मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १९:०७
वासिङटन डिसी 09:22

निन्द्रा नै हाम्रो सर्वस्व हो

हरिविक्रम के.सी. २०७७ असोज ७ गते २२:१३ मा प्रकाशित

प्राणीजगत्मा खानु पिउनु र निदाउनु पर्ने बाध्यता पाइन्छ । सबैलाई मीठो निन्द्रा प्यारो लाग्छ । सबै सुखत् खोजी दौडिरहेका छन् । स्वास्थ्य, सुख र खुसी पाउनको लागि परिश्रम गरेर निन्द्रादेवीको सेवा गर्नुपर्छ । अल्छी दुष्टहरूलाई तिनले सताउछिन् ।

निन्द्रा नपर्ने मान्छे रोगी हुन्छ । रोगीहरू उद्योगी बन्न सक्तैनन् । उद्योग नगरी कतै पनि धन आर्जन भएको छैन । राम्रो देश र दुनियामा धनको अभाव खटकिन्छ । दरिद्रता अभिशाप बनेर आउछ । जहाँ गए पनि पछिपछि लाग्छ ।

संसरमा ननिदाउने व्यक्ति कोही छ कि थाहा छैन । साधारणतया निद्रा अनिवार्य वस्तु हो । मृत्यु र निन्द्रा सहोदर दाजुभाइ हुन् । जन्मेपछि मर्नुपर्ने छ । यसलाई असल सावित गर्न सकेको छैन । मरेपछि के हुन्छ यसमा विभिन्न विचारहरू आएका छन् ।

मृत्यु चिर निन्द्रा हो । निन्द्रा क्षणिक छ । उदाउने र अस्ताउने चन्द्रसूर्य जस्तो । वारम्वार निदाउने र ब्युँझ्नु पर्ने काम निरन्तर चलिरहन्छ । भव्य महल अनेकौं होटेलहरू र पाहुनाघर बनेका छन् । ती सबै सुत्नकै लागि आराम गर्नको लागि निर्माण भएका हुन् । निदाउनु भनेको थकित ज्यानलाई आराम दिनु पनि हो ।

कसैको निन्द्रालाई बहुमूल्य वेड विछ्यौनाको स्वागत गर्छ । भारेभुरेको निद्रालाई बर्को विछाई दिँदा पनि पुग्छ । ऊ त्यसै माथि निदाउँछ । परिश्रमीको निन्द्रा भने यो ऊ भन्दैन जता पायो आफ्नो काम चलाउँछ ।

कस्को निन्द्रा कस्तो छ ? त्यो एकिन गर्न सजिलो छैन । वाक्लो, पातलो, लामो, छोटो, उत्तम छ कि अधम जो छ त्यो आफैलाई थाहा हुने कुरा हो । तर उचित वेलाको काम चाहिने बेलामा नगरी उसै बस्नेलाई निदाएर बसेको छ भनिन्छ । यसरी निन्द्रामा नपरेका बखत पनि निन्द्रामा परेको अर्थ लाग्ने रहेछ । साँच्चै निन्द्रा पार पाई नसक्नु रहेछ । यस्तो निन्द्रा रहेछ भने त्यो खतरनाक निन्द्रा हो । यस्तो निन्द्राले देश वरवाद पारी रहेको छ ।

ननिदाए पनि कोही मानिस निन्द्रामा परेको स्वाङ् रचिदिन्छ । त्यस्ता नाटककारहरू पनि देखिएका छन् । निन्द्राको प्रकार र क्षमता देश जाति र जनताका आ–आफ्नै हुने रहेछन् । त्यसकारण विश्व निन्द्रा प्रतियोगिता नेपालमा गराउन पाए कस्तो होला ? कतै हाम्रो देश नै सर्वप्रथम हुन्छ कि ? आफ्नो देशको नाक राख्नु सबैको कर्तव्य हो ।

यो देशमा आफै अस्तित्व गुम्ने काममा पनि निदाएर बसेका धेरै घटनाहरू छन् । स्वास्थ्य, शिक्षा, सिमानामा र स्रोतका काम कुरामा हामीहरू नेपाल सधैंभरी पछि परिरहेका छौं । अनुसन्धान र केही छैन । छट्टुले नेपाल खायो भन्छन्् । कहाँ खायो कसरी खायो हामीलाई थाहा भए राम्रो हुने थियो ।

साधारणतया निन्द्राको अर्थ हाम्रो समाजमा वेलुका भात खाएर सुत्ने र भोलि बिहान सबेरै उठ्नु भन्ने बुझिन्छ । निन्द्रा भनेको त्यति मात्र हैन । सचेत निन्द्रा, अचेत निन्द्रा, भाते निन्द्रा आदि अनेक प्रकारका छन् । त्यसमाथि ज्ञान निन्द्रा, ध्यान निन्द्रा अनि मोह निन्द्रा जस्ता अरु धेरै निन्द्राहरू छन् ।

कलमवाज जो अक्षरको खेती गर्छन् उनीहरूको निन्द्रा साहित्यिक निन्द्राको हो । जसलाई सजग निन्द्रा पनि भनिन्छ । चौबाटोमा अलमल्ल परेर उभिएको यात्रीलाई उचित दिशा निर्देशन यसैले गर्ने गर्छ । सबैको भविष्य उज्ज्वल पार्ने सम्यक ज्ञान र विज्ञानको चुचुरोसम्म पुग्ने बाटो यसैले देखाइदिन्छ । राजनीतिज्ञलाई पथ प्रदर्शन गर्छ । राष्ट्रलाई लक्ष्य भेट्ने सरल बाटो देखाएर जनतालाई सुखी बनाइदिने पनि दूरदर्शी विद्वान् रचनाकारहरूले गर्दै आएका छन् ।

निन्द्रा मानव समाजको लागि अनिवार्य वस्तु हो । निन्द्रा नपुगेको मान्छेको अनुहार मनिलो, अधेँरो देखिन्छ । आफ्नै प्रगतिको योजनाकार बन्न गाह्रो पर्छ । प्राणी जगत्का सर्वश्रेष्ठ हामीलाई चाहेको निन्द्रा आफै निदाउन सकिन्छ । जसबाट आफ्नो मनको चौतर्फी विकास होस् ।

जीवन दायिनी शक्ति दिने औषधी जस्तो निन्द्रा हामीलाई प्रकृतिले प्रेमपूर्वक प्रदान गरेकी छन् । हैन भने महाशय ! किन निदाउनुपर्‍यो र ? निदाउँदा मानव मष्तिष्कमा विभिन्न नानाथरी क्रियाप्रक्रिया भैरहेको बुझिन्छ । परापूर्व कालदेखि मानव समाजले यसको अनुभव गर्दै आइरहेका छन् ।

देश, काल, परिस्थितिले निन्द्राको रूप निर्धारण गरिरहेको हुन्छ । मनमष्तिष्क र बाहिर एकाकार भएर निदाउँदा गाढा निन्द्रा पर्छ । यसैकारण कसैको निन्द्रा बाक्लो र कसैको पातलो हुन जान्छ । सुकर्म गर्ने मन र शरिरले परमानन्दको निन्द्रा आउन गाह्रो पर्छ । जहाँ सत्चित् आनन्द छ त्यहाँ निन्द्राको बास हुन्छ ।

विज्ञहरुको भनाइ छ– सुषुप्तावस्थामा पनि मानव मष्तिष्क पूर्ण निदाएको हुँदैन । मानव मष्तिष्कमा विभिन्न क्रियाप्रति क्रिया भैरहेका हुन्छन् । यसकारण विभिन्न मान्छेहरूले अनेकौं सपना देखेका छन् । सपना कैले कैले साकार पनि बन्छ तर धेरै सपनाहरू अपूर्ण इच्छाका प्रतिक हुन् । ती अपूर्ण इच्छाहरू पनि छाया भएर उदाउँछन् र अस्ताउँछन् पनि । विपनामा तिनको कुनै अस्तित्व रहदैन । हृदयाकाशमा उडेका कणहरूको छायाँ मात्र हुन् ।

कसैलाई अति नै मन परेका स्थान, मान्छे र रहरहरू भेट्ने र भेट्ने मौका मिल्न सकेको छैन भने त्यो अभावलाई निन्द्रामा सपनाले एक दिन पूर्ण गराईदिन्छ । नेपाली कलाकारहरूले चीन र भोटको ल्हासामा सिप देखाएको मुर्ति, गुम्वा र चैत्य चिवहालहरू हेर्ने तिव्र अभिलाषा हुँदा पनि कुनै कारण र समयाभावले इच्छा पूर्ण हुन सकेन भने निन्द्रामा सपनाले अपूर्ण अभिलाषा पूर्ण गराईदिन्छ ।

यसकारण निन्द्रा सबैको सेवक परममित्र गोरखाली मित्र हो । कारण गोरखालीहरू मर्न परे पनि मित्रको लागि पछि हटेर जाँदैनन् । बरु ज्यानै दिन्छन् । वलीदान हुनु भनेको उनीहरूका लागि माखो मारे जस्तै हो । यूरोप, अफगानिस्तान, वर्मा, लद्दाख र इरान जहाँ जानु परे पनि त्यहाँ पुगेका छन् । वलीदान भैरहेका छन् । निन्द्रा पनि मित्रता कायम राखीराख्नका लागि तपाई जहाँजहाँ जानुहोस् ऊ पनि पछिपछि लागेर आउँछ । त्यसले हिमाल, पहाड र तराई केही पनि भन्दैन ।

हङकङ, मकाओ, मलेसिया, व्रिटेन तथा भारत र अरु जुनसुकै देशमा जानु परे पनि जान्छ । किनभने सबैको दिल दिमाग थकित हुँदा उसैले मरमत गरी दिनुपर्छ । रोगसँग लड्ने शक्ति भरेर सबैको अंगप्रत्यङ्कलाई ठिक दुरुस्त राखी दिन्छ । नुनको सोजो चिताउने जातिले आफै जीउज्यान र माटोको प्रवाह गर्दैनन् । यो निन्द्राले पनि त्यस्तै जीउज्यानको प्रवाह नगर्ने रहेछ ।

निन्द्रा नपरे आँखा राताराता भएर पोल्छ । दिमागी काम गर्न कठिन हुन्छ । शरिर सिथिल भएर जान्छ । अनि आफ्नो जीउ आफैलाई भारी भएर आउँछ । निदाउँदा जीवात्मा अचेत र जाग्रत अवस्थामा सचेत हुन्छ । अचेतावस्थामा काम गर्दा सैनिक, विद्यार्थी, किसान तथा ज्यामी विद्यार्थी सबैको ज्यान थाकेको हुन्छ । थाकेको शक्तिहीन शरिरमा निन्द्राले पुन ऊर्जा भरिदिने काम गरेको देखिन्छ । जसबाट फेरि काम गर्ने उत्साह र उमङ्क बढेर आउँछ । कपाल दुःखेको होस् वा ओछ्यान परेको विरामी सबैलाई सहयोग गर्न निन्द्राले औषधीलाई पनि काम गर्न मद्दत पुर्‍याई दिन्छ ।

खाएको आहार पचाउन सहयोग गर्छ । निन्द्रावस्थामा सबैको सम्बन्ध ब्रहृमाण्डसँग रहेको बुझिन्छ । निन्द्राको महत्व जीवनसँग जोडिएको छ । निन्द्रामा नै हाम्रा सम्पूर्ण नासिएका कोसिकाहरू पुनः निर्माण भएर आउने दिनमा सक्षमता साथ काम गर्न तयार बनेर बस्छन् । अनि निर्वल कमजोर बनेको मान्छे पुनः पुन सबल बनेर आउँछ । असल निन्द्राले आयुलाई बढाईदिन्छ । किन्तु यो औषधी जस्तै गुणकारी भए पनि अतिनै भयो भने खति हुन जान्छ ।

मान्छेलाई निन्द्रा नपर्नुको मुख्य कारण हो “चिन्ता” । काम क्रोध, लोभ, मोह आदिले चिन्तालाई जन्म दिन्छ । यसले धन सम्पत्ति र सुखको नास गराउँछ । नेपाली घर–घरमा घुमीफिरी आईरहने चिन्ताहरू धेरै छन् । मानिस भएर जन्मेपछि धर्म, अर्थ, काम र मोक्ष ४ चार पुरुषार्थ गर्नुपर्ने हुन्छ । तर पैसो विना कुनै योजना एक पाइलो अगि बढ्दैन । बालबच्चा विमारी पर्छन् । औषधी उपचार खर्च हँुदैन । पूँजी नभएको मान्छेलाई गरी खाने ठाउँ हुँदैन । कमाउने र पेटभरी खान पाउनु धेरै टाढाको कुरा भएको छ । यहाँ एक दुई ठाउँमा नाममात्रको सहयोग छ । कृषि र व्यापारमा व्यापारिक वा व्यावसायिक जग बसीसकेको छैन । हाम्रो दश धनी हुने स्रोत र साधनहरू पराइका हातमा पुगिसकेका हुँदा जनतामा कमाउने र खर्च गर्ने क्षमता प्रायः शुन्य छ ।

क्षमतावान निर्मल मन भएका देशभक्त राजनीति गर्ने निस्वार्थी मान्छेलाई चुनावी मैदानमा खटाउन नसक्दा हाम्रो दुःख दुई तीन गुना बढेर गएको देखिन्छ । नेपाली श्रम विदेशी बजारमा सस्तो मूल्यमा विक्री हुनु परिरहेको छ । त्यसपछि यस देशको शक्ति र सुन खुरुखुरु सिमापारी बगेर जान सजिलो भएको छ । खुला अन्तर्राष्ट्रिय सिमाना रातदिन खुल्लै रहन्छ ।

नाममात्रको मूल्यमा विदेशी बजारमा श्रम र सामान बेचेर यो देशको घोर गरिवी कसरी हटाउन सकिन्छ । दक्षता भएको श्रम र तयारी मालको बजार खोजेर विक्री गर्ने स्वतन्त्र सोचनीय विचार यहाँ कहिले आउँला ? हामीलाई अझै थाहा छैन । अन्न र पानी सुनभन्दा मूल्यवान् छन् भन्ने कुरा नेपालीले कहिले चाल पाउँलान् । टाठाबाठाले ठूलाठूला नदीनाला हडप्ने दिन कहिले हराउँला । हामीसँग माल छ तर मालको मूल्य कति छ चाल पाएको देखिँदैन । हाम्रा हातमा भएका जल, जमिन र हिमाल काम लाग्न सकेका भए देशभरीको गरिबी भाग्ने थियो । संसारभरी नेपाल र नेपाली टोपीको इज्जत बढ्ने थियो । आज आफ्नो टोपी आफैलाई घाँडो भएको छ । यो टोपीलाई सबैले किचीमिची च्यातिरहेका छन् । २००७ सालले हाम्रो टोपीलाई अझ धेरै थिचिदियो ।

ठिकठिक समयमा खाने, सुत्ने र उठ्ने काम जनताले जाने भने उचित काम उचित समयमा गर्ने बानी बस्छ र यहाँको दरिद्रता नास हुँदै जान्छ । अनावश्यक निन्द्रा नपाएको दिमागले सही कुराको सोचविचार गर्न असमर्थ हुन्छ । त्यसकारण निन्द्रा नै हाम्रो सर्वस्व हो । विरामी परेका सबैलाई सहयोग गर्ने निन्द्राले औषधीलाई पनि काम गर्न मद्दत पु¥याउछ । खाएको आहारा हजम गर्न सहयोग गर्छ । निन्द्रावस्थामा सबैको सम्बन्ध ब्रहृमाण्डसँग रहेको बुझिन्छ ।

जे भए तापनि देश र दुनियाँको प्रगति र विकासका लागि आवश्यक निन्द्रा निदाउनुपर्छ । उत्कृष्ट जीवन तथा परमानन्द प्राप्तिका लागि गहिरो सचेत निन्द्रा चाहिन्छ । उसले मति, बुद्धि, ज्योति आदि विवेक बढाएर सम्यक जीवन यापन गरेको पाइन्छ ।

