बुधबार, असोज ७ २०७७
काठमाडौं ०४:४४
वासिङटन डिसी 18:59

जय प्रसादको सेल्फि सोख

–यज्ञ प्रसाद पाण्डे २०७७ साउन १९ गते २१:०५ मा प्रकाशित

 

जमाना परिवर्तनशील छ । संचार प्रबिधिमा आएको बिश्वब्यापी परिवर्तनको असर गाउँ गाउँमा पुगेकोछ । गाउँमा धेरै मानिसहरुको हातमा मोबाइल फोनको सेट छ । गाउँमा यसरी मोबाइल फोन छिरेको कैयन बर्षसम्म त जय प्रसाद मास्टरले मोबाइल किनेका थिएनन् । तर आफन्त र साथीभाईहरुले फोन नम्बर मागेर हैरान पार्न थाले पछि उनले रहरले होइन बाध्यताले एउटा कि प्याडवाला फोन किने । तर उनका फोन प्राय अर्काले गरेको फोनको एनसर दिनमा प्रयोग हुन्थ्यो । कसैसंग कुरा गर्नु परेमा उनले मिस कल दिन्थे अनि अर्को पट्टिबाट फोन आएपछि धित पुग्ने गरी कुरा गर्थे उनी ।

उतिबेलाका जिम्मवाल बुढाका कान्छी श्रीमति पट्टिका कान्छा छोरा हुन जय प्रसाद । जिम्मवाल बुढाले आफ्नो कान्छो सन्तान जय प्रसादलाई एस एल सी सम्म पढाएका थिए । त्यस जमनामा एस एल सी पास गर्ने ब्यक्ति जुन पायो त्यहि गाउंमा भेटिदैन थिए त्यसैले यो ठूलो कुरा हुन्थ्यो । उनले एस एल सी पास गर्नु र गाउंमा प्राथमिक बिद्यालय खुल्नु संयोगले एउटै साल परेको थियो र उनले तुरुन्तै त्यसै बिद्यालयमा मास्टरको जागिर पाए । आफ्नो परिवारसंग बसेर घर दैलाको सरकारी जागिर खानु, आफ्नो खेतीपाती, घर गृहस्थी सम्हाल्नु बस् !

जय प्रसादले जागिर खाएको बर्षौ बिति सक्दा पनि गाउंमा एल एल सी पास गर्ने दोश्रो ब्यक्ति निस्किएको थिएन । पारवारिक पृष्ठभूमि, पढाई र जागिर का हिसाबले उनी त्यस गाउं र वरपरका लागि एक नछेत्र हुनु पर्ने हो तर त्यस्तो भएनन् । नामले उनी जय प्रसाद भएपनि अहिले सम्म उनले कुनै कसैको जय गरेका छैनन् । बेला मौकामा गाउंमा बाटो घाटो, कुलो, पानीको धारा आदि बनाउन र अन्य सामाजिक कामका लागि भनेर सभा कचहरी बस्ने गथ्र्यो उनी सभा कचहरी भएको बाटो भएर आफ्नो काममा हिड्थे । त्यस्ता सभा कचहरीमा बस्ने त परै जाओस् उनी त्यता हेर्दा पनि नहेरी हिड्थे । उनले कसैको भलो गरेनन् भन्दा यदि अन्याय हुन्छ भने उनले दिएको एउटा सेवाको बारेमा चाहि कुरा गर्नु पर्छ । रोजी रोटीका लागि गाउं छाडी मुग्लान् गएकाहरुले आफ्नो घर परिबारमा बेला बेलामा पठाएका चिठ्टी पत्रहरु वाचिदिन मानिसहरु उनलाई बोलाउंथे । उनी घर घर गएर त्यस्ता चिट्ठी पत्रहरु वाचिदिन्थे । तर गाउहरुले दिलदार थिए चिट्ठी पत्र पढिदिए बापत आभारी भएर उनलाई घरमा कुखुरा पाल्नेले २, ४ ओटा कुखुराको फुल र कुखुरा नपाल्नेले घरमा भएको मास भट्टमास बोडी आदि टालामा पोको पारेर दक्षिणा दिन्थे, उनी त्यो टपक्क टिपेर घर फर्किन्थे ।

संचार प्रबिधिको परिवर्तन चल्दै गर्दा गाउँमा किप्याड फोन हुनेहरुले फड्को मार्दै स्मार्ट फोन प्रयोग गर्न थाले । अरुले चलाएको देखेर स्मार्ट फोनले भने जय प्रसादलाई अलि छिट्टै लोभ्यायो । शहर गएको बेलामा आंट गरेर एउटा स्मार्ट फोन किने उनले । नयां फोन किने पछि तल्लो घरको कक्षा ४ मा पढ्दै गरेको नातीकेटाले एक हप्ताको समय लगाएर त्यसलाई चलाउन र फेसबुक एकाउण्ट खोली सुचारु राख्न सिकाइदिएका थिए उनलाई । अब उनले पनि आफ्नो आधुनिक जीवन शैलाी तर्फ राम्रै फड्को मारेका छन् । उनी फेसबुक मज्जाले चलाउन सक्ने भएका छन् र उनका फेसबुक मित्रहरु प्रसस्त छन् । तर ती मध्येका आधा भन्दा बढिलाई उनी चिन्दै चिन्दैनन् ।

अहिले जय प्रसादलाई फेसबुकले राम्रैसंग आफ्नो पकडमा पारेको छ या भनौ यसमा उनको लत बस्न लागेको छ । आफ्नो घर धन्दा र गृहस्थीमा मात्र ब्यस्त रहने मान्छे अब उनले बिहान बेलुका मिलाएर दिनको ३,४ घण्टा फेसबुकबालाई समय दिन थालेका छन् । भरखरैमात्र उनले मोबाइलको क्यामेरालाई सेल्फि मोडमा राखेर आफुतिर तेस्र्याई एउटा बटन थिचेर घिच्रिक्क पारे । सप्रिएको तर आकार बिग्रिएको फर्सिको जस्तो अनुहार, घिरौला जस्तो देखिने नाक, असी प्रतिशत् चिम्लिएको आंखाहरु सहितको एउटा तस्बिर निस्कियो । शिरमा लगाइएको धारिलो ढाका टोपी देखि पूरै मुहारलाई टाढाबाट झट्ट हेर्दा बार्दलीमा झुण्ड्याई राखेको पिंजीडा जस्तो देखिने बेजोडको तस्बिर थियो त्यो । केही छैन आफैले खिचेको आफ्नै तस्बीर, उनलाई्र त्यो राम्रै लाग्यो र तुरुन्तै आफ्नो फेसबुकमा अपलोड गरीहाले । फोटो फेसबुकमा अपलोड भएको एकै छिनमा अंग्रेजी र नेपाली छासमिसे भाषाका ‘लाइक’र ‘कमेन्टहरु’ ह्वारह्वार्ती आउन थालेः सुन्दर, अति सुन्दर, नाइस पिक, इभर ग्रीन, ह्याण्डसम आदि आदि । जय प्रसाद कमेन्ट र लाइक हेरेर प्रफूल्ल छन । अंग्रेजी र नेपाली छासमिसे भाषाका कमेन्टहरु हेर्दा हेर्दै अंग्रेजी शव्दहरुतर्फ पनि मोह र केही ज्ञान पनि बढ्न थालेको छ उनमा ।

खाना खाने बेला भयो श्रीमतीले बोलाइन उनी भित्र गए । खाना खाना खाएर एकछिन पछि बाहिर आए । उनी मोबाइल हेर्छन उनको सेल्फिबारे ‘लाइक’ र ‘कमेन्टहरु’ आउने क्रम जारी रहेछ, उनी हर्षित छन् । । यसै बीच उनको मोबाइलको घण्टी बज्छ । कलेज पढ्दै गरेको उनको छोरा स्वतन्त्रको फोन रहेछ । उनी सोच्छन् बाबुलाई मेरो सेल्फी मन परेछ होला फोनबाटै कमेन्ट गर्न खोज्यो “ल भन बाबु के छ खबर ।’’उनी फोन रिसिभ गर्दै भन्छन् । स्बतन्त्रको जबाफ आउंछ “ सुन्नुस् न ड्याड हामी साथीहरु मिलेर हिजो घुम्न गएको बाइक पोलमा ठोक्किएर एक्सिेडेन्ट भयो भन्या ।’’ जय प्रसाद झस्केर सोध्छन् “ लौ न! शरिरमा चोट पटक त लागेन” स्बतन्त्र हास्दै जबाफ दिन्छन् “ आफुलाई चोट लागेन, केही भएन बरु हजुरको बैंक खातामा भने चोट लाग्ने भयो भन्या ।” बाबु छोराको संबाद को सुईको पाएर भित्रबाट जय प्रसादकी श्रीमती हत्तपत बाहिर आइन र उनको छेउमा टुसुक्क बसिन । “ के कुरा गरेको बाबु तिमीले अलि होसियार भएर चलाउनु पर्छ नि बाइक, हेर पोहोर शाल मात्रै किनेको त्यत्रो पैसा खन्याएर !” उनी गुनासो गर्छन् । “ड्याड एक्सिेडेन्ट जानि जानि कसले गरांउछ त, जे हुनु भइ त हाल्यो अब रिपेर नगरी उपाय छैन ।” स्बतन्त्रको जबाफ आयो । जय प्रसादकी श्रीमतीले आफ्नो कुरा मिसाउँछिन् “ हेर धन्य हो केही भएन छ बाबुलाई!” अनि कति सय लाग्छ त मर्मत का लागि ” नचाहेर पनि जय प्रसाद सोध्छन् । “हा हा हा सयले त आजकल चिया पाउरोटी सम्म आउंछ, बाइक रिपेर हुन्छ ड्याड ” स्बतन्त्रको जबाफ आउंछ । जय प्रसाद नाजबाफ हुन्छन् र मनमनै सोच्छन् । “पोहोर मात्र आफूले खाइ नखाई बचाएर राखेको पैसा खन्याएर किनेको बाइक!” फेरि स्बतन्त्र थप्छन्ः “त्यो इलेक्ट्रिसिटीको पोलको पनि कम्पनसेसन दिनु पर्छ रे, बाइको अगाडीको पार्ट पूरै ड्यामेज भाको छ के के फेर्नु पर्छ रे । टाक टुक मिलाएर फिप्टी थाउजेन्डस् पठाइदिनुस् न ।” स्बतन्त्रले नम्र स्वरमा भने । “ पचास हजार रुपयां ! कति सजिलो, के पैसा रुखबाट टिपेर दिने मैले ?” उनी श्वासको गति बड्छ घरबराउंदै मोबाइल समाएको हात छात्तिमा राखेर लामो श्वास तान्छन् । उताबाट हलो हलो भनको आवाज आईरहन्छ तर उनको मोबाइल भएको हात छात्तिमा भएकाले जबाफ गएन, फोन डिस्कनेक्ट भयो । जय प्रसादकी श्रीमती उनलाई सम्झाउन थाल्छिन् “भयो अब धेरै चिन्ता नगर्नुस्,अहिले सम्म यत्रो खर्च गर्नु भयो । बाबु पढाईबाट निस्केर अब कमाई गर्ने बेला पनि त हुदैछ एक दिन कमाउला नि त उसले पनि, त्यति नगरे त हात्ति छिर्यो पुच्छर अड्क्यो जस्तो हुन्छ ।” “पोहोर साल बाईक किन्दा पनि एस्तै भएको थियो । मैले सामान्य खालको बाईक किनेर काम चलाउन बाबु भनेको २२० सी सी को पल्सर नभई भएन, छोरो जिद्धि गर्ने आमा त्यसको सर्मथन गर्ने” । जय प्रसादले पुरानो कुरा सम्झदै भने । “के गर्ने त बाबुको उमेर र जमाना यस्तै छ, उसका कति साथीहरु त भि आर र के के चढ्छन् भन्दै थियो । बाइक मर्मत नगरे कसरी जाने आउने गर्छ त कलेज ।” उनकी श्रीमती फेरि सम्झाउछिन् । जय प्रसाद सोचे अब धेरै बहस गर्नुको तुक छैन त्यसैले फेरि उनले फोन उठाए र भने “ल भैगो बाबु यसपटकलाई तिम्रो कुरा माने, आईन्दा यस प्रकारको खर्च गर्न सक्दिन । भोलि पैसा पठाई दिन्छु ।” स्वतन्त्रले फुर्तिसाथ ओके थ्याँकयू ड्याड भल्दै फोन काटि दिए । छोराको माग पुरा भएकोमा स्वतन्त्रको आमाले लामो सास फेरिन अनि भित्र गईन ।

जय प्रसादका दुईमात्र सन्तान हुन्ः एक छोरी र एक छोरा । पहिलो सन्तान छोरी हुन् । उनले छोरीको नाम राख्नु अगाडी खुबै सोचेका थिए “छोरी र पानी को जात एउटै त होः उत्पति भएको ठाउमा बस्दै नबसी बगेर अन्तै जाने । त्यसैले छोरीलाई कसैले गंगा, जमुना, कसैले झरना आदि नाम दिन्छन्, मैले पनि उनलाई पानी जस्तै नाम दिनु पर्छ तर अनुपम् म खै के नाम राख्ने त” उनीले गहिरिएर सोचेका थिए । उनी बाल्यकालमा गोठालो जाँदा गोठाल्नीहरुले गाएको एउटा गीत खुब सुनेका थिए । “दाई तिमी अशंको धनी बैनी म त धुरिको वलेनी ” उनलाई छोरीको नाम बलेनी’ राख्न मन लाग्यो अनि त्यही नाम दिएका थिए । छोरा भनेको पुख्यौली संपतिको भागिदार, बंस परम्परा कायमराख्ने संतान, आफ्नो इच्छा अनुसार बाहिर जान आउन र चल्न खेल गर्न पाउने ‘स्वतन्त्र ब्यक्ति’ । त्यसैले उसको नाम चाहि स्वतन्त्र” जुराएका थिए ।

बलेनीलाई जयप्रसाद आफैले पढाउने स्कुलमा प्रा. वि. सम्म पढाएर साक्षर बनाएपछि पछि नजिकैको मा. वि. मा कक्षा १० सम्म पढाएका थिए । उनले दस कक्षा पूरा गरी एस एल सी परीक्षा दिएर घर फर्केको पर्सी पल्ट उनको विहे गरि “पाले पुण्य मारे पाप” भन्दै ज्वाँई को पाउमा सुम्पेका थिए । अहिले छोरीबाट नाति नातिना भईसके । उनी गृहणी बनेर ज्वाँइको घर सम्हालेकी छिन । जय प्रसादलाई छोरीको केहि चिन्ता छैन । स्वतन्त्रलाई भने आधुनिक पढाई लेखाईका लागि भनेर तिन बर्षकै उमेरमा आमाको काखबाटै खोसेर आमा छोरा दुबैलाई रुवाउंदै टाढा रहेको शहरको वोर्डिङ्ग स्कुलमा भर्ना गरी स्कलूको जिम्मामा सुम्पिदिएको थिए । वोर्डिङ्ग स्कुलको तेह्र बर्षे बन्दी जीवन बिताएर उच्च शिक्षा हासिल गर्न थालेको पनि पांच वर्ष भइसकेको रहेछ स्वतन्त्रले ।

सायद उनको श्रीमतीले बिहान पूजाको सामाग्री तयार पार्दा पोखिएको होला जय प्रसादको आंखा भुईमा पोखिएको गाडा रातो अबिरमा पर्न गयो । यसले उनलाई बर्षौ अगाडिको फागूपुर्णिमाको दिनको अबिस्मरणीय याद दिलायो । जय प्रसादको बिहे भइसकेपछि उनको ससुरालीकुलमा एउटा साली जन्मिएकी थिइन् । उनी सानैदेखि फरासिली र चुलबुले स्वभावकी थिइन । आफु फुच्चि नै भएपनि भिनाजु पर्नेहरुलाई खुब जिस्काउने गर्थिन ती साली । एकपटक जय प्रसाद फागूपुर्णिमाको मौकामा संजोगले ससुराली पुगेका थिए । उनी ससुराली घरको पिढिमा राखेको खाटमा बसेर हुक्काके तमाखु तान्दै ससुराली परिवारसंग गफ तल्लिन रहेको बेला उनको पछाडिबाट सुटुक्क लुकेर आएर एक बाल्टि पानिमा घोलिएको अबिर टाउकोमा खन्याएर उनलाई बिरुप पारेर भेट्टाउनै नसक्ने गरी भागेकी थिइन ती फुच्चि साली । उनले लगाएको सबै कपडा रंगले बिग्रिएपछि जेठानको दौरा सुरवाल लगाएर घर फर्कनु परेको थियो त्यस पटक उनले । त्यस ताका त्यस गाउमा फागूपुर्णिमाको खासै रौनक हुदैनथ्थो । त्यसैले ससुरालीमा यस्तो नियती भोग्नु पर्ला भनेर सोचेका थिएनन् उनले ।

त्यतिकै मोबाइलमा ट्याङ्ग गरेको आवाज आयो उनले हत्तपत्त मोवाइल हेर्न थाले उनले भर्खरै हालेको सेल्फिमा थप एक प्रतिक्रिया आएको रहेछ “माई हान्सि भिनाजु !” उनलाई त्यो प्रतिक्रियाले सर्बाधिक रोमान्चित बनायो । उनलाई त्यो व्यक्क्तिको प्रोफाइल भित्र छिर्न मन लाग्यो, उनले त्यो ब्यक्तिको एक एक पोस्टिङ्ग रोमान्टिक भएर हेर्न थाले । उनलाई त्यसभित्रको हरेक पोष्टहरु मन पर्न थाल्यो । अहिलेसम्मको सबै कमेन्टहरुमध्ये सर्बाधिक मन पर्ने त्यो कमेन्ट तीनै पहिलेकी फुच्चि तर अहिले मस्त जवानीमा कलेज पढ्दै गरेकी सालीले गरेकी रहिछिन् । जय प्रसाद सेल्फि सोखमा चुर्लुम्म डुबिरहेका छन् अहिले ।

यज्ञ प्रसाद पाण्डे,

सिरानचोक गाउपालिका वडा नं ७, उपल्लो गोहोरे, गोरखा
हाल लेग्सिङग, केन्टकी सयूक्त राज्य अमेरिका

प्रतिक्रिया