तीजका दिन दिदीबहिनीले भरिने मन्दिरहरु पुरै शुन्य उज्यालो नहुदै पुगेका पनि गेटबाटै फर्किए

टंक पन्त २०७७ भदौ ५ गते ४:४९ मा प्रकाशित

काठमाडौ । महिला दिदीबहिनीहरुको महान चाड तीज मनाउन पनि यस पटक बिश्वभरि फैलिएको कोरोना महामारीले दिएन ।

महिला दिदीबहिनीहरुले आज बिहानै देखि नजिकको मन्दिरमा गएर दर्शन गर्ने र नाच्ने गाउने पनि गर्दथे । बिहान शिबालय मन्दिरको दर्शन गर्ने र दिउसो मन्दिर वा नजिकैको तीजको डाडोमा गएर नाच्ने गाउने गर्दथे तर त्यो रमाइलो यसपटक आएन । उनीहरुले गीत मार्फत आफुलाई लागेको कुरा खुलेर पोख्न पनि पाएनन ।

हिन्दुधर्मालम्बीहरुको आश्थाको केन्द्र पशुपतिनाथ मन्दिर र अन्य शिवालयहरुमा आज बिहानै देखि लाग्ने महिलाहरुको ठुलो लाम पनि आज देखिएन । मन्दिरमा कोही पनि महिला देख्न पाइएन । किनकि काठमाडौ उपत्यका लगायत देशका अधिकांश जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बिहान २ बजेदेखि पशुपतिमा महिलाहरु दर्शनका लागि हुने उपस्थिति अहिले शुन्य मात्र होइन आराध्यदेब पशुपतिनाथको मन्दिरको ढोका पनि खुलेको छैन भने कोही पनि महिला वा पुरुष त्यहां सम्म पुग्न पनि निषेधाज्ञाले रोकेको छ । देबघाटको शाखाको रुपमा काठमाडौको हरिहर मन्दिर धापासीमा पनि महिलाहरु कोही पनि देखिएनन ।

राजधानीमा हरिहर मन्दिरलाई प्रतिष्ठित तीर्थस्थलको रुपमा लिइन्छ । मन्दिरका गुरुजी निर्मल ब्रम्ह्चारी भन्दै हुनुहुन्थ्यो, आजको दिन बिहानै देखि हजारौ दिदीबहिनीहरु मन्दिर आउने गर्नुहुन्थ्यो तर देशको महामारीको कारण पनि मन्दिरको मुल गेट बन्द गर्नुपरेको छ ।त्यतिमात्र होइन कतिपय दिदीबहिनी बिहानै मन्दिरको मुल गेटमा आएर हेर्दै हुनुहुन्थ्यो तर मन अमिलो बनाएर पनि गेट खोल्न सकिएन ।


आज तीजको दिन महिलाहरुले आफुलाई स्वतन्त्रता महसुश गर्दछन भनिन्छ । खास गरी गाउंघरमा बर्षदिन सम्म आफनो माइत जान नपाएका वा नभ्याएका दिदीबहिनीहरु कम्तिमा तीजको अघिल्लो दिन माइत जाने , आफना बाबु आमा दाजुभाईसंग रमाउने , मीठो मीठो खाने प्रचलन छ ।

हुन त अहिले धेरै महिला दिदीबहिनीहरु एक बर्ष सम्म माइत जान नपाउने , सासु ससुराको कडा नियन्त्रणमा हुने अबस्था छैन । तर पनि तीजमा संगै जन्मे हुर्केका साथीहरु पनि भेट हुने , घर र छरछिमेकका सबै दिदीबहिनीसंग भेट हुने दुख सुखका कुरा गर्ने , दुखसुखका पक्षलाई गीतमार्फत उजागर गर्ने हुनाले पनि जसरी पनि माइत जान खोज्ने गरिन्छ जसलाई सकारात्मक रुपमा लिने पनि गरिन्छ ।

