स्वप्निल यात्रीसंग दुइ रात

किशोर सापकोटा २०७७ साउन १८ गते २:५५ मा प्रकाशित

स्वप्निल उडान भर्ने एउटी विन्दास युवतीको नाम सम्झदा तपाइको दिमागमा को आउंछ ?

धेरैका लागि सहज प्रश्न होइन यो ।

मलाई सोध्नुहुन्छ भने एकै क्षणमा उत्तर भन्छु, सरला गौतम ।

उनलाई मैले धेरै पछ्याएको छु ।

धरान धनकुटा हिले हुंदै कच्ची वाटोवाट किमाथांकासम्म पुग्दा होस् वा क्याराभान फिल्मका स्वर्गीय नायक थिन्लेसंग कुरा गर्न डोल्पा जांदा होस्, साथ लागेको छु ।

थिन्लेले उनलाई खवर पठाएका थिए, हाम्रा चौंरी मरेका कुरा सिंहदरवारमा सुनाइदेऊ है भनेर । त्यो खवर सिंहदरवारलाई सुनाइन् कि सुनाइनन् । मलाइ अझै कौतुहलता छ ।

लेखक सापकोटा आफ्नो स्वर्गीय कुकुर सेवलसंग

सरलासंगै चितवनका गाऊघर डुलेको छु, उनीसंगै नेपालको पश्चिम नाका महेन्द्रनगर पुगेर सीमामा दुख पाइरहेका नेपालीहरुका कथा सुनेको छु ।

मेरो काम त पछ्याउने हो, पछ्याइरहे । उनलाई यति धेरै पछ्याउंदा पनि उनले मलाइ चिनेकी थिइनन् । किनकी उनीलाई मैले संगसंगै हिंडेर पछ्याएको होइन ।

शव्दमा पछ्याएको हो । उनका आलेखहरु भेटेसम्म नछाडी पढेको हो । अलिकति फुर्सद मिल्यो कि एउटा झोला वोकेर एक्लै निस्कि हाल्छिन् देश डुल्न । नेपाली साहित्यमा वा लेखनमा मैले पछ्याउने अत्यन्त थोरै लेखक छन्, त्यसमा सरला पनि एक हुन् ।

कोरोना महामारीले संसारलाई त्रस्त वनाएको समयमा केही महिना अगाडि सुत्नु अघिको एकरात ।

म्यासेन्जरमा सरलका लागि टेक्स्ट लेखे ।

सरलाजी, डुमेरो (यो हालै सार्वजनिक भएको सरलाको उपन्यास हो) कहिले वजारमा आउंछ ?

लेखे । मेटे । लेखे । फेरी मेटे ।

उनको फेसवुक पेज हेरे । त्यहां डुमेरोको कतै चर्चा छैन ।

मैले पछ्याइरहेकी एक लेखकले उपन्यास लेखिसकेकी छिन् तर यसको वारेमा कुनै सार्वजनिक जानकारी छैन । किन त?

अन्तत टेक्स्ट पठाए ।

सरलाको उत्तर तत्कालै आयो, तपाइलाई कसले भन्यो ?

मलाइ कसैले पनि पुस्तकको वारेमा भनेका छैनन्, त्यही भएर तपाइलाई नै सोधेको, मेरो जवाफ थियो ।

सरलाले मेरो कुरामा विश्वास गर्न सकिरहेकी थिइनन् ।

मैले उनलाई पुस्तकको कभरको तस्विर पठाइदिए । चकित हुने पालो उनको थियो ।

नाम समेत सार्वजनिक नभएको पुस्तकको कभरको तस्विर सात समुद्र पारी अमेरिकावाट पठाइदिंदा अचम्मित हुनु पनि स्वभाविक नै हो ।

प्लीज नाम सार्वजनिक नगरिदिनु है, उनको सोझो आग्रह थियो, उपन्यासको वारेमा कसैलाई पनि जानकारी छैन ।

मैले उनको पुस्तक किनिसकेको जानकारी गराए ।

पुस्तक सार्वजनिक गर्न सम्पूर्ण तयारी भइसकेको रहेछ । सो परिवेशमा संसारभर पुस्तक पुर्याउन एमाजोन लगायत केही अनलाइनहरुलाई उपलव्ध गराइएको रहेछ । मैले त्यही मौका छोपे ।

