आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:१६
वासिङटन डिसी 16:31

परदेशबाट दशैं सम्झदा

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड,अमेरिका २०७७ असोज ३० गते २१:२१ मा प्रकाशित

यसो टिकटक खोलेर मात्र के हेरेकी थिएँ क्यानडाकी साथी कल्पनाको भिडियो आयो शुरुमै। घर वरिपरिको  सयपत्री, मखमली फूलहरू राखेर बनाइएको  त्यो भिडियोमा बिष्णु खत्रीले गाउनुभएको दशैंको मीठो गीत बज्यो। ……..

फुले होलान मखमली बारीमा, पाके होलान केरा नि घारीमा 

दशैँ तिहार आउँदा

दशैँ तिहार आउँदा घर आउन मन लाउदा,

रुन्छ मन सानी छुट्टी नपाउँदा ।। 

यो गीतले मलाई पनि एक्कासि फर्काइदियो नेपालतिर कल्पनाको भिडियोमा उत्तिखेरै प्रतिक्रिया लेखिहालें। यस्ता गीत सुन्यो भने आँखाबाट आँसु नै झर्छ भन्या यो चाडबाडको बेलामा त। उताबाट कल्पनाको जबाफ पनि कम भावुक थिएन।त्यै परदेशीको पीडा। प्रत्येक खाने कुरामा नेपालको स्वाद खोज्यो। पुराना यादहरूमै डुबेरै जिन्दगी बितायो। सबै कुरा भएर पनि नभएजस्तो।किन किन कल्पनाको कुराले धेरैबेर एकोरिरहें म। हामी दुवै चेली पर छौं आफ्नो भूमिभन्दा, सायद त्यसैले पनि होला पीडा पनि एउटै छ दुबैको।  टिकटकमा हेर्छुं, फेसबुकमा हेर्छु लाखौँ परदेशिएका परिचित, अपरिचित  साथीहरू, इस्टमित्र, छिमेकीहरू आफ्नो तरिकाले पीडा पोख्नुहुन्छ। अनि लाग्छ हामी विदेशिएका लाखौँ मान्छेहरू सबैको पीडा एउटै पो रहेछ।

परदेशिनु सबैका आफ्नै रहर वाध्यता सपनाहरूको कारण होलान। तर जब मान्छे परदेशमा हुन्छ चाडबाडको बेला आफ्नो देश, गाउँ, घरपरिवार सम्झदै विगतको स्मृतिले उसलाई सताउन पुग्छ।   डुबुल्की मार्न पुग्छ आफ्ना रमाइला विगतमा। वास्तवमै भन्नुपर्दा विगतका मीठा स्मरणमा रमाइ वर्तमानमा रमाउनु परदेशीको वाध्यता हो। जब यो परदेशी भूमिमा दशैंको यो बेलाको  बिहानको चिसो वातावरण त्यसमाथि हल्का कुहिरो अनि दिउसको मीठो न्यानो घामको महशुस गर्छु आभाष दिलाउछ शरीरले दशैंको आगमनको। अनि सोच्छु, आखिर भूगोलमा मात्र हामी पर रहेछौं  आफ्नो देशभन्दा, प्रकृति उस्तै रहेछ नि जहाँको पनि। आखिर प्रकृतिले कसैलाई पनि ठग्दो रहेनछ नि। प्रकृतिको यही मीठो आभाषले मलाई पनि धकेलिदिन्छ आफ्नै मातृभूमिको दशैंतिर। 

हामी सानो छदा जब हाम्रा घर आगाडि सुनौली, काकड़भिटातिरको ठूला बस रोकिन्थ्यो।  हामी केटाकेटी आँखा बसका छतमाथि दौडन्थ्यो। हरियो भारतिय सैनिकका पोशाक लगाएका लाहुरे दाजुहरू बसका छतबाट आफ्ना हरिया टिनका बाकास झारिरहेका हुन्थे। चिनेका दाजुहरूले हामी केटाकेटीलाई मिठाइ दिन्थे तर कतिपय लाहुरेलाई हामीलाई चिनेकै हुन्थेनौं तर पनि हामीलाई खुसी लाग्थ्यो हामी यसकारण पनि खुसी हुन्थ्यौं कि ती लाहुरे आएपछि अब पक्का हुन्थ्यो दशैं आएछ भनेर। अनि थाहा हुन्थ्यो बा, आमा दिदीदाजुलाई हैरान हुने गरेर दशैं कहिले आउँछ, दशैं कहिले आउँछ भनेर सोधेको दिन आउँन लागेछ भनेर।

