शनिबार, असार १८ २०७९
काठमाडौं २३:१०
वासिङटन डिसी 13:25

शरीर उस्तै छौं अनि नारीप्रति विभेद किन –उपभोग्य वस्तु झै व्यवहार किन ?

प्रा.डा. मेदनीप्रसाद भण्डारी २०७७ भदौ ६ गते ०:११ मा प्रकाशित

प्रा.डा. मेदनीप्रसाद भण्डारी,

मैले अहिलेसम्म फिटिक्कै बुझ्न नसकेको कुरा हामी संसारका सबै नरनारी मानसिक,शारीरिक हिसाब लगायत सबै किसिमले समान छौं।हाम्रो बाँच्ने प्रकृया, वंश संचालनको अवस्था, मोह, क्रोध, घृणा,अहं,घमण्ड,ममत्याई इत्यादी दुगुर्णहरू पनि समान रूपमा छन्।त्यसै गरी सद्गुणहरू माया,प्रेम, करुणा, समानताको भाव,सहअस्तीत्वको भाव र व्यवहार,परोपकारको भावना,एक अर्कालाई हौसला प्रदान गर्ने,उत्प्रेरणा प्रदान गर्ने,अरूको सुखःदुःखलाई महशुस गर्ने, सामाजिक संरचनालाई शान्तिपूर्वक व्यवस्थापनमा आफ्नो योगदान जारी राख्ने उत्तम व्यवहारहरूपनि हामी सबै मानव मात्रमा विद्यमान छन्।

म भावना,मेरो भावनाको व्यक्तिवादी अहंताको भावनाका साथ हामी भावनाले अथवा सर्बे भवन्तु सुखिना सर्वेशन्तु निरामयको भावनापनि कुनै न कुनै रूपमा हामी जगतका सवै मानिसमा विद्यमान छ।यस्तो भावना सेतो छालामा अलग्गै, कालो छाला हुनेमा अलग्गै,चुच्चो नाक हुनेमा अलग्गै,थेप्चो नाक हुनेमा अलग्गै, स्त्री शरीरमा अलग्गै,पुरुष शरीरमा अलग्गै भन्ने हुँदैन फेरी जगतका सबै हामीहरू रक्त सम्बन्धी नै हौं,सबैको रगत रातो मात्र भएर होइन चिकित्सीय प्रणालीको हिसावले नै हेर्दा पनि समान छ।भौगोलिक परिस्थिति सित सामान्जस्यता राख्ने क्रममा हामीमा सामान्य देखिने फरकले अथवा उत्पत्ति र विकासका क्रममा भिन्नताका स्वरूपहरू देखा परे पनि कमसेकम उन्नान्सय प्रतिशत गुण हामी सबै मानिसमा एक नै छन्।हामीमा हुने मानसिक विकासको क्रम एक छ,शारीरिक विकासको क्रम एक छ,हाम्रा चाहानाका स्वरूपमा पनि कुनै फरक छैन।चाहे हामी जुनसुकै भौगोलिक अवस्थामा रहेका किन नहु।सबै मानिसहरूको एउटा मुख्य उद्देश्य छ,जुन जसरी भएपनि आफ्ना इच्छाहरूको पूर्ति गर्नु चाहे आफ्नो इच्छा पूर्ति गर्ने क्रममा अरूको इच्छालाई नामेट बनाएरै किन नहोस्।अनन्त इच्छा आकाक्षाका अतृप्त भावनाहरूको स्वरूप हरेक मानिसमा आफ्ना आफ्ना हिसाबमा विद्यमान छ।यसै दुर्गुणकै आधारमा हेर्ने नै हो भनेपनि हामी संसारका कुनै मानिसहरू कुनै अर्थमा पनि भिन्न छैनौ तर वास्तविकतमा हामी सबै उस्तै प्रवृतिबाट आवद्ध छौ भन्ने कुरा कोही पनि स्वीकार गर्न तयार छैनौं।यो स्वीकार नगर्ने प्रवृति पनि संसार भरीका सबै हामीमा उस्तै उस्तै प्रकारले लागू हुन्छ।

अलिकति चेतनाका स्तरमा मानव प्रवृतिको पृष्ठभूमि हेर्ने हो भने हामीले अर्को भन्दा म राम्रो, अर्काको वंशभन्दा मेरो राम्रो, तेरो जात भन्दा मेरो जात राम्रो र उच्च,अनि तेरो भन्दा मेरो छाला राम्रो,त भन्दा म जान्ने मा छुट्याएर मानव मानवमा विभेद सिर्जना गरेर आनन्द लिने इतिहास देखिन्छ।जातको विषय लिएर मानव मानव बीच विभेद गर्नु भनेको मानव इतिहासको कलंङ्क हो,यसको जरादेखि नै निर्मूल हुनुपर्दछ।यो रोगलाई नै नामेट गर्नुपर्छ।यस विषयमा म सेतो छाला हुने र कालो छाला हुनेको उदाहरणबाट मलाई चित्त नबुझेको कुरो उल्लेख गर्न चाहान्छु।सेतो छालाले कालो वा गहुँगोरो छालालाई गरेको अत्याचारको यति ठूलो विकराल यथार्थ हुँदा हुँदै पनि हामी सबै संसारका मानिसलाई सेतो छालाको अत्याधिक मोह छ।सेतो छाला हुनेहरू काला वा गहुँ गोरो छाला भएकालाई कमजोर ठान्ने र हेप्ने परम्परा सायद शताब्दीऔं पहिलेदेखि नै शुरु भयो।सेता सेताबीच पनि कुन सेतो उच्च भन्ने होडवाजी पक्कै भयो होला।सायद त्यही सेतो सेतोको कलहको विस्तारित रूप उपनिवेशिक रूपमा सेतोको विस्तारको रूपमा विस्तार भएर सेतो इतरहरूलाई शोषण गर्ने पृष्टभूमी बनेको हुन सक्छ।म शक्तिशाली हूँ भन्ने देखाउने क्रममा निरीह मानिसहरू उपनिवेशका शिकार बनेको हुन सक्छन्।

कालान्तरमा उपनिवेश त नियन्त्रणको हिसाबमा समाप्त भयो।बाहिरी हिसाबमा मात्र, भित्री हिसाबमा उपनिवेश आजपनि उस्तै छ खाली रंगमात्र फेरिएको हो। तर त्यसको प्रभाव भने उपनिवेशबाट पीडित राष्ट्रमा सांस्कारीक रूपमा आजपनि कायम नै छ र वास्तवमा जून राष्ट्रहरू उपनिवेशबाट जोगिएका थिए,ती पनि अप्रत्यक्ष रूपमा सेताको दासत्वबाट उम्किन सकेको छैनन्।सेतो छालालाई सर्वगुण सम्पन्न ठान्ने, धन,मान,प्रतिष्ठाको स्रोत ठान्ने र सेता छालालाई व्यक्त गरेका कुविचारलाई समेत स्वधन्य विचार ठान्ने, विचित्रको भावना हामी सबै स्वेतइत्तरहरूमा कहीँ न कहीँ विद्यमान छ।यो हुनु भनेको हाम्रो मानसपटलले उपनिवैशिक संस्कारलाई स्वीकार गरेको हो।हाम्रो स्वः वास्तविकतामाथि विश्वास नगरेर ल्याइने प्रवृत्तिलाई प्रोत्साहन गरेको हो ।जसले हामीलाई सक्षम बनाउनको साटो सधैं परामुखीपेक्षी बनाउन मद्दत गरिराखेको छ।

यो स्वेत वर्ण राम्रो भन्ने डरलाग्दो मानसिकताबाट सबै भन्दा बढी पीडित चाहीँ हाम्रा आमाहरू हजुरआमाहरू,जिज्जुआमाहरू,हाम्रा संसारभरीका दिदीबहिनीहरू र छोरीबुहारीहरू बन्नु भएको छ।हामी समान शारीरिक,मानसिक अवस्था भएका नर र नारीलाई सेतो चाहीँ राम्रो भन्ने अति अव्यवहारिक मानसिकताले अति नै गाँजेको छ।प्रकृतिका सप्तरंगहरू सबै उत्तम र सुन्दर छन्,वास्तवमा सेतो भनेको रंग विहीनता हो जो रंग विहिनता हो त्यसैको दासत्वमा हाम्रो सारा संसार बाँधिएको छ । खासगरी नारी शरीरलाई यस पृष्ठभूमीले साह्रै चिथोरेको छ।

नारी दुर्बल बनाउने, उपभोग्य वस्तु झै लिइने,डरलाग्दो विभेदकारी,संस्कारबाट संसारको कुनैपनि कुनो अछुतो छैन।समाजले छोरीलाई जन्मनेवित्तिकै विभेदपूर्ण व्यवहार सुरु गर्दछ।चाहे त्यो चाहेर होस् अथवा नचाहेर होस्।उनका लागि लाउने कपडामा भिन्नता,उनलाई सिकाउने गुणमा भिन्नता,खेल्ने कुरामा भिन्नता अनि परिवाजन आदि सित अन्तरक्रियामा भिन्नता।यावद व्यवहार जन्मदेखि मृत्यु पर्यन्त विभदे । नारीहरू स्वयंले त्यो भिन्नताको व्यवहारको पत्ता लगाउनै सक्तैनन्। किनकी उनीहरूलाई अवला,कमजोर,अर्काको सहयोगी,राम्री हुुन पर्ने देखिनु पर्ने बाध्यता,चेतना खुलेदेखि मृत्यु पर्यन्त रहेकै हुन्छ।गज्जवको कुरा के छ भने नारीलाई सम्पूर्ण रूपमा समाजले एउटा अत्यन्त संवेदनशील अवस्थामा राखेको छ,जसको हरेक हावभाव हरेक व्यवहार आफुजस्तै तर पुरुष शरीरधारीको मानसिकता अनुकूल हुनुपर्ने वाध्यता छ।किशोरवस्थामा प्रवेश गर्ने वित्तिकैको बन्धनहरूलाई हेर्ने हो भने हरेक पलमा शतर्क भएर हिड्नु पर्ने वाध्यता छ।नर शरीरधारी मानवहरूले नारीको अस्तित्वलाई उपभोग्य वस्तु सरह लिएको परम्परालाई च्यात्न नसकेको ज्वलन्त उदाहरण हो यो जुन विश्वव्यापी कुनै न कुनै रूपमा आज पनि विद्यमान छ ।नारी शरीरको मोल तोल भईराखेको छ आजपनि विश्वमा।हाम्रा छोरीहरूले एक्लै हिड्न सक्ने अवस्था संसारमा सृजना भएकै छैन। यो हुन नदिने जिम्मेवार चाहीँ मूख्य त हामी सबै परिवारधारी हौं ।जसमा आमाहरूलाई पनि उत्तिकै जिम्मेवार पारिएको छ किनकी आमा पनि त्यही कूसंस्कारले किचिएकी पीडित हुन्।उनको विवेकलाई जसरी आज जन्मिने र जन्मिएका र जन्मिरहेका नानीहरूलाई विभेदकारी व्यवहारले किचिराखेका छौं । उनीहरूलाई पनि त्यसै गरी किचिएको थियो।अब त्यो, किचिनु, मिचिनु, थिचिनु र कमजोर बनाइनुलाई नै वास्तविक सत्य ठान्ने अवस्थाका आमाहरूलाई के दोष दिनु ।उहाँहरू प्रकृतिले दिएको सत्यताबाट नै बञ्चित हुनु भयो र भईरहनु भएको छ।

बडा गजबको छ यो सुन्दरताको विभेदकारी मानसिकता पनि । छोरीले जान्ने भए देखिनै सबभन्दा पहिले सिक्नु पर्ने भन्ने कुरा कसरी राम्री देखिने भन्ने बनाइएको छ । किन राम्री बन्ने, किन राम्ररी देखिनुनै पर्ने– किन सजिनु पर्ने ?किनकी अदृश्य, अव्यक्त र परोक्ष रूपमा नारी शरीरलाई उपयोगी सामान जस्तो बनाइ रहेछ समाजले, अनि नारी शरीरहरू थाइ नपाईकन त्यो अत्यन्त विषैलो सामाजिक परम्परालाई मलजल गरेर आफ्नो असुरक्षालाई बढाई राखेका छन्। वास्तवमा पुरुष मानसिकताको प्रतिफल नारीहरूमा असुरक्षा भएको हो।युगौंदेखि यो परम्परा कायम छ।चाहे जुनसुकै भौगोगिक अवस्थामा होस्।पुरूषीय काम वासनाका घाइते नभएका नारीहरू विरलै होलान् । हाम्रो संस्कृति विश्व भरी नै एकै छ । चाहे त्यो आदीवासी परम्परामा होस् या स्वमानिस पश्चिमी शहरीया रहन सहन होस्।

नारी शरीरको विज्ञापन नभएको कुनै समाज नै छैन।नारीहरूलाई सजाउने पात्रको रूपमा एक प्रकार मानसिक रूपमानै जन्मैदेखि तयार गरिएको छ भने अर्को तर्फ जन्मैदेखिनै सेवादायी बनार्र्ईएको छ।संसारभरि नारीहरुलाई उपयोगिताको सिद्धान्तका आधारमा व्यवहारमात्र होइन,व्यापार गरिएका छन्।संसाधन तर्फ, शृङ्गारतर्फ आकर्षण गरेर सबैभन्दा ठूलो व्यापार नारी सौन्दर्य का नाममा गरिएका छन् । फेरी पनि प्रश्न आउँछ– सौन्दर्य चाहीँ कस्का लागि ? आमा,दिदी, बहिनी, छोरी, बुहारी जे, सुकै नातामा होस् अथवा बेनाताका स्त्री शरीरहरूले पनि एक पटक मनले सोचे स्वतः जवाफ निस्केला, के वहाँहरूले यो सबै सौन्र्दयतामा आफूलाई, आफूमै र आफ्नै सन्तुष्टिको लागि लगाउनु भएको हो त? पक्कै पनि होइन, हुन सक्छ कोहीले भन्नु होला तर वास्तविकता चाहीँ वहाँहरूलाई तयार गरिएको सामाजिक परम्पराले हो।थाहै नपाई वहाँहरू पितृसत्तात्मक सामाजिक परम्परा जून परम्पराले नारीलाई जहिले पनि दोश्रो दर्जामा राख्यो त्यसैलाई पोषण गरिरहनु भएको छ।

यो लेखनीको उद्देश्य सौन्दर्य संसाधनको विरोध गर्ने होइन तर असमान पक्षलाई उजागर गर्ने हो । सिधै शब्दमा भन्नुपर्दा–जसरी नारीहरूको सौन्दर्यलाई धार बनाएर उनीहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा उपभोगिय वस्तुको रूपमा व्यवहार गरिराखिएको छ । त्यो सहशा नारी शक्तिलाई कमजोर राख्ने पृत्रीसत्तात्मक परम्पराको पाटो हो । त्यसमा पूनः विचारको आवश्यकता छ।स्त्री शरीरलाई कसै गरेपनि सास्तीका असंख्य उदाहरण छन्।पितृसत्तात्मक समाज भएको हुँदा सामाजिक, सांस्कृतिक धार्मिक, अपहेलनाको त कुनै हिसाब किताबनै छैन । हिन्दुशास्त्रले त नारीहरुलाई एकातर्फ देवी भनेर पुज्ने अनि अर्को तर्फ परिवारकै दोषीको रूपमा व्यवहार गर्ने दृष्टान्त मात्र होइन परम्परानै छन्।नामाकरणको एउटा उदाहरण हेरौं – नौ महिनासम्म गर्भमा राखेको सन्तान झण्डै झण्डै प्राणआहुतिनै गरेर जन्म दिएपछि जब नामाकरणको समय हुन्छ,त्यस जन्म संस्कार कर्ममा आमाको न त नाम आउँछ, न त कुनै काम ।न्वारान गर्ने कर्ममा जसले जन्म दियो त्यसको नामै नआउने भनेको नारीलाई खाली उत्पादनको भाडो मात्र बनाएको रहेछ हाम्रो संस्कारले भन्ने सबै भन्दा ठूलो उदाहरण हो । यो सामान्य विषय होइन्–गर्वाधारणदेखि प्रसवसम्मका यावत पीडामा पुरुषहरूको कुनै सहभागीता हुँदैन, प्रसवमा नै प्राण जानपनि सक्छ, त्यस्तो ठूलो जोखिम जून आमाले उठाएर सन्तानलाई जन्मदिन्छिन्।उनको कुनै उल्लेख नहुनु र नामाकरणमा सहभागिता गराउन विधाननै नहुनु भनेको आमाको अस्तित्वको अपहेलनाको सबैभन्दा ठूलो उदाहरण हो।यो एक प्रकारको कुसंस्कार हो, यसलाई परिवर्तन गर्नुपर्छ।

अर्को हिन्दु संस्कारको मुख्य कर्म भनेको विवाह हो । विवाहका प्रायः सबै विधान पुरुष सत्तात्मक त छँदैछन्।त्यसमा सबभन्दा महत्वपूर्ण संस्कार जसलाई कन्यादान भनिन्छ । कन्यादान, के भन्न खोजेको हो हाम्रो सस्कारले र हामी के गरिराखेका छौं “त्यो पनि गर्भका साथ”।छोरी भनेको के कुनै सामग्री हो ? अथवा वस्तु हो जसलाई, जसको अस्तित्वको, स्वाभिमानको स्वामी अर्कै हो र त्यस वस्तुलाई दान दिइने ? कसरी छोरीलाई दान गर्न मिल्छ ? दान त त्यो वस्तुको दिन मिल्छ जुनको दाताको हक होस्।के बाबुआमामा छोरीको अस्तित्वमाथि, उनको जीवनमाथि, उनको प्राणमाथि हक हुन्छ ?उनको जीवनका यावत प्रकृया र जीवन कसैको सम्पत्ति हो ? नारीलाई उपयोगी वस्तुसित तुलना गरेको यो भन्दा अर्को उदाहरण के हुन सक्छ।अनि दान थाप्ने पुरुष पात्र “हामी” । जीवनका अवयबहरूमा दुःख, सुःखमा साथ दिने, वंश परम्परालाई कायम गर्ने, रतिरागात्मक भावनाहरू साटासाट गर्ने,सँगै मर्ने सँँगै बाँच्ने साथी सित जोडिएको नरले कसैको दान दिएको पात्रको रूपमा आफ्नी जीवनसंगिनीलाई मान्ने ? पुरुष प्रधान समाजले नारीलाई उपभोग्य सामाग्रीका रूपमा लिएको यो अर्को तितो, तर सत्य उदाहरण हो । नारीको सम्मान यस परम्परामा कहाँ नेर छ।दिने लिने भनेको त वस्तुमा हुन्छ, दिने लिने भनेको त व्यापार हो, के संस्कारको यो पाटो व्यापारिक भएन ? यसमा साँच्चैका व्यापार पक्षको त कुरै नगरौं।

हामी कस्तो संस्कारबाट संचालित छौ र कस्तो व्यवहार वास्तवमा गर्दछौं ? यस लेखको उद्देश्य न त सौन्दर्यता पक्षको नकारात्मकता खोल्नु हो, न त संस्कार र संस्कृतिको विरूप पक्षको पटापक्ष गर्नु हो, तर सत्य चाहीँ देख्नु पर्छ,लेख्नु पर्छ र त्यसको बारेमा समाजलाई जानकारी गराउनु पर्छ भन्ने मात्र हो।
नराम्रा पक्षहरू प्रचलनलाई नै कायम राख्छ, यसमा परिवर्तन गर्न जरुरी छ। समाजमा जति पनि कूसंस्कारहरू थिए र यद्यपी छन्, ती सबै हैकम कायम राख्नका लागि, ठालूहरूले सेता, गोरा, धन र बल अनि अलिक बढी जान्ने मान्ने भन्ने हरूले आफ्नो स्वार्थ, अमिष्ट पूर्ति गर्नका लागि अरूलाई दबाउनका लागि प्रयोग गरेका अस्त्र थिए र छन् पनि । ती अस्त्रहरुलाई जरैदेखि उखेल्न आवश्यक छ । सामाजिक परिवर्तन आफूलाई नै परिवर्तन नगरी हुने कुरा होइन । तसर्थ समाजमा भएका सामान्यतया नदेखिने तर भित्र भित्र्रै उत्पीडनलाई प्रोत्साहन दिने खालका संस्कार, परम्पराहरूलाई उपभोग्य सामग्री सरह व्यवहार गरेका त खाली प्रतिनिधि उदाहरण मात्रै हुन् । यस्ता उदाहरणहरु हरेक व्यवहारमा, रहन सहनमा विद्यमान छन् । यस्तो अविवेकशील व्यवहार कुनै एक देश र क्षेत्र, संस्कृतिमा सिमित छैन, विश्वव्यापी रूपमा कुनै न कुनै रूपमा विद्यमान छ । समाज, परिवार, राष्ट्र, राष्ट्रियता सबैमा योगदान दिएका नारीहरूलाई विभिन्न तबरले कमजोर बनाउने काम युगौं युगदेखि चलिआएको छ । यसप्रकारको असमान व्यवहारको बारेमा चर्चाहरू पनि नभएका होइनन्, नारी समानता अधिकार आदि इत्यादीका बारेमा लेख, आदि पनि कति छापिए त्यसको कुनै हिसाब किताब छैन्।

राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रमहरूका नाममा ठूलै व्यवसाय नचलेको पनि होइन तर वास्तविकतामा जन्मैदेखि मृत्यु पर्यन्त गरिने व्यवहारलाई हेर्ने र त्यसमा परिवर्तन गर्ने खालको कुनैपनि कार्य योजना आजसम्म तयार भएको जस्तो मलाई चाहीँ लाग्दैन । नारीहरूको आन्तरिक पीडा,विभेदको पीडा, शारीरिक र मानसिक विकासका क्रममा भएका पीडा, अत्यन्त निजिस्तरका पीडा जस्तो मासिक धर्म, गर्भधारणदेखि प्रस्रव र जन्मदिने प्रकृयासम्मका पीडा, अनिच्छामा रतिरागात्मक उत्पीडनको पीडा अथवा एउटै आमाका कोखबाट जन्मेका अर्को सन्तान र आफूमा गरेको भिन्नताको पीडा, यौवनावस्था सुरु हुनासाथ जताततै असुरक्षा मात्रै देख्नु, भोग्नु र महशुस गर्नुको पीडा कति दर्दनाक होला, मलाई अनुभव हुने कुरा भएन तर मैले यतिसम्म चाहीँ अनुमान लगाउन सक्छु कि त्यस पीडालाई लेखनीमा उतार्न नारीहरूले नै पनि सक्नु हुन्न ।

एउटा डरलाग्दो तर सत्य भनेको चाहीँ के हो भने नारीहरूलाई विभिन्न प्रकारले पुरुष प्रधान, पितृसत्तात्मक समाजले उपभोग्यका रूपमा नै हेरेको छ।
संसारमा सबैभन्दा बढी सामाजिक विसंगतिका सिकार कोही छन् भने ती भनेको नारी हुन चाहे ती बालक हुन चाहे वृद्धा । जनावरले पनि भोग्न नपर्ने बलात्कार जस्तो दुव्यव्यहारको उदाहरणता लेख्दा पनि हात काम्छन्।केही अति दृष्ट पुरुष कामबासनामा जनावर भन्दा पनि नियताम नपुग्ने भए संसारमा बलात्कार जस्ता घट्ना हुन् नै थिएनन् । संसारमा सर्वश्रेष्ठ प्राणी, विवेक र ज्ञानको चरमोत्कर्ष संवेदनशीलतालाई समेटेको मान्छे जो आफ्नो माथी पशुभन्दापनि नीच व्यवहार गर्छ यो भन्दा दुःखको घटना अरू के हुन सक्ला र ? नारीलाई क्षणभरका तृप्तीको साधनको रूपमा अथवा उपभोगी वस्तुको रूपमा लिइएर यसरी अत्याचार गरी शरीरलाई साधनको रूपमा प्रयोग गरिएका घट्नाहरू त कति होलान् होलान्।

यस प्रकारको सामाजिक विभेदको जिम्मेवार हाम्रो समाजको परम्परा हो, हाम्रो संस्कृति हो, धर्मका नाममा गरिने कुष्ठाग्रस्त व्यवहार हो । यस्ता व्यवहारहरूलाई निरुत्साह गर्ने जिम्मेवारी भनेको समाजका सबै संयन्त्रहरूको हो । मुख्य रूपमा जबसम्म समाजमा स्त्री र पुरुषबीच तहैदेखि, जन्मैदेखि एक हुन समान हुन् भन्ने र त्यसै अनुरूपको व्यवहार स्थापीत हुँदैन तबसम्म नारीहरूको अस्तित्वमाथिको प्रहार रोकिदैन।संस्कार, संस्कृति अनि धर्मका नाममा विद्यमान परम्परालाई तोड्न सजिलो छैन,तर सच्चा सामाजिक अभियन्ताहरू विद्वतवर्गहरू, राजनीतिज्ञहरू, कुटनीतिज्ञहरू, दर्शनशास्त्रीहरू, धर्मगुरूहरू आदि र खासगरी नारीहरू स्वयं जागृत भएर समाजका विभेद युक्त व्यवहार परम्पराको तहैदेखि खोजी गरी त्यस्ता परिपाटीलाई अन्त्य गराउन आश्यक छ।मानवताको आदर्श स्थापित गराउन सबै सचेत नागरिकले आफूले, आफ्नै तहबाट संकल्प सहित जागरुक हुने र तत्न्तरको व्यवहारले मात्र सबै किसिमका विभेदहरूको अन्त्य गर्न सकिन्छ। हामी सबै उस्तै शरीरधारीहरू समान हौं भन्ने भावना, बसुदैव कुटुम्बकम्को वास्तविक सारलाई अथवा “आफू बाँचौ र अरूलाई पनि स–सम्मान बाँच्न दिउ” भन्ने मूल मन्त्रलाई समाजमा स्थापित गराउन सके यो समाजमा भएका विभेदीय असमानताका व्यवहारको जरैदेखि उन्मूलन गर्न सकिन्छ।

।शुभम् ।

प्रा.डा. मेदनीप्रसाद भण्डारी

प्रतिक्रिया