बन्दाबन्दीमा मानव अधिकार उल्लङ्घनका घटनाहरु वृद्धि भएको अधिकारकर्मीको भनाई

इनेप्लिज २०७७ साउन १४ गते २१:०४ मा प्रकाशित

विराटनगर, १४ साउन । प्रदेश नं. १ मा लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको अधिकारकर्मीहरुले बताएका छन्।

हत्या, आत्महत्या, बलात्कार, घरेलु हिंसाका धेरै घटनाहरु भएको मानवअधिकारकर्मीहरुको भनाई छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरले आज कोभिड १९ को प्रभाव र मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा मानव अधिकारकर्मीहरुले लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा बृद्धि भएको बताएका हुन।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ विराटनगरका निर्देशक मोहनदेव जोशीले लकडाउन हुनु अघि भन्दा लकडाउनको ४ महिनामा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको बताउनुभयो । उहाँले हत्या, आत्महत्या, महिला हिंसाका घटनाहरुमा बृद्धि भएको बताउनुभयो । कोरोनाका कारण देखाउँदै विराटनगरका अस्पतालले उपचार नगर्दा विरामीको मृत्यु भएको, स्वास्थ्य उपचार नपाएको विषयमा सरकारलाई ध्यानाकर्षण पनि गराएको निर्देशक जोशीले बताउनुभयो।

मानव अधिकार रक्षक सञ्जाल प्रदेश १ संयोजक तथा मनोपरामर्श दाता मञ्जिता उपाध्यायले लकडाउनमा महिला हिंसाका घटनाहरु बढेको बताउनुभयो । उहाँले क्वारेन्टाईनमा रहेकाहरुलाई मनोपरामर्शको काम प्रदेश सरकारले नगरेको गुनासो गर्नुभयो।

सिविन विराटनगरका प्रमुख बासु अधिकारीले लकडाउनमा बालिका बलात्कारका घटनाहरु बढेको बताउनुभयो।उहाँले बालिकाहरु परिवारबाटै पीडित भएका घटनाहरु बढ्दै गएको बताउनुभयो ।एवीसी विराटनगरकी अध्यक्ष विष्णु शर्माले महिला हिंसाका घटनाहरु र आत्महत्याका घटनाहरुमा बृद्धि भएको बताउनुभयो ।

कार्यक्रममा इन्सेक प्रदेश १ संयोजक सोमराज थापा, नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुईटेल, वपरडेक अध्यक्ष सञ्जु साह लगायतले बोल्नु भएको थियो।

प्रतिक्रिया