प्रदेश सरकारले आइसोलेशन केन्द्र स्थापना गर्न रु १ करोड ६० लाख निकासा

इनेप्लिज २०७७ साउन २९ गते १२:१५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,२९ साउन । प्रदेश नं.१ को सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रु १ करोड ६० लाख रकम उपलब्ध गराएको छ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सरकारले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि सो रकम उपलब्ध गराएको हो बताउनु भयो।

प्रदेश सरकारले स्थानीय तहहरुलाई उक्त रकम थप उपलब्ध गराएको हो । यसैगरी ११ वटा जिल्ला अस्पतालहरुलाई न्यूनतम १० शैय्या क्षमताको आइसोलेशन केन्द्र बनाउन उक्त बजेट उपलब्ध गराएको हो।

केही दिन अघि वसेको प्रदेश स्तरीय सिसिएमसीको वैठकले थप आइसोलेशन बेडहरुको व्यवस्था गर्ने निर्णय अनुरुप उक्त रकम निकासा गरिएको हो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा सदनमा ५० शैय्या क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई रु १० लाख रकम उपलब्ध गराएको छ।

यस्तै रङगेली नगरपालिका वडा नं ७ स्थित श्रीजनता क्याम्पसको भवनमा एक सय शैय्या क्षमताको आइसोलेशन बनाउन नगरपालिकालाई रु १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि. जेनेरल अस्पतालमा ५० शैय्या क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई रु १० लाख, बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा एक सय शैय्या क्षमताको आइसोलेशनको लागि रु १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न रु पाँच लाख प्रदेश सरकारले उपलब्ध गराएको छ।

त्यस्तै ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० शैय्या क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न रु पाँच लाखका दरले एकमुष्ट रु ५५ लाख रकम उपलब्ध गराएको छ।

यसैगरी प्रदेश सरकारले कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई रु २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई रु पाँच लाख र मेची अस्पताल, झापालाई रु १० लाख आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ । त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि रु पाँच÷पाँच लाख निकासा गरेको छ ।

प्रतिक्रिया