अनेसास केन्द्रद्वारा राष्ट्रकविप्रति शोक सभाको आयोजना

इनेप्लिज २०७७ भदौ १५ गते २२:३९ मा प्रकाशित

समाचारदाता,अमेरिका ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि स्व, माधबप्रसाद घिमिरेको तेह्रौ दिनको पुण्य तिथिको अवसर पारेर शोक सभाको आयोजना गरेको छ । जूम प्रविधिको माध्यमबाट गरिएको उक्त कार्यक्रममा बिभिन्न बक्ताहरूले कवि घिमिरेको ब्यक्तित्व, कृतित्व र जीवनीका बारेमा प्रकाश पारेका थिए ।

समाजका अध्यक्ष प्रकाश पौडेल माईलाद्वारा कविको तस्वीरमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल, डा. नवराज लम्साल र महेश पौडेलले स्व. घिमिरेको ब्यक्तित्व माथि बोलेका थिए । उनीहरूले नेपाली साहित्यको परिष्कारवादी धारा र स्वच्छन्दावादी धारालाई हाँक्ने कवि धिमिरेको निधनले नेपाली साहित्यलाई अपूरणीय क्षति भएको बताए ।

कार्यक्रममा अनेसास बोर्डअफ ट्रष्टी अध्यक्ष गीता खत्री र अनेसास निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले कवि घिमिरेसँगको संस्मरण सुनाएका थिए । यसैगरी कविका छोरी ज्योति पौडेलले “गौरी आमालाई पिताजीले गौरी कृतिमार्फत अमर तुल्याउनु भयो, पिताजीलाई जीवनभर साथ दिने महाकाली आमालाई अब कसरी सहयोग गर्ने “भन्ने चिन्ता ब्यक्त गर्दै राष्ट्रकविका कृतिलाई अनुवाद गरेर बिश्वमाझ पुर्याउन आह्वन पनि गरिन् ।

कार्यक्रममा समाजका वरिष्ठ उपाघ्यक्ष गोवर्ध्दन पूजाले एउटा लामो र सार्थक जीवन बाँचेर नेपाली साहित्य भण्डार भर्न सहयोग गर्ने कवि घिमिरेलाई सबैले स्मरण गर्ने बताउँदै अनेसासले यस्ता व्यक्तित्वका कृतिलाई बिश्वमाझ फैल्याउन सहयोग गर्ने बताए ।

महाससचिव सर्वज्ञ वाग्लेले कार्यक्रम सञ्चालन गर्दै कवि घिमिरेका गौरी कृतिका अंश वाचन गरेका थिए भने जानकी खनालले गीत प्रस्तुत गरेकी थिईन् । समाजका अध्यक्ष प्रकाश पौडेल माईलाको सभापतित्वमा सम्पन्न उक्त सभामा अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य प्रमोद सारंग र फ्लोरिडा च्याप्टरका अध्यक्ष दीप कार्कीले कविता वाचन गरेका थिए ।

कार्यक्रमा अनेसास केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधकारीहरू, सदस्यहरू, बोर्डअफ ट्रष्टीका उपाध्यक्षहरू, र च्याप्टरका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया