रातो मछिन्द्रनाथ जात्राको घटना-संस्कृति माथिको खेलवाड

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७७ भदौ १९ गते २१:०२ मा प्रकाशित

रातो मछिन्द्रनाथको जात्रामा हिजो जुन अप्रिय घटना घट्यो, त्यो निन्दनीय छ। गुठि संस्थान, प्रहरी प्रशासनले त्यसको छानबिन गर्नु पर्छ, हिंसा फैलाउनेलाई कारबाही हुनपर्छ भन्दै यो घटनाबाट उम्किन कसैले पनि पाउदैन, यसको जिम्मेवारी रक्षा मन्त्री, संस्कृति तथा पर्यटन मन्त्री र गृह मन्त्रीले लिनुपर्छ।रातो मछिन्द्रनाथको जात्राको सम्बन्ध रैथाने काठमाडौँ उपत्यका बासिहरुको भावना सँग जोडिएको छ।

धार्मिक र संस्कृतिक मौलिकता बोकेको शहर काठमाडौँ नेपालको राजधानी मात्र हो भनेर परिचय दिंदा अन्याय हुन्। काठमाडौँ शहरलाई सधै कला र सांस्कृतिक शहर भन्दा धेरै राजनीतिको अखडा बनाइयो। त्यसैले हिजो भानुभक्तले बयान गरेको कान्ति पुरी नगरी रणभुमिमा परिणत भयो। धेरै प्रत्यक्षदर्शीसंग बुझ्ने प्रयास गर्दा कोरोना महामारीका कारण काठमाण्डौमा सबै निषेधित छ र सामाजिक दुरी कायम गरी रथ तान्दा प्रहरी हस्तक्षेपका कारण झडप भयो भन्ने सुनियो। यो घटना घट्न दोष कसको थियो भनेर प्रश्न गर्दा दुवै पक्षको भन्ने भनाई सबैको छ।

के कोरोना महामारीको नाममा गरिएको लकडाउनमा सरकारी रणनीति ठीक छ ?

नेपाल सरकारको प्रेस सम्मेलन र विज्ञहरु अनि चिकित्सा पेशाकर्मीहरु संग बुझ्दा सबैतिर भांडभैलो नै देखिन्छ। अन्य देशको तुलना गर्दा नेपालले प्रशस्त समय पाएको थियो कोरोना संक्रमण विरुद्ध लड्न किनकी संसारका विकसित देशहरुमा भएका कमजोरीहरु हेरेर सिक्नु र सतर्कता अपनाउनु पर्ने ठाऊमा नेपालका सत्ता पक्ष र प्रतिपक्ष आफ्नै राजनैतिक लुछाचुडीमा लागे। जनताहरु लकडाउनको नाममा घरभित्र थुनिन बाध्य भए। नेपाल एक धार्मिक राष्ट्र हो र यो चाडपर्वको समय हो तर लामो लकडाउनमा बसेका जनतालाई चाडपर्व मनाउन उचित व्यवस्थापन गर्न र नीति तय गर्न नसक्नु नै सरकारको असक्षमता हो। क्रिश्चियनहरुको ठुलो चाड इस्टर अप्रिल महिनामा थियो जतिबेला संसारमा कोरोनाको उच्च जोखिम थियो तर युरोपका देशका सरकारहरुले हरेक दिन प्रेस सम्मेलन गरी आफ्ना जनताहरुलाई सुरक्षाका उपाय र सतर्कता देखाउन अनुरोध गरीरहेका थिए । डिसेम्बर महिनामा क्रिश्चियनहरुको ठुलो चाड क्रिश्मस आउदैछ र यस भन्दा अगाडी अस्ट्रियामा क्रिश्मस बजार लाग्छ, ठुलो व्यापार हुन्छ तर यस वर्ष उक्त बजार रद्द गरिएको छ, व्यापारीहरुलाई आफ्ना सामान अनलाइन बेच्न सरकार निर्देशित गरेको छ। तयारी यसरी गरिनु पर्छ तर नेपालमा यस लकडाउन लाई सरकारले आफ्ना पुरा हुन नसकेका अनैतिक काम गर्ने अवसरको रुपमा लिएको छ, जब सरकार नै यसरी मौकाको फाइदा उठाउछ भने संस्कृति जोगाएर बसेका र धर्म प्रति गहिरो आस्था राख्ने समुह कानमा तेल हालेर र आंखामा पट्टी बाधेर बस्न सक्दैन तर हिजोको घटना सत्तारुढ कम्युनिस्ट र विपक्षी कांग्रेसको भिडन्त हो किनकी रथ तान्नु हुदैन भनेर सरकारले निषेधित गर्नु र संस्कृति जोगाउने नाममा युवाहरुलाई उत्तेजित गराई प्रयोग गरेकै कारण अप्रिय घटना घटेको हो । जबजब धर्मलाई हतियार बनाएर राजनीति गरिन्छ त्यसले दुर्घटना त निम्त्याउछ नै।

धमिलो पानीमा माछा मार्ने तत्वले सामाजिक सदभाव भड्काएर सांप्रदायिक दंगा गरी राजनीति गरेको हिजोको घटनाबाट प्रस्ट हुन्छ र सरकारले धार्मिक मुल्य, साम्प्रदायिक आस्थालाई जगेर्ना र संम्बर्धन गर्नु पर्ने अवस्थामा यस बेवास्ता गर्न खोजेकै कारण रातो मछिन्द्रनाथको जात्रा अप्रिय बन्यो।

