“एकदिन त जाने हो संसार छोडेर
पिंजडा तोडेर पंछी उडेर
धन र सम्पति घरमै झोलामा
बांसको डोलामा लान्छन खोलामा
भर नपर भर नपर जान्छ पंछी उडेर गुण छोडेर”
आधुनिकरणसंगसंगै संस्कारहरु मासिदै छन। धर्म र संस्कृतिको दायित्व बाट मानव जाति जति जति पर हट्दै छन त्यति नै धरती माताले आफ्नो रक्षार्थ विभिन्न अस्त्र अर्थात कहिले दैव प्रकोपको माध्यम त कहिले विभिन्न महामारीका माध्यम मानव जातिको नास गरी परिस्थितिक प्रणालीलाई सन्तुलनमा ल्याएकी छन।
हिन्दु सनातन धर्ममा मृत्युसंस्कारको आफ्नै र विशेष स्थान छ तर त्यति हुदा हुदै पनि अज्ञानवश,आसक्तिवश वा लहलहैमा लागेर यस अन्तिम संस्कारलाई आधुनिकरण गर्न विद्युतीय माध्यम प्रयोग गरी दाह संस्कार गर्न लागिएका पार्थिव शरीरका फोटोहरु वा दाहसंस्कारमा गरिने कर्मकाण्डहरुलाई सामाजिक संजालमा प्रत्यक्ष प्रसारण गरिदिने जस्ता कार्य सनातन धर्म र संस्कृति विपरीत छ।गरुड पुराणले मृत्यु संस्कार लाई हिन्दु सनातन धर्ममा मार्ग दर्शन गरेको छ। यसको गलत व्याख्या गर्नु आफैमा निन्दनीय हुन्छ ।
प्राचीन सनातन धर्म अनुसार दाह संस्कार सुर्यास्त हुनु पुर्व गर्नुपर्छ।हिन्दु सनातन धर्म अनुसार केटाकेटी र साधुसन्त लाई समाधि गरिन्छ भने सामान्य मानिसहरुलाई दाह संस्कार गरिन्छ।साधुसन्तहरुलाई समाधि गरिनुका धेरै कारणहरू छन।साधुसन्तहरुले आफ्नो जीवनकाल ध्यान र ज्ञान प्राप्तिमा व्यतित गर्ने हुदां उनीहरुको शरीरमा एक विशेष उर्जा प्राप्त हुन्छ र त्यसैले उनीहरुको शारीरिक उर्जालाई स्वाभाविक रूपले बिग्रिन नदिन समाधि गरिन्छ तर सामान्य मानिसहरुको जीवन लोभलालच र आसक्तिमै बितेर जाने हुदा र कुनै महामारी वा रोग व्याधिका कारण मृत्यु हुने हुदा उक्त संक्रमणलाई र जीवनभर गरेका लोभ र आसक्तिलाई समेत नष्ट गर्न दाहसंस्कार गरिन्छ।अन्तिममा बाँकी खरानी वा हड्डी पछि खोलामा बगाइ परमात्मामा विलीन गराइन्छ।
मृत्यु संस्कारका अनुष्ठान र रीतिरिवाज:
गरुड पुराणका अनुसार उल्लेखित सबै कर्मकाण्डहरु सम्पन्न गर्नको लागि विशेष विधि र नियमहरू छन्।यो रीतिथिति र नियमहरू द्वारा गरिएको काम हुन जसले आत्मालाई शान्ति प्रदान गर्दछ र मानव शरीर अर्को जुनीमा प्रवेश गर्छ अर्थात् आत्माको पुनःजन्म अर्को रुपमा हुन्छ र मृतात्माले शान्ति पाई स्वर्गमा जान्छ।हिन्दुहरु धर्म अनुसार गरिने समाधि र दाह संस्कार दुबै तरिकाहरू उचित छन तर यी दुवै वैदिक ढंग र सभ्यतामा रहेर गर्नुपर्छ ।आफ्नो घरबाट दश गजको दुरीसम्म कसैको देहान्त भएमा अन्त्येष्टिमा सामेल हुनु र पार्थिव शरीर लाई घाट सम्म पुर्याउन कांध थाप्नु पनि गरुड पुराण अनुसार हिन्दु सनातन धर्मको रिवाज हो।
मृत शरीरको परिक्रमा गर्दा शव दाहिने तिर पारेर परिक्रमा गर्ने नियम गरुड पुराणमा छ।परिक्रमा गर्दा पिध फुटाइएको माटोको घैलामा पानी हाली चितामा सुताइएको पार्थिव शरीरको परिक्रमा गरिन्छ ।यसो गर्दा आत्मा शरीरबाट छुट्टिएर मोहभंग भई आत्माले शान्ति पाउछ।मानिसको जीवनको अर्थ पनि यही हो कि हाम्रो जीवन पानी भरिएको तर पिधं चुहिएको माटोको घढा जस्तै हो।उमेर बढ्दै जान्छ,पानीको मात्रा घट्दै जान्छ र अन्त्यमा पानी रितिएको जीवात्मा परमात्मामा विलीन हुन्छ।
सधै पार्थिव शरीरको शिर अगाडि र पाउ पछाडी पारी बोकेर घाटको यात्रा तय गरिन्छ तर आज भोली आधुनिकरणसंगै शव वाहनमा राखी घाट लैजाने प्रचलन छ।घाट लैजाने क्रममा पार्थिव शरीरलाई वृक्षमा विश्राम गराई अन्तिम पटक पृथ्वी हेर्न दिई शवको दिशा परिवर्तन गरी पाउ अगाडी र शिर पछाडी पारी चिता शवको शिर दक्षिण दिशातर्फ पारेर सुताइन्छ।शास्त्र अनुसार मरणासन्न व्यक्तिको शिरानी उत्तर दिशामा पार्दा गुरुत्वाकर्षणका मृत्यु सहज हुन जान्छ र दक्षिण दिशा यमराजको भएको हुदा मृत्यु पछि परमात्मामा समर्पित हुन शवको शिर दक्षिण पार्दा राम्रो हुने व्याख्या गरिएपनि अनिवार्य भन्ने छैन।
धार्मिक मान्यता अनुसार पार्थिव शरीरको दाहसंस्कार सुर्यास्त पछि गरिदैन र यदि कसैको मृत्य रात्रीको समयमा भएको खण्डमा अर्को दिनको सुर्योदय सम्म कुरिन्छ।सनातन धर्म अनुसार रातको समयमा दाहसंस्कार गर्दा मृतात्माको परलोक यात्रा कष्टदायी हुन्छ र वैज्ञानिक ढंगबाट हेर्दा रातको समय दाहसंस्कार गर्दा मृतकको शरीरमा भएको रोग व्याधि नष्ट गर्न कठीन हुने वा कुनै भवितव्य भई निधन भएको खण्डमा चोटपटक देखिदैन।दाउराको चिंता बनाई विधि पूर्वक दाह संस्कार गर्नुको अर्थ मृतकमाथि सम्मान र श्रद्धा प्रकट गर्नु हो तर पछिल्लो समयमा अंन्तिम संस्कारका विषयमा ठुला टिकाटिप्पणी हुदै आएका छन् ।अन्तिम संस्कार कुनै बहसको विषय होइन न त यसलाई आधुनिकरण गरी विधीलाई नै मोड्ने प्रयास गर्नु हुन्छ किनकी यो मृतात्मा प्रतिको अपमान हो।
हिन्दु र जैन धर्म अनुसार पुरुषहरुको विशेष मुण्डन पहिलो पटक बाल्यकालमा,दोस्रो पटक व्रतवन्धमा र तेस्रो पटक परिवारजनको वा नजिकका आफन्तको मृत्यु हुदा अनिवार्य गरिन्छ।यसको साथसाथै होम यज्ञमा समेत गरिन्छ तर जुठो पर्दा गरिने मुण्डनले विशेष स्थान राख्छ किनकी मुण्डनले शरीरका विकार उत्पादन गर्ने अंगहरु लाई सरसफाईमा सहयोग गर्छ भने मुण्डन पछि रौं/कपाल नबढे सम्म मृतक परिवारजनको सम्झना आई अन्य तडकभडक वा मनोरंजनात्मक कार्यमा मन जांदैन।
परिवारजनको मृत्यु भएको बाह्रै दिनमा शान्ति कर्म गरी पिण्ड दान गरिन्छ भने तेह्रौ दिन चोख्याएर मृत्यु संस्कारमा संलग्न सबै लाई बोलाई खुवाउने प्रचलन छ र त्यस पछि हरेक ४५ दिनको कर्म काण्ड गरी हरेक महिना मासिक कर्मकाण्ड गरी वार्षिक कर्मकाण्ड गरिन्छ।हिन्दु सनातन धर्म अनुसार यसरी मृत्यु पश्चात पनि कर्म काण्ड गर्नुको वैज्ञानिक कारण मृतकलाई आफ्नै परिवारजनले उसले जीवनभर गरेका राम्रा न राम्रा कर्म नभुलुन र मृतक संगको भावनात्मक सम्बन्ध कहिले पनि नटुटोस भनेर हो।कुनै परिवारजनको मृत्यु पछि तेस्रो वार्षिक तिथी भारतको गया,बनारसको काशी वा मुक्तिनाथको काग बेनीमा गर्ने प्रचलन छ।
हिन्दु सनातन धर्म अनुसार गरिने मृत्यु संस्कारको विरोध गर्नु,यसलाई राजनैतिकरण गरी सामाजिक सदभाव भड्काउन खोज्नु,यसलाई मानव अधिकारका विषय संग जोडेर बहस र नकारात्मक टिप्पणी गर्नु आफन्त र आफ्नो अन्तिम यात्राको अपमान गर्नु हो किनकी पृथ्वीमा रहेका सम्पुर्ण प्राणीहरु अजम्बरी छैनन्। एकदिन सबैको यात्रा त्यही नै हुन्छ,कसैको ढिलो कसैको चाडो।
बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया
प्रतिक्रिया