विराटनगरका उद्योगीहरुको सहयोगमा एक सय शैय्याको कोरोना केयर सेन्टर सञ्चालन हुने

इनेप्लिज २०७७ कार्तिक ५ गते ०:४९ मा प्रकाशित


विराटनगर,४ कात्तिक।कोरोना सङ्क्रमितको उपचारमा सहजता प्रदान गर्न उद्योगी एवं निजी क्षेत्रको सहयोगमा विराटनगरमा एक सय शैय्याको कोरोना केयर सेन्टर निर्माण हुने भएको छ।

विराटनगर महानगर क्षेत्रभित्र उपयुक्त स्थानमा उक्त सेन्टर निर्माण गरिने भएको बताइएको छ।

सेन्टर निर्माण अभियानका लागि विराटनगर महानगरका प्रमुख भीम पराजुली ,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतका व्यक्तिहरुले कोभिड राहत कोष निर्माण गरि विगत केही समयदेखि निरन्तर कार्य गरिरहनु भएको छ।

सेन्टर निर्माण गर्ने कार्यका लागि प्रमुख सल्लाहकारमा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोरालालाई राखिएको छ भने उद्योगी तथा पूर्व संविधान सभा सदस्य पवन सारडाको अध्यक्षतामा १३ सदस्यीय समिति आज गठन गरिएको छ।समितिका सदस्यहरुमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा ,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्र राउत, उद्योगीहरु महेश जाजु,सुशिल धनावत,नविन रिजाल,लायन्स क्लबका राजन खत्री,नेपाल बार एशोसिएसनका पुनम गुप्ता,रोटरी क्लबका बिजु थपलिया,सामाजिक अभियन्ता सुची चौधरी र सदस्य सचिवमा पुनमकुमार दाहाल रहनु भएको छ।

यस्तै सल्लाहकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की,आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बो,सामाजिक विकास मन्त्री जीवन घिमिरे,उद्योग पर्यटन,वन तथा वातावरण मन्त्री जगदिश कुसियत ,प्रदेश सांसद एवं नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्की,प्रदेश सभा सदस्य जयराम यादव विराटनगर महानगरका प्रमुख भीम पराजुली ,जहदा गाउँपालिका ,कटहरी गाउपालिका ,बुढीगंगा गाँउपालिका ,बर्जु गाउँपालिका ,ग्रामथान गाउँपालिका प्रमुहरु रहनु भएको छ।

समितिको आज वसेको बैठकले विराटनगरका आम नागरिक समुदायको हितका लाागि नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको र यसबाट सर्वसाधारण जनता लाभान्वित हुने सेन्टरका अध्यक्ष सारडाले बताउनु भयो।उहाँले विराटनगर महानगर र प्रदेश सरकारको सहयोगमा कामको थालनी दुई÷तीन भित्र शुरु गरिने जानकारी दिनु भयो।

 

प्रतिक्रिया