पानीको फोका उठ्छ, फुट्छ र बिलाउँछ । त्यस्तै मानिस जन्म लिन्छ, मर्छ । कहाँबाट आयो कहाँ जान्छ भन्ने जस्ता तमाम कुराको जानकारी लिई, बुझ्न र बुझाउनुपर्ने हुन्छ । भौतिक र आध्यात्मिक ज्ञान प्राप्त गर्न सचेत निन्द्राको सहारा लिएर जानुपर्छ । साधारणतया मान्छेको शारीरिक निन्द्रा ५–८ घण्टाको हुन्छ । मानसिक निन्द्रा भने असिमित छ । एकैनास देखिँदैन । ध्यान निन्द्रा आवश्यकताअनुसार चल्छ । यो पनि सजग निन्द्रा भिन्नै पर्छ । जसबाट आनन्द प्राप्त गरेर दीर्घजीवन बिताईरहेका ऋषिमुनीहरू निर्जन जङ्कलमा पनि मङ्कल बनाई बसेको देखिन्छ ।

अरुको के कुरा हाम्रै देशमा ध्यान गरी बस्ने खप्तड बाबा र शिवपुरी बाबाको कुरा सुन्दा विश्वासै गर्न गाह्रो पर्छ । शिवपुरी बाबाका एकमात्र सेवक (चेला) काम विशेषले एक दिन काठमाडौं झरेछन् । कामले साता दिन खाइदिएछ । ७ दिनपछि बाबाको आश्रममा पुग्दा बाबाको ध्यान भङ्क भएछ । अगाडि सेवकलाई देखेर सोधेछन् – के उनी (सेवक) छिट्टै आईपुगेका थिए । मतलव बाबाको ध्यान अहिलेमात्र खुलेको रहेछ र एकैछिन मात्र भए जस्तो उनलाई (बाबालाई) लागेको रहेछ ।

त्यसबेलाको घनघोर जङ्कलले ढाकेको निर्जन शिवपुरी पर्वतको शिखरमा बाबाले के खाए केखाएनन् । हप्तादिन बितिसकेको थियो । तर त्यो १ हप्ता ध्यानी बाबाका लागि एक दिन भर्खर एकछिन मात्र भएको रहेछ । ध्यानमा समय नरहने भएर होला, सक्कली ध्यानीहरू जङ्कल, गुफा, हिमालयका कन्दराहरू, नदी किनारका ओढार जस्ता निर्जन स्थान खोजेर रोजेर बस्छन् । जहाँ ध्यानमा बाधा पर्न जाँदैन । त्यही उनीहरू रमाउँछन् । दहीलाई मोही पारेर नौनी निकाले झै जीवनको मोही पारेर सार निकाल्छन् ।

यसकारण पूर्वीय र पाश्चात्य निन्द्रा फरकफरक देखिन्छ । पश्चिमाहरूको जीवन आत्मादायी छ । पूर्वीय प्रकृतिसँगै बाँचेका हुन्छन् पश्चिमाहरू भौतिक विज्ञानमा निदाए भने यौटा अर्को आविष्कार हुन जान्छ । ५–१० कि.मि. भन्दा टाढासम्म मार हान्न सक्ने रासायनिक महत्व र क्षमताको हातहतियार बन्छ । अणुबमहरू जन्मिन्छन् । हवाईजहाज र अनेकौं यानहरू उड्छन् । चन्द्रमा छुन्छन् । किन्तु त्यस्तो प्रयोग केका लागि भन्ने प्रश्नको उत्तर धमिलो पाइन्छ । अथवा अनुत्तरित हुन्छ । त्यहाँ शक्तिनै शक्ति सबै कुरा हुन्छ । सम्पत्ति आखिरी उद्देश्य बन्छ ।

पूर्वीय लक्ष्य सर्वजन हिताय हो । उनीहरू त्यसैको माला जपेर हिड्छन् । त्यही मन्त्र जप गर्छन् । अन्धकारबाट उज्यालोतिर जाने बाटो पहिल्याउन आधुनिक जहाजभन्दा तेजी चल्ने मनोभावनानुसार उड्ने विमान चढेर जाने क्षमता राख्छन् । अझै ध्यानस्थ हुनपुगे भने अनेकौं ब्रहृमाण्डको विचरण गर्छन् । करुण रसले संसार भिजाउन चाहान्छन् । ग्रह नक्षत्रहरू पक्रेर शान्त चित्तले समाधिस्थ बन्छन् ।

उता संसारिक ताप बढेका हुन्छ । यता सितल अनुभव छ । त्यहाँभन्दा पर पुग्ने ठाउँ कहाँ होला र जहाँ भक्ति नै सर्वश्व बनेको हुन्छ । जेजस्तो भए तापनि प्राकृतिक निन्द्रा पेटमा चारो पुग्नासाथ आइदिन्छ । उसको पनि कर्तव्य छ । धर्म कसैले छोड्नु हुँदैन । आफ्नो कर्तव्य पालना गर्नु नै धर्म हो । निन्द्रा सेवक भएको हुनाले नियन्त्रणमा राख्न सकिन्छ । धेरैले यसलाई दिनमा भन्दा रातमा आएको मन पराउँछन् । निन्द्राले वाल, बृद्ध, महिला भनेर पक्षपात गर्दैन । उसको निस्पक्षता प्रशंसनीय छ ।
त्यसले अल्छीहरूको गणना गरिरहन्छ । पापी मनमा पस्छ र निन्द्रा नलाग्ने रोग (अल्जाइमर) लाई बोलाइ दिन्छ । फलस्वरूप श्रमचोरहरूको जीवन वरवादीतर्फ धकेलिन्छ । खाएको खाना नपच्ने, ग्याष्ट्रिक रक्त विकार र रक्तचाप बढ्ने गराउँछ । त्यसपछि डिप्रेशनले सताउने गर्छ । मनमा अशान्तिले बास गरेपछि यो जुनी र जगतमा जन्मेको सार हराउँछ । बगेको खोला जस्तो जीवन फर्किदैन । जुनिभर निराशामात्र हात लागेको हुन्छ ।

मानिसहरू अचेतन भन्दा चेतन निदाउन दिाउन कठिन मान्छन् । समाज सेवा गर्छु भनेर आउनेहरू आफ्नो बाचाबन्धन विर्सी दिन्छन् । मौका पर्दा दाइ न भाइ कसैको राय विना संसारको ध्यान भित्रभित्रै मुसाले खाएर सके जस्तै ढुकुटीको धन समाप्त पार्नेहरूलाई त चेतन निन्द्रा झन पटक्कै पर्दैन । अनि मुटु, कलेजो, फोक्सो र मृगौलाको भयङ्गर रोग लागेर शरीरै ध्वस्त पारिदिन्छ ।

अचेतन निन्द्रा सजिलै निदाइन्छ । पेटभरी खायो, मस्त निदायो । कसैको चिन्ता फिक्री हुँदैन । अचेतन निन्द्राका धनीहरू अवसर मोटा र भुडीवाल देखिन्छन् । खेतबारी अर्थात् करेसामा पैह्रो लागे पनि हेरिरहन्छन् । त्यो पैह्रोलाई रोक्ने, खोटा किला ठोक्ने आँट नगरेर सहायताको खोजी गर्दै हिडेको देखिन्छ ।

कोही कोही मान्छेले मात्र सचेत निन्द्राको सुइको पाएका हुन्छन् । त्यस्तो व्यक्तिको भुतै कमारा हुन्छन् रे । भगवान् पनि तँ आट म पु¥याउँछु भन्छन् रे । आँटिला समर्थवान्लाई समयले पनि साथ दिन्छ । शत्रुको कल, जल र मूलमा परेर नेपालले गुमाउनु परेको केही भूभाग फिर्ता गर्न जङ्कबहादुरले आँट गरेर ल्याई छोडे ।

देशको माया गर्ने स्वार्थरहित मनहरूले सुन्दर सपना देख्छन् । त्यो सफल र साकार पनि हुन जान्छ । सुन्दर मनका सपनाले देशको मर्यादा बढाउँछ । गरिब जनताले जुनी फेर्छन् । देशका लागि मर्ने सपुतहरूको नाम चन्द्र सूर्य रहेसम्म मेटिदैन ।

श्रोत/साभार : देशान्तरबाट

प्रतिक्रिया