आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:४६
वासिङटन डिसी 17:01

‘यसपालिको दशैँ तिहार’

रजनी मल्ल ,न्यु जर्शी अमेरिका २०७७ कार्तिक १ गते १२:४३ मा प्रकाशित

हरेक बर्ष झैँ आज पनि फूलबारीमा फुलेका गोदावरी अनि सयपत्रीका फूलहरुले हिन्दुहरुको महान चाड बडा दशैको आगमनलाई संकेत गरिरहेका छन् भने मखमली फूलहरुले दिदी बहिनी र दाजुभाई बिचको अगाध मायालाई समेतिएर बाटो ढुकिरहेका छन्। सुस्तरी बहिरहने पवनले पनि ति फुलका सुगन्धलाई चारैतिर छरेर बातावरण लाई नै मुग्ध बनाइरहेको छ। हरेकको मन मस्तिष्कमा दशैको आगमनको उत्साह उमङ्ग त छदै छ, त्यसमा पनि पहिले मनाएका दशैँ तिहारको रमाइलो झझल्को मात्रै नभएर आफु बाल्यकाल हुदा खेरिको दशैँ तिहार त् जो कोहीको मनमा अझैपनि ताजै रहेको हुनुपर्दछ। तर हो यसपालिको दशैँमा भने दशैँ तिहारमा लाग्ने बजार भित्रको त्यो उत्साहजनक बातावरण देखिदैन। पहिलेका बर्षहरुमा देखिने त्यो चहलपहल अनि उत्साह उमंग हरुको साटो हरेकको अनुहारमा अनि मनमा अहिले कताकता डर लुकिरहेको भान हुन्छ। ‘नडराउ बरु सतर्कता अपनाउ’ भने पनि पहिले पहिले आउने त्यो रुघा खोकी साधारण हुन्थ्यो तर अहिले रुघा खोकी लाग्यो कि त्यसले जो कोहीलाई पनि थाहा नै नदिई झस्काई दिन्छ। कहिँ कतै जादा पनि आफु र अरुको बचावटको लागि लगाइने अनुहार नै आधा छोप्ने मास्क्ले गर्दा आफुले चिनेजानेकाहरू पनि बाटोमा भेट्दा नचिन्ने भैसक्यो।

बिदेशमै अड्किएका कतिपय युवाहरुको आफ्ना परिवारलाई भेट्ने निहु भनेकै यो दशैँ तिहार हो। अब त् चाहेरै पनि आमा बाबाका हातबाट लिने टिका अनि त्यो अमुल्य आशिर्वाद लाई छातीभित्र लुकाएर चित्त बुझाउनु परेको छ अनि आफ्ना प्रिय प्रियसी र बालबालिकालाई पनि यहि कोरोनाको कारण देखाई भेट्न नसकेको कुरा अबगत् गराउनु परेको छ। हुन त अहिलेको परिस्थितिलाई सबैले बुझेकै पनि हुन्छन साथै अहिलेको मोबाइल को जवानामा फोन मार्फत् भए नि भिडियो च्याट गरेर पनि चित्त बुझाउन सकिन्छ। समय सधै एकनाशको हुदैन। बास्तबमा भन्ने हो भने समय सधै एकनाशको हुनुभन्दा फरक फरक हुनुमा जिबन जिबन जस्तो लाग्दछ। एक किसिमको संघर्ष भित्रको कौतुहलता,डर,उत्साह,पिडा, खुशी मिश्रित सबैको नया नया अनुभबहरु बटुल्न पाइन्छ। जिबनमा आउने अप्ठेरा परिस्थितिहरुबाट धेरै कुराहरु सिकिन्छ, परिस्थितिले समस्यासंग जुध्न सिकाउँछ। हो कहिले काही ज्यादै गार्हो हुन्छ तर त्यसले मन देखि बलियो बनाउँछ।

कुनै पनि कुरा को फाइदा बेफाइदा दुवै हुन्छ अहिले फैलिरहेको कोरोनाले जीवनलाई त्रसित तुल्याउनुको साथै कतिपयको ज्यान लिएको छ त्यो पनि बडो दुखका साथ। जिबनको अन्तिम घडीमा पनि आफ्ना प्यारा आफन्त हरु बाट टाढा रहेर बेवारिसे तरहले जानुपरेको छ। कतिपय त् निको पनि भएका छन्। यसले सामाजिक आर्थिक, राजनैतिक, हरेक क्षेत्रमा नकारात्मक असर पारेको कुरा सर्बबिधितै छ। कोरोनाको त्रशित बातावरण ले निम्त्याएको बन्दा बन्दीको कारणले गर्दा चाहेर पनि काम गर्न सकिरहेका छैनन्। कतिपय बेरोजगारी बनेका छन्। ‘काम छ त् माम पाइन्छ’, पैसा छ त आधार पाइन्छ’। कतिपय दैनिक गुजारा गर्नुपरेका लाई दैनिक आधारभूत आवश्यक सामानहरुको अभाबमा भोको पेटमै गुजारा चलाउनु परेको छ। ति झिलिमिली रमाईला शहरहरु पनि सुनसान नरमाईलो लाग्न थालिसकेको छ। सबैको जीवनले अनि अनेकौ क्रियाकलापहरुले अर्कै मोड लिईसकेको छ।

अर्को तर्फ बाट हेर्ने हो भने अहिले को युगमा मानिसहरु यस्तो व्यस्त छन कि परिवारको लागि समय छैन आफ्ना बालबालिकाको लागि समय दिन सकिरहेका छैनन। पैसा कमाउन कामको पछि दौडे दौदे छन। अहिलेको यो कोरोनाले ल्याएको डर अनि बन्दाबन्दिले गर्दा घरैमा बस्नुपर्नाले परिवारसंग समय बिताउने मौका पाएको छ। आफ्ना बालबालिकालाई नजिकै बाट नियाल्ने मौका पाएको छ। कामको शिलशिलामा आफ्नो गाउघर शुन्य पारेर शहर पसेका हरुलाई आफ्नो गाउघरमै फर्काएर आफ्नै गाउघरको महत्व सिकाएको छ अनि आफनै गाउघरमै नै केर्ही गरु भन्ने भावनाको साथै अन्य उपायहरु सोच्ने अवसर पनि प्रदान गरेको छ। कतिपयको आफु भित्र लुकेको शिपहरु बाहिर आउने मौका पाएको छ, कतिपयको पुरा नभएको इछ्याहरु प्रस्फुटित गर्ने अवसर पाएको छ। सिलाई, बुनाई, बिभिन्न किसिमका खानाहरु बनाउने, गीत आउने, सानै जमिन होस् वा कौशिमै भए नि तरकारी उमार्ने, पशुपालन गर्ने, अनलाइन त्रेदिंग गर्ने जस्ता बिभिन्न किसिमका साना ठुला आफुले गर्न सक्ने कामहरु गर्ने अवसर पनि प्रदान गरेको छ। त्यस्तै घरभित्रका कतिपय अपुरो कामहरु जस्तै रंग रोगन लगाउने, कतिपय बिग्रेका पहिले समयको अभाबले पुरा गर्न नसकेका कामहरु पुरा गर्ने अवसर मिलेको छ। टिकटक बनाउने हरुलाई टिकटक बनाएर दर्शक सामु प्रस्तुत गर्ने अवसर पाएको छ। युट्युब हरुमा मनोरन्जनका साथै ज्ञान बर्दक कुराहरु सिकाउने र सिक्ने मौका पनि पाएको छ। हुन् सक्छ अब त् धेरैको सोचाइमा पनि परिवर्तन आइसकेको होला।

कहिले सुख कहिले दुख हुन्छ भन्ने कुरालाई नजादिदो किसिमले सबैले जन्मेदेखि नै सिकेर आएका हुन्छन। त्यसलाई प्रकृतिले पनि कहिले दिन कहिले रात, कहिले घाम कहिले छाया, कहिले उकालो कहिले ओरालो कहिले बशन्त को सुन्दर हराभराको बातावरण त् कहिले शिशिरको त्यो चिसो उजाड बातावरण,भनेर उदाहरण दिएकै छिन्। कालो रात पछिको सुन्दर बिहानीको आगमन झैँ समय बित्दै जादा यो कोरोना पनि बिस्तारै हराउदै जान्छ नै होला। अनि फेरि फेरि पनि रमाइला चाडपर्ब हरु अनि रमाइला क्षण हरु पहिले झैँ सबै साथीभाई साथ मिलेर मनाउला। कुनै न कुनै दिन त् अवश्य पनि कुनै औषधि वा भ्याक्सिनहरु पत्ता लगाएर यो कठोर कोरोना माथि विजय प्राप्त गर्न सकिन्छ नै होला। यसपालिको दशैँ तिहार आफ्नै परिवारका सदस्यहरुको सानो संख्यामा साबधानी अप्नाएरै मनाउला, जसले गर्दा हाम्रो पहिचान हाम्रो संस्कृति हाम्रो चाडपर्व यथावतै रहोस् र कोरोनाबाट पनि टाढा रहोस् । अनि भविष्यमा पनि हाम्रा सन्तानले आफ्नो चाडपर्वहरुलाई नभुलुन। अन्य सदस्य साथीभाई संग भिडियो च्याट मार्फत शुभकामना, टिका, आशिर्वाद आदान प्रदान गरि दशैँ तिहार रमाएरै मनाऔ। जीबन सघर्षशिल छ।

कहिले काही सघर्ष मै मज्जा लेऔ। श्री महाकाली भगवती माताले अहिलेको यो बिकराल परिस्थितिमा हामी सबैलाई सचेतता अपनाई धैर्य गर्न सक्ने शक्ति प्रदान गर्नुको साथै यो कठोर कोरोना माथि पनि हामीले छिट्टै बिजय प्राप्त गर्न सकोस् भन्ने आशिर्वाद मिलोस्।

हिन्दुहरुको महान चाड असत्य माथि सत्यको बिजय बडा दशैको उपलक्ष्यमा सबैलाई धेरै धेरै शुभकामना।

प्रतिक्रिया