प्रहरी प्रशासन सधै निरीह

व्यवस्थापकीय पक्ष सधै कमजोर हुदां प्रहरी प्रशासन हरेक ठुला घटनामा निरीह बन्छ र हिजोको घटनामा पनि त्यही नै भयो। प्रहरी हस्तक्षेप गर्ने कयौं घटना यस्ता हुन्छन जहां सुरक्षा निकायले संयमता, चतुरता अपनाउनु जरुरी हुन्छ। नेपाल प्रहरीको कमजोर पक्ष नै दंगा नियन्त्रण हो, हरेक दंगा फसादमा सधै नेपाल प्रहरी चुक्ने गरेको छ।यो पक्षलाई सम्बन्धित निकायले २०४६ सालको जन आन्दोलन पछि आफ्नो नियन्त्रण लिनै सकेको छैन। २०४६ सालको जन आन्दोलन पछि नेपाल प्रहरी जनताको नजरमा नराम्रो संग गिर्यो र घृणाको पात्र बन्यो किनकी नेपालमा प्रजातन्त्रको पुन: बहाली पछि नेपाल प्रहरी नराम्रो संग राजनैतिक चंगुलमा फस्यो । प्रहरीको उच्च ओहदामा पुग्न राजनैतिक पहुच हुनुपर्ने र मोटो रकम बुझाउनु पर्ने परिपाटीको थालनी संगै प्रहरी अधिकृतहरुको सही मुल्यांकन हुनै छोड्यो। गलत मानिस गलत स्थानमा पुगेपछि त्यो पद, त्यो संगठन अनियन्त्रित हुनु स्वभाविक पनि हो। रातो मछिन्द्रनाथको जात्रामा पनि सधै झै बर्दी धारी प्रहरी सरकारको असक्षमता तातो रिसमा बलीको बोका बन्यो र कर्तव्य पालना गर्दै देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु जनता हातबाट पिटिन पुगे, यो भन्दा ठुलो दुर्भाग्य के नै हुन सक्छ र ?

किन महत्वपूर्ण छ रातो मछिन्द्रनाथको जात्रा

नेवारी भाषामा बुंग द्यः जात्राको नामले चिनिने रातो मछिन्द्रनाथको जात्रा नेपालकै लामो जात्रा र काठमाण्डौकै महत्वपूर्ण जात्रा हो। हिन्दु धर्मावलम्बीहरुले मछिन्द्रनाथ लाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पूजा गर्छन भने बौद्धहरुले धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्। मछिन्द्रनाथलाई योगीहरुका मुख्य देवता पनि मानिन्छ।

वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्ती पश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ । यसरी रथयात्रा आरम्भ भए पछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ ।शाक्यद्वारा पूजाआजा गर्दछन् र ज्यापु समुदायले रथ तान्ने कार्य गर्दछन् । जात्राको अघिल्लो राती बाहुन क्षेत्री महिला लगायत अन्य जातका महिलाले पनि बत्ती जगाउने काम गर्दछन् ।

गुठियाहरूका अनुसार चैत्र महिनाको पूर्णिमाका दिन विधिवत पुजा गरेपछि भोलीपल्ट देखि रातो मछिन्द्रनाथको रथ निर्माणको काम शुरु हुन्छ। रथ वनाउन ललितपुरको गोदावरी र हेटौडाको मनहरीबाट सान्दानको काठ ल्याइन्छ। १२ जनाको टोलीले रथ निर्माणको साईत शुरुहुनुभन्दा पहिले नै आफ्नो काम सम्पन्न गर्ने चलन रहेको छ। अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिन्छ। दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधि सँगै क्षमा पूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ । निकै अग्लो र सन्तुलित ढङ्गले निर्माण हुने रातो मच्छिन्द्रनाथको रथ विश्वको उत्कृष्ट कालीगढी नमुनामा पर्छ। पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ।

परम्पराको शुरुवात:

प्राचीन किम्बदन्ती अनुसार टौदहका नाग राज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्य लाई उपहार स्वरूप दिएको रत्न जडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो । सो विवाद राजा समक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्र नाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । एउटा लामो इतिहास र परम्परा बोकेको सांस्कृतिक पर्वको उचित व्यवस्थापन गर्नु सबैको दायित्व हो। धर्म र रीति रिवाजलाई जिस्काउने वा वेवास्ता गर्ने प्रयास कहीकतै नहोस।

एकले अर्कालाई माया, स्नेह र सम्मान गर्ने राजनीति दिगो हुन्छ। घृणाले फैलाएको राजनीतिमा लडाई, झगडा, हिंसा र अराजकता हुन स्वभाविक हो। यस घटनाबाट प्रहरी प्रशासन, गुठी संस्थान, संस्कृति तथा पर्यटन मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयले समन्वय गरी भविष्यमा यस्ता दुर्घटना हुनुबाट सबैलाई जोगाउनु पर्छ ।

घटनाका प्रत्यक्षदर्शी र वीकिपेडियाको आधारमा तयार गरिएको।

बाबा राजेश्वरी थापा ,भियना, अस्ट्रिया

प्रतिक्रिया