तीजको अघिल्लो दिन राति सम्म मीठो मीठो दर खाएर तीजका दिन ब्रत बस्ने र आफना पतिको सुस्वास्थ्यको कामना गर्ने , अविबाहितले राम्रो पति पाउने अपेक्षा गर्ने किबदन्तिको रुपमा रहेको आजको दिनमा अधिकांश महिला ब्रत बस्ने गर्दछन । रातो साडी सहित गरगहनाका साथ सजिएर मन्दिर र तीजको डाडोमा जान नपाएका महिला दिदीबहिनीरुले आज खिन्नता महसुश गरेका छन । कोरोना महमारीको अबस्थाले गर्दा त्यो बाध्यतालाई सहज रुपमा स्वीकार गरी महिला दिदीबहिनीहरु माइत पनि गएनन र घरमा बसेर पनि जम्मा भएर खासै रमाइलो पनि गरेनन ।

नजिकै भएका , कोरोनाको समस्या नभएका भनी ढुक्क भएका कतिपय घरमा दुइ चार जना जम्मा भएर दर खाने , बिहान नजिकैको मन्दिरको ढोका बाहिरबाटै दर्शन गरेर आउनेको फाटफुट देखिएको थियो ।त्यो पनि भित्री सडक , भित्री गाउ जहा सुरक्षा निकाय प्राय नपुग्ने ठाउमा महिलाहरु रातो साडी लगाएर पुगेका थिए ।

रातो सारीमा सेता मास्क लगाउदा त्यति आकर्षक भने देखिने रहेन्छ त्यो संख्या पनि निकै नगन्य थियो । उज्यालो भएपछि हिडन पाइदैन भनेर उज्यालो नहुदै कतिपय महिला मन्दिरको गेट सम्म पुगेका थिए तर कुनै मन्दिरको पनि गेट खोलिएको थिएन । मन्दिरका पुजारीले पुजा आजा गरेपछि गेट बन्द गरिहालेका थिए ।

पत्रकार एवं नेपाली काग्रेसका केन्द्रिय सद स्य किरण भन्दै हुनुहुन्थ्यो, चन्द्रागिरी नगरपालिकाका कुनै पनि मन्दिर आज खुलेनन बिगतमा सधै भरिभराउ हुने गर्थे । कोरोना महामारीले दिदीबहिनीलाई मात्र होइन हामी सबैलाई खिन्न बनाएको छ ।
शिबमन्दिरकै सामुन्ने पसल गर्देै आउनु भएका खुशीराम पाण्डे आजको दिन बिगतमा यति धेरै भिड हुन्थ्यो आफुलाई पनि कति आनन्द लाग्थ्यो तर आज तीज आएको हो र जस्तो बिरक्त लाग्दो अबस्था भएको बताउनुहुन्छ ।

 

क्यासेटमा गीत सुनेर चित्त बुझाउने मात्र होइन कतिपय महिला दिदीबहिनीहरुले जुम मार्फत रमाइलो गर्ने प्रयास गरेका थिए तर भेट भएर हेर्न आएकालाई पनि जुरुक जुरुक उचाल्न पाउदा जस्तो कहा हुन्न्थ्यो ? शारदा शर्मा भन्दै थिइन , सबै जम्मा हुने बानी परेको यस पटक त तीज जस्तो नै भएन ।

केही बर्ष यता तीज आउनु भन्दा एक महिना अगाडि देखि नै पार्टी प्यालेशहरुमा दिन दिनै जसो दिदीबहिनीहरु जम्मा हुने , दर खाने र रमाइलो गर्ने गर्दथे त्यो पनि यो बर्ष भएन । पार्टी प्यालेशहरुका गेट बन्द भएको ६ महिना भैसकेको छ ।

बुद्धनगर पार्टी प्यालेशका प्रमुख बिष्णु भण्डारी भन्नुहुन्छ , एक महिना देखि तीजको रोनक पार्टी प्यालेशहरुमा हुने गर्दथ्यो जसमा कैयौ पुुरुष दाजुभाइपनि आएर रमाइलो गर्नुहुन्थ्यो तर यस पटक केही हुन पाएन । पार्टी प्यालेशहरु बन्द हुनाले पार्टी संचालकहरुलाई निकै समस्या परेको छ , जसले आर्थिक रुपमा पनि चौपट नै भएको छ ।

प्रतिक्रिया