चिनी मिल सञ्चालनको लागि उखु किसानले बुझाए ज्ञापनपत्र

इनेप्लिज २०७७ साउन १४ गते ११:३२ मा प्रकाशित

रौतहटको गरुडामा रहेको श्री राम सुगर मिल्स लि.लाई साउन ११देखि लागू हुने गरी उद्योग व्यवस्थापनले स्थायी रुपमा बन्द गरिएको सूचना जारी गरेपछि जिल्लाका उखु किसानहरुले उद्योग पुनः सञ्चालनको लागि पहल सुरु गरेका छन् ।

उखु उत्पादक संघ रौतहटले गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवलाई उद्योग सञ्चालनको लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ । संघका सचिव सफिन्द्रप्रसाद यादवको नेतृत्वमा नगरपालिका गएको टोलीले मेयर यादवलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा व्यवस्थापकीय कमजोरीका कारण उद्योग बन्द भएको तथा उद्योगलाई सञ्चालन गर्न सबैभन्दा बढी किसानले सहयोग गर्दै आएको बताइएको छ । छ वर्ष पहिले उखु किसानहरुले उद्योगलाई बेचेको उखुको मूल्य अझै पनि पाउन बाँकी रहेको र गत चैत मसान्तसम्ममा नै उद्योगले सम्पूर्ण रकम भुक्तानी गरिसक्नु पर्ने सम्झौता गरेको भए पनि करिब ४१ करोड रुपैया अझै भुक्तानी पाउन बाँकी रहेको ज्ञापनपत्रमा जनाइएको छ।

करिब १८ किसानले उखुखेती गर्दै आएको तथा करिब १२ हजार बिघा उखुखेती अझै पनि जिल्लामा भएको बताउँदै सचिव यादवले उखु किसानले कुनै पनि हालतमा उद्योग बन्द नहोओस् भन्ने चाहना राखेको बताएका छन् । उद्योगलाई सञ्चालन गराउन नगरपालिकालाई सकारात्मक भूमिका निर्वाह गरिदिन आफूहरुले आग्रह गरेको बताउँदै सचिव यादवले उद्योग सञ्चालनको लागि नगरपालिकाले खेल्ने सबै सकारात्मक भूमिकामा किसानहरुको साथ रहने बताएका छन्।

ज्ञापनपत्र बुझ्दै मेयर यादवले आफ्नो नगरपालिकाभित्र रहेको ठूलो उद्योग बन्द हुन नदिने र आफूहरुले नगरपालिकाको तर्फबाट उद्योगका समस्या समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै गरी करिब सोही बेहोराको ज्ञापनपत्र संघले रौतहटका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई पनि बुझाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा पनि संघ सरकारलाई उद्योग सञ्चालनको लागि पहल गरिदिन आग्रह गरिएको सचिव यादवले बताएका छन्।

प्रतिक्रिया