शनिबार, असार १८ २०७९
काठमाडौं २३:५०
वासिङटन डिसी 14:05

ती महान दुई दिदीहरू अनि ,म र क्षितिज प्रसाईं

काँशी स्मरण –३

– प्रा.डा.मेदनीप्रसाद भण्डारी २०७७ भदौ १३ गते १५:२५ मा प्रकाशित

– प्रा.डा.मेदनीप्रसाद भण्डारी,

शिक्षा प्राप्त गर्ने मूलधारा आमा,वुवा (घर),परिवारजन,परिवेश तथा विधिगत पाठशाला,विश्वविद्यालय आदि शैक्षिक संस्था वाहेक हरू पनि विविध माध्यमहरू हुन सक्छन्।ती माध्यम मध्ये परेर,देखेर,भोगेर र पग्लेर प्राप्त गर्ने शिक्षाप्रद घटनाहरूको असर मानिसको जीवनभरका लागि चीरस्थायी हुन सक्छन्।

कुनै कुनै घटनाहरूले समाजको पुरै यथार्थलाई बोक्न सक्छन्।कुनै कुनैले आशिंक यथार्थ बोकेका हुन्छन्।कहिलेकाही भ्रम पनि बोकेका हुन्छन् र मानिसको मस्तिष्कलाई लामो समयसम्म दिग्भ्रमित गराई रहन्छन्।यस्तो स्थिति स्वयंको भोगाई,सुनाई,देखाई वा अनुभूति सत्य नहुन पनि सक्छ तर मानिसको मनलाई भित्र भित्रै खाई रहेको हुन सक्छ।

यस स्मरणमा उल्लेख गरिएका दुई महान् आत्माहरू सँगको घटना वडा विचित्र खालको छ,कि यी घटनामा एक व्यक्ति मात्रको अनुभव होइन,समूहगत अनुभव गाँसिएका छन्।त्यस कारण यी घटनाहरू काल्पनिक पनि होइनन् र व्यक्तिगत पनि होइनन्।

यी दुवै घटना काँशी अध्ययन क्रममा भएका हुन्।दुई अत्यन्त भिन्न परिवेशमा घटेका हुन।तर दुवै घटनामा म र मेरो मित्र क्षितिज प्रसाईं संलग्न छौं।घटना काँशी विश्वनाथ मन्दिरको गल्लीमा घटित हो र दोश्रो चाहीँ भगवान् वुद्धले वुद्धत्व प्राप्त गरेको स्थान सारनाथको हो।

प्रथम घटना एउटा विचित्र संयोगले घट्यो।म र क्षितिज त्यो विश्वनाथ गल्लीको महाभिडमा विश्वनाथ वावाको दर्शनार्थ वेलुकाको समयमा गईरहेका थियौं। प्रचण्ड गर्मी थियो।एक मानिस र अर्को मानिस बीच मानौं एउटा लुछाचूडी चलेको होस् अथवा महा कुस्ति नै चलेको होस्।एकले अर्कालाई उछिनेर मुख्य लाइनमा पुग्ने होड एकातिर भने अर्कोतिर छेउमा भएका दुई पट्टि नै भएका पसलले बालेको बत्तिको रापको ताप अनि स्वत सिर्जित होडको तापले वास्तवमा कोही पनि आफ्नो वसमा,नियन्त्रणमा नभएको आभास हुन्थ्यो।पसलेहरूको विज्ञापनको स्वरको कोलाहल,त्यस माथी भगवानका भजनहरूको विज्ञापन यत्ति कडा थियो कि टाउको त्यसै फुट्ला जस्तो भई रहेको थियो।अर्कातिर सिनेमाका गीतको रन्कोले त पूरै कोलाहल नै मच्चाएको थियो।प्रत्येक नर नारी पसिनाले भिजेका छन्।सबैको आफ्नो आफ्नो चटारो छ।भय छ,अनि त्रासपनि छ।गोजी सफाचट पार्नेको दाउ पनि त्यही छ,१ रुपियाँ पर्ने सामानलाई १० रुपियाँमा बेच्ने दाउ पनि त्यहीँ छ,त्यतिले मात्र नपुगेर संगै गएका आफन्त छुट्छन् कि भन्ने पनि भन्ने अर्को त्रास छ।श्रीमानलाई श्रीमती पो छुटलिनकी भन्ने त्रास,श्रीमतीलाई श्रीमान पो हराउलान कि भन्ने पीर,वुवा आमा लिएर आउनेलाई उनीहरू पो छुट्लान की भन्ने पीर,बुढालाई बुढीको पीर,बुढीलाई बुढाको पीर अनि सबैलाई एकमुष्ट छोरा छोरी हराउलान् कि भन्ने पीर।विचित्रको परिस्थिति थियो।त्यहाँ एकले अर्कालाई तानेका छन्,एकले अर्कालाई ठेलेका छन्, मानौ त्यो एउटा पारिवारिक तानातानको यज्ञ हो।मायाले बोल्ने पनि छन्,घृणा उगेल्ने पनि छन्,सहभाव पनि छ,अनि दुर्भाव पनि छ।

वास्तवमा हेर्ने आँखा खुलेकाहरूको लागि,बुझ्ने मन र महशुस हुनेहरूको लागि त्यो विश्वनाथ गल्लि होइन,मानव चरित्रलाई साक्षात्कार गराउने एउटा व्यापक मञ्चन स्थल नै हो।विचित्रको गन्ध सुगन्धले गल्लिमा सास फेर्न नसकिने हालत छ ।एकातिर मानिसको पसिनाको गन्ध,अर्कोतिर ढलको गन्ध,अर्कातिर अगरवत्तिको गन्ध,हे भगवान् मानौ गन्ध,सुगन्ध र दुर्गन्धको माहा संग्राम पनि त्यहि छ।सबै मानौ कुनै समरमा छन्,कुनै दिग्वीजयको लागि होमिएका छन्।तल पनि केही देखिदैन खाली वेला–वेला मानिसका छुटेका चप्पलहरूमा खुट्टा ठोकिन्छन् र प्रायः हरेक पाइलामा अगाडि हुनेको पाइलालाई पछाडि हुनेकोले ठोक्छ।मानिसको अनुहारहरू पनि विचित्र नै भएका छन्।पसिनाका धाराले भिजेका छन्।दिदी वहिनी र आमाहरूको अनुहारको वर्णनै गर्न नसकिने अवस्था छ।गालामा लगाएको राम्रो देखिने किरिम पाउडर आधा आधा जति वगेको छ।सिउँदोमा लगाएको सिँदुर बगेर नाकका टुप्पाबाट तप तप झरिरहेछ।आँखामा लगाएको गाजल पग्लिएर गाला भरी काला काला रेखा बनाएका छन्।रातो,खैरो,सेतो, कालो रंग तिर्ने अनुहारहरूमा सबै पोतिएको छ,अनि त्यस माथी गर्मी र प्रतिद्वन्दीताले गर्दा आँखा राता राता भएका छन्।मानौं सबैमा माहाकालीको वास छ र त्यो छल्किएको होस्।

तर जसरी होस् त्यो भिड विस्तारै विस्तारै बग्दै छ,छेउका धारहरूलाई कसैलाई मतलव छैन।हामी पनि त्यहि धारमा बगिराखेका छौ,ठेलिईराखेका छौं, पेलिईराखेका छौ।क्षितिज बेला–बेला मलाई हेर्छन्,मुस्कुराउँछन्।म बेला–बेला उनलाई हेर्छु,फिस दात देखाउँछु।हाम्रो हालत पनि अरु हरूको जस्तै छ। हामीमा पनि एक अर्काबाट छुट्टिन्छौं कि भन्ने त्रास चाहीँ छ,तर छुट्टियौं भने के गर्ने कहाँ पर्खिने भन्ने पहिल्यै तय भएको हुँदा एक प्रकारको निश्चिता भने हामीमा थियो।

विश्वनाथ गल्लि सक्किने बेलामा एउटा सानो घुम्ति जस्तो ठाउँ आउँछ,त्यहाँबाट सुरक्षा जाँचको ढोका पनि आउँछ।त्यसबेला क्षितिज म भन्दा अगाडि थिए।मलाई कसैको खुट्टाले लाग्यो र म एक जना दिदीको शरीरमा धकेलिए।त्यो धकेल्याइले ति दिदी भने लडिन्,म चाहीँ समालिएँ।क्षितिज अगाडि नगई मलाई समाल्न फर्किए।हामी दुबैले ति दिदीलाई दिदी हजुरलाई चोट त लागेन भनेर उठायौ। दैव संयोग दुवै एकै पटक नेपाली मानै बोल्यौ।जब मानिसको मन आत्तिन्छ। उसले आफ्नो अवस्था बिर्सन्छ र आमालाई सम्झिन्छ अनि आमाकै भाषा बोल्छ। मैले क्षमा पाउँ दिदी,क्षमा पाउँ मैले जानेर होइन भनेर हात जोडें।क्षितिजले हजुरलाई चोट त लागेन भनेर ती दिदीलाई सोधे।दिदीले कुनै उत्तर दिनु भएन, एक्कासी करीव करीव डाको छोडेर रून थाल्नु भयो।वहाँँको रूवाइले हाम्रो पूरै सातो गयो।होस हवास नै रहेन। विचित्र भयले हामी कालो निलो भयौ।त्यो प्रचण्ड गर्मीमा पनि मन चाहीँ लगलग काम्न थालें।क्षितिजले मेरो काँधमा हात राखेर नआत्तिन संकेत गरे।

दिदीको रुवाई देखेर वरिपरिका मान्छे झुमिई हाले।“क्या हुआ,क्या किया इन लडकों ने” दिदीलाई केरकार सुरु गरे।दिदीले मधुरो स्वरमा “कुछ नही हुवा है, ए लड्के मेरे भाई है” भनेर मन्दिर तर्फ नपसी अगाडि बढ्नु भयो।वहाँँका आँखाबाट आँशुका धारा रोकिएका थिएनन्।विचित्र महशुस भयो।एक प्रकार मनमा शान्ति भयो कि वहाँले भाई भनि सके पछि अरु हरूहरूको तारो चाहीँ भइएन ।तर मन चाहीँ वेचेइन भयो।पहिलो कुरो वहाँँ लड्दा चोट लाग्ने र पिडामा चिच्चाउनु पर्ने अवस्था थिएन,अर्को कुरो वहाँँ लड्दा रुनु भएकै थिएन,तर जब हामीले दिदी भन्यौ,तब मात्र भक्कानिनु भएको थियो।

हामी पनि विश्वनाथ वावाको दर्शनको लाइनबाट निस्किएर वहाँँकै पछि पछि लाग्यौं।अलिकति अगाडि पुगे पछि मैले वहाँँलाई उछिनेर अगाडि गएँ।बाटो रोकेर “क्या हुआ दिदी आपको आप क्यों रोई” भनेर सोधें।क्षितिजले पनि “आप ने तो हमारे होस उडादिया,क्या हुआ क्यो रोई” भनेर प्रश्न गरे।दिदी अचानक गम्भिर हुनुभयो।वहाँँले अलिक नसुहाउँदो तरिकाले किरिम पाउडर लगाउनु भएको थियो ।गाजल पनि आँखामा सुहाउँने भन्दा लामो थियो तर पहिरन भने सामान्य कुर्ता सुरुवालमा हुनुहुन्थ्यो।क्षितिजले प्रश्न फेरी दोहो¥याए।वहाँँका आँखाबाट आँशुका धारा अझै रोकिएका थिएनन्।बल्ल वहाँँको बोली फुट्यो।बहाँले तिमीहरूको बोलीले रुवाएको हो भनेर एक शव्दमा तर नेपाली मानै भन्नु भयो।हामीलाई सन्तोष भयो वहाँँ नेपाली नै हुनुहुँदो रहेछ।हाम्रो सबै डर हरायो।हामीले वहाँँको वारेमा जान्ने उत्सुकता देखायौ र एक प्रकारको जिद्धी गर्न लाग्यौ।के तपाई विद्यार्थी हो?के तपाई यही काम गर्नु हुन्छ?काहाँ वस्नु हुन्छ?करीव करीव हामी उत्साहित नै थियो।दिदीले त्यस्तो केही होइन भनेर टार्ने प्रयास गर्नु भयो।वहाँँले प्रतिपक्ष गरेर हाम्रो वारेमा सोध्नु भयो।हामीले हामी मंगला गौरीमा हलुवाईको घरमा बस्छौ,विद्यार्थी हौं,सविस्तार सुनायौं।

यसरी आफ्नो कुरा सुनाउँदै हामी तीनजना दशाशमेय घाटमा पुग्यौं।साँझ परिसकेको थियो।आइतवारको दिन भएकोले हामी खासै हतारमा थिएनौं।हामीले वहाँँलाई सोध्यौ,साँझ पर्न लागेको छ।हजुरलाई हत्तार पो छ की?वहाँँले आइतवार मेरो पनि छुट्टीको दिन हो,पालो पालो छुट्टी आउँछ भनेर कुरा खुस्काउनु भयो।

अब हामीले जिद्धि गर्न थाल्यौं, हजुर के काम गर्नु हुन्छ ? हामीले दोहो¥याएयौ भाई भन्नु भएको छ।भाईको कसम भन्नु भएन भने हाम्रो मन दुख्नेछ।वहाँँ फेरी एक तमासले रुन थाल्नु भयो।मैले वहाँँलाई रुनबाट रोक्न खोजे तर क्षितिजले मलाई रोके र संकेत गरे,रुन दिनु पर्छ।वहाँँ करीव १५ मिनेटसम्म ओढ्नेले घुम्टो बनाएर मुख छोपेर एक तमास रोई नै रहनु भयो।

अनि विस्तारै रोदन बन्द भयो।वहाँँले त्यहि ओढ्नेले आँखा मुख पुछ्नु भयो र भन्नु भयो भाईको कसम दिएर हामीले राम्रो गरेनौ।वहाँँले आफ्नो कामको बारेमा भन्नु भन्दा पहिले नै शर्त राख्नु भयो।कि वहाँँको कामको कथा जिउँदो रहुन्ज्याल चाँही कसैलाई नभन्नु अनि म मरेको थाहा पाए पछि चाहीँ संसारलाई बताई दिएहुन्छ।आफ्नो नाम चाहीँ मरेर गएपछि पनि कतै नखोल्नु तर अरु कुरा भने खोलेर सुनाए हुन्छ,भन्नु भयो।क्षितिज र म किन हो कुन्नी त्यसै निराश भयौ
तर सामान्य अनुमान चाहीँ लगायौ कि,दिदी अपार कष्टमा हुनुहुन्छ।वहाँँ,अब यो संसारमा हुनुहुन्न र उहाँकै इच्छा अनुसार नै नाम यस संस्मरणमा उल्लेख गरिएको छैन।

दिदीले भन्न सुरु गर्ने भन्दा पहिले नै तीनवटा सोली बदाम किने एक–एक गरेर तिनै जनाले लियौं।दिदीले चारै तिर आँखा फैलाउनु भयो।हाम्रो बीचमा दिदी हुनुहुन्थ्यो।हामी दुई भाई अगल वगलमा बसेका थियौं।दशाशमेय घाटमा वत्ति बलिसकेको भए पनि सूर्यको उज्यालो अझै थियो।

थरीथरीका मानिसको जमघटले दशाशमेयघाट भरीभराउ थियो।नजिकैको मणिकर्निकाबाट लास जलाएको दुर्गन्ध पश्चिमी हावाले ल्याई रहेको थियो।त्यो गन्धको कसैलाई मतलव छैन।वाल,वृद्ध सबै मानिस आफ्ना हिसावले दशाशमेयघाटमा रमाई रहेका छन्।पश्चिमी मुलुकबाट आएका सेतो छाला भएका अर्धनग्न स्त्री र पुरुष भने त्यहाँका रैथानेका लागि आकषर्णका स्रोत बनेका छन् ।मानौं तिनीहरू अंग्रेजी,अथवा हिन्दी,इतर भाषा बोल्ने भएका हुदा उनीहरूको आकर्षण बढेको होस्।निर्लज्जता छ,त्यही घाटमा ती सेता छाला हुनेको।चुम्कन चाटी पनि चलि राखेको छ,मानौं उनीहरूले चुम्वन चाटीलाई प्रदर्शन गर्नैका लागि आएका हुन्।सेतो छाला भएका आमा,दिदीवहिनीहरूले लाज पचाएका छन् । सेता,राता यता हेर्दा उता देखिने कपडा लाएका छन्।सबै भित्री अंगवस्त्रको प्रदर्शन छ।कोही कोहीले त माथिको अंग छोप्ने कपडा पनि लाएका छैनन्। हुन सक्छ गर्मी खप्न नसकेर होस।तर त्यहाँका रैथानेलाई ती प्रमुख आकर्षणका केन्द्र बनेका छन्।हर कोहि त्यो प्रदर्शन नजिकबाट हेर्न चाहन्छ।कुनै न कुनै वहाँना बनाएर तिनीहरूका अघिपछि खासगरीकन तन्नेरी युवाहरू घुमिराखेका छन्। माग्नेहरूको जमात पनि आफू तर्फ आकर्षण गराउन विभिन्न किसिमका हाउभाउहरू प्रदर्शन गरिराखेका छन्।

चटकेको चटक चालु छ,जादु देखाउने उत्तिकै छन्।घाटे पनि उत्तिकै घटके पनि उत्तिकै छन्।मुरलीवाला आफ्नो मुरली वेच्न आतुर छन्। चटपटीवाला,वदमवाला, आइसक्रिमवाला,दहिवाला,मिठाइवाला,कचौरीवाला,चनावाला,काक्रवाला, ककडीवाला,खरवुजा वाला,तरवुजा वाला,अम्वक वाला,केरावाला,स्याउवाला, उखुवालाहरू त पूरै तम्वु नै टाँगेर बसेका छन्।पण्डाहरू पनि सल्वलाई रहेछन् ।कुस्तिवाजहरू पनि ठूला ठूला मुसल घुमाई राखेका छन्।

त्यहाँ गंगाको वहाँई उत्तरतर्फ छ।त्यही भएर होला उत्तरवाहिनी गंगा भनेको गंगामा नाउहरूको भिड छ,भैसिहरूको पनि भिड छ,पौडिवाजहरूको पनि भिड छ,बेला–बेला बग्दै सिंगो मृत शरीर पनि त्यही भिडबाट अगाडि बढ्छ। कुकुरहरू पनि छ्याप्छयाति छन्।काग पनि छन् अनि समुन्द्री काग जस्तो ठूला ठूला सेता खाले चरा पानिमा पनि पौडिराखेका छन्।मान्छेका हातैका खाना खोस्न पनि पुगेकै छन्,बाँदरहरूको आफ्नै दुनियाँ छ।भर्खर जन्मेकाहरू आमाको छातिमा टाँसिएर अथवा झुण्डिएर अट्किएका छन्।आमा बाँदरनी चाहीँ त्यहाँ खाना खोज्न भन्दा पनि खोस्नमा व्यस्त छन्।अलि आफै हिड्न सक्ने बाँदर नानीहरू बाल लिला देखाउँदै छन्।तन्नेरी बाँदरलाई आफ्नो रोमान्स देखाउने ठाँउ पनि त्यो भन्दा उपयुक्त कहाँ होस्।बाँदरहरू पनि मान्छेहरू खासगरी सेतो छाला भएकाहरू भन्दा के कम हुनु।कुकुरहरू पनि वेमौसमी प्रितीको चरमता त्यही प्रदर्शन गरिराखेका छन्।

त्यत्तिले नपुगेर ब्राह्मण वटुकहरू पनि वेदका ऋचा त्यही फलाकी राखेका छन्। कवि गोष्टि पनि त्यही कुनामा चलिरहेको छ।नाच देखाउने यूवा यूवतीको पौरख पनि त्यही छ।त्यो दशाशमेयघाटमा साँझमा के पो हुँदैन र ? सबै धर्मका इष्ट देवका कित चित्र प्रदर्शन छन् कि त मूर्ति विक्रीमा छन्।चिलिमेले चिलिम तानेर जय शम्भो भन्न पनि भ्याएकै छन्।सारा चित्र,सारा विचित्रताले घाटलाई एउटा विश्व दर्पण जस्तो बनाएको छ।

रुने, कराउने, हाँस्ने,हसाउने,सिकाउने,पढाउनेदेखि पूरै मोक्ष देखाउने र उत्तिखेरै स्वर्ग देखाउने वुज्रुकहरूको पनि कमि छैन।

यस्तो व्यापक छँदा भित्र हामी एक कुनामा एक निर्जिव सरहको मानसिक अवस्था भएकी दिदीको कथा सुन्नका लागि पर्खि राखेका छौं।

दिदीले आफ्नो कथा सुरु नै म वेश्यावृतिको काम गर्छु।तिमीहरू सुन्न सक्छौं भनेर भन्नु भयो।म केही बोलिन।वास्तवमा मलाई वेश्यावृति भनेको के पेसा हो भन्ने थाहा थिएन।पढेको र सुनेको नै शव्द भए पनि मानिस आफै म त्यो पेसा गर्ने हु भन्दा म झसंङ्ग भए।क्षितिज पनि झस्किए।

दिदीले जब म वेश्यावृतिको काम गर्छु,मुजुरामा नाच्छु भन्नु भयो। हामीमा वहाँँ प्रतिको आदर झन बढ्यो।सायद हामीले वहाँँको चरण छुन खोज्यौं तर वहाँँले दिनु भएन।

दिदी मुस्किलले २७ वर्ष पुग्नु भएको रहेछ।घर नेपालको पाहाडी जिल्लामा रहेछ ।वुवाआमा रहेनछन् र भाई चाँही रुड्की भारतमा इन्जिनिरीङ्ग पढ्दै हुनु हुदोरहेछ।भाइलाई पढाउने खर्चको जोहोको लागि गाउँलेहरूसँग सहयोग माग्दा गाउँलेहरूद्वारा नै त्यहाँ पु¥याइएकी हुनुहुँदो रहेछ।

तर वहाँँकी मालिक्नीले उनलाई दिने जति पैसा भने दिइनै रहेकी रहिछन्।अरु
त्यो पेशामा भएकाहरूलाई निश्चित स्थान भन्दा बाहिर जान स्वीकृति नभए पनि वहाँँलाई भने त्यस्तो कुनै थुन छेक रहेनछ।

