लोक दलको प्रेस विज्ञप्ति

इनेप्लिज २०७७ भदौ ९ गते १०:४३ मा प्रकाशित

कोरोना महामारीले विश्व नै आक्रान्त भइरहेको बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, कर्मचारी तथा नीति निर्माण तहमा बसेका उच्च पदाधिकारीहरु उच्च झन जोखिममा रहेका छन् र तिनीहरुमघ्ये कतिपय संक्रमित समेत भइरहेको बेला उनीहरुप्रति समाजका केही उच्छृंखल व्यक्तिहरु हुलहुज्जत गर्ने, आक्रमण गर्ने, घर घेराउ गर्नेसम्मका कार्यहरु गर्न थालेकोमा लोक दलको गम्भिर ध्यानाकर्षण भएको छ।

आम सर्वसाधारण जनताको स्वास्थ्य सुरक्षामा खटिएका उनीहरुमाथि केही उच्छृंखल व्यक्तिद्वारा गरिएको अमानवीय अपराधिक कार्यको लोक दल घोर भत्र्सना गर्दछ र भविष्यमा यस्तो कार्य नगर्न नगराउन सचेत समेत गराउँदछ । साथै, अहिलेसम्म यस्तो अपराधिक कार्यमा संलग्नहरुलाई तत्काल कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गर्दछौं र कोरोना नियन्त्रण कार्यको अग्रपंक्तिमा खटिएकाहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह समेत गर्दछौं ।

अहिले यस्तो हुनुमा र यस्तो कार्यको शुरुवात हुनुमा सरकार दोषी रहेको ठहर लोक दलको रहेको छ । विगतमा, लकडाउनको बेला काठमाडौं बाहिरबाट आएकाहरुलाई काठमाडौं उपत्यकाका स्थानीय निकायका पदाधिकारीहरूले टोलका केही उच्छृंखल व्यक्तिहरु प्रयोग गरी हुलहुज्जत गर्ने र प्रवेश निषेध गर्ने गराउने कार्य गरे र त्यस्ता अपराधिक कार्यमा स्थानीय प्रहरी प्रशासनले समेत सहयोग गर्ने कार्य गरे । आज त्यही व्यक्तिहरुको अगुवाईमा यस्तो अमानविय अपराधका घटनाहरू हुन थालेका छन् । हिजो मिलेर गरेको अपराधको कारण अपराधी पहिचान भएपनि अहिले प्रहरी प्रशासनलाई पक्राउ गर्न र कारवाही गर्न अप्ठ्यारो परिरहेको निष्कर्ष लोक दलको रहेको छ । तसर्थ, पहिचान भइसकेका अपराधमा संलग्नहरुलाई पक्राउ गर्नमा भइरहेको ढिलाइमा सरकारी षड्यन्त्रको गन्ध रहेकाले सरकारलाई सचेत बन्न समेत आग्रह गर्दछौं ।

साथै, काठमाडौं उपत्यका र प्रदेश नं. २ का विभिन्न ठाउँ लगायतमा लगाएको निषेधाज्ञाका कारण दैनिक मजदुरी गरेर खानेहरुको दैनिकी अत्यन्तै कठिन बन्दै गएकाले तत्काल सरकारले उनीलाई सिधै बैंक खातामा केही नगद उपलब्ध गराउन र सिरहाको मिर्चैया लगायत अन्य ठाउँमा बाहिर निस्कनेमाथि हुने कुटपिटलाई तत्काल रोक्न सरकारसँग आग्रह गर्दछौं ।
जय समाज

(सिएन खड्गा)
महासचिव
मो. ९८५११९१८९०
मिति : २०७७।०५।९ गते ।

प्रतिक्रिया