आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:३०
वासिङटन डिसी 16:45

लघुकथा : दशैं यात्रा

दीपक पन्त २०७७ असोज ३० गते २१:५८ मा प्रकाशित

हो, उसको नाम साँइला थियो । वास्तविक नाम ज्ञान प्रसाद भए पनि पारिवारिक सदस्यको गणनामा ऊ तेस्रो सदस्य थियो । त्यसैले गाँऊ,घर साथिभाई सबै उसलाइ स्नेहपूर्वक साँइला भन्थे। तर विडम्बना परिवारका अन्य दाजु भाइ सानैमा उसले गुमाई सकेको थियो । एक रात राप्तिमा आएको कहालिदो भयानक बाढीले उसको घरको खुशी छिनेको थियो । ऊ र उसकी आमा भने मावली गएका कारण जीवित थिए ।

चार वर्ष, खाडीको बसाइलाई बिट मारेर दशैं मनाउन ऊ अर्थात साँइला घर पुगेको थियो । घरफर्कने ब्यग्रता तथा प्रतिक्षित पारिवारिक मिलन, आफ्नो गाँउ, घरको सम्झनाले केही दिन देखि उसका दिन चर्या परिवर्तित थियो । पूर्णिमाको चन्द्रमामा जस्तै मुहारमा एक छुट्टै प्रकारको चमकदेखा परेको थियो ।

आर्थिक हिसाबले टु वे को हवाइ यात्रामा धेरै सहुलिएत हुने कुरा उसलाई राम्ररी जानकारी थियो । तथापि पनि यस पल्ट साथिभाइको अनुरोधलाई नर्कार्दै घर फर्कने मात्र वान वे को टिकट लिएकोथियो । उसलाइ लाग्थ्यो ,अब फेरि यो मरभूमिमा फर्कने छैन । मीठो/पिठो पारिवारिक साथमा नै रमाउने छु ।

तर विडम्बना साँइलाका सपनाहरु घरका आँगन देखी नै तुहिन थाले । राजधानी देखीको यात्रामाबस ,स्थानीय जीप,करीब एक घण्टाको पैदल दुरी पार गर्दै फूलपातीको साँझ ऊ आफ्नो जन्मघर पुगेको थियो । दुई दिन मात्र अघि घर पुगेकी साइली अर्थात उसकी जीवन सँगीनी मैनाले औपचारिकाताको दर्शन भेट टक्रयाइ । बूढी आमा नेपथ्याबाट बोलिन को हो बाहिर ? आमाकोमधुर बोली सकिन नपाउदै साँइलाले वाक्य निकाल्यो । ढोग गरे ,आमा । हर्षका आँशु गहभरी टप्किए । लुकाउँदा लुकाउँदै नरोकिएको आँशुको भेललाइ ममतामही आमाको मजेत्रोमा पुछ्दै भन्यो । आमा, म अब कम्पनीमा नर्फने गरी आए । आमा हर्षित हुदै बोलिन् ,ठीक गरिस् बाबु । यी हेर त यी घर, गोठ ,आँगन ,बारी सबैले तलाइ नै खोज्दैछन् । मेरो पनि यहि पिडिको डिलमा , दिनभर तेरै बाटो हेरेर दिन बित्थ्यो । आमाले हर्सानुभुत गरिन् ।

मैनाले सुटकेश उघारी । कोशेलीका पोकाहरु खोतल्दै भन्न थाली । खै मलाइ आइफोन ल्यायौ त ? अनि यो दशैंमा त एउटा तिन तोलाको जन्तर पनि बनाउनु छ । कस्तो फेसन आ’छ जन्तरको । रिता ,जेनी प्रिया सबैले बनाईसके । ऊ भस्कियो ,यी नामहरु बिल्कुलै उसले कहिले सुनेका थिएन ।

विस्तारै साइलाले प्रश्न राख्यो ,हैन को हुन रिता,जेनी ,प्रिया ???

मेरो साथी ,हामी एकै फ्याटमा बस्छौ क्या,ऊनीहरु पूर्व झापा तिरका हुन् । कस्ता रमाइला छन् । मैनाले फुर्तिसाथ परिचय दिई ।

उनीहरुका बूढा पनि उतै छन् क्या विदेश तिर । क्या मस्ति गर्छन् । उनीहरु त । तिमी त पैसा पठाउनै मरे जस्तो गर्छौ । ब्यङ्गात्मक बाक्य वोली मैनाले ।

हो,साइला विदेश पसेको ४ महिना नबित्दै मैना आफ्ना सानो छोरी बोकेर बच्चा पढाउने बहानकासाथ शहर पसेकी थिई । खाडीमा चुहाएको पसिनाको मोल प्रत्येक महिना भाकाको ऋण चुक्तागरे जसरी हुण्डी गरेर मैनाको शहरी खर्च चलेको थियो ।

