आप्रवासी नेपाली

                दुर्गा दाहाल २०७७ असोज १३ गते २:१२ मा प्रकाशित

पहिल्यैदेखि नेपाल एक स्वतन्त्र राष्ट्र हो ।

गोर्खाली विश्वविख्यात वीरको जन्मभूमि हो ।।१।।

हाम्रो सगरमाथा हो सर्वोच्च शैल विश्वमा ।

जन्मिए भगवान् बुद्ध लुम्बिनी पुण्य भूमिमा ।।२।।

पशुपति महादेव छन् देवी देवता अरू ।

दुर्लभ वृक्ष औ फूल मिल्छन् पशु चराहरू ।।३।।

हिमाली र पहाडी औ मधेशी मुख्य भाग छन् ।

जात, धर्म तथा वर्ण पेशा आदि अनेक छन् ।।४।।

छन् कर्मप्रिय नेपाली शान्तिको आड खोज्दछन् ।

छल कपट गर्दैनन् आफ्नो इमान राख्तछन् ।।५।।

कसैले नबिथोलेमा अति मिलेर बस्तछन् ।

गर्दछन् अरूको माया दयालु देशभक्त छन् ।।६।।

सिक्किम दार्जिलिङ् बम्बे दिल्ली आसाम चीनमा ।

बर्मा तिब्बत कालेबुङ् भुटान आदि भूमिमा ।।७।।

नेपाली पहिले बस्थे लागि विभिन्न काममा ।

राम्रो भविष्य सोचेर फैलिए आज विश्वमा ।।८।।

पानीमा छ धनी देश सित्तैँमा किन्तु बग्दछ ।

सिँचाइ गर्न औ खान नपुग्दा अति दुःख छ ।।९।।

बिजुली छैन पर्याप्त देशले कष्ट भोग्दछ ।

हाम्रा उद्योग धन्दाको अवस्था दयनीय छ ।।१०।।

घट्दा जङ्गल बाढी र पहिरा उग्र बन्दछन् ।

विभिन्न सम्पदा खानी उपयोगविहीन छन् ।।११।।

बाटा अपुग छन् ज्यादै सुख्खाले नाश गर्दछ ।

दिनहूँ बढ्छ पैठारी निकासी तल झर्दछ ।।१२।।

कानून बलियो छैन खर्चिलो न्याय सुस्त छ ।

भ्रष्टाचार भयो रोग अन्यायको प्रकोप छ ।।१३।।

राम्रा नेता तथा मान्छे प्रायः शक्तिविहीन छन् ।

केही सीप नलागेर आपूm थन्किन बाध्य छन् ।।१४।।

हुँदा मान्छेहरू थोरै पुग्थ्यो खान र लाउन ।

पाउँथे सबले काम व्यवहार चलाउन ।।१५।।

खाने मुख बढे ऐले काम मिल्न छ मुस्किल ।

छन् परिस्थिति अप्ठ्यारा महँगी पार्छ आकुल ।।१६।।

अतः योग्य युवाशक्ति तथा विद्वान् विदेशिए ।

गाउँगाउँ भए रित्ता बारी र खेत बाँझिए ।।१७।।

जान्छन् स्वदेश छोडेर काम र माम पाउन ।

गर्छन् कठैबरी दुःख थोरै धन कमाउन ।।१८।।

कोही विदेशमा जान्छन् आफ्नो ज्ञान बढाउन ।

अर्काको देशमा पुग्छन् छोरीछोरा पढाउन ।।१९।।

कोही विदेशमै बस्छन् नागरिक बनिकन ।

दिनरात खटी गर्छन् काम धन्दा दिई मन ।।२०।।

आकाङ्क्षा पार्दछन् उच्च मातृभूमि उठाउन ।

गरी नेपालको माया दिन्छन् वस्तु तथा धन ।।२१।।

कदापि पछि पर्दैनन् स्वकर्तव्य निभाउन ।

सम्झनुपर्छ हामीले यी देशभक्तका गुन ।।२२।।

कृतज्ञ देशले बन्नैपर्छ देन नबिर्सन ।

बनोस् उदार नेपाल कानूनी सुविधा दिन ।।२३।।

नेपाली आप्रवासीले गर्छन् नेपालको हित ।

यसैले यिनको लागि नीति होस् समयोचित ।।२४।।

सम्पत्ति किन्न औ बेच्न अनि आवतजावत ।

गर्न पाऊन् बिनाबाधा लगानी सजिलैसित ।।२५।।

आश्वासन भए फोस्रा चल्दैन काम बिल्कुल ।

सोचने यिनीहरूलाई बढ्छ नेपालको बल ।।२६।।

गणतन्त्र यहाँ आयो तर ऐले छ बालक ।

हुर्काए सबले राम्रो बन्छ नेपालपालक ।।२७।।

-दुर्गा दाहाल

प्रतिक्रिया