‘मलाई घर नभएको नभन्नुस है दाई ?’

रजनी मल्ल न्यु जर्शी, अमेरिका २०७७ साउन १४ गते ९:३५ मा प्रकाशित

गौशालाको बाटोको छेउमा उभिएर आफुजस्तै उमेरका बालकहरु स्कुल जान लागेको देखेर मक्ख परेर हेरिरहेका कृष्णका आखाहरू अनायासै चारजनाले काधमा बोकेर ल्याइरहेको एउटा लाश माथी पर्न जान्छ। उसका आँखाहरुले त्यो लाश लाई पछ्याउछ र हतार हतार उ पनि त्यो लाशको पछी पछी दगुर्दै आर्यघाट तिर लाग्छ। उसको पछी पछी उसकी ५/६ बर्षकी बहिनी पनि दगुर्दै जन्छिंन। आर्यघाटमा पुगेपछि त्यो लाशको नाममा उसका आफन्त सथिभाइहरुले खोलामा चढाएका पैसाहरु अरु बालकहरुले झैँ उ र उसकी बहिनीले पनि दङ्ग पर्दै खोलामा गएर टिप्छन अनि त्यो लाशका वरिपरी बसेर शोक मानिराखेकाहरुलाई उदाश आखाले एकपटक हेर्छन तर त्यो पशुपतिनाथको आर्यघाटको दृश्य उसका लागि अब त सामान्य भैसकेको छ किनकि उ त्यहाकै बतावारंमा हुर्केर बढेका हुनाले उसलाई त्यहाको त्यो निरस उदाश बातावरणले केहि असर पार्न छोडिसकेको छ।

आर्यघाटको सत्तलमा आश मरिसकेका अनि जीवनको अन्तिम घडी सीत संघर्ष गरिरहेका बिरामीहरुलाई राखिराखेको दृश्य अनि उनीहरुका वरिपरी उनीहरुको अन्तिम घडी हो कि होइन भनेर जाचिरहेका बैध्यहरु, उसका आफन्तहरुका निराश आखाहरू अनि तलतिर कलकल गर्दै रुदै बगिरहे झैँ लाग्ने खोलाको किनारमा जलिरहेका लाशहरु अनि त्यो मार्मिक दृश्य लाई हेर्न नसकेर हडबढाएर मार्मिक चित्कार गर्दै यताउता भौतारिरहेका झैँ देखिने बादरहरु अनि त्यो दृश्य हेर्न नसकेर मुन्टो निहुरिराखेका झैँ देखिने रुखहरु अनि लाशको माथि माथि आकाशमा आहारा पाउने आशामा उडिरहेका चिल गिद्धहरु अनि जलिरहेका लाश को आगोबाट निस्केका कालो धुवाको मुस्लो आकाशको माथि माथि बादल वरिपरि गएका दृस्यहरु अनि जीवनको यथार्थ नै अन्त्य भएको बस्ताबिकतालाई क्यामरामा कैद गर्न खोजिरहेका पर्यटकहरुका गतिविधिहरुलाई कृष्णका आँखाहरुले सधै जसो पछ्याइरहन्छ ।

आज पनि उ र उसकी बहिनीले बटुलेका पैसा जम्मा गरि सधै जसो नजिकैको खाना खाने होटलमा गइ साहुनी सीत दुइ प्लेट भातको लागि सिक्काहरु गनेर दिन्छ। जम्मा ३० रुपैयाको भात र साग छिटो छिटो मिठो मानी मानी खान्छ अनि बाकी रहेको खाना पोको पारेर दगुर्दै वारीको सत्तलमा उनीहरुका आमा सुतिराखेको ठाउमा गइ खाना खानाका लागि आफ्नी आमालाई उठाउन खोज्छन तर आमा भने टन्न रक्सि पिएर बेहोसी भै सुतिराखेको हुन्छ। कृष्ण खाना त्यहि राखेर आर्यघाट तिर लाग्दछ। बाटोभरी कृष्णकी बहिनी पेट भरेकोले खुसि हुदै के के गित गाउदै नाच्दै उफ्रदै दाइको पछी पछी दगुर्छिंन। एकैछिनका लागि भएनी त्यो नैरास्यता भित्र लुकेको बातावरणलाई बिर्सेर उसको नाच लाई वरिपरिका मानिसहरु अनि केहि पर्यटकहरुले पनि खुशी हुदै हेर्छन।

