स्पाइल कर्ड इन्जोरी बालबालिकाहरुसँगै खिर खाने कार्यक्रम

– देवकी न्यौपाने २०७७ साउन १६ गते ११:०५ मा प्रकाशित

– देवकी न्यौपाने

काठमाडौँ, १६ साउन । साउन १५ खिर खाने पर्वको अवसरमा पारी लाइन्स क्लब अफ काठमाडौँ इन्द्रावतीले खिर खाने कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ माकलबारीमा रहेको स्पाइनल कर्ड इन्जोरी नेटवर्क, नेपालमा रहेका मेरुदण्डीय समस्या भएका १७ बालबालिकाहरुलाई लक्षित गर्दै क्लबले खिर खाने कार्यक्रम आयोजना गरेको हो।

प्रमुख अतिथि वडा नं. ८ का वडाध्यक्ष मनोज ढुङ्गानाले यस्तो राम्रो कार्यक्रम आयोजना गरी स्पाइनल कर्डको समस्याबाट पीडितहरूलाई राहत दिने सत्प्रयास गरेकोमा लाइन्स क्लब अफ काठमाडौ इन्द्रावतीलाई धन्यवाद दिँदै आफूले पनि यस संस्थाको लागि गर्न सक्ने सहयोग गरिरहेको र यस्ता कार्यक्रमहरूले ती बालबालिकाहको आत्मविश्वास बढ्ने र एउटा असल र सक्षम नागरिक हुन मद्दत गर्ने कुरा बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य क्लबमा फष्ट भिपी लायन मदनकृष्ण सिलवालले नयाँ र सृजनात्मक कार्यहरुमा सबै सदस्यहरुले उत्साह र तत्परताको खुलेर कदर गर्दै शारीरिक रुपमा अशक्तमाझ कार्यक्रम गर्न पाउँदा आनन्द महसुस हुने बताउनुभयो।

लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीको प्रेसिडेन्ट मानबहादुुर लामिछानेको सभापति तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डिस्टक एडभाइजर विमला श्रेष्ठ, स्पाइनल कर्ड ईज्युरीज नेटवर्क नेपालका अध्यक्ष ऋषिराम ढकाल, डिस्टिक पढाऔँ अभियान चिफ पार्वती खरेल, डिस्टीक चेयरपर्सन चेयरपर्सन दुर्गा थापा, प्रो. सुधा जोशी, हङ्गर डिपार्टमेन्ट हेड जनार्दन फुयाँल, कष्टरचिफ विष्णु कँडेल, रिगोन चेयरपर्सन सुष्मा कोइराला, जोन चेयरपर्सन मीनाकुमारी लामा, शान्ति समृद्धि र दिगो विकासका लागि मानवीय कार्यका अध्यक्ष कुशल अर्याल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

लाइन्स क्लब अफ काठमाडौँका हङ्गर डिपार्टमेन्ट हेड लायन्स जनार्दन फुयाँलले लाइन्सको जन्म मानिसको सेवाको लागि भएकोले हरदम मानवीय सेवामा खटिरहेको बताउनुभयो।

कार्यक्रममा संस्थाका चार्टर प्रेसेडेन्ट लायन प्रल्हाद बस्नेतले लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीले अवसरविहीन पहिचान गरी त्यस्ता ठाउँमा विगतदेखि वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाउँदै यस वर्ष मेरुदण्डीय समस्या भएका बालबालिकामाझ कार्यक्रम आयोजना गरेको जानकारी गराउँदै आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रमको शुरुमा बोल्दै स्पाइनल कर्ड ईज्युरीज नेटवर्क नेपालका अध्यक्ष ऋषिराम ढकालले यस्तो घटना जसको जीवनमा पनि पर्न सक्ने र यसबाट पीडितहरूलाई आम मानिस जसरी समाजमा घुलमिल हुन र बाँच्न गाह्रो हुने भएकोले थोरै भएपनि यस्ता पीडित बालबालिकाहरूको एउटा स्तरको शिक्षा र उनीहरूलाई जीवनमा हौसला प्रदान गर्ने काम यस संस्थाले गरिरहेको बताउनुभयो।

डिस्टीक पढाऊ अभियानकी चिफ लायन्स पार्वती खरेलले हामी हजुरहरूजस्तै फरक क्षमता भएका मानिसहरूको सेवामा दिनरात खटिरहेको र जहाँ मानवलाई सहयोगको आवश्यकता हुन्छ त्यहाँ लाइन्सले सहयोग पुराइरहेको र यस्ता कार्यक्रम आयोजना गर्नु अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रमको समापन गर्दै लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीका प्रेसिडेन्ट मानबहादुर लामिछानेले साउन १५, खिर र यसको महत्व भन्दै लाइन्स क्लब अफ इन्द्रावतीको यस्तै प्रकारका बर्षभरिका अन्य थुप्रै योजनाहरू रहेको र स्रोत र साधनले भ्याएसम्म त्यो दिशामा काम गर्न तयार रहेको बताउनुभयो।

कार्यक्रम सञ्चालन लायन्स क्लब अफ इन्द्रावतीका सेक्रेटर विशालसाद पौडेलले गर्नुभएको थियो भने उक्त कार्यक्रममा करीब ४० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ इन्द्रवतीका कोषाध्यक्ष शोभा केसी, सदस्य हरिभक्त हेकालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया