डा.केसीले २८ दिनमा सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस(फलरस) पिएर अनशन तोडे

इनेप्लिज २०७७ असोज २५ गते १०:५९ मा प्रकाशित

काठमाडौं, असोज २५ गते । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राति शनिबार सहमति भएपछि डा.केसीले आइतबार आफ्नो २८ दिन लामो अनशन तोडेका छन । प्रा डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस (फलरस )पिएर अनशन तोडेका हुन ।

सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ताटोली र डा.केसीका प्रतिनिधिबीच गए राति भएको आठबुँदै सहमतिपछि आइतबारबाट डा.केसीले अनशन तोडेका हुन ।

चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर उनले भदौ २९ गतेदेखि अनशन शुरु गरेका थिए । बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेका थिए । तर, बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न ३ साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

 

https://www.enepalese.com/2020/10/290479.html

प्रतिक्रिया