कहिलेकाही साझपख त्यो आर्यघाट वरिपरिका बेवारिसे भै जीवन बिताइराखेका बालकहरु कहिले फिल्मको त कहिले आफ्नो जीवनको यथार्थतालाई गीत बनाइ बनाइकन गीत गाउन्छं त कोहि तबला बजाउछन अनि कृष्णकी सानी बहिनी नाच्छिंन। त्यसैमा भएनी उनीहरु जीवनको यथार्थलाई केहि छिन भएनी बिर्सेर मनोरंजन गर्छन।

कहिले काही कृष्णले बनाएका खेलौनाहरू आफ्नी बहिनीले खेलेर बिगार्दा भने रिस उठ्छ उसलाई। अनि पिट्नलाई हात उठाउछ तर फेरी माया लाग्छ अनि बिचैमा रोकेर मनमनैले भन्छ बिचरी सानै छ कहिले ठुली हुने हो भनेर अनि आइन्दा देखि यसो नगर्नु भनेर गाली मात्रै गर्छ। उसलाई केहि मात्रामा भए नि अंग्रेजी बोल्न आउँछ। त्यसैले कहिले काही उ आफ्नो मनभित्रका पीडाहरु वरिपरिका पर्यटकहरु सामु पोख्छन पनि। उनीहरु सामु आफ्नी बहिनीको ज्यादै पिर लागेको कुरा बताउछ पनि। कुनै दिन आर्यघाटमा मरेको मान्छेको नाममा रुदै चढाएको खाना कपडा लिनका लागि अरु बालकहरु झैँ कुरेर बस्छ। त्यो खाना कुनै जनावरले वा पंछिले नखाइकन उनीहरुले छुन हुदैन रे भनेर पनि थाहा रहेछ उसलाई। अनि कुकुरले कागले खाइसकेपछी दगुर्दै खाना अण्डा र कपडा लिदै खुशी हुदै आफ्नी बहिनिसित खाना अण्डा बाढेर खान्छ। आज को दिन उ आफुलाई भाग्यमानी भएको ठान्छ मीठो खाना पाएकोमा। यो उसको बाध्यता भैसक्यो अनि खुशी हुदै दगुर्दै कपडाहरु लिएर सडकतिर कपडा बेच्दै गरेकालाई केहि पैसा लिएर दिन्छ उ। अनि त्यो पैसाले एक किसिमको लागु पदार्थ किनेर खान्छ। त्यो खादा उ हावामा उडेको जस्तो आनन्द लाग्छ रे उसलाई। कहिलेकाही उसलाई मर्न मन लाग्छ भनेर पर्यटकसित दुख पोख्छ उ। किन भनेर सोद्धा खै थाहा छैन भन्छ उ। उसलाई बहिनीको ज्यादै माया लाग्छ र पिर पनि लागेको गुनासो पोख्छ उ। कहिले काही बहिनीको कपाल कोरिदिन्छ त कहिले जुम्रो पर्यो भन्दै काटिदिन्छ। तर पुरानो ब्लेडले काम नगर्दा भने पर्यटकलाई यौटा नया ब्लेड किनिदिन पनि अनुरोध गर्छ उ। यतिकैमा एकजना पर्यटकले “तिम्रो घर कहाँ हो ? तिम्रो घर छैन ?” भनेर सोद्धा भन्छ उ “मेरो घर यहि हो, यो खुल्ला आकाशमुनि, मलाई जे मन लाग्यो त्यहि गर्न सक्छु यहाँ। त्यसैले अब देखि मलाई कसैले घर नभएको नभन्नुस है दाई ?” यस्तै छ…. ।

-रजनी मल्ल न्यु जर्शी, अमेरिका

प्रतिक्रिया