आइतबार, असोज ११ २०७७
काठमाडौं २२:०६
वासिङटन डिसी 12:21

मेरो करेसाबारीको अनुभव : बानेश्वर देखि अमेरिका सम्म

शशी के.सी २०७७ भदौ २४ गते ०:१६ मा प्रकाशित

करेसाबारी ( kitchen garden) भन्नाले आफ्नो घर सॅंगै रहेको सानो जमीनमा तरकारीहरू ताजा उमार्नुलाई भनिन्छ । हुन तआजकल ठुला शहरहरूमा घरनै पुरै जमीनमा बनाउने हुनाले छत, कौशी र गमलाहरूमा तरकारी लगाउने गरिएको देखिन्छ।यसरी तरकारी उमार्दाको फाईदा भनेको आफ्नै बारीको ताजा, बिषादी नमिसाईएको, अर्ग्यानिक खान पाउनु हो।त्यस्तै ताजा तरकारी खाने भन्ने साथ उहिले खप्तड बाबाले भनेको सॅंधै सम्झन्छु ‘दिनमा एउटा चाहे तरकारी होस् वा फलफूलआफ्नै बारीमा उमारेको ताजा खानु रोग कहिल्यै लाग्दैन।’

अब करेसाबारीको मेरो आफ्नो अनुभव भन्नु पर्दा बाल्यकाल याद आउॅंछ। म काठमाडौं शहरको बासिन्दा हुनाले ठुलो खेतबारी त थाहा छैन तर करेसाबारीको अनुभव चाहीॅं धेरै छ। हाम्रो बानेश्वर घरमा अगाडी ठुलो फूलबारी थियो/ छ र पछाडी करेसाबारी। ओहो बर्षैभरि फूलबारीमा बिभिन्न फूल गुलाफ, गोदावरी, सयपत्री, मखमली, जाई, चमेली, पारीजात,सुर्यमुखी आदी ढकमक्क फूलिरहेका हुन्थे। गेट खोलेर घर छिर्दा हरर फूलको बास्ना आउॅंदा मनै प्रफुल्ल हुन्थ्यो।अझ, अहिले जस्तो हो र सबैको हात हातमा फोन क्यामरा, त्यो बेला त दशैं तिहारमा फोटो खिच्न ‘रिल’ किन्यो। दशैंको नयाॅं लुगा लगाएर बॅंगैचामा रंगी चंगी फूलहरू समातेर फोटो खिच्नुको मज्जा नै अर्कै नी, बयानै गर्न सकिन्। बारीमा अगाडी पछाडी फलफूल अम्बा, भोगटे, अनार, उखुको बोटहरू पनि थिए। जाडो महिनामा भोगटे साॅंधेर खाइन्थ्यो। स्याउ, सुन्तला र नास्पाती चाहीॅं फल्नै सकेन। मिठो अम्बा त अहिले पनि फल्छ।

त्यस्तै घर पछाडीको करेसाबारीमा के मात्र हुॅंदैन थियो र। हिॅंउदमा छुट्टाछुट्टै ड्यागं बनाएर काउली, आलु, मुला, प्याज, लसुन, रायो, चम्सुर,पालुगोंको साग सबै लगाउने गरेको थियो । गर्मीमा मकै, सिमी, बोडी, फर्सी, लौका, घिरौंला, भिडीं, गोलभेंडा, काक्रा आदी। केही रोप्नु अगाडी बारी खन्नु त पर्यो । कुनै बर्ष घरमा खन्ने ठुलो मान्छे कोही नहुॅंदा पुरानो बानेश्वर चोकमा भएका भरीया दाई लाई पैसा दिएर खन्न पनि लगाएको संझना छ।अनि बिरूवाहरू चाहीॅं असन बाट वा मैतीदेवी मन्दिर जाने धोवीखोलाको किनारामा रहेको ‘कपाली नर्सरी’ बाट ल्याउने गरेको थियो। मल पनि हाल्नु त पर्यो तरकारीमा। अहिले जस्तो घर बाट निक्लने फोहोर उठाउन कोही आउॅंदैन थिए। घरको पछाडी खाल्टो खनेर फोहोर फाल्ने गरेको थियो। त्यो खाल्टो भरिएपछि पूर्यो । अर्को बर्ष जैविक मल तयार हुन्थ्यो। त्यस्तै टोलमा रहेको कुखुरा पालन गरेकोठाॅंउ बाट सुली सहितको भुषको मल, गाईको मल र युरीया मल असन बाट ल्याउने गरिन्थ्यो। ओहो सुली भएको मल हालेको बेला त कस्तो गनाउने।

तरकारीहरू फलेपछि त झन रमाइलो हुन्थ्यो। छर छिमेकी साथीहरूको घरमा बाॅंड्ने पनि गरिन्थ्यो। लसुन बर्ष भरीलाई पुग्ने हुने। झुत्ता बनाएर सुकायो। आलु त कति फल्ने कति। आलुको चिप्स, तितौरा, खाजामा खाने झिलिंगा बनाउने गरिन्थ्यो।अझ घिरौंलाको त के कुरा गर्नु यति फल्नेकी माथि छतमा लुगा सुकाउने डोरीमा झुण्डिरहेका हुने लहरा पुगेर।कुन केटा केटीलाई तरकारी खान मन लाग्ला।ओहो, घिरौंला हामी खान नमान्ने, मम्मी कस्तो ‘दूध जस्तो घिरिम्ला छ’ नखाएर भन्ने। त्यस्तै मकै फले पछि सबै भन्दा पहिले पशुपतिनाथ मन्दिरमा चढाउने,अनिमात्र सबैले खाने गरिन्थ्यो। मकै त म स्कुल पढ्दा होस्टेलमा हुॅंदा उसिनेर,पोलेर भेट्न आउॅंदा ड्याडी मम्मीहरूले ल्याईदिएको आजै जस्तो लाग्छ। यसरी बाल्यकाल सकियो।अब मिठो संझना मात्रै त बाॅंकी रहयो।

अहिले अमेरिकामा बसाई छ। यताको करेसाबारीको अनुभव झन रमाइलो छ। पढ्न आएको शुरूको बर्षहरूमा बिध्यार्थी बस्ने अपार्टमेन्टमा बस्थ्यौं। ताजा तरकारी, फलफूल खान मन लाग्दा १-२ घण्टा गाडी कुदाएर फार्म तिर गयो। त्यहाॅं आफै टिपेर वा किनेर काक्रा, गोलभेंडा, लौका, स्याउ, स्ट्रबेरी, आरू आदी ल्याउॅंथ्यौं।अक्टोबर, नोभेम्बर महिनामा वरीपरी रहेका पम्किन (फर्सी) फार्महरूमा हे राईड( पराल राखेको ट्याक्टरमा) चढेर फार्म घुम्न जान झन मज्जा हुन्छ।

पढाई सकिएपछि भर्जिनियामा सर्र्यौं। यहाॅं हाम्रो घर पछाडी पर्खालले घेरेको सानो करेसा बारी छ। जाडो महिनामा त केही रोप्न मिल्दैन। हिॅंउ पर्छ साथै असाध्यै चिसो हुन्छ। तर मे महिना देखि अक्टोबरसम्म बर्षै पिच्छे बारीमा तरकारीहरू  काक्रा, गोलभेंडा, फर्सी, खुर्सानी, भिडीं, सिमी, खुर्सानी, कर्कला, भ्यान्टा, पुदिना लगाउॅंछौं।यसरी तरकारी लगाउॅंदा बिभिन्न अनुभब भएको छ। हुन त नेपालमा सानै देखि करेसा बारीमा तरकारी फलेको त देखेको हो। तर एक त मलाई झुसिलकिराको नाम लिॅंदा मात्र पनि एलर्जी हुने, बारीमा त कहिल्यै केहि गरिन। कहिले काहीॅं पानी चाहीॅं हाले, त्यति हो।यहाॅं अमेरिकामा त सबै आफै नै गर्नु पर्छ।

मे महिनामा हामी बुढा बुढी मिलेर बारी खन्ने, झार उखेल्ने, पसल बाट मल मिसिएको माटो किनेर, त्यो बारीमा रहेको माटोमा मिसाएर तरकारी बारी तयार पार्छौं। काक्रा, गोलभेंडा, भिन्डीको बिऊ किनेर घर भित्र नै प्लाष्टिकको भाॅंडामा उमार्छौं।उम्रन१५-२० दिन लाग्छ।कुनै बर्ष न उम्रेर हैरान हुन्छ र बिरूवा किनेर बारीमा रोप्छौं।एकपटक काक्राको ८-९ बिरूवा एक हात लामो दुई पात निक्लेको राम्रो भएको थियो। बेलुका बारीमा रोप्यौं। बिहान हेर्न जाॅंदा त डाॅंठ मात्र छ। कलिलो दुई पात त छैन। यहाॅं लोखर्के धेरै आउॅंछ। तिनीहरूले खाई दिएछन्। फेरी बजार बाट बिरूवा किनेर रोप्यौं । अनि दूधको ग्यालेन लाई पिंध आधा काटेर एक एक बिरूवा छोप्यौं। अलिक ठूलो भएपछि छोप्न छोड्यौं। ठुलो बिरूवा चाहीॅं लोखर्केले नखाने रहेछ।

अमेरिकाको माटो मलिलो हुने हुनाले तरकारी राम्रो हुन्छ। त्यस्तै बजारमा थरीथरीको मल पनि किन्न पाइन्छ। एक पटक नजानेर ‘मिरेकल ग्रो’ भन्ने मल हालेको थियौं । गोलभेंडाको बोट त हलक्क बढेर ६ फिट अग्लो भयो, भाॅंचियो पनि।आजकल सोचेर, बुझेर मात्र मल किन्छौं। काक्रा र गोलभेंडा साथीहरू लाई बाॅंड्न पुग्ने गरेर फल्छ। केही काक्रा त अलिक छिप्पिन दिएर दशैंमा खाने खल्पीको अचार पनि बनाइन्छ। यो साल साथीले नेपालबाट ल्याएको फर्सीको बिऊ लाई भित्र उमारेर रोपेको थिॅंए। लह लह फर्सीको मुन्टा र स- साना गट्टा खान पाईयो। अझ रमाईलो त पोहोर पिॅंडालुको गाना रोपेर कर्कला खाएका थियौं पंचमीमा ।यो बर्ष त आफै कर्कला त्यही ठाॅंउमा उम्रि रहेको रहेछ।अचम्म लागेर साथीहरू लाई सोधेको त जमीन मुनि पिॅंडालुको गाना छ भने यसरी नै उम्रन्छ कर्कला भने।जे होस् यो बर्ष नरोपे पनि कर्कला मज्जाले खानपाएका छौं।

अन्त्यमा,मेरो बिचारमा घर छेऊको सानो टुक्रा जग्गा वा गमला, छत, कौशी तिर तरकारी उमारेर खानु होस्।आफ्नै बारीको ताजा खान पाइन्छ ।

 

प्रतिक्रिया