भन्सार राजस्वको लक्ष्यमा ५७ दशमलव १३ प्रतिशत मात्र प्रगति

इनेप्लिज २०७७ साउन १३ गते २२:१४ मा प्रकाशित

विराटनगर, १३ साउन(रासस) : एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्षमा २०७६ः७७ मा कुल रु.२८ अर्व ३६ करोड ३४ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ।

सो अवधिमा कार्यालयले कुल रु. ४९ अर्व ६४ करोड ६० लाख ४६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु.२१ अर्व २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरको छ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७४ः७५ मा रु.३२अर्व ८१ करोड ३० लाख ८३ हजार राजस्व सङ्कलन भएको थियो भने सो अवधिमा रु.३१ अर्व २४कारेड ४८ लाख ८१ हजार लक्ष्यमा रु.एक अर्व ५६ करोड ८२लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो।

यस्तै, आर्थिक वर्ष २०७५ः७६ मा कुल रु.४२ अर्व ५३ करोड १९ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु. ३८ अर्व २८ करोड ९४ लाख ८८ हजार मात्र राजस्व सङ्कलन गरेको थियो।

आर्थिक वर्ष २०७४ः७५ मा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल सो कार्यालयले आर्थिक वर्ष २०७५ः७६ मा पनि राजस्व लक्ष्य भन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिना देखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण थियो भने गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिनुभयो।

उहाँले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको चर्चा गर्नुभयो ।
अहिले सङ्कलित राजस्व आर्थिक वर्ष २०७५ः७५ को भन्दा रु.चार अर्व ४४ करोड ९६ लाख५४ हजारले कम हो भने आर्थिक वर्ष२०७५ः७६ को तुलनामा रु. नौ अर्व ९२ करोड ६० लाख ५९ हजारले कम हो।

विगत तीन वर्षको भन्सारको राजस्वलाई नियाल्दा विभागले लक्ष्य बढाउने र कार्यालयले लक्ष्य अनुसार प्रगति गर्न नसक्दा कर्मचारीमा निराशामात्र होइन काम गर्ने जाँगर पनि घट्ने भएको यसतर्फ विभागको ध्यान जानु पर्ने आवश्यकता देखिएको छ।

गएको आथिक वर्षमा सङ्कलित राजस्वमा भन्सार महसुल रु.१२ अर्व चार करोड २९ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु.१४ अर्व ७६ करोड ७४ लाख ४७ हजार र अन्तःशुल्क रु.एक अर्व ५५ करोड ३० लाख ६७ हजार छन्।

प्रतिक्रिया