 दशैं आएपछि हामी  घर पोत्न रातो माटो लिन गइन्थ्यो। अझ गेरु माटो, कमेरो लिन घरबाट धेरै  टाढा जानुपर्थ्यो। हामी केटाकेटी भन्दा पनि आमा दिदीहरू जानुहुन्थ्यो टाढा टाढा। माटो लिन जाने ठाउँमा मान्छेको भिड देख्न पाइन्थ्यो।  रातामाटा , गेरु कमेरोले पोतेका घर चिटिक्क परेका राम्रा देखिन्थे।  गाउँघरमा कस्का घर राम्रा देखिन्छन भन्ने खालको एक किसिमको प्रतिश्पर्दा नै हुनेगर्थ्यो त्यतिबेला। पछि पछि भने सिमेन्टले बनेका घरहरू हुनथाले।  सिमेन्टले बनेका घरहरूमा पनि प्रत्येक वर्ष रङ्ग लगाइन्थ्यो। मानिसले आफ्नो खुसी फरक फरक रंग लगाउथे घरघरमा । विभिन्न किसिमका रंगहरूले सजिएका घरहरू रंगीचंगी देखिन्थे। रंगीविरंगी घरहरूले मन त्यसै रंगीन बन्दथ्यो। यसमाथि दशैंमा रेडियोमा बज्ने मालश्री धुन , दशैंका गीतहरूले मन अझ  आन्नादित बनाइदिन्थ्यो। 

हामी सबै साथीहरू मिलेर बाबियो काट्न गइन्थ्यो। लठ्ठे पिङ्गका लागि   बाले पिङ्ग्को लठ्ठो बाधिदिनु हुन्थ्यो। बा बीचमा बसेर मूल डोरी बाध्नु हुन्थ्यो हामी वरिपरि अरू डोरी समाउन बालाई सघाउन्थ्यौ। घर अगाडिको बलियो ठूलो रूखमा लठ्ठे पिङ्ग हालिन्थ्यो। काठको पिर्का पनि बनाइदिनुहुन्थ्यो बाले। हामी साथीहरू सबै मिलेर  पिङ्ग खेल्थ्यौं। अहो! कति रमाइला ती दिन। पहिलोपल्ट पिङ्ग खेल्न पाउँदा स्वर्गमै पुगेकोजस्तो अनुभव हुन्थ्यो। असीम खुसी प्राप्त भएझैं लाग्थ्यो। वाल्यकालको आन्नद नै बेग्लै, खुसी नै बेग्लै। साना- साना कुरामा धेरै खुसी हुन सकिने। हामी साथी साथीमा कहिलेकाहीं भने झगडा पनि पर्थ्यो अरूले धेरै खेल्यो आफूले खेल्न पाइएन भनेर। आखिर केटाकेटी नै थियौं नि त। झगडा पर्ने बोल्ने केटाकेटीमा भइरहन्छ। तर एउटा कुरा साचो भने के हो भने ठूला मान्छेहरूलेजस्तो सधैंभरि इख लिएर बस्दैनन् केटाकेटी झगडा गरेर कट्टी गर्यो फेरि एकछिनमा बोलिहाल्यो।  कति निस्वार्थ सम्बन्ध हुन्थ्यो एकापसमा।

हाम्रो सानो पिङ्ग रूखमा हालेको हुन्थ्यो।  तर गाउँको ठूलो लिंगे पिङ्ग गाउँभरिका मान्छेहरू मिलेर चारवटा ठूला ठूला बास हालेर, ठूलो लठ्ठो  बाँटेर बनाइएको हुन्थ्यो। ठूलो पिङ्ग खेल्नै डर लाग्नेहातले लठ्ठो समात्न पनि ठूलो  हुन्थ्यो। यस्तै गाउँको वगैंचा भन्ने सार्वजनिक ठाउँमा गाउँका सबैजना मिलेर  पिर्के पिङ्ग हाल्नुहुन्थ्यो।  म त पिर्का फुत्केर तल खसिन्छ कि भन्ने डरले कहिल्यै खेलिन पिर्के पिङ्ग। अरू खेलेको हेर्न भने रमाइलो लाग्थ्यो। राति अबेला सम्म पनि बत्ती, लाइट, राँको बालेर पिर्के पिङ्ग , लिङ्गे पिङ्ग खेल्थे मान्छेहरू।

आमाहरू ढिकीमा कुटेको पिठोको सेलरोटी मीठो हुन्छ भन्नुहुन्थ्यो। बिहानै उठेर आमाहरू पिठो कुट्न जानुहुन्थ्यो। कसै कसैका घरमा सप्तमीका दिन कसैका घर अष्टमीमा मात्र पाक्थे सेलरोटी।  हाम्रामा भने आमा अष्टमीका दिन मात्र सेल पकाउनुहुन्थ्यो दशैंको पिङ्गमा सेलरोटी चढाउँन हाम्रा घरमा सेलरोटी छिटो नपाक्दा कम्ता रिस उठ्दैनथ्यो। अरू सबैका घरका सेलका मगमग बास्ना आउदा हाम्रा घरमा मात्र आमाले किन ढिला गरेको होला सेलरोटी पकाउन जस्तो लाग्थ्यो। दशैंको बेला गाउँमा कति रमाइलो , कस्का घरका सेलरोटी मीठा भन्दै सबैका घरका सेल चाख्न पाइने। आमाले सेलरोटी पकाउदा चुलोका वरिपरि बस्थ्यौं हामी सबै दाजुभाइ दिदीबहिनीहरू। सुरू सुरू एक दुईवटा खादा खुब रहर लाग्ने पछि त्यति धेरै खान मन नलाग्ने। तर भोलिपल्ट बासी सेलरोटी आगोमा तताएर खादा भने खुब मीठो लाग्थ्यो।

घटस्थापना दिन आमाले घरको कुनामा छरेका जमरा दिनको दश पल्ट हेरिन्थ्यो होला। कति ठूला भएछन भनेर कसका घरका जमरा ठूला भनेर प्रतिस्प्रधा नै चल्थ्यो अहो ! अष्टमीका दिनसम्म जमरा झपक्कै हुने, कति राम्रा। कति रमाइलो समय दशैंको। धेरै जाडो धेरै गर्मी मौसम, नीलो खुल्ला आकाशलहलह झुलेका पहेंलै धानका बोटहरू दशैंका दिन नयाँ कपडा लगाएरआमाबाका हातबाट राता टिका जमरा लगाउदाको आन्नद नै बेग्लै। मामाको घर मामाघरकी बूढी हजुरआमाको हातको टिका थाप्न  धन्नै  एक घण्टाजति पालै कुर्नुपर्ने। दशैंमा सबैजना हामी उहाँका धेरै छोराछोरी र नातिनातिनी भएकाले भेटघाट हुन पाउदा कति रमाइलो हुन्थ्यो।

हुनत नेपालमै पनि पहिलाकोजस्तो रमाइलो दशैं हुन छाड्यो। हामी पनि मौलिकताभन्दा आधुनिकतामा रमाउंदै गयौं। मलाइ लाग्छ हामी अलि बढी सहरिया भयौं कि? जे भएपनि आफ्नो देश भनेको देशै हो। त्यहाँको रमाइलो बेग्लै रमाइलो, सम्झदा मात्र पनि आनन्द आउने। आफ्नै किसिमको। अझ विशेष गरेर चाडबाडमा आफन्त, साथीभाइहरूलाई भेट्न पाउनु, विगतका मीठा मीठा रमाइला पलहरूको बारेमा कुरा गर्न पाउनुको खुसी सायदै व्यक्त्त गर्न सकिएला। अरूबेला पनि सम्झना नआउने त कहाँ हो र? आफ्नो देशको, तर विशेष गरेर चाडबाडको बेला अलि बढी नै भावुक बनाइदिन्छ परदेशीलाई ।

जब हामी घर छोडेर विश्वविद्यालय पढ्न काठमान्डौ आईयो, प्रत्येक वर्ष दशैं मनाउन घर जान्थ्यौं। न्यूरोड र असनका गल्लीमा मान्छेको भिंडले गर्दा खुट्टो हाल्ने ठाउँ नहुने। सबैलाई घर लैजाने सामान किन्न हतार, सबै मान्छे घर जाने हतार गरेजस्ता देखिने। विशेष गरेर न्यूरोडको गुदपाक पसलमा अझ बढी भिंड। दशैंका लागि घर लैजाने नयाँ पैसा साट्न राष्ट्र बैंकमा त्यस्तै भिंड। बस, माक्रोबस सबै कोचाकोच। मान्छे त छतमा पनि भरिभराउ। बसको छतमा चढनु भनेको आफ्नो ज्यान पनि त जोखिममा मोल्नु हो नि?  तर यस्ता कुराको मान्छेलाई कुनै प्रवाह नै हुन्थेन। ज्यानै जोखिममा मोलेर भएपनि मानिसहरू घर जान आतुर देखिन्थे। अझ कुनै कुनै बसले त भाडा पनि डबल लिने, त्यै पनि मान्छेलाई घर पुग्नु नै हतार हुन्थ्यो। लाग्थ्यो माटोले तानेर नै मान्छे त्यति आतुर भएका होलान आफ्नो गाउँ जान। 

अहिले म परदेशमा छु। मजस्ता लाखौँ नेपाली परदेशमा छौँ। हामी परदेशीलाई पनि त्यहि माटोको मायाले तानिरहन्छ घरिघरि। कतिपय भाग्यमानीहरू पुगि पनि हाल्छन। तर भाग्य लेख्ने मसीले सबैको भाग्यमा त्यो अवसर कहाँ लेखिदिएको हुन्छ र?  आफ्नो देश जान नपाएकाहरू केवल सपनामा, कल्पनामा पुगिहाल्छौँ धेरै पल्ट, सायद पल पल नै पुग्छौं । तर यथार्थमा पुग्न सक्दैनौं। यहाँको काम, बच्चाहरूको पढाइ सबै कारणहरू तगारो बनिदिन्छन हाम्रा रहरहरूका अगाडि। जे भए पनि परदेशमा आफ्नो सुबिधाअनुसार जस्तो हुन्छ त्यसैगरि दसैं मनाएर विगतको अनूभूतिमा रमाउनु नै तमाम परदेशिएका नेपालीहरूको यथार्थ हो। 

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड,अमेरिका

 

प्रतिक्रिया