बिहीबार, भदौ २ २०७९
काठमाडौं १७:३४
वासिङटन डिसी 07:49

कोरोना भाइरस आमाबाट शिशुमा सर्ने सम्भावना कम

वीवीसी २०७७ साउन ९ गते २१:४० मा प्रकाशित

एउटा सानो अध्ययन अनुसार सावधानी अपनाइएको खण्डमा कोभिड१९ लागेका गर्भवती आमाबाट शिशु जन्मँदा कोरोनाभाइरस नसर्ने देखिएको छ।

न्यूयोर्कको तीनवटा अस्पतालमा जन्मिएका १२० शिशुमध्ये कसैमा पनि सङ्क्रमित आमाबाट कोरोनाभाइरस सरेको पाइएन।

दुई सातासम्म ती आमा र शिशु एकै कोठामा रहेका र शिशुलाई स्तनपान गराइएको थियो। त्यसपश्चात् पुन गरिएको परीक्षणमा पनि ती शिशुमा सङ्क्रमण पाइएन।

विज्ञहरूले यो नतिजालाई आशलाग्दो भन्दै थप व्यापक अध्ययन गरिनुपर्नेमा जोड दिएका छन्।

निकट सम्वन्ध-

सङ्क्रमित गर्भवती आमाबाट तथा स्तनपान गराउने सङ्क्रमित आमाबाट शिशुहरूमा कोभिड -१९ शिशुहरूमा सर्छ कि सर्दैन भन्ने बारे पर्याप्त आँकडा उपलब्ध छैनन्।

त्यसैले गर्भवती महिला तथा नवजात शिशुका आमाहरूलाई दिइने सुझाव थरीथरीका छन्।

यूकेमा रोयल कलेज अफ अब्स्टेट्रिसियन्स तथा गाइनेकोलोजिस्टले आमाहरूलाई नवजात शिशुसँग रहन वा स्तनपान गराउन चाहे गर्न सल्लाह दिएको छ, तर त्यसो गर्दा उचित सावधानी अपनाउन पनि भनिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि कोभिड १९ सङ्क्रमणको सम्भावित जोखिमको तुलनामा स्तनपानका फाइदा निकै धेरै रहेको जनाएका छ।

यसबीच अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोलले नवजात शिशुलाई केही समय आमाभन्दा छुट्टै राख्न सल्लाह दिएको छ। आफ्नो दूध झिकेर शिशुलाई दिन सकिने उसले उल्लेख गरेको छ।

तर यो अध्ययनमा भने आमा तथा शिशुलाई एउटै कोठामा रहन र स्तनपान गराउन दिइएको थियो।

तर आमाहरूले अनुहारमा मास्कको प्रयोग गरेका थिए तथा पटकपटक हात धोएका थिए। शिशुहरूलाई आमाको खाटभन्दा दुई मिटर पर साना खाटमा राखिएका थिए।

त्यसो गर्दा अध्ययनकर्ताहरूले यस्तो पाए –

>सबै १२० शिशुको जन्मपश्चात् नाकबाट स्वाब झिकेर परीक्षण गर्दा सङ्क्रमण भएको पाइएन।

>एक सातापश्चात् ८२ शिशुको पुनस् परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पाइएन। तीमध्ये ६८ शिशु सङ्क्रमित आमा बसेकै कोठामा राखिएका थिए।

>तीन चौथाइभन्दा धेरै शिशुहरूलाई तिनको आमाले स्तनपान गराएका थिए।

>जन्मिएको दुई सातापश्चात् ७२ शिशुको फेरि गरिएको परीक्षणमा पनि सङ्क्रमण पाइएन।

प्रतिक्रिया