दिदीले ग्राहकहरूको विवरण पनि सुनाउनु भयो।मानिस मानिस होइन,जनावर पनि होइन पूरै राक्षस हुन्छन्।मान्छेको शरीरलाई सबै स्थानबाट चुस्ने घोच्ने,थिच्ने कहिले काही त सासै सकिन्छ कि भन्ने अवस्था आउने आदि सबै कुरा सुनाउनु भयो।विरामी नै पर्ने ज्वरो आउने,खाना खान मन नलाग्ने,वाकवाकी लाग्ने,हिड्न नहुने,सौच गर्न नसकिने आदि विविध कष्टहरूको बारेमा पनि बताउनु भयो।त्यो शरीर शरीर होइन कुनै पसलमा राखेको मासुको थुप्रो हो जसलाई जहाबाट मन पर्यो,त्यहीबाट लुछछन्।शरीरका सबै द्वारहरूमा खञ्जर प्रयोग गर्न छुट भएको अवस्था पनि सुनाउनु भयो।

मानिसका नरभक्षि चरित्रको हरेक तवरले उल्लेख गर्नु भयो र भन्नु भयो, भाईहरू हो जीवन पढ्न अति कष्ट छ,उपभोग्य वस्तु भएर वाँच्नुको अर्थ जो उपयोगमा प्रयोग भएका छन्।उनीहरूले भोगेका हुन्छन् तर बताउने अवसर हुँदैन अथवा कसैले सुन्न पनि चाहदैन।भगवानले चाहीँ सुन्छन् कि सुन्दैनन् थाहा छैन तर त्यो नारकिय जीवन बिताउने अवस्थाका दिदीहरूमा भगवान् सित प्रार्थना गर्नु भन्दा आफैलाई धिकार्न बढी मन पराउने हुन्छन्।

दिदीले त्यो नारकिय जीवनका प्रायः सबै तहको उल्लेख गर्नु भयो।वहाँँले हामी दुई वाहेक अर्को एकजना नेपालीलाई पनि भेट्नु भएको रहेछ।वहाँँलाई चाहीँ, दाजु भन्नु हुँदो रहेछ।

त्यो प्रथम भेटेपछि फेरी दुई हप्तापछि हामीले वहाँँलाई भेट्यौ।त्यस पटक वहाँँले म वढीमा अरु एक वर्षलाई यो मासुको डल्लो शरीरलाई जोगाउँछु।त्यसपछि मेरो काम सकिन्छ भन्नु भयो।हामीले त्यस्तो कुरा नगर्नु यो मानव शरीर भनेको पाइदैन आदि भनेर सम्झाउने कोशीस पनि गरेका हौं।वहाँँले अब काम सकिन लाग्यो मात्र भन्नु भयो।हामीले वहाँँको मुजरा नाच्ने ठाउँमा हामी आउँछौं र हरू दिदीहरूलाई पनि भेट्छौ भन्यौ।त्यो असम्भव छ भनेर हामीलाई सम्झाउनु भयो ।
कुरै कुरामा हामीले वहाँँको व्यवसाय गर्ने स्थानको बारेमा सामान्य जानकारी लिई सकेका थियौं।सायद हाम्रो अन्तिम भेट भन्दा पहिले हुनुपर्छ म र क्षितिज विहाँन ५ बजे नै वहाँँ भएकोे घरमा चाहीँ होइन।त्यो क्षेत्रमा चाहीँ पुग्यौं।रेलवे लाइनको अर्को साइट तर असाध्यै वाक्लो वस्ति भएको ठाउँमा रहेछ।त्यो वस्तिमा पुग्न पैदल वाहेक हरू काटा भने रहेनछन्।

रेलवे लाईनलाई काटेर नजिकबाट कमसेकम ती हरू दिदीहरूलाई पनि भेटौं भन्ने हाम्रो चाहाना भने पूरा हुन सकेन।तर कता कता हामीलाई दिदीले हात हल्लाएर अन्तिम विदा भनेको जस्तो आभास चाहीँ आजसम्म पनि भईरहेको छ।
अर्को वर्ष काँशी जाँदा ती दिदीले दाजु भन्ने गरेका मानिस वहाँँलाई हामी सबैले दाजु नै भन्ने गर्दथ्यौ,वहाँँले तिमीहरूकी दिदी,मेरी वहिनी साच्चै सधैको लागि विदा भइन् भनेर सुनाउनु भयो।

ती हाम्री दिदीलाई सम्झदा साह्रै दुःख लाग्छ।लाग्छ,हाम्रो समाज कस्तो थियो र आज पनि हजारौ दिदीहरूले नारकिय जीवनमा नै काल पर्खिनुपरेको छ। हामीलाई जसले त्यो दिदीको विदाइको खवर सुनाउनु भयो।वहाँँ पनि अब यो लोकमा हुनुहुन्न।हाम्री दिदी कष्ठ जीवन नवाँची सहिद हुनु भयो।यस्ता सहिद हुने क्रमलाई रोक्न लौन कुनै उपाय गर।लौंन वहाँँहरूलाई वन्दिगृहबाट,त्यो पसलबाट भगाउ र ल्याउ।वहाँँहरूको आत्माको आवाज जसले सुन्छ,त्यही नै वहाँँहरूको भगवान् हो।लौन अलिकति भए पनि भगबत्ता जोगाउ र दिदीहरूको रक्षा गरौं।

अब दोश्रो घटना तर्फ लागौं।माथि उल्लेख गरिए अनुसार यो घटना पनि दिदीसंगै सम्वन्धित छ।उस्तै संवेदनशील तर पूर्णत उल्टो परिस्थिती छ।म र क्षितिज सानो तिनो अवसर पायो कि विना प्रयोजन,विना उद्देश्य,विना योजना र विना पैसा पनि त्यतिकै वरालिन निस्कन्थ्यौं।हरेक यस्ता विना उदेश्यका यात्राले सधै केही न केही सिकाएको अनुभव हुन्थ्यो।प्रायः हामी विश्वनाथ,सारनाथ, दशासमेयघाट, मणिकर्णिका घाट, हरीचन्द्र कलेज, चौखम्वाको पुस्तक पसल र कहिले काही काँशी रेलवे स्टेशन र गंगाको पुलसम्म पनि पुग्ने गथ्यौं।पैसा भएको खण्डमा चाहीँ सारनाथसम्म पनि पुग्ने गथ्यौं।यी अर्की दिदी सित भेट चाहीँ सारनाथमा भएको हो ।

गर्मीको समयमा पनि चिरिच्याट्ट मिलाएर लगाइएका अशोकका रुखहरू,पिपल र वरका रुखहरू,तह तहमा लगाइएका दुवोले हरियाली जमिन,टिलिक्क टल्काएर राखिएका वुद्धका मूर्तिहरू,पश्मिीपाराका चमेनागृह,पालिएका मयूरहरू र तिनीहरूको नाच,बीच बीचमा हरू जातका रुख,सारनाथलाई साह्रै आकर्षक ढङ्गले सजाएको हुन्थ्यो।अनि निरन्तर वुद्धम् शरणं गछछामी,संगम् सरणम् गछछामी,अनि ओम मणि पध्मे ओमूँः खालका ध्वनिले पनि सारनाथलाई एउटा सुरम्य स्थान बनाएको हुन्थ्यो।त्यस माथि पनि वडा वडा भुडिवाला साद्यकहरू पहेंलो लुगामा यता उता घुमिरहने,अनि कोही आँखा चिम्म गरेर माला जपिरहने, कोही वुद्धमन्त्र लेखिएको ड्रम जस्तो घुमाउन मिल्ने यन्त्रलाई घुमाको घुमाई गर्ने, कोही चाहीँ मानां वुद्धत्व नै प्राप्त भएको जस्तो नवोली वस्ने, कोही चाहीँ खास गरी विदेशी पर्यटकलाई वुद्ध सम्वन्धि अथवा वौध धर्म सम्वन्धि सामाग्रीको प्रदर्शनी र विक्रीमा व्यस्त मानौ एक प्रकार शान्ति कुनै न कुनै तरिकाबाट संचार भएकै छ।रंग रंगिला,केटा साथी,केटी साथीलाई घुमाउन लाने ठाउँ पनि भएको हुदा त्यहाँ भौतिकता र आध्यात्मिक दुवै रंगहरूसँगै बगेका छन्।क्षितिज र मेरो त्यहाँ जाने उद्देश्य चाहीँ वुद्ध सम्वन्धि पुराना पुस्तकहरू हेर्ने,प्रदर्शनी हेर्ने अनि ती थरीथरीका मान्छेको व्यवहाँर हेर्ने नै हुन्थ्यो।

यहाँ स्मरण गरिएकी दिदी पनि तीनै थरीथरीका पात्रहरू मध्यकै एक हुन्।हामी दुई जना समीको रुखमुनि त्यो दुवोलाई काटेर मिलाएको जमिनमा कसेर वदाम खाइरहेका थियौं।हाम्रा अगाडिका समीका रुखमुनी पनि हामीले जस्तै तिन जनाले वदम खाई रहेका थिए।एक जना पंजावी पहिरनमा हुनुहुन्थ्यो।दुइजना महिलाहरू अत्यन्तै साधारण शरीरमा सुहाउने भन्दा अलिक ठूला कुर्ता सुरुवाल लगाएर कुरा गरेर बसिरहनु भएको थियो।

ती दुई जना महिला मध्ये एक जना आमा–एक जना छोरी र पुरुष चाही वुवा हुन् भन्ने सामान्य अन्दाज गर्न सकिन्थ्यो ति दुवै जना महिलाहरूले ओढ्नेले टाउको करीव करीव अनुहार नै छोपेको हुनाले हामीले शुरु शुरुमा खासै चासो गरेनौं।एका एक ती मध्ये छोरी चाहीँ केही कारणले उठ्नु भयो।वहाँँको ओड्ने पनि भुइमा नै खस्यो।

जब,वहाँँलाई हामीले देख्यौ, आँखा चिम्म गर्नै नसकिने अवस्था भयो।अतिशय सुन्दर,अतिशय सुन्दर।विभिन्न धर्मशास्त्र कथा,काहानीमा अप्सरा आदिको वर्णन त सुनेको थियो तर साक्षात दर्शन भएको जस्तो अनुभव भयो।अर्थात् ती सुन्दरी दिदी फेरी यथा स्थानमा बस्नु भयो तर हामी चाहीँ अब यथास्थानमा बस्न सक्ने अवस्थामा थिएनौ।

हामीले करीव १७ पटक उनीहरू वसेको रुख सहित उनीहरूको वरिपरि घुम्यौं होला।वहाँँहरू नजिकैको चमेना गृहमा जानु भयो।हामी पनि नजानिने हिसावले त्यही पुग्यौं।हाम्रो हर्कत लुक्ने अवस्थाको थिएन।हाम्रा मात्रै होइन,हरूहरूका आँखा पनि तिनै विचित्र सुन्दरी दिदी माथि नै थिए,तर अरुहरू नियन्त्रित थिए, हामी अनिन्त्रित थियौ।हाम्रो अवस्थाका बारेमा ती दिदी लगायत वहाँँका वुवाआमा पनि परिचित भएको हामीले महशुस गर्यौ।त्यो भर्खरको यूवा मन र मस्तिष्कले मानिसको स्वरूपमा पनि त्यति सुन्दर हुन सक्छ भन्ने कल्पना नै गर्न सकेन।तर हामीमा एक प्रकारको भय भने छायो।ला,अब यिनीहरूले हरूलाई भने अथवा पुलिसलाई नै भने त हाम्रो राम धुलाई निश्चित छ भनेर हामी मन मनै आत्तिएका पनि छौं तर पिछा पनि गरिराखेका छौं।त्यो क्रम धेरै बेर भने रहेन।म डराएर पहिलाकै स्थानमा आएर बसें।क्षितिज पनि एकछिन आए।हामी दुवै जना एक आपसमा समेत कुरा गरेनौं।त्यसै आफैमा एक तमासको लाज पनि भयो,ग्लानी पनि भयो।

हामी त्यसरी गुथ्थ परेर बसेको करीव पाँच मिनेट पनि भएको थिएन,ती आमा वुवा र छोरी त्यही पुरानै स्थानमा आएर बसे।हामी झन् डरायौं र उठेर हिड्ने तयारीमा मात्रै के थियौं,ती दिदीमात्र(छोरी चाहीँ)ओढ्ने पनि नओडीकन हामी भएको ठाउँमा एक्लै आउनु भयो।हामी करीव करीव उठेर भाग्ने नै अवस्थामा थियौं।ती दिदीले “भैया जी आपलोक वैठ जाइए,मुझे आप दोनो से वाते करनी है,घवडाइए नही,मुझे आप दोनोको मनकी हालतके वारे मे पता है” भनिन।

त्यसो भनेपछि त मानौं हाम्रो सासै रोकियो।वहाँँ हामी दुई जनाका अगाडि बस्नु भयो।अब,बल्ल हामीलाई लाग्यो कि यी दिदी हामी भन्दा २–४ वटा वढी नै भोटा फटाएकी रहिछन्।

दिदी नजिकबाट हेर्दा त अघि हामीले देखेकी भन्दा कति धेरै पो राम्री रहिछन्। कुनै गरगहना अथवा सिंगार आदि गरेकी थिइनन्।कान नाक सबै वुच्चै थिए। कम्मरसम्म लामो वाक्लो न वाक्लो कालो कपाल पनि लाग्थ्यो २–४ दिनदेखि नै कोरेको छैन तर पनि प्राकृतिक रूपमा नै कुनै पनि मान्छे नै कसरी त्यति साह्रो राम्रो हुन सक्छ ?

मलाई चाहीँ मनमा कता कता यी चाहीँ साच्चै कालिदासले वर्णन गरेकी पार्वती नै पो हुन कि जस्तो अनुभव भयो।हामीमा काम वासना आदिको कुनै झनक सम्म पनि थिएन।एक प्रकारको निर्मल मन थियो।वास्तवमा मलाई माताभाव जागृत भएको थियो।क्षितिज पनि एक विचित्रको अनुहारमा थिए मानौं मात्तिएर लण्ढिएको अथवा त्यसै आनन्दमा झुम्मिए जस्तो।

दिदीले नै आफ्नो परिचय दिइन।उनी २८ वर्षकी रहिछन्,मनोविज्ञानमा विद्यावारीधि गरी सकेकी र वाल मनोविज्ञान हरू तथा अनुसन्धान गरिरहेकी रहिछन् ।पंजावमा मानसिक अस्पतालमा मनोवैज्ञान चिकित्सकको रूपमा काम पनि गर्दिरहिछन्।उनि कविता र कथा पनि लेख्दी रहिछन्।कादम्विनी भन्ने पत्रिकामा उनका लेखहरू छापिदाँ रहेछन्।उनका ४–५ वटा जति पुस्तक पनि प्रकाशन भई सकेका रहेछन्।

आफ्नो सबै परिचय दिई सकेपछि बल्ल उहाँले हाम्रो बारेमा सोध्नु भयो।वहाँँको अगाडि हाम्रो के परिचय।म त नेपालमा उत्तिर्ण हुन नसकेर काँशीको शरण परेको मान्छे।त्यो पनि बल्ल आई.ए.पढ्दै गरेको।क्षितिज चाहीँ म भन्दा राम्रो पढाई भएर पनि राम्रो शिक्षा खोज्न काँशीमा पुगेका।जे होस् हामी दुईको अवस्था वहाँँका अगाडि उल्लेख गर्न योग्य नै थिएन।तर हामीले अत्यन्त अनुशासित र मर्यादित हिसावले आफ्नो कथा जस्ताको तस्तै सुनायौं।म अलिअलि कविता, अलिअलि निवन्ध त्यसवेला पनि लेख्थें।वहाँँलाई म पनि साहित्यमा रमाउँछु भनेर सुनाए।

अब, बल्ल हामीमा डर हरायो।क्षितिजले नडराईकन वहाँँलाई देखेपछि लठ्ठ भएरै पछि पछि घुमेका हौं भनेर भनिदिए।वहाँँ हाँस्नु भयो र गम्भिर पनि एकै छिनमा हुनु भयो।त्यहीँ बेला वहाँँका वुवा आमाले वहाँँको नाम लिएर बोलाउनु भयो। वहाँले एकैछिन पर्खिन आग्रह गर्नु भयो।

दिदीले छोटकरीमा वहाँको रूपनै वहाँको शत्रु भएको कुरो बताउनु भयो। रूपको कारणले सधैं असुरक्षा हुने,सधैं कोही न कोही साथ हुनु पर्ने,कैयौसित झमेला हुने आदि आदि कुराहरू बताउनु भयो।

वहाँले आफूमाथि कैयौं पटक आक्रमण भएका कुराहरू पनि बताउनु भयो।हामी त्यसै स्तव्ध भएर वहाँलाई निहाली नै रह्यौ।वहाँहरू काँशी कै होटलमा बस्नु भएको रहेछ र वहाँको काँशी विश्वविद्यालयमा प्रवचनको कार्यक्रम पनि रहेछ। वहाँलाई देखेर हामी जति आकर्षित भएका थियौं।वहाँ सित कुरा गरेपछि त हामी झन् मोहित नै भयौ।

