बौद्धिकता र प्राज्ञिक पत्रकारिता

सञ्जय मित्र, रौतहट २०७७ असोज ४ गते १:४७ मा प्रकाशित

सञ्जय मित्र,

आजभोलि कपि पेस्ट पत्रकारिता फस्टाएको छ।अझ सामाजिक सञ्जालले नै पत्रकारिताको काम गरिरहेको छ।पत्रकारहरुको अब कामै छैन।अलिकति पनि मिहिनेत गर्नुपर्दैन अब पत्रकारलाई।कतै केही भयो कि तुरुन्त सामाजिक सञ्जालमा आइहाल्छ।त्यसैलाई अलिकति यताउति मिलायो र समाचार बनायो। उस्तै परे एकाध लाई फोन गर्यो र समाचार बनायो।

पत्रकारिताको वास्तविकता हुँदै होइन यो।हो धेरैले परिश्रम गर्न चाहँदैन र एउटा अनलाइनमा आएको समाचारलाई कपि गरेर आफ्नोमा पनि हाल्दछन्,लेखलाई समेत यसै गरी प्रकाशन गरेको पाइन्छ तर यसको अर्थ यो हुँदै होइन कि पत्रकारको कुनै कामै छैन।सबैले विज्ञप्तिकै भरमा पत्रकारितालाई धानेका छन्।

पत्रकारिताको मेन स्ट्रिममा जुन किसिमको तँछाडमछाड रहेको छ प्राज्ञिक पत्रकारितामा यस किसिमको लिग लिग दौड रहेको छैन।प्राज्ञिक पत्रकारिता भन्नुको अर्थ साहित्यिक पत्रकारिता हो र मेन स्ट्रिमको पत्रकारिताभित्र पनि दार्शनिक,साहित्यिक चिन्तन र खोजको पत्रकारिता हो।वास्तवमा मेन स्ट्रिमको पत्रकारितलाई पनि विचार गर्ने हो भने बजारमा ठूलो नाक देखाएर हिँड्नेको पत्रकारितामा गुदी कत्ति रहेछ र बोक्रा कत्ति रहेछ भन्ने कुरो स्पष्ट देखिन्छ।मेन स्ट्रिमको भनिने कतिपय पत्रकारिताको उदाहरणले त बौद्धिकता,दार्शनिकता तथा साहित्यिकताको महत्व अझै बुझेका छैनन्।हामी जे देख्छौँ,त्यहीँ लेख्छौँ भन्दै पत्रकारितालाई समाजको ऐना भनी सतहको कुरामात्रै गर्दछन्।ऐनाले बाहिरी सतह देखाउने हो,भित्री मर्म कहिल्यै प्रदर्शन गर्न सक्दैन।ऐनाले आफूलाई मात्र सोझो देखाउने हो,अरुको अनुहार देखाउन बाङ्गो हुनैपर्छ।बाङ्गो ऐनाले सही बिम्ब कसरी देखाउन सक्छ ? यसकारण ऐनाले यथार्थसम्म देखाउन सक्दैन भन्ने कुरो बुझ्ने सामथ्र्य नभएको पत्रकारिताले नयाँ धारणा कसरी दिन सक्छ?के ऐनाले नयाँ धारणा, विचार, भविष्यको मार्ग तथा अन्तर्मनको व्यथा प्रदर्शन गर्न सक्छ ? पत्रकारितामा प्राज्ञिक शून्यता बढी हुँदै गएको अवस्थालाई नै कुनै विद्वानले वर्तमान पत्रकारिता कपि पेस्ट पत्रकारिता हो भनी बताएपछि त्यसैको कपि पेस्ट विचार आउन थालेको हो । यहाँ विचारको कपि पेस्ट पनि हो।

देशमा ज्ञान विज्ञानको केन्द्र काठमान्डु हो भन्ने एउटा यथार्थ हो र थियो पनि। काठमान्डु बाहेक यस देशकै भूमिमा पत्रकारिता चुहाउने वीरगंज हो।वीरगंज मोफलीय पत्रकारिताको जननी हो।इतिहासले यही खोल्दछ।अन्यत्रबाट के भयो त्यो उसैले बुझोस् तर वीरगंजले त प्राज्ञिक पत्रकारिताको सुरुआत गरेको थियो। अहिले वीरगंजको प्राज्ञिक पत्रकारिता कस्तो छ ? कहाँ छ वीरगंजको पत्रकारिता ?

