आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:०९
वासिङटन डिसी 22:24

नाग सम्बन्धि बिवेचना : सन्दर्भ नाग पंचमी

बासव राजोपाध्याय, अमेरिका २०७७ साउन ९ गते ०:५२ मा प्रकाशित

हाम्रो सांस्कृतिक जीवनमा नाग लाई भौतिक रूपमा मात्र होईन सांस्कृतिक दर्शनको रूपमा पनि प्रयोग गर्दै आएको देखिन्छ ।

पानीको प्रतिकात्मक रूपमा नागलाई साकार गरिएको छ । हाम्रा दार्शनिक पुर्खाहरूले परापूर्वकाल -परिस्थिति काललाई अझै सान्दर्भिक बनाउनका लागी नागको रूप प्रयोग गरिएको हो । यो बिषय बस्तुलाई अझ गहन तरिकाले बिचार गर्ने हो भने मात्र नाग पूजा संस्कृतिलाई बुझ्न सकिन्छ ।

नेपाल मण्डल कै बिषयमा चर्चा गर्ने हो भने हाम्रा पुराना मन्दिर, पाटीपौवा, कलात्मक घरहरूको प्रवेश द्वारमा माथिपट्टि तोरण स्थापना गर्दा त्यसमा पनि नागको स्वरूप देख्न पाईन्छ ।

तोरणको तस्वीर

प्राचीन तथा मध्य मल्ल कालिन तोरण भित्र विभिन्न नाग सर्पको स्वरूप स्थापना गरिएको देख्न सकिन्छ । अब नाग कै स्वरूप किन चाहिएको त भन्नुपर्दा यसरी बुझौं- पानीको प्रतिक बादल चाहिं आकाश र पृथ्वीको बीचमा छ र त्यहि स्वरूप अनुसार भयानक देखिने छ्यपु – एक बिशेष प्रकारको सर्प खाने जीव धेरै जसो पौराणिक कथाहरूमा गरूडको दाजुभाईको रूपमा पनि वर्णित गरिएको छ ,त्यो छ्यपुलाई आकाशको रूपमा, कलशलाई पृथ्वीको रूपमा र नाग सर्पलाई बादलको रूपमा बर्णन गरि तन्त्रकालिन युगमा तोरणलाई प्रतिष्ठा गरिएको भन्न सकिन्छ ।

कालांतरमा यो तोरणलाई पुराणवादीहरूले आ-आफ्नै तबरबाट ब्याख्या गरिएता पनि यो रहस्यमय तोरणलाई बुझ्न त्यति सजिलो छ जस्तो लाग्दैन । कतिपय पुराणहरूमा गरूड़ले नाग लाई खाएको/ लखेटेको कथाहरू बर्णन गरिएको पाईन्छ । त्यस्तो प्रकारको कथा बस्तुहरू लाई विवेचनात्मक तरिकाले सोच्ने हो भने सूर्यको किरणलाई गरूड़ र पानीलाई सर्पको रूपमा चित्रण गरिएको मान्न सकिन्छ । जब घामलाग्छ तापले गर्दा पानी बाफ बन्दै सुकेर जान्छ यहि प्रक्रिया नै गरूड़ ले नागलाई निलेको भन्ने लोक कथाहरूमा सुन्न सकिन्छ ।

अब अर्को पाटोबाट सोच्ने हो भने – नेपाल मण्डल पहिले जलाशय थियो र त्यस्तो जलमग्न स्थानलाई मन्जुश्रीले तलवार द्वारा चोभार डाँडा काटी पानी सबै बाहिर पठाई बस्न योग्य बनाए भन्ने हाम्रो इतिहास मा उल्लेख छ ।पानी नै पानीले भरिएको ठाऊँमा नागलाई जलको प्रतिकको रूपमा पूजा गर्नु आफैमा प्रकृति पूजाको ज्वलन्त उदाहरण लिन सकिन्छ । हाम्रै देश नेपाललाई बासुकी नागको स्थानको रूपमा लिनु पनि अति सान्दर्भिक मान्न सकिन्छ । नेपाल देश बिशेष गरि नेपाल मण्डल अति नै रहस्यमय स्थानमा पर्दछ । यहाँको बस्तुस्थिति , सांस्कृतिक स्वरूप, जात्रा चाड पर्वहरूका स्वरूप को बिस्तृत अध्ययन गर्ने हो भने तन्त्रात्मक प्रणालीमा आधारित मान्नु मा दुई मत नहोला । यो तन्त्रमय नगरीमा मानिस नै तन्त्र शक्ति द्वारा नाग सर्प बनेर सिध्दि प्राप्त गरेको भन्ने कुरा आज सम्म पनि त्यहाँ मनाऊँदै आएको जात्रा पर्वहरूले सिध्द गर्दछ ।

हाम्रो दैनिक जीवनमा समेत् नागको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । वास्तुशास्त्र अनुसार आफ्नो घरको जग हाल्दा नागको शिर कता फर्केको छ भनि विचार गरी साईत निकाल्ने चलन यद्यपि छदैछ । परिवारका कुनै सदस्यलाई नाग दोष लागेको छ भने पनि त्यस्तो दोष निवारण गर्ने पध्दति ज्योतिष शास्त्रमा उल्लेख गरिएको पाईन्छ । नाग आफैमा डरलाग्दो रूपमा भए पनि त्यहि भयंकर स्वरूपले हामीलाई रक्षा गर्छ भन्ने मान्यता अनुसार श्रावण महिनाको शुक्ल पक्ष पंचमीको दिनलाई नागपंचमी भनि नागलाई आदर पूजा गर्ने र घरको मूल ढोका देखि कोठाहरूका ढोकाहरूमा नागको फोटो टाँसेर पूजा गर्ने प्रचलन आज पनि ब्याप्त छ ।

नागलाई लक्ष्मी देवीको रूपमा पनि लिने गरिन्छ किनकी जुन घरमा नाग छ त्यो घरमा लक्ष्मीको बास हुन्छ भन्ने मान्यता पनि छ । स्वस्थानी ब्रतकथा महात्म्य भित्र बासुकी नाग राजालाई स्थान दिएको छ र यद्यपि साँखुको शालनदीमा ढुंगाको बासुकी नाग भनि पूज्ने चलन छ । पशुपतिनाथ मन्दिरको प्रांगणमा बासुकी नागको मन्दिर नै छ ।

त्यसैले हाम्रो संस्कृति र सांस्कृतिक जीवनमा नाग देवतालाई बिशेष रूपमा पूजा आदर गर्ने प्रचलन छ । नाग हाम्रो शत्रु होईन । यस्ले हामीलाई दुख दिंदैन बरू हाम्रो जीवनको रक्षा गरोस्, हाम्रो घरको रक्षा गरोस् भन्ने बिश्वास नै आफैमा रहस्यमय छ । यस्तै अभेद्य संस्कृतिको कारण नेपालले आज बिश्वका अनुसन्धान कर्ताहरूलाई क़ायल बनाउँदै आईरहेको छ ।

अस्तु ।

लेखक- बासव राजोपाध्याय, अमेरिका – सांस्कृतिक राजदूत ( वर्ल्ड नेवा अर्गनाईजेशन द्वारा प्राप्त पदवी)

प्रतिक्रिया