गीतकार महेश्वर शर्माको राष्ट्रप्रति समर्पित गीत ‘मुटु भरि देश बोकि’ सार्बजनिक

इनेप्लिज २०७७ भदौ ८ गते २२:१२ मा प्रकाशित

काठमाडौं – कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत ‘मुटु भरि देश बोकि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो पहिलो गीत हो । रुपन्देहीको देवदहका स्थायी वासिन्दा गीतकार शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा वसोवास गर्छन् ।

प्रस्तुत गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल तथा सुमधुर स्वरकी धनी गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ ।यो गीतलाई सुगम संगीतका स्थापित संगीतकार आनन्द राईले संगीतबद्ध गरेका छन् । महाराज थापा यो गीतका संगीत संयोजक हुन् भने साजन शाहले यो गीतलाई मिक्सिङ गरेका हुन् ।
यो गीतको म्युजिक भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् ।

भिडियोलाई राज पोखरेल र दीपेन्द्र भट्टले छायांकन गरेका हुन् भने विकास दाहाल यसका सम्पादक हुन् ।

यो गीतको म्युजिक भिडीयोमा रचनाकार महेश्वर शर्मा , गायक रामकृष्ण ढकाल, गायिका मेलिना राई, संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मालाई समेत देख्न सकिने छ भने कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ ।

नेपाली साहित्यमा कलम चलाउँदै आएका गीतकार शर्माको यसअघि कविता संग्रह ‘प्रवासका जूनहरु’ प्रकाशित भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएका छन् ।

प्रतिक्रिया