माया

दीपक रिजाल २०७७ साउन १५ गते ३:२३ मा प्रकाशित

दयाविक्रम ठकुरीको मुद्दा इजलास नं. ५ मा चलिरहेको थियो । देशको चर्चित औद्योगिक घराना सम्राट ग्रुपको एक्लो उत्तराधिकारी । केही समय अघिसम्म देशको सरकारसमेत बदल्नसक्ने हैसियत भएको सम्राट ग्रुपको विनासको सूत्रधार । बाबुआमाले नियन्त्रण गर्न नसक्दा बिग्रिदै गएको युवावर्गको एक प्रतिनिधिपात्र– दयाविक्रम ठकुरी ।

दयाको मुद्दामा सर्वत्र चासो थियो ।

के दया अपराधी हो ? के दयालाई फसाइयो ? के सम्राट ग्रुपलाई सिध्याउन यो कुनै गेम प्लान हो ?

सर्वसाधारणहरुसंँग प्रश्न थिए । सञ्चार माध्यमसंँग प्रश्न थिए । सर्वत्र प्रश्न थिए । सही उत्तर कसैसंँग थिएन ।

के तपाईंले आफ्नी प्रेमिका सोनीको हत्या गरेको हो ?

कठघरामा रहेको दयाविक्रम ठकुरीलाई विपक्षी वकिलले सोध्यो । प्रश्न गर्दा विपक्षी वकिलको आवाज समेत कामेको इजलासमा सहभागीहरुले महसुस गरेका थिए ।

हो, दयाविक्रमले कुनै अपराध बोधसमेत नगरी जवाफ दियो ।

आफ्नो सफाइमा केही भन्न चाहनुहुन्छ ?, फेरि पनि विपक्षी वकिलले नै प्रश्न पर्‍यो ।

केही भन्नचाहन्न, दयाले फेरि पनि निर्भिकताका साथ जवाफ दिएको थियो ।

श्रीमान्, अभियुक्त दयाविक्रम ठकुरीले आफ्नो अभियोग स्वीकार गरिसकेकाले अब थप प्रमाणको कुनै आवश्यकता नै परेन, विपक्षी वकिलले आफ्नो कुरा टुंग्यायो ।

न्यायधीशले इजलाशमा सहभागी सबैको अनुहार हेरे ।

दयाविक्रमजी, तपाईं प्रहरीले सामेल गरेका तपाईंका बयान र प्रमाणहरुलाई स्वीकार गर्नुहुन्छ ?, यस पटक न्यायाधीशले प्रश्न गरे ।

स्वीकार गर्छु श्रीमान्, दयाले सहज उत्तर दियो ।

तपाईंको तर्फको कोही कानुन व्यवसायी छन कि ?

मैले आफ्नो कानुन व्यवसायी राखिनँ श्रीमान् ।

मानिसहरु अपराधबाट जोगिन हजारौं प्रयास गर्छन् । दयाविक्रम ठकुरीका लागि एउटा हत्याको आरोपबाट उम्किन कुनै गाह्रो थिएन । एउटी केटीको हत्याको अभियोग आफ्नो शिरमा लिइदिने सयौं मानिसहरु लाइनमा थिए । तर उसले अपराध आफ्नो शिरमा लियो ।

प्रहरी प्रतिवेदन र घटनामा कुनै फरक छ कि छैन भन्नकालागिमात्रै म केही तथ्यहरु जाँच गर्न चाहन्छु, तयार हुनुहुन्छ ?, फेरि पनि न्यायाधीशले नै बोले ।

तयार छु श्रीमान् ।

तपाईंले प्रेमिका सोनीको हत्या किन गर्नुभयो ?, न्यायाधीशले सोधे ।

म उनलाई धेरै माया गर्थें, त्यसैले हत्या गरें, दयाविक्रमको उत्तर सुनेर इजलासका मानिसहरु चकित भए ।

कसरी ? न्यायाधीशको संक्षिप्त प्रश्न थियो ।

श्रीमान्, मैले यति धेरै माया नगरेको भए उनी मेरो नजिक हुने नै थिइनन्, मेरो नजिक नभएको भए मैले हत्या गर्नुपर्ने दिननै आउने थिएन, दयाले भन्यो, श्रीमान् मेरो लभस्टोरी पूरै सुन्न चाहनुहुन्छ कि ट्रेलर मात्रै ?

न्यायाधीशले घडी हेरे । चार बज्न आंँटेको थियो ।

आज समयले भ्याउँंदैन, न्यायाधीशले यति भनेर अर्को मिति तोके ।

अभियुक्तले अपराध स्वीकार गरिसकेको अवस्थामा पनि न्यायधीशले फैसला नसुनाउँंदा सहभागीहरुबीच गाइँगुइँ चल्यो ।

यो न्यायाधीश अभियुक्तलाई बचाउन चाहन्छ । यो न्यायाधीशले यो अभियुक्तलाई बचाउनकालागि पैसा लिएको होला । रात रहे अग्राख पलाउंँछ ।दयाविक्रमले अर्को सुनुवाइमा बयान फेर्छ ।

इजलासबाट बाहिरिनेहरुसँंग यस्तै आशंकाहरु थिए । दयालाई हालेर प्रहरी भ्यान हुइँकियो । प्रहरी भ्यानबाट दयाले सडकलाई निहाल्यो । केहीदिन अघिसम्म ऊ आफूलाई काठमाडौंको बादशाह ठान्थ्यो । दिन प्रतीकूलहुंँदा के हुंँदोरहेछ भन्ने उसले महसुस गर्दै थियो । प्रहरी भ्यान दरवारमार्गबाट अगाडि बढिरहंँदा उसले अन्नपूर्ण होटलमा आंँखा गाडिरह्यो ।

………

दुइवर्ष अघि । दयाविक्रम ठकुरी र सोनियाबीच यही अन्नपूर्ण होटलको जुनेलीबारमा पहिलो भेट भएको थियो ।

दयाको साथी प्रतीकको कारण उनीहरुबीच भेटघाट भएको थियो । प्रतीक फेसन सोहरु आयोजना गथ्र्यो । सोनिया त्यो बेलाकी चर्चित मोडल थिई । दुइको भेटघाटको प्रयोजन दयाको एउटा प्रोडक्टको विज्ञापन सामग्री निर्माण थियो ।

छाती मात्रै कभर गर्ने सेतो टीसर्ट र छोटो फ्रक लगाएकी सोनिया त्यस साँझ सांच्चिकै आकर्षक देखिएकी थिई । व्यायवसायिक डिलका लागि भएको भेट धेरै बेर अरु नै कुराकानीमा वितेको थियो र प्रतीकले नै जवरजस्ती व्यवसायको कुरा गर्नुपरेको थियो ।

नयांँ प्रोडक्टको विज्ञापन कन्सेप्ट दयाको थियो र उसले नै छोटो प्रिजेन्टेसन दिनु थियो । तर दयाले प्रिजेन्टेशनको समयमा पनि सोनियाबाट आंँखा हटाउन सकेको थिएन । दयाको आंँखा सोनियाको सिल्की केस, मोहनी लगाउने अनुहार, लठ्ठ पार्ने मुस्कान, खुलेको छाती, सलक्क परेको कम्मरबीचमा सानो डाइमण्ड टप लगाएको नाइटो, सुडौल तीघ्राहरुमा घुमिरहेको थियो ।

दयालाई मिटिङ नसकिए हुन्थ्यो जस्तो लागिरहेको थियो ।

दयाको प्रिजेन्टेशन र एटेन्नको बारेमा सोनियाले चासो दिइरहेकी थिई । प्रिजेन्टेसन सकिना साथ उठेर क्ल्याप गरी ।

वन्डरफुल, म यस्तै क्रिएटिभ एड गर्न चाहन्थे । मलाई मौका दिनुभयो भने तपाईंले सोचे भन्दा बढी रिजल्ट दिनसक्छु जस्तो लाग्छ, एक श्वासमा सोनियाले भनेकी थिई ।

व्यावसायिक डिल मिल्यो । सोनिया एड्भान्स चेक लिएर निस्की । शायद एड्भान्समा दिल पनि ।

निकै चासो देखाइस् त सोनिया प्रति, सोनिया ढोकाबाट निस्कनासाथ प्रतीकले जिस्क्यायो ।

सी इज वन्डरफुल गर्ल, दयाले भन्यो, पहिलो भेटमा नै दिल तानी यार ।

यस संसारमा सोनियाभन्दा धेरै आकर्षक युवतीहरु छन्, तँंलाईं सोनिया आकर्षक लागी, किनकि उसले आफूलाई आकर्षक ढंगले प्रस्तुत गरी, प्रतीकले भन्यो, तंँ खाली काममा मात्रै हुन्छन्, व्यापारमा मात्रै हुन्छस्, यो दुनिंयाँ पनि हेर्न र बुझ्न सिक ।

सोनियाको व्वाइफ्रेन्ड छ दयाले अर्को प्रश्न सोध्यो ।

यी मोडल हुन्, सबैका हुन् ? तर कसैका पनि होइनन्, प्रतीकको सोझो जवाफ थियो, सोनियालाई धेरैले ट्राई गरेर असफल भएको मैले देखेको छु ।

प्रतीकले सोनियाको विषयमा तयार गरिएको एउटा प्रोफाइल सहितको प्रचार सामग्री दयाको सामु राखिदियो । दयाले प्रचार सामग्रीलाई केही बेर ओल्टाइ पल्टाइ हेर्‍यो । सोनिया सांच्चिनै नेपालको महँंगो मोडलको रुपमा चर्चित थिई । छोटो समयमा सफलताको सिंढी चढिसकेकी ।

सबै र दयाविक्रम ठकुरीमा फरक छ साथी, दयाले फुर्तिका साथ भन्यो, च्यालेन्ज स्वीकार गर्छस् भने एक हप्तामा पट्याइदिन्छु ।एक हप्तामा पट्याइस् भने यो विज्ञापन बनाएको एक पैसा पनि लिन्नँ, प्रतीकले पनि चुनौती दियो, तर एक हप्तामा पट्याउन सकिनस् भने डवल पैसा लिन्छु ।

सोनियाको फोन नम्वर भन्, दयाले भन्यो, दुई दिनमा सँंगै रात बिताइदिन्छु ।

ओभर कन्फिडेन्स राम्रो होइन साथी, प्रतीकले भन्यो ।

दयाले फोन लगायो । सोनियाले उठाउना साथ हेन्ड्स फ्रि गरिदियो ।

सोनियाजी, म दया ।

हजुर सर ।

सांच्चि विज्ञापनमा प्रयोग हुने पोशाकको बारेमा अघि कुरा भएनछ ।

दयाले सोनियासँंग गरेको कुराकानी प्रतीकले सुनिरह्यो । प्रतीक छक्क परिरहेको थियो, दयाले यसरी कुरा गर्न सक्छ जस्तो उसले कल्पनापनि गरेको थिएन । प्रतीकले दयाले सोनियालाई फुस्याएको मजाले महसुस गरिरहेको थियो ।

ओ हो, त्यो पोशाक त नेपालमा पाउँंदैन त, दयाको पोशाकको बारेमा जानकारी दिएपछि सोनियाले भनी, त्यो पोशाक त वैंककमा मात्रै पाइन्छ भन्ने सुनेकी छु ।

गेट रेडी फर बैंकक, दयाले फुर्तिका साथ भन्यो, म यो विज्ञापन यही हप्ता सक्न चाहन्छु ।

कहिले जाने ?

सोनियाले सोधी ।

भोलि, दयाको उत्तर थियो ।

फोन राखेपछि दयाको अनुहारमा विजयको भाव र उत्तेजना एकैसाथ देखियो ।

देखिस्, दयाले जे चाहन्छ, त्यो पाएर छाड्छ, प्रतीकलाई फुर्ति लगाएर दया निस्कियो ।

दुई दिन पछि प्रतीकको म्यासेन्जर भरी दयाले शी बीचमा दया र सोनियाबीचका मस्तीका तस्विर पठाएको थियो ।

……………

समयले पंखहाल्यो । दयासँंग एउटी राम्री मोडल गर्लफ्रेन्ड भई । सोनियासँंग ऐश आराम थपियो ।

समयबित्दै जांदा दयाले सोनियासंँग विवाह गर्न चाह्यो । तर सोनियालाई करियरको क्रेज थियो । ऊ अहिले नै विवाह गरेर आफ्ना पंखेटा काट्न चाहन्नथी । विवाह नै नगरे पनि यो जोडीको सम्वन्ध बन्द कोठाबाट विस्तारै मानिसका ओठ ओठमा र अखबारका पेजपेजमा पुगिसकेको थियो ।

यो चर्चाले सोनियालाई फाइदा पुगेन । दयासँंग उसको नाम जोडिन थालेपछि सोनियालाई काम दिनेहरु क्रमशः कम हुंदै गए । केही समयअघिसम्म काम लत्याएर हिंड्ने सोनिया अब काम खोज्नुपर्ने स्थितिमा पुग्न थाली । सोनियाकालागि सम्राट गु्रपले सधैं नयाँं विज्ञापन बनाउने कुरा पनि थिएन । उसले विस्तारै स्टेज गुमाई, विज्ञापन गुमाई । गुमाउंदै गुमाउंदै जांदा ऊसले विस्तारै आफ्नो विवेक गुमाउन थाली ।

देशमा एक नम्वर मोडलको रुपमा छवि बनाएकी सोनियाको अब मोडलिङमा कुनै स्थान नै नभएको समय पनि आयो । यसले सोनियालाई भित्रभित्रै घाइते बनाएको थियो । दिउँसै नशामा लठ्ठिनु उसको दैनिकी बन्दै गयो । दयाले सोनियालाई आफ्नी बनाउन धेरै प्रयास पर्‍यो तर ऊ दयाको कारण आफ्नो नम्वर १ मोडलको उपाधि गुम्न गएको निष्कर्षमा पुग्दै थिई । दया न त चट्टै सोनियालाई छाड्न नै सक्ने अवस्थामा थियो न त पत्नी बन्न नै सोनिया तयार थिई ।

दयार सोनिया अपार्टमेन्टमा साथै बस्थे । लिभिङ टुगेदर । दुनियाका अगाडि अविवाहित ।दया अब सोनियाकालागि एउटा दुहुनो गाई भएको थियो । सोनियाको कुलत बढेको थियो । मादक पदार्थबाट ऊ ड्रग्समा उक्लिएकी थिई ।

सोनियाको कारण दयापनि विस्तारै कुलतमा फस्दै गयो । सम्राट गु्रपको एक्लो उत्तराधिकारी अब आफ्नै व्यवसाय लुट्दै सोनियाको माग पूरा गर्दै गर्न लाग्यो ।

………..

दया, मलाई तिम्रो सम्पत्तिको ५० प्रतिशत देऊ, एकदिन सोनियाले एकाएक माग गरी ।दया यसरी पञ्जामा परिसकेको थियो कि ऊ नाइँ भन्न सक्दैनथ्यो तर सम्पत्ति उसको नाममा आइ नसकेकोले दिन पनि सक्दैनथ्यो । दयाले व्यवसायबाट पाउने पारिश्रमिकले उनीहरुको नशाको खर्च धान्दैनथ्यो, त्यसैले विभिन्न बहानामा दयाले आफ्नै व्यवसायमा डाका डाल्दै गयो, जसको सम्राट गु्रप विस्तारै धराशयी बन्दै गयो ।

एक दिन यस्तो पनि आयो, दया आफ्नो अंश माग्न घर पुग्यो । घरमा सन्नाटा छायो । कोही पनि बोल्नसक्ने अवस्था नै थिएनन । तंँ यो घरबाट जा, एक कौडी पनि दिन्नँ, अन्तिममा दयाकी आमा राज्यलक्ष्मीले भनेकी थिइन्, मेरा पुर्खाको रगत–पसिनाले आर्जेको सम्राट गु्रपलाई तैंले जसरी ध्वस्त गर्दै गइरहेको छस्, मैले देखिरहेकी छु, अब सहन्नँ । तँं आज यस घरबाट निस्किएर जा, र म जिउँदो हुँदासम्म फर्किएर नआउनू । मलाई दागवत्ती समेत तैंले दिनुपर्दैन ।

दया घरवाट निस्कियो । जाने ठाऊ सोनिया भन्दा अर्को थिएन । समय फेरि प्रतीकुलनै चल्यो । दया घरबाट निस्किएको एक सातामा नै उसकी आमाको निधन भयो । ऊ आमाको निधनमा घर जान सकेन । आमाको निधनको कारक आफैंलाई ठान्यो । आमाले दागबत्ती समेत नदिनू भनेर उसलाई भनिसकेकी थिइन् ।

देशका प्रधानमन्त्री देखि उच्चपदस्थ व्यक्तिहरु राज्यलक्ष्मीलाई श्रद्धाञ्जली दिन आर्यघाट पुग्दा आफ्नै छोरा भने त्यहाँं थिएन ।दयाको अवस्थादिनप्रतिदिन खराब बन्दै गयो । तैपनि साथीभाइ गुहा¥यो । बैंकका सम्पूर्ण खाताहरु नै बन्द गरेर भएपनि सबै पैसा निकाल्यो । केहीदिन त चल्यो तर लामो समय चलेन ।

आमाको किरिया सकिएको दिन नै सोनियाले फेरि धम्की दिई, मलाई तिम्रो सम्पत्तिको ५० प्रतिशत देऊ, म तिमीलाई छाडेर जान्छु, नत्र तिमीलाई रेप केसमा फसाइदिन्छु ।

आजकल सोनियासँंग कुनै विवेक बाँकी थिएन । ऊ हरदम नशामा हुन्थी ।

सोनिया दिनदिनै कति क्रुर हुंदै जांदै छे भन्ने उसले महसुस गरिरहेको थियो ।

दया चुपचाप आफ्नो घरतर्फ लम्कियो । घर पुग्दा देख्यो, उसको पिता पनि चिर निद्रामा परिसकेका थिए ।

एक्लो छोरा भएकोले उसलाई अब रोक्ने कोही पनि थिएन । जे भए पनि सम्राट ग्रुपको सम्पूर्ण उत्तराधिकारी ऊ नै थियो । बुबाको अन्त्येष्टिमा जुट्यो ।

बीचबीचमा सोनियाको फोन र टेक्स्ट आइरहेको थियो । कुनै रेस्पोन्स गरेन । उसले पटक पटक टेक्स्टमा धम्क्याइरही ।

पिताको शवलाई दागवत्ती दिनु अघि मनमनै कसम खायो, सम्राट गु्रपलाई जसरी पनि फेरि उठाउंँछु । सोनियाको पञ्जाबाट जसरी पनि उम्किन्छु ।

त्यही बेला प्रहरीहरु आएको उसले देख्यो । प्रहरीहरु छेऊमा आए ।शवमा दागवत्ती पनि दिइसकेको थिएन ।

प्रहरी अधिकारीले भन्यो, दयाविक्रम ठकुरी, मोडल सोनिया मल्ललाई बलात्कार गरेको अभियोगमा तपाईंलाई पक्राऊ गर्न आदेश छ ।

प्रहरी चौकीमा दया र सोनिया आम्ने साम्ने भए ।

आफूमाथि बलात्कार भएको भनी तपाईंले दिएको उजुरी अनुसार तपाईंलाई बलात्कार गर्ने दयाविक्रम ठकुरी उहाँं नै हो ?, प्रहरी अधिकारीले सोध्यो ।

हो, सोनियाको संक्षिप्त जबाफ थियो ।

दयाविक्रम घाइते बाघ भएको थियो । यसरी सोनियामाथि जाइ लाग्यो कि उसले दयाको एक प्रहार समेत थाम्न सकिन ।

प्रहरी भ्यान प्रहरी कार्यालय अगाडि पुगेर रोकियो । दयाको सम्झनाको श्रृंखला पनि यही रोकियो ।

……………..

प्रहरीले दयालाई हिरासतमा हालिदिए ।

दयाविक्रम ठकुरी मायाको खेल सम्झिरह्यो । सम्झिरह्यो ।

प्रतिक्रिया