सशस्त्र प्रहरीलाई पक्की भवन हस्तान्तरण

इनेप्लिज २०७७ साउन १४ गते ११:३५ मा प्रकाशित

रौतहटको गढीमाई नगरपालिकाले सशस्त्र प्रहरी बेस समनपुरलाई पक्की भवन हस्तान्तरण गरेको छ ।नगरपालिकाले आफैँले निर्माण गरी भवनको स्वामित्व सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको हो।

नगरपालिकाको नाउँमा ऐलानी रहेको करिब ११ कट्ठा जमिनमा नगरपालिकाले उपभोक्ता समितिमार्फत गढीमाई २ ऐतिहासिक समनपुर बजारमा दुई वटा पक्की भवन निर्माण गरेर जग्गाको स्वामित्वसहित सशस्त्र प्रहरी बलको समनपुर बेस क्याम्पलाई हस्तान्तरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी गराएका छन् ।

नगरपालिकाले सशस्त्र प्रहरी कर्मचारीको लागि कार्यालय सञ्चालन, आवास तथा भान्सा घर, शौचालय र स्नानागार सहितको सुविधा सम्पन्न भवन तयार गरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको उपस्थितिमा सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपि रविनराज कर्णजीतलाई नगर प्रमुख श्यामप्रसाद यादवले भवनको साँचो हस्तान्तरण गरेका हुन्।

घेराबेरासमेत गरिएको बेसको निर्माणमा ७० लाख रुपैया खर्च भएको नगर प्रमुख यादवले जानकारी गराएका छन् । पहिलेदेखि गाविस समनपुरको पुरानो र साँघुरो भवनमा बस्दै आएको सशस्त्र प्रहरी बेस समनपुरले नयाँ भवन पाएको छ । विगतमा सशस्त्र प्रहरी बेस समनपुरबाट लैजाने चर्चा चलेपछि स्थानीयले आन्दोलन गरेर बेसलाई जोगाएको थियो।

सशस्त्र प्रहरीले समनपुर र आसपासको शान्ति सुरक्षाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सर्वसाधारणको चाहनाअनुसार नगरपालिकाको तर्फबाट बेस क्याम्प निर्माण गरी सशस्त्र प्रहरीलाई स्थायी रुपमा रहने गरी वातावरणको निर्माण गरेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्।

प्रतिक्रिया