मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्र

मोहम्मद सदरुल २०७७ साउन १५ गते ११:२२ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर, १५ साउन(रासस):प्रदेश नं.१ को सरकारले मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्र स्थापनाका लागि आवश्यक तयारीमा जुटेको छ।

सरकारले यो सेवाका लागि आर्थिक वर्ष २०७६ः७७ का लागि नीति तथा कार्यक्रममा समावेश गरेको थियो भने यसका लागि आवश्यक बजेट पनि विनियोजन गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरले जनाएको छ।

सो केन्द्रमा दमकल, एम्बुलेन्स र प्रहरी भ्यान एक÷एक वटा रहने भनिएको छ । प्रदेश सरकारले दूर्गम क्षेत्रका जनताका लागि तथा असुविधा भएको जनतालाई अतिआवश्यक सेवा प्रदान गर्न यो सेवा केन्द्रको स्थापना गर्न लागेको मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिनुभयो।

केन्द्र प्रदेशका १४ वटै जिल्लामा स्थापना हुने र यसका लागि अहिले ११ थान दमकल आइसकेको र थप तीन थान दमकल आउन बाँकी रहेको भनिएको छ ।

दमकल तीन हजार ५०० लिटर देखि चार हजार लिटर पानी अट्ने क्षमताका सात वटा दमकलमा रु.तीन करोड ६९ लाख ६०हजार, चार हजार ५०० देखि पाँच हजार लिटर क्षमताका चार थान दमकलको रु.एक करोड ९७ लाख ६० हजार खर्च गरिसकेको छ भने थप दुई हजार ५०० देखि तीन हजार लिटर अट्ने क्षमताका तीन वटा दमकल खरिद गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी,१४ वटा एम्बुलेन्स खरिद गर्न रु.नौ करोड बजेट विनियोजन भएको र एम्बुलेन्समा भन्सार छुट निर्णय हुने वित्तिकै सो एम्बुलेन्स खरिदको प्रक्रिया अघि बढ्ने तथा केन्द्रका लागि आवश्यक पर्ने १४ थान प्रहरी भ्यानका लागि रु.पाँच करोड २८ लाख २७ हजार विनियोजन भइसकेको भनिएको छ।

आगामी भदौ भित्रमा यी सबै साधनहरुको व्यवस्था भइसक्ने मन्त्रालयको दावी छ भने यसको सञ्चालन स्थानीय पालिका प्रमुख र इलाका प्रहरी प्रमुखबाट हुने उपसचिव थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया