लुटिएको भविष्य

सञ्जय साह मित्र २०७७ भदौ २८ गते ०:०८ मा प्रकाशित

लुटिएको छ भविष्य मेरो
वर्तमान बन्धकी छ
विगत स्वतन्त्र छ मसँग ।

दिनदहाडै भविष्य लुटिँदा
रक्षकहरू तैनाथ थिए
साक्षीहरू दर्शक र रमिते बनेर
शोकेशमा सजाइएको दृश्य ठानेर
आँखै अगाडिको अदृश्य मानेर
मेरो चिच्याहट सुनेर पनि नसुन्दै
मनमनै के के हो गुन्दै
निर्धक्क लुटिइरहेँ
लुट्नेहरू, रक्षकहरू, साक्षीहरू
उल्लासको अभिव्यक्ति दिए
लुटिँदा प्राप्त भएका बधाईहरू
सम्हालेर राखेको छु ।

अनगिन्ती परिबन्दहरूले घेरिएर
वर्तमान मेरो बन्धकी राखेको छु
नतोकिएको ब्याज तिर्न नसक्दा
मेरो नासो वर्तमान
अभिमन्यु बन्न सक्छ
महारथिहरूलाई पराजित गर्दै
म मूक छु
निरीह छु
परिबन्दले बन्धकी राखेको वर्तमान
मतिर निरीह नयनले निहार्छ
मेरो वर्तमान बलिबेदीतिर घिच्याइँदैछ
म विगत लिएर भागिरहेको छु ।

पाइलाका डोबहरूलाई पछ्याउने धरती
त्यसलाई स्पर्श गरी आउने पवन र
कहिलेकाहीँ दर्शन गरेर फर्कने बाढीले
उहिलेका मेरा पदचापहरू सुनेर
मेरो वर्तमान बन्धकी छ
भविष्य त उहिल्यै लुटिसक्यो
उज्यालो सपनाले सिरानी चिहाउन बिर्सेको
युगलाई सलाममात्र भन्दछ ।

मलाई उद्घोष गर्न मन लाग्छ
मेरो इतिहास स्वतन्त्र छ ।
मेरो इतिहास स्वतन्त्र छ ।

भविष्य नभएको मान्छे
वर्तमान नभएको मान्छे
भूत बोकेर यात्रारत म
उज्यालो भूत खोजिरहेछु
पछाडितिर फर्केका पाइलाले
कतै फेरि उज्यालोपथको
चौबाटो देखाउला कि ?

सञ्जय मित्र

रौतहट

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया