सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङ भीरखर्क–नागपुजे पहिरोबाट १४ जनाको मृत्यु ,१७ जना अझ बेपत्ता

इनेप्लिज २०७७ भदौ २९ गते २२:४७ मा प्रकाशित

 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ भीरखर्क र नागपुजेमा भीषण पहिरो खस्दा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ भने अझ १७ जना बेपत्ता भएका छन ।

बागमती प्रदेश विपद व्यवस्थापन निर्देशक समितिकाे बैठकबाट सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको बाढि पहिरो पीडितकाे व्यवस्थापनका लागि क्रमश रु. १५/ १५ लाख र बाह्रबिसे नगरपालिकाको लागि रु ३० लाख दिने निर्णय गरेको छ ।

घुम्थाङ भीरखर्क–नागपुजे पहिरो पीडितका दाताहरुले राहत लिएर आउने क्रम सुरु भएपछि बाह्रबिसे नगरपालिकाले बिषम परिस्थितको ख्याल गर्दै भीड जम्मा गरेर आफुखुसी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ । स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै बाह्रबिसे नगरपालिकाले दाताहरु नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो ।

कोरोना भाईरसको जोखिमका कारण भीडभाड गर्न नहुने, भौतिक दुरी कायम गर्नुपर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गरेर पहिरोपीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका नगर प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । ‘पीडितको घाउमा राहतको मल्हम पट्टी लिएर आउनुहुने दाताहरुलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेका हौँ’, शेर्पाले भन्नुभयो ।

एकद्वार प्रणालीमा पहिरोपीडितका आश्रय स्थलमा राहत पु¥याउने नीति अनुरुप समन्वयका लागी दाताहरुलाई आग्रह गरिएको नगर उप प्रमुख शुशिला पाख्रीनले जानकारी दिनुभयो । ‘परिस्थिती अलि जटिल छ, राहत सामाग्रीसँगै पहिरोपीडितका बस्तिमा कोरोना भाईरसले प्रवेश नगरोस भनेर समन्वयका लागी अपिल गरिएको हो’, पाख्रीनले भन्नुभयो ।

बाह्रबिसे नगरपालिकाले आईतबार साँझ नै पीडितको अस्थायी वासका लागी ४५ थान त्रिपाल नागपुजे पु¥याएको छ । पीडित विस्थापितहरुलाई त्रिपालमा राखिएको छ भने नगर उप प्रमुख पाख्रिन अहोरात्र जनताको सेवाको लागि खटिई रहनु भएको छ ।

अहोरात्र खानाको व्यवस्था गरिएको र पाख्रिनले सामाजिक संजाल फेसबुक (अनुहार किताव)बाट समय समयमा गतिबिधिका प्रत्यक्ष प्रसारण मार्फत अध्यावधिक गराई रहनु भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ । २ वटा बस्ती नै बगाएको उक्त पहिरोले भीरखर्कका १० र नागपुजे गाउँका ७ वटा घर पुरिएका छन् ।

तस्बिरहरु : सुशिला पाख्रिन

प्रतिक्रिया