धान रोपाँई ९३ प्रतिशत भन्दा बढी सोलुखुम्बु र ओखलढुङ्गामा शतप्रतिशत रोपाँई भएको छ ।

मोहम्मद सदरुल, २०७७ साउन २१ गते २१:५७ मा प्रकाशित


मोहम्मद सदरुल,

विराटनगर, २१ साउन(रासस) : प्रदेश नं.१ मा यस वर्ष अहिले सम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाँई भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ।

गएको वर्षमा समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाँई भएको थियो भने यसवर्षको लगातार मनसुनको प्रभाव, सिँचाईको सुविधा जस्ता कारणले रोपाँईको क्षेत्र निकै बढेको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।

निर्देशनालयबाट प्राप्त जानकारी अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमिनमा २२ हजार ९८३ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत रोपाँई भएको छ।

यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुट्टा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमिनमा ८२ हजार २४ अर्थात ९० प्रतिशत र मध्य पहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमिनमा दुई लाख १५ हजार २०२ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत धान रोपाँई भइसेकेको कार्यालयले जनाएको छ।

रोपाँईको स्थितिलाई नियाल्दा सबैभन्दा बढी उत्पादन हुने जिल्ला झापामा ९८ प्रतिशत, मोरङमा ९४ प्रतिशत र सुनसरीमा ९३ प्रतिशत धान रोपाँई भएको छ ।
रोपाँई सबै भन्दा बढी शतप्रतिशत ओखलुढुङ्गामा चार हजार ४०३ हेक्टर जमिनमा र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जमिनमा धान रोपाँई भएको पाइएको छ।

भौगोलिकताको आधारमा तुलना गर्दा उच्च पहाडी क्षेत्रमा ९५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९० प्रतिशत र मध्य पहाडी क्षेत्रमा ९५ प्रतिशत धान रोपाँई भएको प्रवक्ता श्रेष्ठको भनाई छ।

मौसमको अनुकुलताले विगत केही वर्षको तुलनामा यसवर्ष धान लगाउन किसानले पानीको समस्या झेल्नु परेको छैन भने यसको क्षेत्र अझ बढ्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो।

असरा १५ गते सम्ममा २२ प्रतिशत मात्र रोपाँई भएको यस क्षेत्रमा १५ दिन पहिले ८२ दशमलव ५१ प्रतिशत भएको थियो भने अहिले मौसम अनुकुलताले धान रोपाँईको क्षेत्र बढेको र अभैm केही प्रतिशत धान रोपाँई बढ्ने निर्देशनालयको अनुमान छ।

यस्तै, अहिले धानमा गवारो र ब्लाष्ट(डडुवा) रोगको पनि प्रकोप बढेकोले किसानले समयमै रोग र कीराको व्यवस्थापन गर्न सक्यो भने निश्चित रुपमा विगत केही वर्ष देखिको तुलनामा यसवर्ष धानको उत्पादन धेरै राम्रो हुने प्रवक्ता श्रेष्ठको भनाई छ।

धान रोपाँईको स्थितिलाई हेर्दा सरकारले धान दिवसको अवसरमा दिएको नारा ‘ धान उत्पादन वृद्धि, आत्म निर्भरता समृद्धि’ को पाटोमा टेवा पुग्ने विश्वास जागेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले बताउनुभयो।

प्रतिक्रिया