मौका छोप्नु अघि एउटा क्लु भने उनकै फेसवुकवाट पाएको थिए । उनको एक निकट मित्रले आउन लागेको पुस्तकको लागि वधाइ दिएको सन्देश देखेको थिए ।

उनका फेसवुक पोष्ट हेरे । वजारमा आएका नयां पुस्तकहरुका सुचि हेरे । कतै चर्चा थिएन । अनि एमाजोनमा कुनै सुचना छ कि भनेर खोजी गर्दा त पुस्तकनै पाए । किनिदिए र वने, डुमेरोको पहिलो पाठक ।

डुमेरो आफैंमा अनौठो नाम हो । उपन्यास पढ्नु अघि नामको अर्थ पनि खोजिन । मलाइ अर्थ खोज्नु थिएन, मलाइ त सरलाको लेखन शैलीमा रमाउनु थियो । उनी संगसंगै उपन्यासभरी संगै हिड्नु थियो । उनका पात्रहरुसंग कुराकानी गर्नु थियो । पछि मात्रै अर्थ खोजे, कुनै गन्तब्य विहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ वोक्ने रहेछ । उपन्यासमा मुलपात्र सिमरनकी आमाले पटक पटक छोरीको वानीलाई सिकायत गर्ने क्रममा कति डुमेरो लगाएर जीवन विताउंछेस् भनेर गुनासो गरिरहन्छिन् ।

जव उपन्यास पढ्न थाले । तानिरह्यो । एउटी मस्तराम युवतीलाई प्रमुख पात्र वनाएर लेखिएको ३२६ पृष्ठ लामो उपन्यास पढ्न दुइ रात लाग्यो । तानिरह्यो । नतानोस् पनि किनत ? हाम्रै समाजलाई लेखेकी छिन् । अलिकति विद्रोही युवतीको आंखावाट । उपन्यासको सुरुवात पढ्दा लाग्छ, सरला आफ्नै जीवन लेख्दैछिन् । हरेक परिवारका कथा कछन् । एउटा सानो सहरवाट करियर खोज्दै काठमाडौ पुग्ने युवतीको कथा भन्छिन् । कथामा संघर्ष छ, सम्झौता छ । मस्ती छ । पीडा छ । उनले पाठकलाई घटनामा समाहित गर्न सक्छिन् । किनारवाट हेर्ने साक्षी मात्रै होइन ।

विगतमा आफैं सञ्चारकर्ममा रहेकी सरलाले श्रीषा हत्याकाण्ड देखि पत्रकारिताका विकृतिहरुलाई उपन्यासमा उधिनेकी छिन् । सिनेमाका पर्दाभित्रका पीडाहरु सार्वजनिक गरेकी छिन् । प्रेमको वाटोवाट हिंड्दा भोगिने अनुभूतिहरु छन् । विपश्यना देखि वोष्टनसम्म पात्रहरुसंगै यात्रा गराउंछिन् । राम्रा पुस्तकहरु प्रकाशन गर्दै आएको नेपालयले प्रकाशन गरेको यो उपन्यासमा आआफ्नै धारणा पाठकहरुले वनाउन सक्छन्, तर पढिन्जेल तानिरहन्छ । युवतीको प्रेमकथाले त युवा मनहरुलाई काउकुति लगाउंछ । जीवन भोग्ने शैली आआफ्नो हुन्छ, सरलाको जीवन जिउने शैली र उनको लेखन शैलीले मलाइ तान्छ । शायद धेरैलाई तान्छ होला ।

मैले उनको पुस्तकको समिक्षा गरिरहेको छैन । उनी आफैं एउटा राम्रो समीक्षक पनि हुन् । राजनीतिक र सामाजिक विकृति विरुद्ध सशक्त कलम चलाउंदै आएकी सरलाको पहिलो कृति डुमेरोले उनको कलमको शिल्पलाई डगमगाउन भने पक्कै पनि दिने छैन । धेरैधेरै शुभेच्छा प्रिय लेखक ।

(तस्विरमा म संगै भएको प्रिय सेवलको निधन भइसकेको छ । सरलाको उपन्यास डुमेरो पढ्दा रातभर ऊ मेरो छेऊमा वसेर साथ दिएको थियो । मिस यु सेवल)

प्रतिक्रिया