यो प्रश्न होइन। उत्तरको खोजीको चाहना हो।वीरगंज गरिमा हो,गर्व हो।यहाँको प्राज्ञिक पत्रकारिता देशको धरोहर हो। र,वर्तमान परिदृश्यमा विश्व प्राज्ञिक पत्रकारिताको लागि एउटा उदाहरणीय प्रयास हो तर आज करिब शून्यको अवस्थामा किन?इतिहासमाथि किन लेउ लागेको छ?लेउ पन्छाएर बौद्धिकताको बीउ उमार्ने पत्रकारिताका लागि वीरगंजको माटोलाई किन कंक्रिटले छोप्तै लगेको छ।कंक्रिटमा हार्दिकता हुँदैन,आत्मा हुँदैन।माटोमा प्रेम पनि हुन्छ । माटोमा सिर्जनात्मकता हुन्छ।आज वीरगंजले धान्नै नसक्ने हवाई साहित्यिक पत्रिका पनि निकाल्न नसक्ने हैसियतमा त छैन।देशको आर्थिक राजधानी हो।प्रदेशको वैकल्पिक राजनैतिक राजधानी हो अघोषित।देशको अर्थतन्त्रको मुटु छाम्ने वीरगंजले चेतनाको नयाँ दीपक बाल्ने,अँध्यारोलाई उज्यालो दिने र इतिहासको नवीन ढोका खोल्ने पत्रकारितामा पछाडि किन आफूलाई पछाडि पारेको होला ?

वीरगंजले गर्न सक्छ भन्ने अपेक्षा हो।वीरगंजमा प्राज्ञिकता शून्य पत्रकारिताको लामो इतिहास छ,इतिहासको पनि इतिहास छ,वर्तमान पनि कमजोर छैन भन्ने प्रमाणको खोजी हो।

साहित्यिक पत्रकारितालाई सिर्जनात्मक पत्रकारिता र नयाँ पत्रकारिता भनिन्छ । साहित्यले भाषाको नेतृत्व गर्छ भन्ने मान्यतामा पनि आधारित हुनुपर्छ यी भनाइहरू।

साहित्यिक पत्रिका निकाल्ने व्यक्तिले मास जर्नालिज्मजस्तो तात्क्षणिक चर्चा नपाउने र राजनीतिक तथा सामाजिक हाकिमहरुको नजरमा नपर्ने हुनाले मास मिडियातर्फ बढी आकर्षण देखिएको हो।अर्को कारण साहित्यिक पत्रकारिता आफैँमा रोजगारी नहुनु पनि हो।यो रोजगारी नहुनु वा यसलाई रोजगारीबाट वञ्चित गराइनु हो,समीक्षाको सन्दर्भ हो।घटनामूलक र दैनिक सरोकारमूलकता यसको ठाडो विषय नहुँदा पनि समाजले यसलाई पछाडि पारेको हो।तर साहित्यिक पत्रकारितामा पछाडि परेको समाज भने उच्च बौद्धिक वा प्राज्ञिक क्षेत्रमा पछाडि पर्दै जाने,त्यहाँ खोजमूलकता कम हुँदै जाने र त्यागको भावना पनि कम हुँदै जाने हुन्छ।समर्पणको अभाव पनि विस्तारै नदेखिएला भन्न सकिन्न ।

साहित्यिक पत्रकारिता नयाँ पत्रकारिता हो।साहित्यले नयाँ सोच ल्याउने र त्यसको चर्चा गर्ने काम साहित्यिक पत्रकारिताले गर्दछ।यसै साहित्यिक पत्रकारितालाई पपुलर लिटरेरी पनि भनिन्छ।हो,जसले कृति प्रकाशन गर्न सक्दैनन् वा जसको कृति प्रकाशन हुँदैन,उनलाई समाजमा परिचय स्थापित गराउने र साहित्यको क्षेत्रमा चिनाउने काम यस प्रकारको पत्रकारिताले गरेको हुन्छ।उच्च बौद्धिक क्षेत्रमा सिर्जनामार्फत चिनाउने पत्रकारिता नै यही बौद्धिक साहित्यिक पत्रकारिता भएकोले यसको विकास हुनु आवश्यक छ।आजका धेरै प्रख्यात साहित्यकारहरुको कृति प्रकाशित हुनुभन्दा पहिले सबैभन्दा पहिलो रचना कुनै पत्रिकामा नै प्रकाशित भएको थियो।

साहित्यिक पत्रिकाको स्वरुप हवाई नै किन नहोओस् तर यसलाई सित्ति मिति कसैले फालि हाल्दैनन्।रचनाको स्वादका लागि पनि धेरैले पछिसम्म जोगाएर राख्दछन्।यसैले पनि यसलाई पपुलर लिटरेरी भनिएको हुनुपर्छ।अझ नवसर्जकका लागि त यो पपुलारिटी कमाउने र उत्साह बढाउने साधन हुन्छ।पहिलो औपचारिक कृति प्रकाशन हुँदा जति खुसी हुन्छ त्यसभन्दा पनि धेरै खुसी कसैको पहिलो रचना कुनै प्रचलित साहित्यिक पत्रिकामा प्रकाशन हुँदा हुन्छ।फेरि प्राज्ञिक क्षेत्रमा साहित्यिक पत्रिका आफैँमा आफ्नो रचनाको स्तरको परीक्षण पनि हो । सिर्जनाको मोड थाहा पाउने नयाँ मार्ग पनि हो।

वीरगंजले जति गरेको छ त्यो अब विस्तारै विस्मृतिको कंक्रिटले छोपिँदै लगेको छ ।कसले गरे, के वा के के गरे?भन्ने खोज्ने वा बताउनेहरुको पनि अभाव हुन थालेको छ।वीरगंजको प्राज्ञिकता अब बाहिरबाट देखाउनु पर्ने अवस्था आउँदैछ । वीरगंजभन्दा निकै पछि प्राज्ञिक पत्रकारितामा पाइला टेकेका नजिकका सहरहरु हेटौँडा, भरतपुर,जनकपुरको वर्तमानसित वीरगंजको तुलना गर्न सकिन्छ ?

इतिहासमा वीरगंजले निकालेका साहित्यिक पत्रिकाहरुको इतिहासको उत्खनन एउटा पाटो हो तर वर्तमानमा वीरगंजको साहित्यिक अनुहार कुन पत्रिकामा देखिन्छ भनेर कसैले पश्न गर्दा सजिलैसित भन्ने सम्भावित उत्तर हुन सक्छ – तराईका जिल्ला मध्ये पूर्व–पश्चिम राजमार्गलाई नछुने जिल्ला कुन हो?हो, सम्भवतः तराईका जिल्लामध्ये साहित्यिक पत्रिका प्रकाशन नहुने जिल्लाको खोजी सामान्यज्ञानको राजमार्गको प्रश्नजस्तै नबनोस्।

पर्सा र मुख्य गरी वीरगंजमा रहेका प्राज्ञिक व्यक्तित्वहरुले यस प्रकारको माहोल कम्तीमा बनाइदिनु परेको छ कि जसले वर्षमा कम्तीमा चार अंक पत्रिका निकाल्न सकोस्।साहित्यिक पत्रिकारिताको क्षेत्रमा वीरगंजको पहिचान बन्न सकोस् ।जीवनका धेरै क्षेत्रमा वीरगंज धेरै अगाडि छ तर वीरगंजको साहित्यिक पत्रकारिताको अङ्ग विस्तारै कमजोर हुन थालेको छ।

आधुनिक पत्रकारिताको सबै क्षेत्रमा वीरगंज अगाडि रहेको छ।सबै पत्रकारितामा वीरगंजको ठूलो सम्मान छ।यो सम्मान वीरगंजले आफ्नो परिश्रमले आर्जन गरेको हो।यसका लागि धेरै सङ्घर्ष गरेको छ वीरगंजले।प्राज्ञिक पत्रकारिता भनेर चिनिने साहित्यिक पत्रकारिताको उज्यालो विगतलाई वीरगंजले निकट भविष्यमा फेरि पनि पछ्याउने अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया