आइतबार, असोज ११ २०७७
काठमाडौं २१:१७
वासिङटन डिसी 11:32

तारा भुषण दाहाल- द सनडे पप देखि द ब्राभो डेल्टासम्म परिश्रम र सफलताको समिश्रण

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ भदौ २१ गते १८:५१ मा प्रकाशित

 


नेपाली संचार जगतमै अत्यन्तै सम्मानित संचारकर्मीको रुपमा चिनिने व्यक्ति हुन भुषण दाहाल उनको वास्तविक नाम तारा भुषण दाहाल हो।

काठमाण्डौको कान्ति इश्वरी शिशु बिद्यालय हुदै सेन्ट जेभियर्स स्कुलबाट आफ्नो प्राथमिक विद्यालय शुरु गरेका उनले बुढानिलकण्ठ स्कुलबाट पुरा गरे। एसएलसी पछि अमृत साइन्स क्याम्पसबाट क्यापस स्तरको पढाई शुरु गरे।आमाबुबाका एक्लो सन्तान भुषणले आमाबुबाको इच्छा विरुद्ध सन् १९८८-८९ मा नेपाल टेलिभिजनबाट संचारकर्मीको पेशा शुरु गरेका दाहालले नेपाल टेलिभिजनमा द सनडे पप भन्ने नेटिभीको पहिलो अंग्रेजी पप गीतको कार्यक्रम चलाएर नेपालमा भर्खर मौलाउन लागेको नेपाली पप संगीत र संगीतकर्मीहरु लाई केही संगीत सिक्ने बाटो खोल्नुको साथै नेपाली पप संगीतलाई टेलिभिजनको बाटो खोल्न समेत सहयोग पुर्याए । VJing अर्थात् संगीतलाई टेक्नोलोजीको सहायताले श्रव्य दृश्य मार्फत वास्तविक समयमा दर्शक सामु पुर्याई संगीतलाई जीवन्त बनाउने काम भुषण दाहालले द सनडे पप मार्फत गरे। उनले चलाएको सनडे पप कार्यक्रमले उनलाई ठुलो संख्यामा प्रशंसक बटुल्न सहयोग गर्यो । सनडे पप कार्यक्रमकै कारण सधै विवाह भोजमा राजनीति र नेताका चर्चा हुने परम्परा तोडियो र युवाजमात हरु भेटघाट र जमघटमा गीत संगीतका चर्चा गर्न थाले । सनडे पपले युवा वर्गमा लोकप्रियता भए पनि कम्युनिस्ट विचारधारा भएका केही महिला सांसदहरु बब मार्लीको टिसर्ट लगाएर विरोध गर्न नेपाल टेलिभिजनमा पुगे र वादविवादमा बब मार्लीकै टिसर्ट लगाएर विरोध गर्न पुगेकै कारण महिला सांसदहरुको विरोधले सनडे पप तुरुन्तै बन्द त भएन तर त्यसको केही समय पछि सनडे पपको प्रसारण बन्द भयो र आफ्नो पेशामा नयांपन दिन श्रीलंकाको यंग एसियन टिभीमा एक वर्ष काम गरे र त्यसपछि पुन नेपाल टिभीमा फर्किएर बिहानीको कार्यक्रम प्रमुख भएर कार्यक्रम चलाए साथसाथै अन्तरराष्ट्रीय सम्बन्ध विभागको भुमिकासमेत निभाए।

निजीस्तरको टेलिभिजनमा भुषण दाहाल

नेपालमा निजीस्तरको टेलिभिजन सेवाको शुरुवात संगै भुषणले इमेज च्यानलको प्रमुख भएर तीन वर्ष काम गरे। नेपालमा म्युजिक भिडीयोलाई स्तरीय र व्यवसायिक बनाउन भुषणको पनि ठुलो योगदान इमेज च्यानल मार्फत रह्यो। यस अवधिमा उनले म्युजिक भिडीयो निर्देशन पनि गरे। आफुले गरेको काममा सधै निखारता र व्यवसायिकता दिन चाहने दाहालका म्युजिक भिडीयो पनि अत्यन्तै उत्कृष्ट थिए। त्यसपछि व्यापारमा होमिए पनि व्यापार यिनलाई फापेन र बेरोजगार बन्न समेत पुगे। आर्थिक रुपमा समेत नराम्रो अनुभव भोगेका उनी मानसिक रुपमा समेत विचलित हुन पुगे तर यो अपठ्यारो परिस्थिति लामो समय सम्म रहेन र अनायस उनलाई नेपाल टेलिभिजनको एक राजनैतिक बहसको कार्यक्रम “दिशा निर्देश” मा काम गर्ने प्रस्ताव आयो, जसका प्रस्तोता थिए, चिर-परिचित पत्रकार विजय कुमार। भुषण दाहालकै कडा मिहिनेतमा र विजयकुमारको साथमा दिशानिर्देशको बाह्र श्रृंखला अपार सफलता प्राप्त गरे पछि भुषणलाई कान्तिपुर टेलिभिजनमा काम गर्ने प्रस्ताव आयो। आफ्नो काममा अत्यन्तै मिहिनेत गर्ने र काममा निखारता ल्याउने भुषणले निर्देशन गरेको चलचित्र “कागबेनी” को चर्चा अझै पनि हुने गर्छ।

फायरसाइडमा भुषण

कान्तिपुर टेलिभिजनको एक उत्कृष्ट कार्यक्रम फायरसाइडको प्रस्तोता भुषणले उक्त कार्यक्रममा देशका राजनीतिज्ञ तथा तातो समसामयिक विषयका चर्चित व्यक्तिहरु लाई आमन्त्रित गरेर बहसका कार्यक्रम चलाई समसामयिक परिस्थितिको जानकारी दर्शक सामु पुर्याउन ठुलो योगदान दिए। फायर साइडका पाहुनाहरु न त भुषणका प्रश्नले लज्जित हुनुपर्यो न त भुषण नै कार्यक्रमको प्रस्तुतीका कारण लज्जित हुनुपर्यो । फायरसाइडले आमन्त्रण गरेका पाहुना र छानेका विषय चाहे राजनैतिक हुन या गैर राजनैतिक हुन, कार्यक्रम पछि दर्शकले गर्ने समीक्षामा भुषण दाहाल कहिल्यै लज्जित हुनु परेन। भुषणको छनौटका बहसकर्ता सम्बन्धित विषयका ज्ञाता हुन्थ्ये भने आफुले बहस गर्ने विषयमा भुषण आफै पुर्ण तयारी र ज्ञानका साथ प्रस्तुत हुन्थे। कान्तिपुर टेलिभिजनको अत्यन्तै लोकप्रिय अन्तर्वाता कार्यक्रममा देशको समसामयिक विषयमा धेरै जनप्रतिनिधित्व गरे र फायरसाइडमा भुषण दाहालले भन्ने गरेको, “ वेलकम टु फायरसाइड” लोकप्रिय थियो।

झण्डै १७ वर्षको लामो अनुभव संगालेर गत वर्ष माघ १ गतेबाट दाहाल कान्तिपुरबाट बिदा भए। उनले कान्तिपुर छोड्नु व्यवसायिकता बाट बिदा लिनु भन्दा पनि फरक रुपमा नयां कामको थालनी गर्ने सोच उनको रहेको थियो साथै कागबेनीको अपार सफलता पाएका दाहालको चलचित्र निर्माण गर्ने पनि योजना छ।

कान्तिपुर टेलिभिजन छोडेपश्चात उनले आफ्नो व्यक्तिगत रुपमा देखेको नेपाली राजनीतिज्ञहरुको तीतो र तीखो विश्लेषणले नेपाली सामाजिक संजालको बजारमा ठुलो चर्चा भएको थियो। नेपाली राजनीतिज्ञहरुलाई व्यंग्य गर्दै उनले भनेका थिए, “ कति नेताहरुको कुनै अन्तरराष्ट्रीय एअरपोर्टबाट ट्याक्सी चढेर आफु बस्ने होटलमा चेक इन गर्ने ताक़त समेत छैन, त्यसैले धेरै ठुलाठुला कुरा नगरे हुन्छ ।” वास्तविक यो हो पनि किनकी कहिले नेताहरु विना पासपोर्ट विदेश भ्रमणमा निस्किन्छन् त कहिले विना भिसा ।

आफ्नो झण्डै तीस बत्तीस वर्षको लामो संचार क्षेत्रको अनुभव सहित हालसालै दाहाल “द ब्राभो डेल्टा सो” नामक कार्यक्रमको प्रस्तोताको रुपमा भुषणले एपी वान एचडी टेलिभिजनमा काम शुरु गरिसकेका छन। देश भित्रका लुकेका, छिपेका र देखिएका सबै सामग्रीलाई राष्ट्र, राष्ट्रीयता अखण्डता र लोकतन्त्र प्रति समर्पित भएर नयां सोच र शैली अनुसार अगाडी बढ्ने उनको प्रतिबद्धता छ। यस कार्यक्रमको एउटा पाटो अन्तर्वार्ता त हुनेनै छ, त्यसको साथसाथै विभिन्न अन्य विधा र त्यसलाई समेट्न बन्द स्टुडियो, देश भित्रै विभिन्न ठाउ र आवश्यक परे देश बाहिर सम्म गएर कार्यक्रम लाई दर्शक माझ पस्किनु नै कार्यक्रमको उद्देश्य रहेको छ। जीवनमा थोरै असफल तर धेरै सफलता र दर्शकको अपार माया बटुलेका अनुभवी संचारकर्मीलाई हार्दिक शुभकामना ।।

(अन्तर्वार्ता र विभिन्न सामग्रीको आधारमा तयार गरिएको।)

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया