ज्यान जोगाउने हैन, टिका लाउने संस्कृतिक कुरा हो, त्यति त बुझ।

ब्यबहारिक पाटो

बंगलादेश ले पनि नेपाल को जस्तै बिक्रम सम्बत चलाउछ।  बिक्रम सम्बतमा महिनामा हुने घटबढ ले गर्दा इश्बी सम्बत मा गणना गर्न वा अन्य कुरालाई असहज भएकोले, बंगलादेश सरकारले बिक्रम सम्बत लाइ आफ्नो देश को लागि परिमार्जन गरेछ।  आखिर जम्मा ३६५ दिन नै हो, १ दिन जेठ मा राखेर वा असार मा परेर के फरक भयो र? सन् १९८७ देखि बिक्रम सम्बत लाइ पनि इश्बी सम्बत जस्तै गरि निश्चित दिन भएको महिना हरु  बनाइएको रहेछ।  बैशाख देखि भदौ सम्म ५ महिना, ३१ को महिना अनि असोज देखि चैत्र ३० को महिना, जम्मा ३६५ दिन नै के फरक भयो र? अप्रिल १४ भनेको जहिले पनि बैशाख १ गते, कति आनन्द व्यवहार मा प्रयोग गर्न ।

बृहस्पति संहिता को व्यवहार काण्ड मा लेखिएको छ

केवलं शास्त्रमाश्रित्य कर्त्तव्यो विनिर्णयः

 युक्तिहीनविचारे तु धर्महानिः प्रजायते ॥ (१, १, ११४ )

यसको आसय हो , केवल शास्त्र को ढोंग देखाएर कर्तब्य र संस्कार लाइ तिरस्कार गर्ने युक्तिहीन विचार हरुले धर्म लाइ हानि गर्दछन।  अब भन्नुस तपाई हरु को कर्म ले हाम्रो संस्कृतिक समन्ज्यस्यता लाइ, हाम्रो सर्वधर्म चाड दशैं लाइ हानी गर्दै छ कि फाइदा गर्दै छ। यसै श्लोक लाइ आधार मान्दा पनि, दशैं को दिन लाइ विवाद मा ल्याउने स्वनाम धन्य ज्योतिषी हरु, शास्त्र र श्लोक पढेर र देखाएर हाम्रो संस्कृतिक धर्म लाइ हानी गर्दै हुनु हुन्छ।

अन्त्यमा,

नेपालमा, नेपाल सरकारले नै पंचांग निर्णायक समिति बनाउछ, अनि त्यसले गरेको निर्णय लाइ आधिकारिक मानिन्छ।  त्यति हुदा हुदै पनि पोहोर को साल तिहार मा, नेवार समुदाय को सांस्कृतिक कुरा लाइ तिहार को तिथि गणना गर्दा मिलान गर्न नसकेको ले माफि मागेर अब देखि यमपन्चक ५ दिन नै राख्ने भन्ने अनौपचारिक कुरा आयो।  अब यो अनतराष्ट्रिय चाड पर्व घोषणा गर्ने यो निकाय को आधिकारिकता के हो ? यसको कहिँ पनि अधिकारिक जानकारी पाउन सकिन।  एउटा लेटरहेड हेर्दा काठमाडौँमा गैर सरकारी संस्थाको रुपमा दर्ता भएको हो कि जस्तो देखिन्छ। जे होस्, मेरो धर्म, मेरो संस्कार, मेरो आस्था लाइ निर्णय गर्ने यसले आधिकारिकता कहाँ बाट पाएछ त्यो जानकारी भएमा राम्रो हुने थियो।  अब यो सम्बन्धि बहस, यो संस्था अमेरिका मा दर्ता भएको भए अमेरिका को अदालत मा र नेपाल मा दर्ता भएको भए नेपाल को अदालत मा बहस हुने छ भन्ने विश्वास छ।

अमेरिका को वाशिंगटन डि सी क्षेत्रमा नेपाली संस्कृतिलाइ जोगाउने उद्देश्य राखेका २ वटा प्रमुख संस्था छन्।  एउटा नेपाल अमेरिका सामुदायिक केन्द्र (NACC) र अर्को नेपाली शैक्षिक एबम संस्कृतिक केन्द्र (NECC)।  कसैको लहडमा कसैको हठ मा, कुनै आधिकारिकता बिना, नेपाली संस्कृतिक पर्व लाइ बिबादमा तान्दा, यी संस्थाहरु किन बोल्दैनन? संस्कृति जोगाउन खुलेको भन्ने अनि ठिक र बेठिक छुट्याएर दशैं मान्ने हामी हिन्दु, सनातनी, बौद्ध, किरात सबैलाइ समेट्नु पर्ने मा, चुप लागेर रमिता हेर्न मिल्छ? यसले हाम्रो अन्तर्जातीय र अन्तरधार्मिक सम्बन्ध बलियो हुन्छ? नेपाल संग को हाम्रो सद्भाव र पवित्रता कायम रहन्छ ? तपाई हरु यसरि नै चुप लगेर बस्ने हो भने, तपाई हरु संग को मेरो आबद्धता प्रति मलाई एकदम पछुतो हुनेछ।

प्रतिक्रिया