हामीले वहाँलाई फेरी पनि भेट्न मन छ भनेर सुनायौं।वहाँ अर्को एक हप्ता काँशी मा नै बस्ने हुनु हुदो रहेछ।वहाँले आफु बसेको होटलको ठेगाना पनि दिनु भयो।पंजावमा आफ्नो घरको ठेगाना,काम गर्ने अस्पतालको ठेगाना दिएपछि हामी सित विदा हुनु भयो।विचित्रको कुरा हामी छुट्टिनै मात्र के लागेका थियौं।वहाँका पिताजीले हामी पनि एउटै ट्याक्सीमा वनारस फर्किन आग्रह गर्नु भयो।

ट्याक्सीमा आमाले पनि छोरीको रूपका कारण ज्यानै जाने किसिमका घटनाको उल्लेख गर्नु भयो।काँशीमा हामी चौखम्वामा ओर्लियौ वहाँहरू नयाँ कोलोनीमा रहेको होटल तर्फ लाग्नु भयो।

पंजाव फर्कनु भन्दा पहिले हामीले हरू दुई पटक वहाँहरू सित भेट गर्यौ, दशासमेय घाटमा।तर दशासमेय घाटमा आउँदा दिदी प्रायःओढ्नेको घुम्टो भित्रै रहनु भयो।वहाँले मानिसको दानवीय प्रकृतिका बारेमा,मनोवैज्ञानिक विकारको बारेमा धेरै कुरा बताउनु भयो।वहाँहरू फर्किसके पछि पनि हाम्रो मानसिक दशा धेरै दिनसम्म पनि ठीक रहेन।हामीले हाम्रो मूर्खपन र ती सुन्दरीको उपदेशको बारेमा दामोदर गुरुज्यूलाई सविस्तार बतायौं।

गुरुज्यूले ती दिदीका लेख रचनाहरू पढ्नु भएको रहेछ।हामीलाई भाग्यमानी रहेछौं त्यस्ती विदुसीका पछि लाग्यौं र कुरा गर्न पायौं भनेर स्यावासी नै दिनु भयो।

हामी काँशीबाट फर्कियौं,वहाँसँगको सम्पर्क पनि हरायो।तर आजसम्म पनि ती दिदीका सौदर्य र विद्वत–पटक सम्झन्छौं र नमन गर्छौं।

अब अन्त्यमा,यी दुई महान दिदीहरूलाई हेरौ।एक प्रकारले समाजको रूपको होइन विरूपताको प्रतिनिधित्व गर्छन।समाजले नारीलाई उपभोग्यताका रूपमा हेर्ने,प्रयोग गर्ने र यदि प्रयोग गर्न सकिएन भने विरूप बनाउने प्रयास गरिनुलाई कुन प्रकारको संज्ञा दिनु ? यी असामान्य तर प्रतिमूलात्मक परिस्थिति हुन्। संसार भरी नै यस प्रकारको असुरक्षा विद्यमान छ।यसलाई नामेट कसरी गर्न सकिन्छ ? यो विषयमा गहन रूपमा सोच्नु पर्ने आवश्यकता हिजो पनि थियो र आज पनि छ।

मानिसमा भएको काम रूपी शत्रु,कोधरूपी शत्रु,घमण्डरूपी शत्रु,लोभरूपी शत्रुलाई निरुत्साह गराउनका लागि समाजमा वास्तविक जागृतिको आवश्यकता छ ।मानिसमा भएका क्षणिक कामावेग,उत्तेजनाले भएका अत्याचारहरूको विगविगि संसारभरी नै कुनै न कुनै किसिमले आजपनि कायम नै छ।यस प्रकारको अमानविय मानसिक अवस्थालाई हटाउनको निमित्त सर्वप्रथमता दण्डनीतिहरूलाई अति नै सशक्त र प्रभावकारी बनाउन जरुरी छ।

अर्को कुरो मानिसको अन्तरमनमानै मानवियताको विकास गराउन वाल्यकालदेखिनै प्रकृयागत प्रयत्नहरू हुनु पर्छ।शिक्षाका सबै माध्यमले नीतिगत सत्यताको दिक्षा दिनुपर्छ।सबैमा स्ववन्धुत्वको भावनाको विकास गराउने पहिलो चरण परिवारबाटै सुरु हुनुपर्छ।परिवारमा आपसी प्रेम र सद्भाव भन्दा वलवति अर्को छैन भन्ने सिद्धान्त र व्यवहार भयो भने समाज स्वतः सुमधुर बन्न जान्छ। मानिसको प्रमुख शत्रुहरूलाई समन गर्ने प्रेम जति ठूलो कुनै औषधि हुनै सक्तैन ।विश्व वन्धुत्वको सिर्जना प्रेमबाट मात्र सम्भव छ।वशुद्यैव कुटुम्वकम्को विकास, आफू जस्तो अर्को पनि त्यस्तै,आफू पनि वाँचौ हरूलाई पनि वाँच्न देऊको भावनालाई प्रभावकारी बनाउने प्रेम,सद्भाव,सदाचार, सहिष्णुता,सह–वान्धवता आदि जस्ता मानवका मूलभूत चरित्रलाई प्रश्रय र प्रोत्साहन नगरी समाजलाई परिवर्तन गर्न सकिदैन।यो एउटा व्यक्तिको प्रयत्न अथवा एउटा समुदायको प्रयत्नबाट मात्र सम्भव छैन।तसर्थ सबैमा स्ववन्धुत्व देख्ने दृष्टिकोणलाई वलियो बनाउने उपाय भनेको काम,क्रोध,लोभ,मोह,मद आदिलाई समन गराउने उपाय अवलम्वन गर्ने र वशुद्यैव कुटुम्वकम्को भावना हरेक हामीमा जागृत गराउने नै हुनसक्छ ।

।।शुभम् ।।

प्रतिक्रिया