गौरी महाकाव्य हो 

हरिप्रसाद काफ्ले” शैव “बोष्टन, अमेरिका  २०७७ भदौ १९ गते २२:४५ मा प्रकाशित

तिम्रा ती पदचापले धरतीको माटो सुगन्धी भयो ।

तिम्रा अक्षरले र ती वचनले हावा स्वयम् धन्य भो ।।

बाटो त्यो बनको थियो कुसुमको भाषा बुझी लम्कियौ ।

गौरीको गुणगानले कलमले नारी चिनाई गयौ ।। १।।

 

छैनन् माधव ती शरीर रुपमा हो सत्य यो वाध्यता ।

मैंले भन्न कहाँ सकें र अहिले यो दर्दले सत्यता ।।

आँखाका दहमा नुहाउन सके के हुन्न भन्दैथियौ !

गौरीका गुणगानले कलमले नारी चिनाई गयौ!! २।।

 

सिंगो राष्ट्र उठाउने र कविको सामर्थ्य यस्तो दियौ ।

नेपाली घरमा कवि कलमको माया बसाई गयौ।।

जस्तो जून उदाउँदा जब यहाँ हाँस्छन् यी पाखा सयौं ।

त्यस्तै जून तिमी बसेर हिउँमा साहित्य समृद्ध यो ।। ३।।

 

त्यो सेतो शशि साँझमा सगरमा संन्ध्या नभै आउँछ ।

तिम्रो बास छ शान्तिको खबर त्यो यै चाँदनी ल्याउँछ ।।

पढ्नेछन् अब गाउँका युवतीले गौरी यहाँ जो दियौ।

बुझ्नेछन् अब काव्यका रसिकले गौरी महाकाव्य हो ।।४।।

 

गंगा ती बहँदा हरेक बुँदमा भर्छन् नयाँ जीवनी ।

आमा ती घरमा र देश परमा माया समानै दिने।।

माया मोह नभै ननाद मनको यो गौरीमा पोखियो ।

छातीभित्र छ जे लुकेन अब यो गौरी महाकाव्य हो ।।५।।

 

के खोज्छौ अब गीतमा कविजीको त्यो दु:ख गाएपछि।

नेपाली घर गाउँका कहर ती सम्पूर्ण पाएपछि  ।।

सारा सार खिचेर काव्य गुण ती पूर्वीय आदर्शको ।

मीठो धून बजाउने लय स्वयम् गौरी महाकाव्य हो ।।६।।

 

टारीका अनि फाँटका चहकिला ती जुन्किरीका कुरा ।

नानीका अनि बाउका विरहका ती सम्झनाका कुरा।।

कल्ले गाउन लाइयो र पहिला कुन् शोकमा गाइयो!

पढ्दा शीर्षक यी म भन्छु मनको गौरी महाकाव्य हो ।।७।।

 

मोती टिल्पिल गर्दछन् नयनमा पढ्ने सबै पाठक ।

औंला चाल बिराउँछन् नि विचरा संगीतका साधक ।।

मान्छे मर्दछ सत्य हो तर यहाँ द्यौता बोले झैं छ यो ।

पढ्दा शीर्षक यी म भन्छु मनको गौरी महाकाव्य हो ।। ८।।

 

प्रतिक्रिया