सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:३९
वासिङटन डिसी 16:54

सिराहा-सप्तरीका सरकारी बिद्यालयमा कम्प्युटर ल्याब बनाउन अमेरिकामा म्याराथन दौड

इनेप्लिज २०७७ कार्तिक १ गते २३:४९ मा प्रकाशित

नेपालको तेह्रथुम जिल्लाको जलजलेमा जन्म भै हाल अमेरिकाको इन्डियानामा बस्दै आइरहेका एसोसिएसन् अफ नेपालिज इन मिडवेस्ट (आन्मा का महासचिब डा.ओम दाहालले अक्टोबर १७ मा २०२० डेट्रोइट म्याराथोन (भर्चुअल )पुरा गरेका छन। आन्मा संग सहकार्य गर्दै नेपालको प्रदेश नम्बर -२ सिराहा र सप्तरी मा पर्ने यी तीन बिधालयहरू क्रमश: श्री जनता माध्यमिक सुखिपुर, श्री जनता चेथरु जितन माध्यमिक सुखिपुर र श्री राजेन्द्र देवकी माध्यमिक कोइलाडी तिलाठीमा एउटा/एउटा कम्प्युटर ल्याब बनाउने उदेश्यका साथ डा दाहाल ले उक्त म्याराथन पुरा गरेका हुन।

बिगत पाँच वर्ष देखि हरेक वर्ष म्याराथन दौडदै आएका डा दाहालले हरेक वर्ष म्याराथन मार्फत संसारको विभिन्न ठाउमा बसोबास गर्नु हुने साथीभाई, शुभ चिन्तक र अन्य सहयोगी संघ संस्थाहरुसंग सहकार्य गरि फन्ड संकलन गरेर, सोहि फन्ड मार्फत नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम पनि गर्दै आएका छन।

बिगतका बर्षहरुमा क्रमश: १) २०१६ को इन्डियानापोलिस मोनुमेन्टल म्याराथोन मार्फत तेह्रथुममा एम्बुलेन्स, २) २०१७ को शिकागो म्याराथोन मार्फत नवलपरासीको यादव माध्यमिक बिद्यालय मा छात्रामैत्री शौचालय, ३) २०१८ को मरीन कर्प्स म्याराथोन वाशिंगटन डिसी मार्फत तेह्रथुमको श्री शंकर र श्री जन ज्योति माध्यमिक बिद्यालयहरूमा कम्प्युटर ल्याब र ४) २०१९ को न्यूयोर्क म्याराथोन मार्फत जाजरकोट का ४ वटा बिधालयहरू क्रमश: श्री शिब शंकर, श्री दीपेन्द्र, श्री भगवती र श्री शंकर भवन माध्यमिक बिधालयहरूमा कम्प्युटर ल्याबको ब्यबस्था भएको थियो।

क्राउन पोइन्ट इनडियानामा बिहान ६:३० बजे सुरु भै ११:०० बजे सकिएको भर्चुअल म्याराथोनमा उक्त एरियामा रहनु हुने नेपाली बिक्रम श्रेष्ठ ले डा. दाहाल संग संगै २६.२ माइल साइकलमा यात्रा गरि दौडमा आइपर्न सक्ने बाधा ब्यबधानको जिम्मा लिई सहयोग गर्नु भएको थियो।

त्यसै गरि अन्य नेपालीहरु क्रमश: डा. सोहन खतिवडा, डा.गोकर्ण अर्याल, डा. बिर काफ्ले, प्रभा अर्याल र प्रिशा अर्यालले बाटोको बिच बिचमा बसी पानी तथा फलफुलको ब्यबस्था गर्नु भएको थियो। आन्मा का पूर्व उपाध्यक्ष तथा वर्तमान ट्रष्टी डा. सोहन खतिवडा ले डा. दाहाललाई डेट्रोइट म्याराथोनको पदक पहिराई दिनु भएको थियो। म्याराथन समापन अवसरमा सो एरियामा रहनु हुने नेपाली परिवारको उपस्थिति रहेको थियो।

२० वटा कम्प्युटर, १ प्रिन्टर, १ प्रोजेक्टर सहितका तीन वटा कम्प्युटर ल्याब निर्माण गर्ने लक्ष्य भएको यो अभियान को अनुमानित लागत नेपाली रुपया चौध लाख (अमेरिकन डलर अन्दाजी $ १२,५००) संकलनको लागि डा. दाहालले गो फन्डमि प्रयोग गर्दै फन्ड जम्मा गर्न सुरु गरेका छन। तलको गोफन्डमि लिंकमा गइ यो अभियान मा सहयोग गर्न सकिने छ।

https://www.gofundme.com/f/computer-labs-in-siraha-and-saptari-3-schools

प्रतिक्रिया