यस पटकको यात्रामा उसले खासै कोशेली बोकेको थिएन । उसका मनका भावनाहरु नै उसकाकोशेलीहरु थिए । न त उसले आइ फोन , न क्यामेरा,न सुनका सिक्का नै बोकेको थियो । केवल आफ्नो पुराना कपडा र बाल सुलभ भुलाउन दुई चार क्याण्डी मात्र ।

नजिकै बसेको सानी छोरी आफ्नै बाबालाई अपरिचितको संज्ञा दिदै हेदै भित्र/बाहिर गर्थि । उसले क्याण्डी देखाउदै बालबृत्ति माथि युद्ध जित्यो । काखभरी लियो । पेट भरी म्वाँइ खायो । गर्वित भहसुस गर्यो । बालसुलभ आँखाले बोली तपाई को हो अंकल ? साहिँला अवाक् भयो । भारी मनलिएर आखाँ रसायो । तप्किन लागेका आशुलाई लुकाउदै भन्यो क्यान्डी मिठो लाग्यो तिमीलाईबुनु ? बाल प्रश्नको सजिलै विषयान्तर गर्यो । दुइ बर्षको सानो चिचिरा छोडी ऊ विदेश भासिएको थियो ।

अन्तिम दुइ महिनाको संकलित तलव र कम्पनीबाट पाएको आकस्मिक बोनस गरी झण्डै ३ लाखजति बोकेर ऊ फर्केको थियो । उसका अनेकौ योजनाहरु थिए । गाँउमानै स सानो ब्यवशाय गरीबस्ने । उसको इच्छा विशेषत आधुनिक कृषि प्रणालिमा थियो । केही समय अगाडि अखबारमाआएको “फस्टाउदो आधुनिक कृषि” शीर्षकको लेखबाट उसमा हिम्मत बढेको थियो ।

दशैले बिदा लियो । आफन्त जन नाता कुटुम्ब सबै सँग टीका जमरा लिने /दिने कार्य सकियो ।उसका योजनाले मुर्त रुपलिने कुनै सुर थिएन । मैनाको महत्वकाँक्षका अगाडि उसको योजना हल्का भएको थियो । ऊ छिटो गरी शहर फर्कन चाहन्थी । यसै पनि उसका आकाँक्ष बमोजिम गिफ्ट नआएको हुँदा मैना त्यति खुशी थिइन । झन् उसको योजनामा त उसको विपरित योजनाथियो । शहरी हावा,स्वतन्त्र जीवन प्रतिको लगामले गाउँले जीवन र परिवारीक जिम्मेवारी ओझेलपदै जान थालेको थियो ।

दशै सगै दशैका हिसाब निस्कन थाल्यो । शहरी बसाइका मैनाका खर्चहरु निस्कन थाले । घरभाडा,बच्चाको फिस,रासन ,फोन को विल आदि इत्यादि । सँगैको दशैंको खर्च । खसी मात्र २० हजारको । आमाले सकिन्जेल दशैको जोहो कसैले गर्न परेन । अब आमा बूढी भइन् । श्रीमती शहरबासी । अनि घर गृहस्थी पनि ऊ सगै अरव पस्यो । सबै बजारको भर । लामो सुस्केराहाल्दै हिसाब निकाल्यो , श्रीमती र छोरीलाई तत्कालै १ लाख दिनुपर्ने देखियो । दशैं खर्च मुस्किलले ६० हजारमा पुर्यायो । ८० हजार आफू जाँदाको बाँकी ऋण ।

अरबबाट प्रत्येक महिना तलव बुज्दै हुण्डी गरेको रकम हिसाव माग्दा मैना आगो भई ।

उल्टो रेखा,रानीसँग बिस /तिस हजारको उधारो तिरन तारनको ब्यवहार भएको बताई ।

कुनै प्रतिबाद गर्ने साहस गरेन साहिँलाले । मनमनै आफ्नो जन्मको साइत र गरिबीलाई धिक्कार्यो । मन भारी गर्यो ।

आफ्नो सपना र त्यसमा देखेको रमाइला दिन / स्मरणमा छुपायो । “खाडीको रापमा नछुटेकापसिनाहरु” उसको मुहारमा देखा पर्न थाल्यो ।

नजिकै भएको फोन उठायो र भन्यो नेपाल ट्राभल हो ? कृपया भोलिको अरबको लागि एक टिकट तुरुन्तै मिलाइ दिनु न इमरन्जेन्सीमा । विहानको झिसमीसेमा सुतिरहेकी नावालक छोरी सँगयात्रारत विदा माग्यो । आमा सुतेको खोपीमा विरालोको चालले चियायो र मनमनै दण्डबत गर्यो। विदा माग्ने साहस गरेन ।

मैनाले विना प्रतिउत्तर विदा दिई । घरको आँगनबाट विदा भएको करीव १० घण्टा पछि फेरि अरव खाडीतिरको यात्रामा आकाश मार्गमा धुमिल भयो । आफ्नो कर्म क्षेत्रमा ,नयाँ गन्तव्यको आशमा।

दशैं यात्रामा ! दशैं यात्रामा !! दशैं यात्रामा !!!

दीपक पन्त

मिल्वाकी,अमेरिका

प्रतिक्रिया